» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नइको चिनारी


ध्रुव केसी Dhurba KC

मायाको डोरी लम्किरहेछ कहाँ गई अल्झने हो
कसैलाई बाँधी ल्याउने पो हो कि
मलाई नै तानी लाने हो ?
(स्वर: ध्रुव के.सी. • सङ्गीत र शब्द: वीणा राणा)

ध्रुव के.सी.ले अत्यन्तै थोरै गीत गाए; तर यिनका गीत सबै प्रसिद्ध भए । के.सी.को नाउँ चलेअनुसार उनका गीत अत्यन्तै थोरै छन् । यसको अर्थ के हुन्छ < यसको अर्थ हुन्छ उनका गीतमा गुणात्मकता छ । उनी स्वरका शिखर मानिन्छन् । उनका स्वरमा टाँस्सिने नेपालीहरू थुप्रै छन् । त्यही कारणले ध्रुव के.सी. नेपाली गायनमा अजम्मरी भए । उनको स्वरले उनी विश्वभरिका नेपालीहरूबीच अतिप्रिय भए ।

ध्रुव के.सी. २००३ साल मङ्सिर १ गते काठमाडौँमा जन्मे । उनका बाबु यज्ञबहादुर के.सी. र आमा पद्मकुमारी के.सी.का दस जना सन्तानमध्ये उनी जेठा छोरा थिए । जेठो छोराको घरायसी दायित्व बोकेर पनि यी सङ्गीतको आराधनामा नै चुर्लुम्मै डुबेका थिए ।

ध्रुव के.सी. का बाबु हार्मोनियम बजाउनमा सौखिन थिए । बाबुले बजाएका औँलाऔँलामार्फत् ध्रुव के.सी. आफ्ना बालऔँला लगेर हार्मोनियमको रिड छुन्थे । त्यसैले उनी बाल्यकालमा नै हार्मोनियम बजाउन सिपालु भइसकेका थिए । वास्तवमा आफ्ना बाबुले हार्मोनियम बजाएर भजन गाउँदा उनी त्यस बेला उत्साहित भएर तबला बजाउने गर्थे । उनी आफ्ना बाबुको अनुपस्थितिमा प्रायः हार्मोनियम बजाउँदै गीत गाउने गर्थे ।

२०१० सालतिर ध्रुव के.सी.ले रेडियो नेपालमा बालकार्यक्रममा गीत गाउन सुरु गरेका थिए । सातआठ वर्षका उमेरमा पनि उनी किशोर अवस्थाका गीतहरू गाउन सक्थे । उनका स्वरमा मान्छेहरू त्यति बेलैदेखि लुकामारी खेल्ने गर्थे । त्यस बेला एउटा दस वर्षको बालकले गीत गाउँदा रेडियो नेपालले उनलाई पाँच रुपियाँ दिने गथ्र्यो । उनी सानै देखि नपलाप्पी आफ्नो स्वरसाधनामा डुबे । पछिपछि उनले एउटा गीत गाउँदा बाह्र रुपियाँ पाउन थाले । जतिजति उनको उमेर छिप्पिँदै गयो उनी झन् झन् जनप्रिय हुँदै गए । क्रमशः उनी रेडियो नेपालको विज्ञापन सेवामा उद्घोषकका रूपमा पनि कार्यरत हुन थाले । वास्तवमा त्यस बेला उनी रेडियो नेपालमा गीतिविज्ञापन पनि गाउँथे र यो प्रथाको आरम्भ ध्रुव के.सी.बाट नै भएको थियो । उनी त्यसै बेला स्वरका कुबेर भइसकेका थिए । उनी आफ्ना स्वरका कारण चाँडोभन्दा चाँडो गायकमा स्थापित पनि भए । उनी आफैँ गीत लेख्तै , सङ्गीतको धून राख्तै गीत गाउन पनि निपुण थिए:

नरोऊ नरोऊ साहिँली मै जाने बेलै मा
गहभरि आँसु किन खसाल्छ्यौ मै जाने बेलै मा है
नरोऊ नरोऊ साहिँली मै जाने बेलै मा ।
(स्वर, सङ्गीत र शब्द: ध्रुव के.सी.)

अठारबीस वर्षका ध्रुव के.सी.ले युवा अवस्थाका स्वरमा गीतहरू गाएर आपूmलाई परिचित गराएका थिए । त्यस बेला उनले गाएका गीतको प्रभाव राजदरबारसम्म पनि पुगेको थियो । त्यसैले राजदरबारबाट रातिराति ध्रुव के.सी.लाई लिन काठमाडौँको हवाई चौरछेउ जीप पुग्थ्यो । उनी ठूलो छाती पारेर राजदरबार पुग्थे । राजा महेन्द्रका सामुन्ने बसेर ध्रुव के.सी. मीठामीठा गीत गाउँथे । उनको स्वरबाट राजामा ठूलै प्रभाव पथ्र्यो । त्यसैले कवि राजा महेन्द्रबाट के.सी.ले बक्सिस पाउँथे । वास्तवमा त्यस बेला उनलाई राजा महेन्द्रबाट प्रशस्तै प्रोत्साहन प्राप्त भएको थियो । त्यो घटना उनको जीवनमा एउटा सार्थक थियो । राजा महेन्द्रको टेको पाएर उनले आफ्नो प्रतिभालाई माझ्न थप अवसर पाएका थिए । तर राजा महेन्द्रको निधन भएपछि उनी पनि धेरै कुण्ठितै भएका थिए ।

ध्रुव के.सी. रेडियो नेपालद्वारा आयोजित आधुनिक गीत सम्मेलनमा प्रथम भएका थिए । त्यस बेला उनी बाईस वर्षका थिए । राजा महेन्द्रद्वारा स्वणर् पदक पाउँदा उनले उत्साहको शिखरमा नै पुगेको महसुस गरेका थिए । त्यसै अवधिमा गाउँफर्क राष्ट्रिय अभियानबाट आयोजित सङ्गीत सम्मेलनमा पनि उनी प्रथम नै भएका थिए । आफ्नो गायनको शिखरतिर आरोहण गर्दागर्दै उनी बिस्तारै गायनबाट ओझेल पर्न थाले । हुन त त्यसपछि अर्थात् २०३० सालतिर के.सी.ले बम्बईमा पुगेर पनि गीत गाए । त्यस बेलाको कथनलाई अघि सार्दै उनी भन्थे— “बम्बईमा भरखरभरखर टेलिभिजन स्टेसन खुलेको थियो । त्यस बेला ‘आरोही’ नामक कार्यक्रमले निक्कै प्रसिद्धि पाइसकेको थियो । त्यस कार्यक्रमका सञ्चालक हिन्दी चलचित्रका अभिनेता मनमोहनकृष्ण थिए । त्यस कार्यक्रममा मैले पनि एउटा गजल गाउने मौका पाएँ । आपूmले गाएको गजल एक हप्तापछि आफ्नै कोठामा बसेर टेलिभिजन हेर्न पाउँदा मलाई ज्यादै खुसी लागेको थियो ।”

नेपालमा चाहिँ ध्रुव के.सी.को गायनको कुरा गर्ने हो भने उनले २०१३ सालदेखि २०२६ सालसम्म मात्र गीत गाए । त्यस अवधिमा उनले जति लोकप्रियता कमाए त्यही ब्याजले नै सधैँ उनको नाउँ धानिरह्यो । उनको त्यसै बेलाको साङ्गीतिक कसरतबाट नेपाली सङ्गीतले मीठो सम्प्रेषण हुने मौका पायो । के.सी.को त्यसै बेलाको त्यही लगानी, त्यही भाका र त्यही तालले आजसम्म उनका गीतले श्रोताहरूलाई झुम्म पारिरहेका छन्:

मायालु हजार हुन्छन् तर माया एक हुन्छ
बुझेर माया देऊ दिनुपर्ने एउटै हुन्छ ।
(स्वर, ध्रुव के.सी. • सङ्गीत र शब्द: गोपाल योञ्जन)

ध्रुव के.सी. २०२२ सालमा सुबेदार गजुरेल खत्रीकी छोरी भवानीसँग वैवाहिक जीवनमा बाँधिए । ध्रुव र भवानीबाट छोरी रूपाको जन्म भयो । रूपाको जन्मपछि भवानी स्वर्गीय भइन् । आफ्नी पत्नीको निधनले के.सी. रन्थनिएका रन्थनिएकै भए । त्यसपछि निक्कै समय बितेपछि उनको कल्पनासँग मायाप्रीति गाँसियो र उनैसँग बिहे भयो । कल्पनाचाहिँ भारतको एउटा राज्यका महाराजकी छोरी थिइन् । कल्पनाबाट दुई बहिनी छोरी नम्रता र प्रतिभा जन्मे । सबै छोरीहरू शिक्षाका क्रममा लागे ।

आफ्नो यात्रामा घस्रिँदै जाँदा ध्रुव के.सी.को जीवनमा फेरि अर्को एउटा कालो रातको सिर्जना भयो । अथवा भनौँ के.सी.को त्यो दाम्पत्य जीवनमा एक्कासि हुन्डरी आयो, बाढी आयो र पैरो आयो । त्यसपछि चाहिँ के.सी.ले फेरि तेहर्‍याएर बिहे गरेनन् । उनले एक हातले आफ्नो जीवनयात्राको क्रमलाई जारी राखे भने अर्को हातले उनले आफ्ना छोरीहरूको योग्यता बढाउँदै लगे ।

२०२७ सालको कुरा होस त्यस वर्ष ध्रुव के.सी.का जीवनमा एउटा अत्यन्तै ठूलो दुखद घटनाले डरलाग्दो घन्टी बजायो । त्यस बेला यिनका कानमा दैवले एकोहोरो शङ्ख फुक्यो । त्यो घडी उनकी पूजनीय आमा स्वर्गीय भइन् । त्यस घटनाले उनी धुरुधुरु रोए । उनको जीवनको आस्थाको लीला एक्कै चोटि समुद्रमा डुब्यो । त्यो अत्यासलाग्दो घटनापछि उनी धेरै दिन झोक्राएर घरैमा बसे । फेरि अर्को वर्ष अर्थात् २०२८ सालमा राजा महेन्द्रको स्वर्गारोहण भयो । अनि त्यो घटना केसीका छातीमा भास्सिएको अर्को तीखो वाणमा रुपान्तरित भयो । आफुलाई समयसमयमा ढाप मार्ने र खर्चपात समेत दिइरहने राजाको निधन हुनु उनको जीवनको अर्को दुर्भाग्य बन्न गयो । त्यसपछि त्यही रनाहामा परेर उनले गीतिजगत्लाई पनि च्वाट्टै छाडे । खास गरेर त्यसपछि उनी भौँतारिन मात्रै जान्दथे ।

खसगरेर आमाको अनुपस्थितिमा ध्रुव के.सी.लाई नेपाल बस्नै मन लागेन । उनी बैरागी भए । उनका लागि यो धर्ती नै कालो भयो । त्यसैले उनी नेपालबाट अन्तै हिँडे । उनको यात्रा भारतको दिल्लीमा गएर अड्क्यो । उनी दिल्लीनिवासी भए । त्यहाँ गएर उनी व्यापारमा लागे; तर व्यापारबाट पनि उनी बढाउतिर लाग्न नसकेर घटाउतिरै लागे । त्यसपछि उनी जागिरमा प्रवेश भए । त्यस बेलादेखि निरन्तर उनी भारतकै राजधानी दिल्लीको एउटा कम्पनीमा आफ्नो श्रम, सीप र जाँगर बेचिरहे । उनको त्यो बौद्धिक बेचबिखन एउटा धनाढ्यको व्यापारमा केन्द्रित रह्यो । नेपाली भाषाका गीति अक्षरहरूलाई उनले त्यहाँ पनि समाए । परिणामस्वरूप उनी घरी बम्बई गएर गीत गाउँथे, घरी कोलकाता गएर गीत गाउँथे र घरी दिल्लीमा नै पनि गीत गाउने गर्थे । तर ती गीतहरू रिकर्डिङ भएर चाहिँ कहिल्यै बज्न सकेनन् ।

२०५२ सालको कुरा हो, ध्रुव के.सी.को भेट नरेन्द्रराज प्रसाईसँग दिल्लीमा भयो । प्रसाईले अनेक कसरत गरेर केसीलाई नेपाल आउने पारे । अन्तत केसी नेपाल पनि आए । नेपालमा नै बसेर सेवा गर्ने उनको मनसाय भयो । तर नेपालका शासकले उनलाई चिनेनन् । तर उनी घरिघरि भन्थे— ‘मैले बुबाको सेवा गर्न मौका पाइरहेको छु । म मेरा बुबाको सेवा गरेर नै समय भुक्तान गर्छु ।’ अनि उनले बाँचुञ्जेल बुबाको सेवा गरी नै रहे ।

ध्रुव के.सी. सरलताका एउटा नमुना मानिन्थे; इमान्दारी उनको नैसर्गिक गुण थियोे र प्रस्ट व्यवहार उनको जन्मजात परिचय थियो । उनी जति सादा थिए त्यति नै उच्च पनि थिए र जति नरम थिस्ए त्यति नै बौद्धिक पनि थिए । वास्तवमा उनी नेपाली साङ्गीतिक आकाशका एउटा भद्रताका नमुना नै थिए ।

ध्रुव के.सी.ले पाटन कलेजबाट आईए.सम्म पढे । उनले जम्मा तेह्र वर्ष मात्रै गीत गाए र त्यस अवधिमा उनले जम्मा पच्चीस वटा मात्र गीत गाए । तर पनि उनी पढाइको डिग्री, गायनअवधि र सङ्ख्यात्मक गीतको अनुपातभन्दा निक्कै माथि पुगे । त्यति मात्र होइन, उनले आधुनिक गीतको विकासकै उचाइलाई नै छोइरहे । यी सबै कुरालाई छोटो पारेर भन्दा ध्रुव के.सी. नेपाली आधुनिक साङ्गीतिक आकाशका ध्रुवतारा नै भए । उनीद्वारा गाइएका गीतहरू जनजिब्रोमा प्रचलित भइरहे । उनका गीतका भाका, शब्द र स्वर सधैँ जनप्रिय भइरहे ।

ध्रुव के.सी.लाई २०६७ सालदेखि पार्किन्सन रोगले समाउन थालेको थियो । त्यसपछि उनलाई अल्जाइमर र सानोतिनो मनोरोगले पनि सताइरहेकै थियो । अनि तीन वर्ष अघिदेखि उनी ललितपुरको भैँसेपाटीस्थित अर्किड केयर सेन्टरमा बस्न थालेका थिए । त्यहाँ उनका छोरीहरूकै आर्थिक सौजन्यमा उनको हेरविचार भइरहेको थियो । जीवनको अन्तिम समयमा उनी केही दिन बेहोसै पनि भए । बेहोसी अवस्थामा नै २०७७ साल माघ ८ गते साँझ उनले भौतिक चोला विसर्जन गरे । तर उनका स्वर नेपाली कानमा गुञ्जिरहे—

बगिजाने खोला हो एक फेरा सुनिदेऊ
निष्ठुरी त्यो मायालाई सन्देश यो पुर्‍याइदेऊ ।
(स्वर, ध्रुव के.सी. • सङ्गीत: वीणा राणा • शब्द: युधीर थापा)

गायक ध्रुव केसीसित लेखक नरेन्द्रराज प्रसाई

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश