» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नइको चिनारी


श्रीभद्र शर्मा

अङ्शुमाली खनाल र तारादेवीका सुपुत्रका रुपमा १९८३ साल जेठ २५ गते तनहूँको सिम्पानीमा श्रीभद्र शर्माको जन्म भएको थियो । उनको चिनाको नाँउ लेखनाथ थियो । यिनका बाजेबराजु त्यस ठाँउका विद्वान् भैकन समाजसेवी थिए र धर्मकर्ममा पनि उनीहरुले नाउँ चलाएका थिए ।

श्रीभद्रका बाजे रामनाथ उपाध्याय खनाल सरकारी अड्डाका डिट्ठा थिए । उनी संस्कृतका विद्वान, धार्मिक र समाजसेवी थिए । पछि अङ्शुमाली खनाल पनि डिट्ठा नै बने । अङ्शुमालीचाहिं दाङ राज्य मालअड्डाका हाकिम थिए । तर उनको जागिर अनाहाकै खोसिएको थियो ।

श्रीभद्र शर्मा आफ्ना बुवाका साथमा १९९७ साल चैतको अन्त्यतिर काठमाडौं प्रवेश भए । त्यतिबेला उनले तनहूँबाट काठमाडौं आउन छ दिनको पैदल यात्रा गरेका थिए । उनको प्रारम्भिक पर्ढाई काठमाडौंमा भए तापनि माध्यमिक र उच्च शिक्षा वनारसमा भयो । उनले त्रिभुवन विश्वविद्यालयबाट एम्ए पास गरे ।

श्रीभद्र शर्मा विद्यार्थीकालदेखि नै प्रजातन्त्रका लागि समर्पित थिए । संस्कृत पाठशालामा पढेताका उनकै नेतृत्वमा २००४ सालमा ‘जयतु संस्कृतम्’को आन्दोलन भएको थियो । त्यतिखेरै राणाले उनको कठालो समातेर चार भन्ज्याङ कटाए । त्यस घडी राणाले उनी लगायत ३८ जना विद्यार्थीलाई नेपाल छाड्ने हुकुम दिएकाले उनीहरु रातोरात बनारस पुगेका थिए । बनारसमा पुग्नेवित्तिकै श्रीभद्रको परिचय वीपी कोइरालासँग भयो । वीपीकै आग्रहमा त्यसै बेला उनी नेपाली राष्ट्रिय काङ्ग्रेसका सदस्य बने । त्यसै ताका उनले काङ्ग्रेसको मुखपत्र ‘युगवाणी’मा पनि काम गरे ।

नेपालमा क्रान्तिको ज्वाला चम्केपछि श्रीभद्र पनि यसैमा समर्पित भए । परिणमस्वरुप राणा शासन निर्मूल अभियानको उनले पश्चिम नेपालबाट नेतृत्व गरे । त्यसै समय उनी वन्दीपुर जनसरकारको गभर्नर पनि भए । उनी कर्तव्यमा लागीपर्दा जीवनका सम्पूर्ण सुखसुविधा पनि त्याग गर्थे । यसै परिप्रेक्ष्यमा राजनीति उनको नसानसामा बग्ने रगत मानिन्थ्यो । उनी राजनीतिलाई राज्यको धड्कन मान्थे । त्यसैले उनले सधैं राष्ट्र, राष्ट्रियता र नेपाली जनताका लागि आफ्नो जीवन समर्पण गरिरहे ।

२००६ सालको कुरा हो, भारतको कोलकातामा नेपाली राष्ट्रिय काङ्ग्रेस र नेपाल प्रजातन्त्र काङ्ग्रेस एकीकरण गर्ने कुरा भयो । यसको नाँउमा केही किचलो देखिएपछि वीपी कोइरालाले यसको नामाकारण गर्ने जिम्मा श्रीभद्र शर्मालाई दिए । अनि श्रीभद्रका रायले त्यस दलको नाउँ ‘नेपाली काङ्गे्रस’ राखियो । वास्तवमा शर्माको बौद्धिकता, इमान्दारिता र सक्रियताबाट वीपी लगायत काङ्गे्रसका प्रायः नेताहरु प्रभावित थिए । ‘नेपाली काङ्ग्रेस’लाई दरो पारेर उभ्याउन शर्माको कसरत निकै बलियो थियो ।

नेपाली काङ्ग्रेसका संस्थापकमध्येका एक श्रीभद्र शर्माले २०१४ सालमा पनि डेमोक्रेटिक लिकमार्फ पश्चिम नेपालमा भद्रअवज्ञा आन्दोलनको नेतृत्व गरेका थिए । त्यस कमाण्डमा उनी समातिए र उनलाई २९ दिनसम्म थुनामा राखियो ।

श्रीभद्र शर्मा राजनैतिक नेतृत्वमा पारङ्गत थिए । उनी हेर्दा सौम्य, सङ्गत गर्दा भलाद्मी र जीवन यात्रामा संवेदनशील थिए । वीपी कोइराला प्रधानमन्त्री हुँदा नेपाली काङ्ग्रेसको बागडोर शर्मालाई नै दिइएको थियो । कोइरालाकै जोडले यी नेपाली काङ्ग्रेसका महामन्त्री भएका थिए । किनभने यी तीक्ष्ण बौद्धिकताले ओतप्रोत थिए । उनी सिद्धान्तमा जति प्रजातन्त्रवादी थिए, व्यवहारमा त्यसभन्दा धेरै मानववादी थिए । त्यसैले कोइराला शर्मासँग ज्यादै नजिक थिए । काङ्ग्रेसका महामन्त्री भएताका उनी नेपाली काङ्ग्रेसका निर्वाचित साँसद पनि थिए । शर्मा आफ्नो कार्यकालमा आफ्नो दक्षतालाई शिखर पुर्‍याउने क्रममा कस्सिएर लागेका थिए । तर २०१७ सालमा नेपाली काङ्ग्रेस प्रतिबन्धित भयो र त्यसैवेला यी पनि समातिए ।

२०१७ साल पुस १ गते अघिको नेपालमा दलीय व्यवस्थाले अराजकता मच्चाएको थियो । त्यस बेला काङ्ग्रेस पार्टी उसले बनाएको नेपाल सरकार भारतकै पारामा छमछम नाच्ने गर्थ्यो । त्यसैले पार्टीका केही शक्तिशाली नेताहरुका सुझावमा राष्ट्र जोगाउने हेतुले राजा महेन्द्रले बहुदलीय प्रणालीलाई प्रतिबन्ध लगाएका थिए । त्यही घानमा श्रीभद्र शर्मा पनि ओइरिएका थिए । खनूपरुदे ‘रामबाबू’ प्रसाईको संरक्षणमा बसेका बेला कोपुण्डोलस्थित प्रसाईकै घरबाट शर्मा लगायत इन्द्रप्रसाद प्रसाई, सीके प्रसाई र हरिजङ सिजापतिआदि नेपाली सेनामार्फ पक्राउ परेका थिए । श्रीभद्रलाई चाहिं २०१७ सालदेखि २०२३ सालसम्म जेलखानामा नै राखिएको थियो ।

श्रीभद्र जेलबाट मुक्त भएपछि जेलमा भएका र भारतमा रहेका नेपाली काङ्ग्रेसका नेता र कार्यकर्तालाई जेलमुक्त गर्न र आम माफी दिलाउने काममा लागे । २०२४ सालदेखि नौ महिनासम्म शर्माले चितवन हाइस्कूलमा पनि पढाए । साथै उनकी धर्मपत्नी प्रभाले पनि त्यस समय स्थानीय बालकुमारी प्राइमरी स्कुलमा पढाइन् । वास्तवमा त्यति बेलाको त्यो काम उनीहरूको जीवन धान्ने मुख्य धन्दा थियो । उनी केही स्कुल तथा क्याम्पसका संस्थापक र अध्यक्ष पनि थिए । थुप्रै राजनीति र सामाजिक संस्थामा आबद्ध उनले आफ्नी धर्मपत्नीको निधनपछि प्रभाश्री फाउन्डेशनको पनि स्थापना गरे ।

श्रीभद्र शर्मा २०३१ सालसम्म नेपाली काङ्ग्रेसका सक्रिय नेता थिए । राजा वीरेन्द्रसँग राजनैतिक सहमति भएपछि उनी त्यसपछि पञ्चायती राजनीतिमा प्रवेश भए । अनि उनी राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भए ,क्रमशः जननिर्वाचित पनि भए, राज्यमन्त्री भए र मन्त्री पनि भए । उनको मन्त्रीत्व स्वच्छ छवीका रुपमा स्पष्ट दरियो । उनको गरिमाशाली कार्यशैलीको धेरैले वकालत गरे ।

श्रीभद्र शर्मा नेपालमा २०४६ सालमा बहुदलीय प्रणाली भित्रिएपछि दलगत राजनीतिमा केन्द्रीत भए । जसअनुसार उनी राष्ट्रिय जनता परिषद्का महासचिव भए । पछि उनी सो पार्टीको अध्यक्ष पनि भए र त्यसैताका उनले सो पार्टीलाई नेपाली काङ्ग्रेससमा विलय गराए । उनी सम्वैधानिक राजतन्त्र मान्ने सिद्धान्त बोकेर काङ्ग्रेस पार्टीमा जागरुक भइरहे । उनको महानताको कदर गर्दै राजा वीरेन्द्र र रानी ऐर्श्वर्य पनि उनका घरमा पुगे । वास्तवमा व्यवहारमा उनी सुन थिए । उनी बाँचुन्जेल गान्धीवादी जीवनदर्शनमा नै आबद्ध भइरहे ।

श्रीभद्र शर्माले नेपालका प्रायः सम्पूर्ण भूभागको भ्रमण गरे । साथै उनले भारत, श्रीलङ्का, तान्जानिया, फिलिपिन्स, जापान, सेसल्स, इथोपिया, थाइल्याण्ड, हङ्कङआदि पुगेर नेपालको परिचय दिएका थिए ।

श्रीभद्रको बिहे तनहू कै एघार वर्षीय हरिमाया घिमिरेसँग भएको थियो । त्यसबेला उनी चाहिं चौध वर्षका थिए । तर शर्मा राजनैतिक जीवनमा समर्पित भएकाले पहिलो विवाहले उनको घरजाम हुन सकेन । अनि तेत्तीस वर्षलागेपछि उनको दोस्रो बिहे काठमाडौंका खरदार भागवतप्रसाद उपाध्यायकी छोरी प्रभासँग भएको थियो । उक्त बिहेका जन्तिहरु विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, सुवर्णशशेर राणालगायत अन्य नेताहरु पनि थिए । अनि श्रीभद्र शर्मा र प्रभाले तीन सन्तान जन्माए आरती, अरुणा र अजय ।

श्रीभद्र शर्मा नेपाली भाषासाहित्यमा पनि समर्पित भएर लागे । उनी २००४ सालदेखि नै साहित्यमा कृयाशील थिए । उनले कविता, समालोचना, निबन्ध र अनुवाद गरेर झन्नै एकदर्जन कृति लेखे ।

२०१५ सालमा रम्घामा भानुभक्तको सालिक राख्न पनि श्रीभद्रको सक्रियता थियो । पछि उनी भानुसेवा समितिको अध्यक्ष भए । २०३९ सालदेखि भानुजयन्तीलाई राष्ट्रिय पर्वका रुपमा सरकारी मान्यता दिलाउन पनि उनी सफल भए । शर्माले भानुसेवा समितिको चौध वर्ष सेवा गरे । साहित्यिक कृति सृजना गरेवापत उनी चन्द्रधन पुरस्कारबाट सम्मानित पनि भए । अनि उनी प्रसिद्ध गोरखा दक्षिणबाहुबाट विभूषित भए । साथै राजनीतिक, सामाजिक र साहित्यिक फाँटबाट पनि उनको धेरै अभिनन्दन भयो ।
देशभक्तिका गाथामा मन, वचन र कर्मले सँधै समर्पित श्रीभद्र शर्माले २०६५ साल माघ ८ गते काठमाडौंमा भौतिक देह विर्सजन गरे

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश