प्रा.डा.वासुदेव त्रिपाठी
(महासमालोचक)
(क)
१. को राम्रो यस लोकमा सब जना राम्रो म भन्छन् भनून्
जो गर्ला इतिहासमा समयले ती फैसला पर्खिऊन्
स्वार्थैमा दुनियाँ अडेछ सब यो छन् मुक्त जोगी कहाँ
खट्ने देश समाज निम्ति दिलले खै भुक्तभोगी यहाँ
२. साक्षी यो युगको स्वयं समयका चक्का गुडे जो यहाँ
भोगेँ चालिस वर्षका विगतका ती घामछायाँ जहाँ
क्यै देखेँ र सुनेँ परेर पढी मैले चिनेको नइ
पानीचित्र बनी रहे हृदयमा जो सम्झना ती नइ
३. एकैनास कहाँ छ जीवन स्वयं संसार छायाछवि
क्यै संयोग र मोड क्यै बदलिँदो संसारको यो छवि
आफैमा गतिशील जीवन जहाँ क्यै चड्कने पर्दछ
बीचैमा अधबैँसमा पनि कथा जो बद्लिने गर्दछ
४. यो संसार समाज जीवन स्वयं सीधा कहाँ चल्दछ
यो त्यो बन्धन बाध्यता परिधिमा मान्छे कहाँ अट्तछ
क्यै ऊर्जा थपियो कि आँट पनि क्यै जोडी जुटी यो नइ
टुट्दै जुट्नु जहाँ छ विप्लव कथा झड्का त्यहीझैँ नइ
५. तोड्दै बाँध समाज बन्धन कडा आँधी उठेझैँ जहाँ
मान्छेका दिल देशमा समयको तूफान उठ्दो नयाँ
घेरा बन्धन तोड्नु यो समयको विस्फोट ज्वाला नइ
ज्वाला गर्दछ सिर्जना पनि नयाँ ऊर्जा त्यही यो नइ
६. ज्वाला गर्छ स्वयं कि एक युगको आरम्भ अर्को नयाँ
झड्का गर्छ कि झैँ कुनै शुभ नयाँ अध्याय थाल्नी यहाँ
सेवाको व्रत पुण्य हो र त्यसको विस्तार झन् झन् बढ्यो
स्रष्टाअर्चन सिल्सिला युग नयाँ साहित्य संसार भो
७. स्रष्टा हुन् जुन यी स्वयं हृदयको आबाजले झङ्कृत
जुध्छन् यी कति यो समाजसँग जो आफै छ आतङ्कित
अट्ने हुन् कति यी नइ द्वय स्वयं यो विप्लवी मार्गमा
स्रष्टा अर्चन कामना पनि सँगै साहित्य श्रीवृद्धिमा
८. हेरेँ कौतुकले नइ द्वय दिशा उत्साहका पाइला
क्यै रच्ने युगछापका रहरमा सङ्घर्षले जोसिला
क्यै सोचेँ इतिहासका नजरे साँच्चै कहाँ छन् नइ
संसारै कि त आत्म ज्ञापन कला क्यै भिन्नता हो नइ
९. क्यै टिक्छन् सब साधना समयको यो बालुवा खेलमा
पानीछाप धनी रह्यो स्मृति बनी जो सम्झना शेषमा
केही सोच्न र व्यक्त गर्न तिनले जे जो गरे प्रेरित
यी मेरा स्मृति पङ्क्तिका लहरमा झुल्कून् बनून् अङ्कित
(ख)
१. मुस्काएसरि सौम्य सोच सपना साहित्य क्यै कल्पना
कस्तो क्रुद्ध मिजास भोग्नु विपना साहित्य त्यै वेदना
नेपाली दिल दर्द साहस दुवै यो कल्पनोद्यानमा
आशीर्वाद छ यो जुट्यो जुन नइ स्रष्टार्चना पुण्यमा
२. आशीर्वाद छ जिन्दगी व्रत त हो जाने बिसाई स्वयम्
जो पायो दिनु पुण्य हो व्रत महान् साहित्यसेवा स्वयम्
स्रष्टा हुन् सब देशरत्न तिनको सम्मान ऊचो रहोस्
वासन्ती सृजना मुना सकलको ऐश्वर्यको सिद्धि होस्
३. मान्छेले अपमान मान दिलका खप्नै छ जो वेदना
जो निन्दा स्तुति यातना समयका झन् बदलिँदा सम्झना
क्यै छानी र बिनी स्वयं समयका आवेगका फैसला
जो होला इतिहाससम्मत स्वयम् त्यै एक हो फैसला
४. सेवाको कि त लोकमार्ग नइ भो वर्षैपिछे फैलिई
स्रष्टाअर्चनको अखण्ड व्रतमा आस्था धनी यो नइ
स्रष्टा अग्रजका सँगै अनुजका श्रद्धा र सम्मानमा
वर्षौँवर्ष उपासनाक्रम बढ्यो साहित्य श्रीवृद्धिमा
(ग)
१. क्यै अर्पी पसिना कमाइ सृजना यो देशका खातिर
क्यै सोच्ने कम छन् समष्टि हितमा क्यै साधनाखातिर
क्यै देखी सपना विशिष्ट प्रतिभा सम्मानका निम्तिमा
आफ्नै आत्मविवेकले नइ जुट्यो सेवा महायानमा
२. आफ्नो जीवन अर्पिएर जसले यो देश सेवा गर्यो
भाषा वाङ्मयको प्रवर्धनसँगै साहित्य सेवा गर्यो
त्यो जोडी नइको जुटेछ कसरी बन्दै स्वयं विप्लवी
छन् साक्षी जसको स्वयं समयका आजाद छायाछवि
३. छन् घेरा सबसामुमा समयका खै मुक्त को भो भनूँ
स्रष्टाको गुणपारखी हुनु स्वयं श्रद्धार्चना हो भनूँ
साधी अक्षरसत्य देश महिमा गाई नथाक्ने दुवै
स्रष्टाको महिमा प्रवर्धन गरूँ यै सूत्र सोच्ने दुवै
४. जस्को जीवन चेतना हुन पुग्यो साहित्यको सिर्जना
जस्को जीवनसाधना हुन पुग्यो साहित्य संवर्धना
छन् आफै गुण कर्म उज्ज्वल दुवै साहित्य सेवा गरी
स्रष्टाअर्चनमा समर्पित हुँदै यै राष्ट्रसेवा गरी
५. क्यै साँची सपना जुट्यो युगल यो यै देशका निम्तिमा
मान्छे चिन्नु कि व्यक्ति जीवन पढी, सत् कर्ममा देनमा
सेवामा म त चिन्छु जो नइ खट्यो साहित्यका बागमा
यी साक्षी गत चार जो दशक छन् गुन्जून् स्वयं छन्दमा
(घ)
१. स्रष्टाको मनितो र मान थपियो सेवा नइ ज्वारमा
बढ्दो रौनक शानगान महिमा सम्मान संसारमा
आफै चालिस वर्षको समय यो लेखा र जोखा गरोस्
होस् पुस्तान्तरसम्म मोहममता नासो दिगो यो बनोस्
२. जोडी यो नइको समर्पित बनी नेपाल गायो रम्यो
नेपाली दिलले र स्नेहरसले नेपाल आमा चिन्यो
सेवा फाँट अनेक पुण्यमय यो साहित्यसेवा पनि
नेपाली हुनु पुण्य हो हुनु स्वयं साहित्यसेवी पनि
३. नेपाली दिलका उदार जनको क्यै आड पायो पनि
क्यै ऊर्जा थपियो कि क्यै समयले फेर्यो कि कोल्टे पनि
प्रेमी क्यै यसका बने कति बिते संस्था बन्यो यो नइ
सेवामानकझैँ स्वयं हुन पुग्यो स्रष्टा जुटी यो नइ
४. नेपाली सपना सचेत विपना संस्था स्वयं भो नइ
सेवातत्पर जोडिँदै समयले संस्था बृहत् भो नइ
केही सोच अझै छ थप्नु जसले होओस् दिगो यो स्वयम्
सेवाधर्म महान् छ उच्च त्यसको आदर्श होस् यो स्वयम्
५. नेपाली जुन यो जगत् छ त्यसको माया मलाई पनि
नेपालीपन जे छ त्यो प्रिय यहाँ साहित्य त्यै हृद्ध्वनि
स्रष्टा पूजन वन्दना व्रत लिई नेपाल नामै जप्यो
यात्रा यो नइको कि भक्ति रसले राष्टै स्वयं यो जप्यो
(ङ)
१. बिर्सेझैँ छ दिनै दिने मन कहाँ जो भेटियो त्यो लिऊँ
छन् हिंसा तकरारका सब कथा संसार आफै जिऊँ
स्वार्थै निम्ति कि जीव सृष्टि रचना यो मानवी चेतना
खै को बुद्ध छ बुझ्छ आज कसले संसारको वेदना
२. के हो मानवता विराट् छवि स्वयं के विश्वको प्रेम हो
क्यै बुझ्लान् तपसी स्वयं तरुकथा आदर्शको सोच जो
सुन्ने मानववेदना समय खै भारी छ आफ्नै व्यथा
को बुझ्ने दिलले वनस्पतिकथा सम्पूर्ण सृष्टि व्यथा
३. श्रापै विश्वनिमित्त भो कि अब ता यो चेतनाको दियो
पुग्दा कृत्रिम बुद्धिसम्म कि त यो विश्वै स्वयं हल्लियो
पैलो लक्ष्य छ स्वार्थ सिद्धि सपना मान्छे त्यही चिन्छु म
यै मान्छे सचिने र जागृत हुने साहित्य आबाज म
४. मान्छेले कति हो लिने मन दिने या पत्थरै पो बन्यो
मान्छेले कतिसम्म यान्त्रिक हुने मान्छे कि यन्त्रै बन्यो
यै मान्छे बिउँझाउने समय यो साहित्य त्यो साधन
यो कस्तो युग हो जहाँ कम कमै साहित्य आस्वादन
५. माग्दै यो युगले छ यो समयले क्यै त्याग गर्नेहरू
खोज्दै देश छ क्यै उदार दिलका साहित्यसेवीहरू
केही स्रोत जुटाउँदै दिनु यही मैले चिनेको नइ
स्रष्टाअर्चन यो निरन्तर रहोस् यै दानगाथा नइ
६. धर्ती पीडित व्योम पीडित स्वयं विश्वै छ यो त्रासमा
यो पर्यावरणै विनष्ट छ हुँदै विश्वै छ सङ्कष्टमा
स्वार्थैको पिँजडा बनीकन खडा यै मानवी जो क्षुधा
मान्छेको मन ओखती हुन सकोस् साहित्य मानौँ सुधा
७. देशैमा र समाज विश्व सबमा त्रस्तै छ यो मानिस
नेपाली दिल लालसा छ सुखको मान्छे हुने साहस
आफै रच्नु छ स्वर्ण सोच पिँजडा आफै छ बन्दी हुनु
आफै तोड्नु छ स्वार्थ मोह पिँजडा साहित्य प्रेमी हुनु
८. आशीर्वाद जिए बिसा सय दुवै साहित्य सेवी नइ
स्रष्टाबन्दनको व्रतै सफल होस् यो प्रौढ जोडी नइ
साहित्यै अब मूल मन्त्र युगको गाथा स्वयं यो कहोस्
नेपाली दिल देश मर्म महिमा साहित्यको प्रेम होस् ।