» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » रत्नशमशेर थापा Ratna S Thapa

नइको चिनारी


रत्नशमशेर थापा Ratna S Thapa

घुम्तिमा नआऊ है आँखा तिमी जुघाउँन
बाँधिए माया फेरि गारो हुन्छ फुकाउन ।

भनिन्छ, साँचो गीतकारले प्रायः आफूले भोगेकै कुरा लेख्छन् । यदि रत्नशमशेर थापाको पनि गीत लेखन परिभाषालाई भोगेकै कुरामा नै सीमित राख्ने हो भने उनी आफ्ना जमानामा केटीहरूसँगको प्रेममा चुर्लुम्मै डुबेका थिए । तर यस विषयमा कुरा निक्लँदा उनी भन्थे— ‘मैले यस जुनीमा केटीहरूसँगको प्रेममा विश्वासै गरिन । त्यसैले मैले कुनै केटीलाई प्रेम नै गरिन ।’

रत्नशमशेर थापाले अहिले जे बयान दिए तापनि त्यस बेला केटीहरू चाहिँ यिनकै माझमा झुरुम्मै भेला हुने गर्थे । मानौँ त्यस बखत केटीहरूका लागि रत्न थापा कवि वायरन नै थिए । आफ्नो उमेरमा वायरन घरबाट बाहिर निस्कँदा त्यस बेला धेरैका आमाले आफ्ना तरुनी छोरीलाई घरभित्रै थुन्थे । किनभने वायरनलाई भेटेपछि केटीहरू वायरनसँग गाँस्सिन पुग्थे, भनौँ मरिमेट्थे ।

रत्नशमशेर थापा कसैलाई प्रेम गरिन भन्छन्, तर यिनले लेखेका अधिकांश गीतहरू प्रेमकथामै आवद्ध छन् । यिनले खास गरी बाइस बर्से उमेरलाई टेकेपछि आफ्ना गीत र कविताका प्रत्येक अक्षरलाई माया, स्नेह र समर्पणमा नै बाँधेका हुन्थे । त्यस बेलाका गीत र कविताबाट यी केटीहरूसँगको प्रेम नै बोल्थे । यी त्यस बेला बैँस फुलेको नै गीत लेख्थे । केटीहरूको प्रेममा नै आधारित भएर कविता र मुक्तक लेख्थे । वास्तवमा त्यस बेला यिनले लेखेका गीतले नेपाली डाँडापाखा ढाकेको हुन्थ्यो, नेपाली पाखापर्वत गुञ्जेको हुन्थ्यो र नेपाली धर्ती नै रमाएको हुन्थ्यो । छोटकरीमा भन्ने हो भने त्यस बेला यिनले लेखेका गीत नै तरुनी र तन्नेरीको गीत हुन्थ्यो । त्यस बेला युवायुवतीले यिनकै गीत जीब्रामा टाँसेर प्रेमको परिभाषालाई छर्लङ्गै पारेका हुन्थे । त्यसमाथि नारायणगोपाल र तारादेवीको स्वरलहरीले गीतको महत्त्वमा नै गाढा रौनक थपिएको अनुभूति पैदा हुन्थ्यो—

हे कान्छा ठट्टैमा यो बैँस जान लाग्यो
जाँदैन बाचा खेर पर्ख लिन आउँला ।

रत्नशमशेर थापाको जीवनमा कुन कुराले कसरी प्रभाव पार्यो कुन्नी, किनभने त्यसै बेलादेखि यिनले यस जीवनमा बिहे नगर्ने निर्णय गरेका थिए । यिनको यो तालबाट यिनका सारा साथी छक्क पर्थे, यिनका मामामाइजू छक्क पर्थे र यिनका बाबुआमा झन सारो छक्क पर्थे ।

रत्नशमशेर थापाले आफ्नो जीवनलाई जतिसुकै एकलकाँटे बनाउन खोजे तापनि यिनलाई समाजले त्यो हुनबाट रोक लगाइदियो । यिनले आफूलाई एक्लो जीवनमा अघि सार्ने इच्छा गरे तापनि यिनलाई यस कामबाट वन्चित गर्न यिनका इष्टमित्रहरू क्रमशः निक्लिन थाले । अनि यिनले आफू कहिले पनि दाम्पत्य जीवनमा गाँसिन नचाहे तापनि यिनलाई यिनका मावलीले यस काममा प्रवेश गराउन चेप्न थाले । त्यसैले पैँतालिस वर्षको उमेरमा यिनले राजविराजकी सत्ताइस बर्षीय सुन्दरी भैरवी बस्नेतका सिउँदोमा सिन्दूर हाले । अनि त्यो सिन्दूर पनि यिनले वैशाख महिनामै हालेका थिए।  

बिहेका दिन भैरवीरत्न झकिझकाउ थिए, तर रत्नशमशेर थापाभन्दा धपक्कै बल्नेचाहिँ बस्नेतपुत्री भैरवी नै थिइन् । वास्तवमा भैरवी रत्नशमशेर थापाका गीतकी पहिलेदेखिकी नै पारखी थिइन् । त्यसैले बिहेमण्डपमा पनि भैरवीले रत्नशमशेरकै गीत आफ्ना छातीमा खेलाइरहेकी थिइन्, आँखाभरि डुलाएकी थिइन् र आफ्नो यथार्थ जीवन सम्झौतामा परिणत गराएकी थिइन् । अनि संयोगवस त्यो गीत रेडियो नेपालबाट पनि त्यही बेला बजिरहेको थियो, जुन बेला रत्नशमशेर थापाले भैरवी बस्नेतका सिउँदोमा सिन्दूर छरिरहेका थिए—

ओभानो सिउँदोमा सिन्दूर छरिदिउँला
सुनका चुराले नारी सजाइदिउँला ।

रत्नशमशेर थापाले बाह्र वर्षको उमेरमा कविता लेखे । यिनले त्यसै बेला गीत पनि कोर्ने प्रयास गरे । वास्तवमा यिनको बाल्यावस्था सङ्गीतमय वातावरणमा हुर्केको थियो । त्यस बेला घरमा यिनका काकाहरू गीत गाउँथे र बाजा बजाउँथे । घरका सबै अग्रजहरूले सङ्गीतको आराधना गरेको देख्ता यी पनि सङ्गीतमै भुलिन थाले, सङ्गीतमै डुब्न थाले र सङ्गीतमै पौडन थाले । त्यसपछि यिनले गीत र कवितालाई निरन्तर रूप दिइरहे । अनि चौध वर्ष पुगेपछि प्रतियोगितात्मक आधुनिक गीत प्रतियोगितामा गीत गाएर यिनले स्वर्णपदक पनि पाए । साथै यी बीस वर्ष पुगेपछि यिनको पहिलो गीत रेडियो नेपालको प्रत्यक्ष प्रसारणमा पनि बज्यो । नारायणगोपालको स्वर तथा सङ्गीतमा प्रसारण भएको यो गीतले रेकर्ड गर्ने भाग्यचाहिँ कहिले पाएन—

गाजलु आँखा मोहनी रूप हँसिलो अनुहार !

रत्नशमशेर थापा जीवनभरि स्वाभिमानी शिर लिएर नै बसे । यी कहिले पनि राजनैतिक पार्टीमा लागेनन्, कुनै साहित्यिक गुठबन्दीमा पनि फसेनन् र अर्काको इशारामा पनि कहिले नाचेनन् । उनी जति थिए, एक्लो थिए । एक्लै हिँडेर यी नेपाली साहित्याकाशमा एउटा चम्किलो तारा बने, एक्लै हिँडेर यी नेपाली गीतिफाँटमा सबैको मन पर्ने ‘रत्न’ बने । छोटकरीमा भन्ने हो भने रत्नशमशेर थापा जनप्रिय, आदरणीय र सम्मानित गीतकार बने । अनि यी ख्यातिप्राप्त कवि पनि बने । एक्लो हिँड्दा मान्छे अति सफल हुन्छ भन्नेको प्रमाण रत्नशमशेर थापा नै भए । त्यसैले सधैँ गोरेटो खोज्दै नेपाली गाउँबेसी चहार्दै आफ्नो गीतियात्रामा यी एक्लै हिँडिरहेका हुन्थे—

गोरेटो त्यो गाउँको लौ न आज,
खोजी खोजी थाकेँ नि
पहिल्याउन मैले सकिन ।

रत्नशमशेर थापाले गीतको गोरेटोमा हिँडेर एक हजार दुई सय गीत लेखे । यिनका करीब तीन सय गीत रेडियो नेपालबाट पनि बजे । अनि यिनले केही नेपाली चलचित्रमा पनि गीत लेखे । हुन त यिनले युवाअवस्थामा मुक्तक, कथा, एकाङ्की र हास्यव्यङ्ग्य पनि लेखे तर त्यसपछि चाहिँ यिनले गीत र कवितामा मात्र एकोहोरो आफ्ना सशक्त कलम चलाए ।

नेपालका धेरै कलाकारले रत्नशमशेर थापाका गीत गाए र सङ्गीत गरे । नारायणगोपाल, तारादेवी, अरुणा लामालगायत प्रेमध्वज प्रधान, फत्तेमान, माणिकरत्न, योगेश वैद्य, सुशीला कंसाकार, दीप श्रेष्ठ, रमेश ताम्राकार, प्रकाश श्रेष्ठ, मीरा राणा, सुकमित गुरुङ, उदितनारायण झा, विष्णु श्रेष्ठ, वसन्त खड्का आदिले रत्नशमशेरको रचनाको गीत गाए । साथै नातिकाजी, तारादेवी, अम्बर गुरुङ, चन्द्रराज शर्मा, शिवशङ्कर, रन्जित गजमेर, दीपक जङ्गम, शुभबहादुर, गणेश परियार, शक्तिवल्लभ, मदनदीप विम आदिले पनि यिनका गीतमा सङ्गीत प्रदान गरे । त्यसैले रत्नशमशेर थापाका शब्द रचनाहरूमा गायक र सङ्गीतकारको तादत्म्यताले गर्दा नेपालका गाउँगाउँ, पाखापाखा र सहरसहरमा उनका गीतहरू गुन्जिरहे—

खोला नालासँग सोधी, नाउँ तिम्रो खोजी खोजी
आएको छु मायालु म तिमीलाई साथी रोजी
चौतारीमा लिन आउन है !

रत्नशमशेर थापाले जीवनमा एकपछि क्रमशः अर्को स्तरीय गीत लेख्तै गए । यी गीत लेख्ता भाषा र शब्दलाई बेस्सरी खेलाएर मात्र कागजमा ओराल्ने गर्थे । साथै यी गीत लेख्ता बिम्ब र प्रतीकलाई निक्कै जोड दिन्थे । त्यसैले नेपाली आधुनिक गीत र कविता लेखनमा यिनलाई प्रयोगवादी साहित्यकार पनि भन्ने गरियो ।

रत्नशमशेर थापा नेपाली साहित्यिक परिवेशमा जति प्रिय थिए विदेशीका दृष्टिकोणमा पनि यी त्यति नै सम्मानित थिए । त्यसैले २०३१ सालतिर दिल्लीको ‘भारत नेपाल मैत्री सङ्घ’ले रत्नशमशेर थापाको सम्मानमा एउटा विशिष्ट कविसम्मेलनको आयोजना पनि गरेको थियो । वास्तवमा रत्नशमशेर थापालाई जसले बुझ्थ्यो उसले यिनको हृदयान्तरदेखि सम्मान गर्थ्यो ।

रत्नशमशेर थापा सबैसँग खुलेर नै बोल्थे । भनौँ कसैसँग कुराकानी गर्दा यी आफ्ना आन्द्राभुँडी नै फर्काउँथे । त्यसैले यिनलाई चिन्नेहरूले भन्ने गर्थे— ‘रत्नशमशेर थापा खुल्ला, निश्चल र पवित्र दिलका एउटा खुल्ला पुस्तक हुन् ।’ अनि यी चाहिँ कोही कसैसँग रिसाउँदैन थिए । बरू कसैसँग चित्त दुख्यो भने यी त्यस्ता व्यक्तिसँग बोल्दैन थिए । साथै त्यस समयमा यी एकान्तमा बस्थे र आफ्नो मनका कुरा लेख्थे—

तापको रापमा जलीजली मन डढेको
देखेन कसैले यहाँ व्यथा बढेको ।

नेपाली गीति आकाशमा एकपटक रत्नशमशेर थापा र नारायणगोपालको बेग्लै संसार थियो । त्यस बेला नारायणगोपालले गाएको गीत नै रत्नशमशेर थापाको गीति यात्राको आरोह थियो र रत्नशमशेरको रचना नै नारायणगोपालको पनि गीति यात्राको खुट्किलो थियो । वास्तवमा त्यस बेला नारायणगोपालाई रत्नशमशेर थापाकै गीत चाहिन्थ्यो र रत्नशमशेर थापालाई नारायणगोपालकै स्वर चाहिन्थ्यो । तर तिनीहरूको त्यो मिलन धेरै समयसम्म टिक्न सकेन । भनौँ यिनीहरूमध्ये एक जना पूर्व लागे र अर्को जना परिश्चम लागे । अर्थात् यी दुई मित्रहरू आआफ्नो बाटो लागे । अनि यिनीहरूले बेग्लाबेग्लै पाइला चाले तापनि यी दुवै साथीहरू नेपाली गीति यात्रामा अत्यधि सफलचाहिँ भए ।

रत्नशमशेर थापाको गीतलेखनको अर्को एउटा विशेषता के थियो भने उनी कुनै वातावरण र सोच्ने मौकाबीना पनि दसपन्ध्र मिनेटमा नै एउटा उत्कृष्ट गीत लेखिदिन्थे र लयका भरमा पनि यी गीत लेखिदिन्थे । अनि कहिलेचाहिँ छछ महिना आराधना गर्दा पनि यी दुई हरफ गीतमै चित्त बुझाउँथे । गीत लेख्ता यी आफ्नो नाउँ रत्नशमशेर थापा र कविता लेख्ता रत्न थापा मात्रै लेख्थे । तर यिनले जे लेखे पनि यिनलाई सबैले रत्नशमशेर थापा नै भन्थे । त्यो के हो भने यिनको गीति व्यक्तित्वको जनप्रियताको नाप हो ।

हरेक गीतमा एउटा झिल्को हुनुपर्छ भन्ने रत्नशमशेर थापाको सोचाइ हुन्थ्यो र यिनका गीतका प्रत्येक ठाउँमा झिल्काकै प्रतीक भेटिएको हुन्थ्यो । अनि रचनाको प्रसङ्ग निक्लँदा यी भन्थे— ‘कवितात्मक अनुभूति र प्रयोगपूर्ण भएपछि गीत लेख्ने सुरुवात भयो भने त्यो गीत बढी सार्थक र अति सफल हुन्छ ।’

रत्नशमशेर थापा संवेदनशील कवि र गीतकार थिए । तर मान्छेसँग हाँसखेल र ठट्टारमाइलो गर्न पनि यी त्यति नै वस्ताज देखिन्थे । यी मान्छेसँग गफिन पनि अति मन पराउँथे । कतिसम्म भने गफिएका बेला यी भोक र तिर्खा पनि बिर्सिन्छन् । तर जस्तै गफिएका बेलामा पनि चुरोट र चिया खानचाहिँ यिनले बिर्सेका हुँदैन थिए । कविता र गीत लेख्ता जसरी यी शब्दहरूको माधुर्य र गाम्भीर्यमा जोड दिन्थे मान्छेसँग बोल्दा पनि यी नयाँनयाँ शब्द र शैलीका आडमा आफ्ना विचार प्रस्तुत गर्ने गर्थे ।

गीति कविताको यात्राका क्रममै यिनले एकपटक जागीर पनि खाए । सत्र बर्षीय जीवनकालमा यी मोरङ्ग सुगर मिलमा जागिरे भए । तर आफ्नो खरो स्वभाव, स्पष्ट चालचलन र आदर्श चरित्रले यी त्यहाँ धेरै टिकेनन् । त्यसपछि यी काठमाडौँ आएर यातायात सम्बन्धी एउटा संस्था आर.टी.ओ.मा तालिमे भए । तर तालीम सकिएपछि यिनलाई यिनले नै नाउँ नसुनेको ठाउँमा खटाइयो । अनि यिनले पनि आफ्नो नियुक्तिपत्र आफ्नो हाकिमकै अघि च्यातेर त्यहीँ फ्याँकी दिए । त्यसपछि यी जीवनभरि आफ्नै घर बसे, दुक्ख र सुखको जीवन निर्वाह गरे अनि स्वतन्त्र भएर यिनले साहित्यिक आराधना गरे ।

रत्नशमशेर थापाको घरगृहस्थी हेर्ने हो भने यी घरव्यवहारमा असफल थिए । यी ज्यादै अव्यवहारिक थिए । घरबाट उम्केपछि यी कुन बेला आफ्नो घर पस्थे घरका कसैलाई थाहा हुँदैनथ्यो । साथै सानो कुरा चित्त बुझेन भने यी स्वास्नी र आफ्ना दुई छोराहरूलाई कचकच गर्थे । तर यिनकी श्रीमती अति विशाल हृदय भएकी यिनकी भाग्यरेखा नै मानिन्थिन् । घरमा सबै व्यवहार मिलाएर राख्नेदेखि लिएर पाहुनाहरूलाई स्वागत र बिदाइ गर्ने कलासमेत भैरवी थापाका नैसर्गिक गुण मानिन्थ्यो ।

रत्नशमशेर थापा एउटा उपकारी व्यक्तित्वका रूपमा पनि देखिन्थे । यी जहाँ पुग्थे अर्काको भलो नै गरेर फर्कन्थे । वास्तवमा यी अर्काको हीतबाहेक आफ्नो हीतको कुरा कहिल्यै गर्दैन थिए । साथै यी आफूले सम्याएको बाटो पनि अर्काको पारामा लागेर छाड्दैन थिए ।

रत्नशमशेर थापा सम्वत् १९९६ साउन १६ गते काठमाडौँको कमल पोखरीमा यी जन्मेका थिए । अनि यिनलाई जन्माउने बाबुआमा तीर्थशमशेर र तुलाकुमारी थिए । यिनका बाबुआमाले एउटा मात्रै छोरा र तीनवटी छोरी जन्माएका थिए ।

रत्नशमशेर थापाले अङ्ग्रेजी साहित्यमा एमए गरे । गीति यात्रामा जीवन सुम्पिँदा यिनले तीनवटा पुस्तक लेखे । साथै यिनले मुक्ति पुरस्कार, छिन्नलता गीति पुरस्कार, शिक्षा पुरस्कार, जगदम्बाश्री पुरस्कार र हरिहर शास्त्री र सावित्रीदेवी पुरस्कार पनि पाए । ती पुरस्कार पाउँदा यी सारै रमाए । सरकारी क्षेत्रबाट चाहिँ यिनले केही पाएनन् । तर पनि यिनले यही देशका लागि एकोहोरो कलम समाइरहे । लेखाइबाट नै यी नेपाली धर्तीमा सबैका मनपर्ने ‘रत्न’ बनिरहे । यी सधैँ बाहिरबाहिर हाँसिरहे, भित्रभित्रै रोइरहे र त्यही कुरा लेखिरहे—

खोला कति ओभानो बस्ती बस्ती अँध्यारो
जीवनयात्रामा यी पाइला पाइलामा
उड्दैछ के बिघ्न छारो, हुँदैछ सास लिन गाह्रो ।

रत्नशमशेर थापा जति छिप्पिए तापनि उनी आफूलाई कलिलो ठान्थे । उनी तेही अनुसार लेखनमा पनि डुब्थे । साहित्य सिर्जनामा समर्पित भैरहेकै बेला यी थला परे । अथवा भनौँ कुकुर डोर्याएर हिँड्दा यी आफ्नै घरको आँगनमा चिप्लेर लडे । त्यसपछि यिनको ढाड सड्क्यो र यी थला परेर । अन्तत यी २०७७ जेठ १५ गते स्वर्गीय भए । त्यस दिन नेपालको राष्ट्रिय झण्डा हल्लाउने सरकारी मान्छेहरुको समवेदना दिन ताँती लाग्यो । अनि थाहा खबरमार्फत नरेन्द्रराज प्रसाईले  भने—‘नेपालका सत्ताधारी पार्टीका व्यक्तिहरुले रत्नशमशेर थापाको नाम सुनेका थिएनन् । त्यसैले हामीले उनका बारे जति चिच्याए तापनि उनीहरूले कान सुनेनन् र रत्न शमशेरहरू प्राज्ञ बनेनन् । उनीहरुले रत्नशमशेर थापा यस्ता थिए उस्ता थिए भनेर श्रद्धाञ्जली अर्पण नगरेकै राम्रो हुने थियो । उनीहरूले रत्नशमशेर थापालाई श्रद्धाञ्जली चढाउनु भनेको त्यो ठूलै व्यङ्ग्य हो ।’

© नरेन्द्रराज प्रसाई

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश