हर्कबहादुर गुरुङ दुई कक्षा पढ्न आफ्ना बुबा सुवेदार पारसाई गुरुङको हात समाएर देहरादून पुगेका थिए । अनि त्यहाँको रेजिमेन्टल चिल्ड्रेन स्कुलमा उनलाई कक्षा पाँचसम्म पढाइयो । त्यसपछि उनी पञ्जावको जलन्धरमा पुगेर त्यहाँको किङ जर्ज मिलिटरी कलेजमा ६ कक्षामा भर्ना गरिए । त्यहाँबाट उनले आर्मी स्पेशल परीक्षा उत्तीर्ण गरे । त्यसपछि उनी काठमाडौं आए र त्रिचन्द्र कलेजमा आइए पढ्न थाले । उनका सहपाठी गणेशबहादुर राईका अनुसार ‘हर्कबहादुर गुरुङ सानैदेखि फूटबल र हकीका कुशल खेलाडी थिए र गायन तथा गीत लेखनका पनि उमेर अनुसारका विलक्षण प्रतिभा थिए ।” त्यही परिवेशमा उनले पटना विश्वविद्यालयबाट प्रथम श्रेणीमा प्रथम भई बीए अनर्स गरे । त्यहाँ उनी एम्ए पढिरहेका बेला उनको भेट प्रधानमन्त्री बीपी कोइरालासँग भयो । गुरुङको चाहना अनुसार कोइरालाले पोष्ट ग्रेजुयट डिप्लोमा पढ्न उनलाई संयुक्त अधिराज्य पठाए । अनि स्कटल्याण्डको एडेनबरा विश्वविद्यालयमा उनको अध्ययन सुचारु हुन थाल्यो । अन्ततः त्यही विश्वविद्यालयबाट उनले भूगोलमा विद्यावारिधि पनि गरे । अनि एक वर्षति उनले लण्डन विश्वविद्यालयमा प्राध्यापन गरे । नेपाल फर्केपछि उनले आफ्ना मित्र गणेशबहादुर राईलाई भने, “धेरै नेपालीहरू पाँच दिन बेलायत बस्ता साहेब भएर आउँछन् तर म पाँच वर्षबस्ता पनि साहेब हुन सकिन ।” वास्तवमा उनी ठेट नेपाली थिए, मौलिक नेपाली थिए र नेपाल राष्ट्रलाई नै माया गर्ने सच्चा नेपाली थिए । यही परिवेशमा गुरुङले २०४० सालमा (नरेन्द्रराज प्रसाईलाई) लेखेका थिए- “मलाई विश्वको भन्दा नेपाली राष्ट्रियताको जगेर्नासम्बन्धी नै बढी चासो छ ।”
गुरुङ प्रष्ट थिए, नीर्भिकता उनको नैर्सर्गिक गुण थियो र खरो रूपमा आफ्ना मनका कुरा जनसमक्ष पुर्याउन सक्ने उनको वैयक्तिक कला थियो । उनले आफू संयोजक भएको नेपालको बसाइँसराइ अध्ययनको प्रतिवेदन बुझाउँदा एक पटक उनी चर्चिचभन्दा पनि चर्चित भएका थिए । उनको रायसुझावको गाँठी कुरा नेपाल-भारतमा सीमा बाँध्ने विषयमा आधारित थियो । त्यसपछि नेपालका प्रायः बौद्धिक खेतलाहरूले यिनको खुबै आलोचना गरे । त्यस घडी उनको सुझावलाई आगो लगाउनेहरूमध्येले बोलेका थिए, “हर्क गुरुङलाई झुन्डयाउनु पर्छ ।” उनका विरोधमा जति नै आँधीहुरी आए तापनि उनी कसैसँग गलेनन् र उनले भने ”भविष्यले मेरो विचारको महत्व टड्कारो बुझाउने छ ।”
गुरुङको परिकल्पना जोडिन जाँदा नेपालमा पाँच विकास क्षेत्रको स्थापना भएको थियो । उनले नेपालजस्तो सानो मुलुकमा पचहत्तर जिल्ला हुनु हुँदैन यसलाई पच्चीस जिल्लामा बाँध्नु पर्छ भनेका थिए । तर उनका कुराको विचारविमर्श हुनै सकेन ।
गुरुङको सक्रिय जीवन अध्ययन, अन्वेषण, अध्यापन, प्राध्यापन र राजनीतिमा नै समर्पित रहृयो । उनी नेपाली माटोमा एउटा अलौकि नागरिक थिए । त्यसैले यी राष्ट्रिय पञ्चायत र राष्ट्रिय योजना आयोगका सदस्यमा मनोनीत भए । साथै यी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र शिक्षा, यातायात, पर्यटन तथा उद्योगवाणिज्य राज्यमन्त्रीमा पनि नियुक्त भएका थिए । यिनको कदरस्वरूप यी नेपाल श्रीपद्का अतिरिक्त दोस्रा दर्जाका त्रिशक्तिपट्ट र गोरखादक्षिण बाहुबाट पनि विभूषित भए । साथै विद्यावारिधि गरेबापत उनी महेन्द्र विद्याभूषणबाट अलङ्कृत भए ।
गुरुङ मन्त्री भएका बेला गलैंचाकाण्डमा यिनलाई पनि अनाहक फसाइएको थियो । अनि यिनले मन्त्री पदबाट मात्र होइन राष्ट्रिय पञ्चायत सदस्यसमेतबाट पनि राजिनामा दिए । त्यसै बेला यिनले राजा वीरेन्द्रलाई समाचार पठाएका थिए- “हर्क गुरुङ भारी बोकेर खान्छ, तर घुस खाँदैन ।” वास्तवमा यी त्यस्तै हक्की, प्रष्ट र इमान्दार थिए ।
गुरुङले एसिया पेसिफिक डेभलपमेन्ट सेन्टरको प्रमुखको उमेद्वारीका लागि आवेदन दिँदा थाइल्यान्डका प्राज्ञले त्यसै पदमा दिएको आफ्नो उमेद्वारी तत्कालै फिर्ता लिएका थिए । किनभने उनले हर्क गुरुङजस्ता महाप्राज्ञले उक्त ओहोदा ग्रहण गर्नु पर्छ भन्ने मान्यता राखेका थिए ।त्यसैले गुरुङ त्यस संस्थामा निर्वाचित भएर मलेसियामा पाँच वर्षबसेका थिए।
गुरुङका आदर्शहरूमा माओ त्सेतुङ, मार्टिन लुथरकिङ र जयप्रकाश नारायण पर्थे । अनि उनी टङ्कप्रसाद आचार्यलाई खुवै श्रद्धा गर्थे । उनका मन नपर्ने विषयचाहिँ चाकरी, चाप्लुसी र चुकली थियो । यी अर्काको जरा खन्ने मान्छेलाई दानव भन्थे ।
गुरुङले नेपालका प्रायः सबै जिल्लाका साथै एसिया, युरोप, अफ्रिका र अमेरिकाका विभिन्न ठाउँको भ्रमण गरेर व्यापक अनुभव बटुले । अनि यिनले आफ्नो अनुभव, ज्ञान र सीप नेपाली माटोमा रोप्न खोजे । तर उनलाई काम गर्न बाधाविरोध मात्रै भइरहृयो । यति हुदाहुँदै पनि उनी डटेर आफ्ना यात्रामा लम्किरहे । उनले झन्नै दुई सयवटा फूटकर लेखहरू र एक दर्जन किताबहरू लेखे । उनका लेख र कृतिहरू प्रायः अङ्ग्रेजी भाषामा नै प्रकाशित भए । तर उनी गुरुङ (तमू) भाषाका चाहिं आदिकवि थिए ।
गुरुङ एउटा राष्ट्रवादी प्रतिभा थिए । उनको मन, वचन र कर्ममा नेपालको राष्ट्रियता टाँस्सिएको थियो । उनले नेपालको जनजीवन र भौगोलिक स्थितिलाई धेरै नजिकबाट अध्ययन गरेका थिए । यसै प्रसङ्गमा उनले (नरेन्द्रराज प्रसाईलाई) फेरि लेखेका थिए- “देशको तीव्रतर विकासका लागि वाहृय दानको निर्भरता घटाई अधिकांश जनतालाई विकास भनेको एउटा कष्टदायक र कठीन प्रकृया हो भनी महसुस गराई नेपालीले पसीना नबगाएसम्म नेपालको विकास सम्भव छैन ।”
गुरुङ समाजशास्त्रीका रूपमा सुपरिचित थिए । उनी पर्वतारोहणका विषयका पनि त्यत्तिकै ज्ञाता मानिन्थे । उनको सोखको विषय फोटाग्राफी थियो । साथै उनी चित्रकलामा पनि पारङ्गत थिए । उनको चित्रकलाका गुरु बालकृष्ण सम थिए । उनले बनाएका चित्रहरुमध्ये डाँफे र मुनालका चित्रहरूचाहिं हुलाक टिकट पनि बनाइएको थियो । उनी तास, जुवा, चुरोटलाई आफ्नो समयसाथी मान्थे भने जाँडरक्सीको सेवन पनि उनको सहायक समयप्रवृत्ति देखिन्थ्यो । उनले जीवनको उत्तर्रार्थमा जनजाती विषयका अध्ययन, चिन्तन र विश्लेषणमा अधिकांश समय दिन थालेका थिए । तर उनी साम्प्रदायिक थिएनन् । मुलुकलाई सङ्घीयताको भीरमा पुर्याउने कुरामा उनले मत दिएका थिएनन् तर उनी भन्थे ”राज्यको शक्ति पूर्ण विकेन्द्रीकरण हुनु पर्छ ।”
गुरुङ १९९५ साल पुस २१ गते लम्जुङको तराँचेमा माइसेवोका कोखबाट जन्मे । साथै उनी २०६४ साल असोज ७ गते ताप्लेजुङको घुन्सामा हेलिकप्टर दुर्घटनामा स्वर्गीय भए ।
Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » हर्कबहादुर गुरुङ