» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » षडानन्द अधिकारी Sada Nanda Adhikari

नइको चिनारी


षडानन्द अधिकारी Sada Nanda Adhikari

षडानन्द अधिकारी निर्भीक थिए । उनी न्याय र निसाफका तराजु थिए । राणा प्रधानमन्त्रीहरू पनि उनको कुटीमा गएर पलेटी कस्थे । उनी हिन्दुधर्मका प्रखर चिन्तक र आस्थावान् थिए । तर उनी धर्मको आडमा हुने विकृतिको खुला विरोध गर्थे । उनी सतीप्रथाले हिन्दुधर्म नराम्ररी खस्किन्छ भन्थे । त्यसैले लोग्ने मर्दा स्वास्नीलाई पनि घाटमा लगेर जिउँदै जलाउने कुप्रथा उनैले रोक्न सुरुवात गरे । त्यसबेला गाउँमा लोग्ने मान्छे मर्ने वित्तिकै उनी घाट जाने गौडामा पुग्थे र मलामीसँग झैंझगडा गरेर सतीलाई डोलीबाट झक्थे । यो काम गर्दा भोजपुर दिङलामा उनको विरोधमा राँको बल्यो । अनि उनले हिन्दुधर्म जोगाउन सतीप्रथाको उन्मूलन गर्नैपर्छ भन्ने बेहोराको ठाडो विन्तीपत्र चन्द्रशमशेरसमक्ष हाले। महाराज चन्द्रशमशेरले त्यस बेहोरालाई मनासिव ठाने र उनैको हुकुमले नेपालमा सतीप्रथाको अन्त्य भयो । अनि यसबारेको औपचारिक ऐन भने १९७७ साल असार २५ गते जारी भएको थियो ।

उहिले सेर्पा, तामाङ, मगर, गुरुङ, राई, लिम्बुले संस्कृतभाषा पढ्न पाउँदैनथे । षडानन्दले नै जनजातीलाई पनि छेत्रीबाहुनसरह त्यो भाषा पढाउन सुरुवात गरे । सामूहिक व्रतबन्धको चलन पनि यिनले ल्याए । त्यस समय श्राद्धमा बोको काटेर पितृलाई मासु चढाउने चलन थियो । उनैले बोकाको मासुको सट्टा खीर चढाउने रीत चलाए । त्यसबेलासम्म घरमा तुलसी रोप्न हुँदैन भनिन्थ्यो, उनैले घरघरमा मोठ बनाएर तुलसी रोप्ने संस्कार बसाए।

भोजपुर दिङलाका लक्ष्मीनारायण अधिकारी र रुक्मिणीका आठजना सन्तानमध्ये सबैभन्दा अन्तिम पटक षडानन्द अधिकारी जन्मेका थिए । यिनको जन्म १८९२ साल मङ्सिर विवाहपञ्चमीमा भयो । तर यिनले भने जीवनभरि बिहे गरेनन् ।
षडानन्द जन्मनुभन्दाअघि नै उनका बुबाको निधन भइसकेकाले उनकी आमाको आर्थिक अवस्था डामाडोल थियो। त्यतिखेर उनी कति तन्नम थिइँन् भने खान नपाएर उनको दुध पनि आँउदैन्थ्यो । त्यसैले त्यस बेला धनमाया दमिनीले षडानन्दलाई दूध खुवाएर हुर्काउन मद्दत गरिन् ।

षडानन्दले बाल्यकालदेखि नै धार्मिक आस्थामा आफूलाई डोर्‍याउन थाले र यस कार्यको प्राप्तिका लागि उनी जनकपुर पुगे । त्यस बेला उनी आठ वर्षा थिए । त्यसै समयमा उनी त्यहाँको गुरुकुलमा भर्ना भए । आठ वर्षम्म त्यहीं शिक्षा हासिल गरेपछि उनी काशीतिर लागे । त्यहाँ उनले पहिले षडर््दर्शनको अध्ययन गरे । त्यसपछि उनी वेदान्त दर्शनको अध्ययनमा चाहिँ घोटिएरै लागे । त्यहाँ उनका गुरु मग्निराम ब्रहृमचारी थिए । त्यहाँ पनि उनी आठ वर्षबसे । त्यहीं बसेका बेला उनलाई १०८ श्री लगाएर गुरुमहाराजको उपाधि प्रदान गरियो । त्यसैताक उनी बद्रीनाथ, केदारनाथ र रामेश्वरम् पनि पुगे । साथै उनी वृन्दावन, मधुरा, प्रयाग र गया पनि गए । त्यसै बेलाको विभिन्न चरणका शृङ्खलामा उनले अरु धर्म र हिन्दी, उर्दू, अङ्ग्रेजी, फारसी र फ्रेन्चभाषाको अध्ययन गरे ।

भारतबाट फर्केपछि षडानन्दले र्सलाहीस्थित बागमती नदीको किनारमा आश्रम जमाए । त्यहाँ उनले आफ्नो शिर छेक्ने कुटी पनि बनाए । त्यहीं उनले अष्टसिद्धि प्राप्त गरे । त्यसपछि उनी काठमाडौं आएर गोकर्ण उत्तरबाहिनीमा ध्यानमग्न भए । त्यसपछि उनी पशुपतिको मृगस्थली पुगे । त्यहाँ पनि उनले केही वर्षतपस्या गरे । त्यहीँ कमान्डरइनचिफ बमबहादुर राणा उनको दर्शन गर्न गए । राणाले षडानन्दलाई ढोगेको प्रसङ्गले काठमाडौं सहर हल्लियो । अनि रैतीहरूको त्यहाँ झनै भीड लाग्न थाल्यो । त्यसपछि उनी त्यहाँबाट कसैलाई सुइँको नदिई पचलीघाट गए र त्यही बसेर तपस्या गरे ।

षडानन्द पचलीघाटमा भएको बेहोरा महाराज जङ्गबहादुर राणाले चाल पाए । त्यसैले उनको दर्शन गर्न राणा दलबलसहित त्यतै हान्निए । त्यतिबेला उनको तपस्याको अवधि तीन दशकजति पुगेको थियो । अनि राणाले बिन्ती गरे “अब अन्न खाएर हाम्रो इच्छा पूर्ण गराइदिनुपर्‍यो ।” त्यसपछि राणाले षडानन्दका लागि सुनको थालमा खीर पस्कन लगाए अनि उनले खीर खाए । तर उनले आफूलाई दिइएको सुनको थाल र सुनको करुवा लिएनन् । त्यसपछि उनी कुटीमै बसेर प्रवचन दिन थाले । ज्ञानमणि नेपालका अनुसार त्यसपछि उनी पोखरा गए । त्यहाँ उनी सेतीकिनारमा तपस्या गरेर बसे ।

देशदेशान्तरको भ्रमण गरिसकेपछि षडानन्द ३१ वर्षछि आफ्नो मातृभूमि दिङला पुगे । त्यति बेला उनकी आमा उनकै पीरमा छटपटाएर सुतिरहेकी थिइन् । त्यसै बेला उनले आमाका पाउमा आफ्नो निधार पुर्‍याए । दुर्गाप्रसाद अधिकारीका अनुसार त्यसको भोलिपल्टै उनकी आमाले पृथ्वीबाट बिदा लिइन् ।

षडानन्दले त्यस बेलाको विधिविधानअनुसार एक वर्षम्म आमाको जुठो बारे । त्यसपछि त्यहीँ उनले विभिन्न मठमन्दिर, पाटी र चौतारा बनाए । साथै त्यहाँ उनले रुद्राक्षसहित सैंयौं जातका बोटबिरुवा रोपेर बगैंचा बनाए ।

षडानन्दलले दिङलामा गुरुकुलको स्थापना पनि गरे । नेपालमा जनस्तरमा पहिलो स्कुल स्थापना गर्ने उनै पहिलो व्यक्ति थिए । अनि त्यस स्कुलको नाउँ षडानन्द संस्कृत प्रधान पाठशाला थियो । १९३२ सालमा स्थापित त्यस गुरुकुलमा क्रमशः विद्यार्थीको ओइरो लाग्न थाल्यो । त्यहाँ भर्ना हुन इलामदेखि पोखरासम्मका र भारतका सिक्किम, दार्जीलिङ र भुटानका विद्यार्थीहरू पनि आउँथे ।

षडानन्दले राणा प्रधानमन्त्रीबाट जनसेवाका लागि केही हुकुम प्रमाङ्गी गराएको दधिराज सुवेदीले प्रमाण सुरक्षित राखेका छन् । षडानन्दले प्रधानमन्त्री रणोद्दीप सिंह, कमान्डरनचिफ धीरशमशेर र जगत्शमशेरमार्फत राजा सुरेन्द्रबाट मठमन्दिर र गुरुकुलको जग्गाजमिन र सम्पत्तिका लागि लालमोहर र रुक्काआदेश जारी गराए । शिक्षा र धर्मका लागि उनी कमान्डरइनचिफ खड्गशमशेरकहाँ पनि पुगे । अनि राजा पृथ्वीवीरविक्रम शाहका नाउँबाट उनको गुठीका लागि जग्गाजमिनको ताम्रपत्र प्रदान गरिएको थियो र्।र् इश्वर बरालका अनुसार त्यस ‘गुरुकुलमा सुरुसुरुमा धनीमानीले पैसा र अन्न दिए । तर राजाहरूले जग्गा दान दिएपछि त्यो गुरुकुल धनी हुँदै गयो । अनि क्रमशः शिक्षकहरूले पनि तलब, भत्ता र पारिश्रमिक पाउने व्यवस्था हुन थाल्यो ।’ साथै उनले स्कुललाई वैज्ञानिकीकरण गरे । त्यसैबेला उनले अध्यापक, प्रधानाध्यापक र कर्मचारीको व्यवस्था गरे । उनैले ‘विद्यालय र मन्दिरको सञ्चालनका लागि सैयौंमुरी धान फल्ने खेत गुठी राखिदिएको बेहोराको हरि मञ्जुश्रीले गीत गाइरहे । उनैले त्यहाँ पुस्तकालय पनि सञ्चालन गरे । त्यस पुस्तकालयमा जम्मा ७२ वटा पुस्तक भएको बेहोरा १९६६ सालको धर्मपत्रिकामा पनि लेखिएको छ ।

षडानन्द आसामको कामाक्षा पनि गए । हेमाङ्गराज अधिकारीका अनुसार आसामबाट फर्केपछि उनी पाँचथरको जोरपोखरीमा केही महिना तपस्या गरेर बसे । उनी जहाँ जान्थे जनतालाई प्रोत्साहन गर्थे । गोविन्दमानसिंह कार्कीका अनुसार ‘षडानन्द अधिकारीले सिङ्गो राष्ट्रको धार्मिक, सामाजिक र शैक्षिक उत्थानका लागि महत्वपूर्णभूमिका निभाएका थिए ।’

बालागुरु षडानन्दले आफूद्वारा निर्मित सबै मठमन्दिर र शिक्षणसंस्थाको श्रेस्ता राम्ररी राखे । जनसेवामा समर्पित सम्पति कसैले खान नपाओस् भनेर बालागुरुले धर्मपत्रिका पनि छापे र शिलालेख पनि लेखाए । त्यसपछि उनी काठमाडौंको पचलीघाटको बममन्दिरमा आए र पुनः तपस्यामा लागे । अनि केही वर्षछि उनलाई हैंजा लाग्यो । झाडावान्ताका कारण उनी १९७३ साल जेठ ३२ गते स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश