वासु शशी नेपाली भाषासाहित्यका अमर प्राज्ञको नाउँ हो । उनको जन्म १९९३ साल चैत १३ गते काठमाडौँको पशुपतिमा भएको थियो । उनी भूमिमानन्द वैद्य र हितकुमारीका कान्छा छोरा थिए । वासुदेव वैद्यले आफ्ना माइला दाजु गोविन्ददेव वैद्यले गोविन्द वियोगी लेख्न थालेपछि आफूलाई पनि वासु शशी लेख्न थालेका थिए ।
वासु शशीका पूर्खा वैद्य पेशामा आवद्ध थिए । उनका पिताले पनि त्यही पेसा समाएर आफ्नो जिविका चलाए । उनका पिताको शेषपछि उनीहरूको आर्थिक अवस्था त्यति गतिलो भएन । त्यसैले वासु शशीले शिक्षक हुने विचार गरे । त्यही अनुरूप उनी २१ वर्षको उमेरमा कलेज अफ एजुकेशनमा वीएड पढ्न थाले । त्यति बेला उनका कलेजका साथीहरूमा दौलतविक्रम विष्ट, रमेशविकल र नीरविक्रम प्यासी थिए । साथै जुलुम श्रेष्ठ पनि उनकै सहपाठी थिइन् । त्यति बेला यी नरनारी खुवै मिल्थे ।
वासु शशीका बुबा बाचुन्जेल त्यो परिवार आर्थिक रूपमा त्यति विकट थिएन । तर उनका बुबाको निधनपछि त्यस परिवारलाई औँसीले छोपेको झैँ भयो । उनकी आमाको निधनपछि उनका घरमा गरिबीले नै छोपेको थियो । त्यति बेला यिनीहरू बिहान के खाउँ र बेलुका के खाउँका अवस्थामा थिए । त्यतिखेरको समय उनीहरूको घर फुङ्ग उडेको गोठ जस्तै थियो । त्यस घडी यिनीहरू कहिले भोकै सुत्थे र कहिले केही खाएर पनि सुत्थे।
वासु शशीले विद्यार्थी जीवनमा नै गोरेटो र लोकदूतको सम्पादन गरे । उनले नव निर्माण त्रैमासिकको पनि सम्पादन गरे । त्यसै बीच उनी एउटी सुन्दरीको प्रेमबन्धनमा बाँधिए । अनि ती युवती थिइन् आफ्नै साथी जुलुम श्रेष्ठ । जुलुमकै मायामा डुबेर उनले अनगिन्ति कविताको रचना पनि गरे । २१ वर्षको उमेरमा उनले कविता पाठ गरेर लेखनाथ पौडयालबाट स्वर्ण्र्ााक पनि पाएका थिए
वासु शशी नेशनल कलेजमा पढेताका चल्तापर्ूजा थिए । त्यति बेला उनको साहित्यिक सक्रियताको पारखी थिइन् जुलुम श्रेष्ठ । जुलुम उनीप्रति खुबै आकषिर्त हुन थालिन् । त्यसपछि उनीहरू डुल्नघुम्न पनि थाले र उनीहरूले पढ्नमा पनि मन घटाएका थिएनन् । त्यसै बखत उनीहरू एकअर्कामा चिठी लेखालेख गर्थे, फोटो साटासाट गर्थे र बाटो कुराकुर गर्थे । त्यसैताक वासु शशी एकान्तमा आफ्नी प्रेयसीलाई गीत गाएर सुनाउने गर्थे । अनि जुुलुम पनि गीत र नृत्यले वासु शशीलाई मोहित बनाउने गर्थिन् । वासु शशीचाहिं गायक पनि थिए । आमा सीतारवादनमा सौख राख्ने भएकाले उनले सानैदेखि गीत गाउने गरेका थिए । पछि जुलुमसँगको प्रेममा डुबेर उनी प्रायः जुलुममा नै समर्पित गीत लेख्थे र आफैं भाका हालेर ती गीत गाउँथे । अनि तिनै जुलुमसँग उनले २०२० सालमा विहे गरे । यी दम्पतीबाट दुई छोरी लुना राजभण्डारी, नीना जोशी र छोरा निरज बैद्य जन्मे ।
२००७ सालको परिवर्तनले वासु शशीमा पनि समाजमा केही गरौँ भन्ने भावना पलाएको थियो । त्यसै बेला उनले पशुपति क्षेत्रमा पुस्तकालय स्थापना गरे । त्यसै कालमा उनी शारदा हाइस्कुलका पनि मास्टर भए । त्यस स्कुलमा पढाउन घरघरमा गएर उनले विद्यार्थी ओसार्न थाले । त्यस समय आफ्ना नानी पढाउनु पर्छ भन्ने अविभाकहरूमा त्यतिसारो ज्ञान पलाइसकेको थिएन । त्यसैले उनी त्यस कामका लागि घुँडो र मुन्टो दोबारेर नै लागे । त्यस समय उनको तलव मासिक सात रुपियाँ हुन्थ्यो । तर त्यस सात रुपियाँ पनि उनी दस जना विद्यार्थीलाई जनही पच्चीस पैसा बाँड्थे । उनी पछि त्यसै स्कुलको हेड मास्टर पनि भए ।
वासु शशी फर्पिङ बोर्डिङ स्कुलको शिक्षकमा भर्ना भए । सिद्धिचरण श्रेष्ठको करबल र सहयोगमा उनले त्यस स्कुलमा भर्ना पाएका थिए । त्यस स्कुलमा पढाउन थालेपछि उनको घरको आर्थिक स्थिति पनि क्रमशः सवल हुन थाल्यो ।
फर्पिङ स्कुलमा वासु शशी चाँडै विद्यार्थी प्रेमी भए । उनी त्यस स्कुलका प्रायः विद्यार्थीका प्रेरक बने । त्यहाँका विद्यार्थीहरू उनको काव्यात्मक व्यक्तित्वबाट प्रफुल्लित थिए । त्यसैले यिनकै संरक्षकत्वमा त्यस स्कुलमा विद्यार्थीको समूह तयार भइसकेको थियो । अनि त्यतिबेला उनी आफ्ना विद्यार्थीलाई भेला पारेर कविता सुनाइरहन्थे ।
नेपाल प्रज्ञाप्रतिष्ठानको स्थापनापछि उनी त्यतै लागे । त्यहाँ जागिरे भएर बसिन्जेल बालचन्द्र शर्मा र भवानी भिक्षुले उनलाई प्रोत्साहन गरिरहे । वास्तवमा उनका लागि ती दुबै प्राज्ञको धेरै नै सहयोग, सद्भावना र प्रेरणा प्राप्त भैरहृयो । त्यसैले पछिसम्म पनि उनले भनेका थिए “भवानी भिक्षु र बालचन्द्र शर्माको सङ्गत नपाएको भए शायद म वासु शशी बन्ने थिइँन होला ।”
वासु शशीका माइला दाजु गोविन्द वियोगी पनि साहित्य, समाजसेवा र राजनीतिमा धेरै नै चाख राख्थे । त्यसैले दाजुकै दौराका फेर समाएर वासु शशीले पनि यी तीनै थोकमा आफूलाई डुबाएका थिए । उनीहरू सारै मिल्थे अनि कति मिल्थे भनेे, उनीहरुमध्ये एक जना माटोको भर ढुङ्गा हुन्थे र अर्को जना ढुङ्गोको भर माटो हुन्थे । उनका दाजु मातृभूमि साप्ताहिकको सम्पादक पनि थिए । त्यस बेला मङ्गलवारको मातृभूमि नपढ्ने बौद्धिक जगत् प्रायः हुँदैनथ्यो ।
वासु शशीको सङ्गठनात्मक कौसलका नमुना थिए । त्यस बेला उनले रोदी नामक साहित्यिक संस्था पनि स्थापना गरेका थिए । रोदीमा उनीलगायत भूपी शेरचन, कृष्णभक्त श्रेष्ठ, हिमांशु थापा, कुमार नेपालको पनि सक्रिय संलग्नता थियो । अनि त्यसको नेतृत्वको जिम्मा वासु शशीलाई नै सर्वसम्मत गरिएको थियो । त्यति बेला रोदीमार्फत काठमाडौँमा साहित्यिक सभाहरू भइरहन्थे । उनी जीवन पर्यान्तै साहित्यिक सङ्गठनमा आवद्ध भैरहे र जीवनको अन्त्यमा सिद्धिचरण प्रतिष्ठानका अध्यक्ष थिए ।
लेखेर र काम गरेर नै साहित्यमा वासु शशी अजर स्रष्टाको नाउँ बन्यो । उनको नाउँ खास गरेर कविका रूपमा नै सुप्रसिद्ध भयो । साथै उनले नाटककारका रूपमा पनि आफ्नो नाउँ सुन जस्तै चम्काए । उपन्यास र गीत लेखनका पनि उनी अब्बल दर्जाका स्रष्टा थिए । अनुवादमा पनि उनले त्यस्तै नाउँ कमाए । अनुवादसहित उनका नेपाली र नेवारी भाषा गरेर दुई दर्जन कृति प्रकाशनमा आए ।
वासु शशीले सामाजिक र साहित्यिक गरेर भारत, पाकिस्तान, श्रीलङ्का, जापान, रुमानिया, बेल्जियम, बेलायत, अमेरिकाको भ्रमण गरे ।
नेपाली समाजमा थोरै लोकप्रिय साधकहरूमा वासु शशीको पनि नाउँ आउँछ । लेखेर मात्रै उनी धुरी चढेका थिएनन् । उनी मिलनसार, सहयोगी र हक्की पनि थिए । तर उनी आफ्नो काममा समर्पित हुँदाहुँदै क्यान्सरबाट थला परे । उनको उपचारका लागि उनकी पत्नी जलुमले धेरै कसरत गरिन् । अन्ततः उनी भारतको टाटा मेमोरियल अस्पतालमा २०४९ चैत ४ गते स्वर्गीय भए । अनि भोलिपल्ट उनको पार्थिव शरीर काठमाडौं ल्याएर दाहसंस्कार गरिएको थियो । त्यसपछि जनस्तरबाट उनका नाउँमा वासु शशी स्मृति परिषद्को स्थापना भयो भने सरकारी तहबाट उनको घर जाने बाटोको नाउँ वासु शशी गल्ली राखियो ।