» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » वासुदेव भट्टराई Basudev Bhattarai

नइको चिनारी


वासुदेव भट्टराई Basudev Bhattarai

पण्डित वासुदेव भट्टराई दुरदर्शी चेतमा प्रतीक थिए । उनी विगत र वर्तमानलाई केलाएर भविष्यको अडकल काट्थे । उनी स्वाभिमानले पनि खारिएका थिए । उनीभित्र न्याय पनि त्यतिकै प्रबल थियो । संयुक्त परिवारमा रहेका आफ्ना चारभाइ छोराबाट बराबरी पैसा असुलेर उनी घर खर्च गर्थेे । उनी अनर्थमा आफ्नो पनि कसैलाई खुवाँउदैन थिए र अर्काको धनमा पनि आँखा पुर्याउँदैन थिए ।

मोहनदत्त भट्टराई र मेनका भट्टराईका तीनभाइ छोरामध्ये वासुदेव कान्छा थिए । यिनको जन्म १९४५ साल वैशाख २४ गते भारत, बनारसको पञ्चगड्गाघाट छेउको घरमा भएको थियो । उनले बनारसबाटै बीए पास गरेका थिए । साथै उनले संस्कृत, नेपाली र अड्ग्रेजीभाषाको विशेष शिक्षा ग्रहण गरेका थिए । उनी शिक्षा प्रेमी थिए । उनको शिक्षाप्रेमको हल्ला नेपालमा पनि आएको थियो । अनि उनलाई लिन काजी मरिचमान सिंह बनारस पुगेका थिए । सिंहका पछि लागेर २८ वर्षको उमेरमा उनी नेपाल आए ।

त्यसबेलासम्म नेपालमा प्रायः भारतीय बड्गाली शिक्षकहरुद्वारा पढाइने प्रचलन थियो । दरबार हाइस्कूलको स्थापनापछि नेपाली मूलका शिक्षकहरुको पनि क्रमशः खोजी हुन थाल्यो । श्री ३ चन्द्रशमशेरको प्रधानमन्त्रीत्वकालमा उनलाई नेपाल छिर्न मन थिएन, तर अनेक प्रपञ्च मिलाएर सिंहले उनलाई नेपाल ल्याएका थिए । उनलाई सुरुमै दरबार हाइस्कूलमा इतिहास र अड्ग्रेजी पढाउने गुरुका रुपमा प्रवेश गराइयो । त्यसबेला यिनका चेलाहरुमा बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, यदुनाथ खनालआदि थिए । उनले दरबारहाई स्कूल र पद्मकन्या विद्याश्रम गरेर जम्मा ४० वर्ष निरन्तर पढाएका थिए ।

हेर्दा केही पुड्का भए पनि भट्टराई खाइलाग्दा देखिन्थे । उनी राजर्षी ठाँटमा जुँगा मठारेर हिंड्थे । उनका जुत्तामा सँधै पालिस टल्केको हुन्थ्यो । पोशाकका रुपमा बनारसदेखि नै उनी दौरा, सुरुवाल, कोट र टोपीमा ठाँटिने गर्थे । उनको खाईलाई अनि नीर्भिक व्यक्तित्व, ओजनदार शैली र स्पष्ट धारणाको सन्देश राणा दरबारसम्म पनि पुगेको थियो । श्री ३ जुद्धशमशेर राणाले प्रधानमन्त्रीत्व ग्रहण गरेपछि भट्टराइलाई बोलाएर भनेका थिए, ‘ए हेड मास्टर !’ त्यतिखेर उनले ‘म हेड मास्टर होइन सरकार ! मास्टर मात्रै हुँ’ भन्ने जवाफ फालेका थिए । अनि राणाको प्रत्युत्तर थियो, ‘मैले तिमीलाई हेड मास्टर भनी हालें । अब आजदेखि तिम्रो तलब हेडमास्टर सरह भयो । मैले तिमीलाई मासिक २०० रुपियाँ थप गरिदिएँ । साथै भारतवर्षको इतिहास लेखेवापत यिनै राणाले यिनलाई २५० रुपियाँ बक्सिस पनि दिएका थिए ।

स्कूलमा पढाउन जाँदा भट्टराईको एउटा हातमा पानको बट्टा र अर्को हातमा लौरो हुन्थ्यो । उनका मुखमा प्रायः पान च्यापिएको हुन्थ्यो । स्कूलमा पढाए ताका टिफिनको समयमा यी पनि अरु मास्टरसँगै स्कुलको बुइंँगलमा गएर गुडगुडे तमाखु तान्थे ।

भट्टराईले शिक्षामा नै आफ्नो काँध थापे, शिर थापे र जीवन थापे । यसबाट बाहिर जान उनले मन गरेनन् । उनलाई राणाले बडाहाकिमको पद पनि दिए । तर उनले त्यसलाई स्वीकारेनन् र भने, ‘म यो शिक्षण पेशाबाट चटपटाउने छैन ।’ त्यसैले श्री ३ मोहनशमशेरले उनको नाउँ ‘म्यान अफ स्टिल’ राखेका थिए ।

तत्कालीन नेपालको शक्तिकेन्द्रसँग सम्बन्ध भएकाले भट्टराई शक्तिशाली मानिन्थे । यी राणा दरबार श्री ३ चन्द्रशमशेरका नाति पढाउने गुरुबाबु पनि थिए । तर यति हुँदाहुँदै पनि उनी कहिल्यै आफ्नो निष्ठादेखि तल ओर्लेर कुनै लोभमा डुबेनन् । उनीसँग राणाका आसेपासेहरु भन्थे, ‘जग्गा जमीन, पद माग न, पण्डित बाजे !’ उनी जवाफ दिन्थे, ‘मैले आफ्नो पौरखलाई मात्र मान्छु । मेरा लागि पसीनाको कमाई नै सर्वोत्तम हुन्छ ।’ साथै उनले आफ्ना छोराछोरीलाई पनि त्यही बाटो नै सिकाए ।

भट्टराईको जीवनको सबैभन्दा ठूलो विशेषता नै उनको स्पष्ट नीति थियो । उनी छलछाम, छक्कापञ्जा, लोभलालच, झुठो काम र आडम्बरमा कहिल्यै लागेनन् । अनि त्यस्ता प्रवृत्तिका मान्छेको उनका सामु सातो जान्थ्यो । आफ्नो कमाइमा बाँच्नु र मर्नु उनको जीवनको भीष्म प्रतिज्ञा थियो ।

भट्टराईको जीवनशैली धार्मिक भावनामा ओतप्रोत थियो । देखावटी पूजापाठबाट भने उनी टाडै बस्थे । समाजमा विकृतिका रुपमा मौलाएको गरुढपुराणलाई पनि उनले बहिष्कार गरे । उनले आफ्ना सन्ततीलाई आफ्नो मृत्युपश्चात गरुढपुराण छुँदैनछुँनु भन्ने निर्देशन दिएका थिए । अन्ततः उनीहरुका परिवारमा गरुढपुराण वहिष्कृत भयोे । यसका साथै उनले आफ्नो मृत्युपश्चातको ब्राह्मणदानमा पनि सरसामाग्री नदिएर नगद दिने निर्देशन दिएका थिए । आफ्नो मृत्युपछि आवश्यक कीरिया खर्चको पनि व्यवस्था गरेर सन्तानका हातमा उनले नगद र जिन्सी हाल्दिएका थिए ।

भट्टराई नेपाली भाषाका मर्मज्ञ पनि थिए । वनारसमा सूर्यविक्रम ज्ञवाली, धरणीधर शर्मा र यिनले एउटै ज्यान भएर नेपाली साहित्यको सेवा गरेका थिए । यी नेपाल आएपछि यिनका पछि लागेर धरणीधर पनि नेपालै आएका थिए । दुबैले वनारस छाडेपछि वासूधको सङ्गठन पनि भाँच्चियो । नेपालमा भनेजस्तो काम नपाएपछि धरणीधर दार्जीलिङतिर हान्निए । अनि दार्जीलिङमा सूर्यविक्रम र धरणीधरको पुनः भेट भयो । त्यसपछि सूधले पारसमणि प्रधान पनि जोडे । अनि यो दल नेपाली साहित्यको त्रिरत्न सूधपमा नै स्थापित भयो ।

नेपाली भाषामा भट्टराईको निकै बलियो पकड थियो । भारतको इतिहास दुईवटा, श्रीमद्वाल्मीकिय रामायण, श्रीमद्भागवत् महापुराण भाग १ र २ समेत गरी उनका जम्मा सातवटा ग्रन्थहरु प्रकाशित भए ।

बालकृष्ण समले भट्टराईलाई खुबै माने र उनको लेखन उच्चस्तरको भनेर व्याख्या पनि गरे । यसै सन्दर्भमा समले भने ‘चक्रपाणि चालिसे र वासुदेव भट्टराईको गद्य साहित्यले नेपालीभाषा साहित्यको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ ‘उनी ऋषिकल्प, निष्काम, कर्तव्यनिष्ठ र स्वावलम्बी’ भएको बेहोरा यदुनाथ खनालले पनि लेखे । साथै घटराज भट्टराईले यिनलाई नेपाली गद्य महाकाव्यका प्रवर्तक भने ।

भट्टराई बाहिरी आवरणमा कठोर देखिन्थे तर यिनको मन भने सारै कमलो थियो । उनी कति संवेदनशील थिए भने भक्ति गीत र भजन सुनेर पनि रुने गर्थे । अनि उनी हिन्दी सिनेमा पनि हेर्थे । उनलाई मनमर्ने नायिका मधुबाला थिइन् । उनी रसिक पनि थिए । त्यसैले उनी बराबर भन्थे ‘सौन्दर्यसँग अघाएपछि धर्तिसँग पनि अघाइन्छ ।’

भट्टराईको २० वर्षको उमेरमा वनारसमा नै भुवनेश्वरीसँग बिहे भएको थियो । यी दम्पतिले ४ छोरा र ३ छोरी जन्माए । यिनका कान्छा छोरा गुणदेव भट्टराईले पनि आफ्नै बुबाले पढाएको दरबार हाईस्कुलमा ६ दशकभन्दा बढी समय पढाएका थिए ।

भट्टराई नेपाली समाजमा उदाहरणीय थिए । बाँचुन्जेल यिनले जनसम्मानमा मात्रै आफ्नो बुता रोपिरहे । यी २०२९ साल कात्तिक १६ गते ८४ वर्षको उमेरमा काठमाडौंमा स्वर्गीय भए । त्यसबेलासम्म यस धरामा उनका २०० सन्तान नाघिसकेका थिए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश