» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » यज्ञप्रसाद पोख्रेल (Yegya Prasad Pokhrel)

नइको चिनारी


यज्ञप्रसाद पोख्रेल (Yegya Prasad Pokhrel)

नेपाली परिवेशमा सबैलाई एउटै व्यवहार गर्ने, बाँचुन्जेल आफ्नै मौलिक नीतिमा हिँड्ने र आफ्नो कर्तव्यलाई सधैँ शिरमा बोक्ने व्यक्ति थिए- यज्ञप्रसाद पोख्रेल । इमान, लगन र कर्ममा बाँधिएर उनले जीवनभरी आफूलाई हराभरा पारे । त्यति मात्र होइन आफ्ना भेकका जनताको जीवनपद्धति उकास्न पनि उनले भगिरथ प्रयास गरे । किनभने उनको मूल मन्त्र नै कर्म थियो । उनी भन्थे ‘परमात्माका लागि गङ्गाजलले भिजेको भन्दा पसीनाले भिजेको शरीर प्रिय हुन्छ ।’ उनी गरेर नै पनि देखाउँथे । त्यसैले उनले आफ्नो श्रम, सीप र जाँगरलाई सधैँ काँधैमा भिरेर आफ्नो यात्रा गरिरहे ।

ठाकुरप्रसाद पोख्रेल र देवकुमारी पोख्रेलका एउटै सन्तान थिए – यज्ञप्रसाद पोख्रेल । अनि उनको जन्म १९८८ साल साउन १० गते पाल्पाको तानसेनमा भएको थियो ।

पोख्रेलले स्कुले शिक्षा लिएनन् । तर महाविद्यालय स्तरका विद्यार्थीका उनी गुरुबाबू थिए । उनको योगदान मुलत कृषिमा नै आवद्ध थियो । तर उनी युरियामलका विरोधी थिए । उनी भन्थे- “कृतिम चिजले माटोलाई बिगार्छ र त्यसबाट उब्जेको खाने मान्छेलाई पनि बिगार्छ ।” उनी मान्छे, पशु र वनस्पतिभित्रै परमात्मा भेट्थे ।

पोख्रेल युवाकालदेखि समाजसेवामा लागे । उनी समाजहीतका लागि लड्थे । अन्याय, अत्याचार र भ्रष्टाचारका विरोधमा पनि उनी राँको हुन्थे । जनहीत विपरित जाने मान्छे उनका शत्रु हुन्थे । उनी आफै गाँउठाउँमा न्याय निसाफ छिन्दै हिँड्थे । त्यसैले प्रायः उनका घरमा कचहरी बस्थ्यो । उनका घरमा छिनिएको मुद्दा फेरि प्रायः दोहोरिँदैनथ्यो । यो क्रम उनका हजुरबुबाकै पालादेखिको थियो ।

पोख्रेल विद्या आर्जन गर्नेका लागि आफ्नै गाँस काटेर दिन्थे । उनी विद्यार्थीलाई घरमा ल्याएर निःशुल्क पढाइदिन्थे । साथै विद्यालय निर्माणमा पनि उनी जाँगरिला थिए । पाल्पाका कतिपय शिक्षणसंस्था निर्माणमा उनले गुरुत्तर भूमिका खेले । त्यस भेकको शिक्षा, स्वास्थ्य र कृषिमा उनको बराबरी लगाव थियो । त्यतिमात्र होइन बाटोघाटो, पाटीपौवा, पानीपँधेरो आदिको निर्माणमा पनि उनी जागरुक थिए ।
पोख्रेल कसैलाई लाखा र कसैलाई पाखा लगाउनेका विरोधी थिए । सरकारी कर्मचारीलाई पनि उनी सर्काईसर्काई जनहीतमा जोत्थे । उदाहरणका लागि भन्ने हो भने पाल्पामा नापी भएताका उनले नापीका पचास जनाको हुद्धालाई छ महिनासम्म आफ्नै घर निःशुल्क दिएर बसाए । अनि तिनीहरुलाई उनले भने- “नेपालभरिमा सबैभन्दा राम्रो नापी यहाँ हुनुपर्छ । नापीबापत कसैले लोभ नगर्नु होला । नापीका सन्दर्भमा हाम्रो ठाँउ नमुना हुनुपर्छ ।” वास्तवमा त्यस ठाउँमा पोख्रेलकै चाहनाले नापी भएको बेहोरा उनका छोरा डा.हरिप्रसाद बताउने गर्छन् । हरिप्रसादभन्नु नेपालका प्रख्यात प्रकृति चिकित्सक हुन् ।
पोख्रेल कृषि व्यवसायलाई आफ्नो धर्म ठान्थे । उनका घरमा गाई, भैँसी, घोडा गरेर झन्नै एक सय वटा पशु पालिन्थे । तर काटमार गरिने पशु अर्थात् भेडा, बाख्रा उनले पालेनन् । उनी हरित र स्वेत अभियानका व्याख्याकार पनि थिए । स्वेत अभियानलाई उनी हिमाल र दूध मान्थे भने हरित अभियानलाई उनी कृषि र वन मान्थे । त्यस भेकमा कसैले एउटा रुख काटयो भने उनी रुन्थे र भन्थे- “मान्छे काट्नु र रुख काट्नु एउटै हो ।” उनी सामाजिक जागरणका कुराहरुमा मान्छेलाई प्रेमपर्ूवक सम्झाउँथे । त्यसैले यिनले भनेको कुरा पनि अरुले मान्थे ।
पोख्रेल पशुलाई खुवै माया गर्थे । त्यति मात्र होइन उनका घरमा उन्नत पशुहरू हुन्थे । त्यसैले उनी राष्ट्रिय र क्षेत्रीय जहाँजहाँ पशुमेला लाग्थ्यो त्यहाँ आफ्ना पशुहरूको सहभागिता गराउथे । अनि त्यस्ता प्रतियोगिताहरूमा उनी दोस्रा हुँदैन थिए । पशु र कृषिमेलाका प्रतियोगितामा भाग लिएर उनले झन्नै पाँच दर्जन प्रमाणपत्र पाए । अनि ती सबै पूर्जाहरूमा प्रथम नै प्रथम मात्रै लेखिएको हुन्थ्यो ।
पोख्रेलका घरमा त्यस भेककै सबैभन्दा गतिला पशु पालिन्थे । गोरु जुदाईमा हार्ने गोरु घाटा खाएर पनि उनी तुरुन्तै बेचिदिन्थे । उनले पालेका घोडा पनि जङ्गबहादुर राणाले चढ्ने गोताका बिजुली जस्ता हुन्थे । ती घोडा पनि चढिसक्ता अर्को गाउँ पुगिसक्थे । उनी पशुपालनका एउटा नमूना नै थिए ।
पोख्रेलको बारीमा राम्राराम्रा फलफूल हुन्थे । उनी आफ्ना खेतबारीलाई सधैँ हराभरा राख्थे । उनी जुन ठाउँ पुग्थे विरुवा लिएरै घर र्फकन्थे । अनि उनका घरमा जो पाहुना पुग्थे विरुवा नै लिएर पुग्थे । उनका बारीमा प्रायः बीस किलोका मुला फल्थे । उनी कृषि मेलामा पनि तुलफुल पुर्‍याउँथे र प्रथम भएर घर र्फकन्थे । वास्तवमा उनी कृषि व्यवसायका पनि पौरखी पुरुष थिए ।
पाल्पामा पहिलोचोटि कफी खेती गर्ने पनि पोख्रेल नै थिए । उनको हुटहुटीले त्यस क्षेत्रमा कफी मौलाएको थियो । अनि त्यस व्यवसायले त्यहाँ प्रसिद्धि पनि कमायो । सबैले यसको जस पनि पोख्रेललाई नै दिए ।
पोख्रेल रुख विरुवाका सौखिन थिए । उनले जुन बोट भूइँमा गाड्थे त्यही उम्रिन्थ्यो । उनले कलमी प्रथालाई मान्यता दिएनन् । त्यसैले मान्छेहरू भन्थे- “यज्ञप्रसाद पोख्रेल कृषिका सिद्धि थिए ।” त्यसैले सरकारी कृषि अधिकृतहरूले पनि उनलाई गुरु थाप्थे ।
पोख्रेल झारफूक पनि गर्थे । उनी बालबच्चालाई फूकेर निको पार्थे । पेटका रोगीलाई पनि जडीबुटी दिएर एकपल्ट मन्त्र फुक्थे । त्यसपछि ऊ निको हुन्थ्यो ।
पोख्रेलले समाजसेवा गरेर कहिले र कसैसँग एक पैसा लिएनन् । वास्तवमा उनी सेवामा पनि नैतिकताको विज उमार्थे ।
पोख्रेल २००७ सालको स्वतन्त्रका लागि पनि लडेका थिए । उनी विश्वेश्वरप्रसाद कोइरालालाई धुमधाम मान्थे । कोइरालाले पनि उनलाई माया गर्थे । राजा महेन्द्रले पनि पोख्रेलका योजनालाई साकार पार्न सहयोग गरे । वास्तवमा पोख्रेलका लागि नेपाल प्रिय थियो । उनी नेपाली भई बाँच्ने योजना बनाइबस्थे । उनी जति योजना बनाउँथे तिनको कार्यान्वयन पनि गराइछाड्थे ।
पोख्रेलले जीवनको उत्तरार्धमा आँखा देख्न छोडे । पाल्पादेखि काठमाडौँ आएर उनले आफ्नो आँखा डा.ओमकृष्ण मल्ललाई देखाए । मल्लले उनका आँखाको शल्यक्रिया गरे; तर त्यो काम पूर्ण असफल भयो । पोख्रेलका छोरा डा.हर्रि्रसादले यसैबारे दर्दनाक स्वर निकाले ‘अर्को आँखा पनि नेपालमा नै अप्रेशन गरेको भए मेरो बुबा अन्धो हुन सक्नु हुन्थ्यो; तर मैले उहाँलाई भारतको चेन्नाईको शङ्कर नेत्रालय पुर्‍याएँ र अर्को आँखाले केही न केही देख्न थाल्यो ।’
पोख्रेलको नौ वर्षो उमेरमा रेशमीराज बस्याल र मानकुमारीकी एघार वर्षीय छोरी यानकुमारीसँग बिहे भयो । बिहेपछि केही वर्षसम्म उनीहरूका सन्तान भएनन् । अनि बीस वर्षकाउमेरमा उनको दोस्रो विहे हिमदेव लुइँटेल र टीकाकुमारीकी तेह्र वर्षीय छोरी रेवताकुमारीसँग भयो । उनले दोस्रो बिहे गरे लगत्तै जेठी पत्नीबाट रामप्रसाद, हरिप्रसाद र रुक्मेणी जन्मे । अनि कान्छे श्रीमतीबाट पनि राधिका जन्मिन् ।
पोख्रेल २०६७ साल असार ५ गते काठमाडौँमा उपचारका क्रममा स्वर्गीय भए; तर उनको पार्थिव शरीर पाल्पा नै पुर्‍याएर त्यहीँ दाहसंस्कार गरिएको थियो ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश