» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » मातृकाप्रसाद कोइराला Matrika Prasad Koirala

नइको चिनारी


मातृकाप्रसाद कोइराला Matrika Prasad Koirala

ज्यूँदो शहीदका रुपमा मातृकाप्रसाद कोइराला सुपरिचित थिए । उनी बाँचुञ्जेल राजनीतिमा नै समर्पित भैरहे । अनि उनी साहित्य लेखनमा पनि आबद्ध थिए र समाजसेवामा पनि मन, वचन र कर्मले जोडिएका थिए ।

राणाशासन उखेल्नेमध्ये कोइरालाको पनि दरो भूमिका थियो । त्यसैले उनले आफ्नो जीवनको उत्तर्रार्धमा डायरीमा लेखे, ‘जहानिया शासन अन्त गराउने प्रयासमा मेरो पनि प्रमुख भूमिका रहेको इतिहास साक्षी छ । जुन ध्येय र उद्देश्यले सो क्रान्ति भयो ती पूर्ति हुन अझै बाँकी छन् । जनताको जीवनस्तर उकास्ने, सबैले काम र माम पाउने प्रयासमा मेरो बरगत र बुद्धि लगाउन पाए जीवनको अन्तिम वर्षरु केही र्सार्थक हुने थियो । साथै विकसित, शान्त र सुन्दर नेपाललाई हेरी मर्ने इच्छा छ ।’

कोइरालाको भावनाको त के कुरा र ! अन्तिम समयमा उनको जीवनकै कुनै अर्थ पनि देखिएन । सिंहदरबारले पनि उनको वास्ता गरेन र राजदरवार पनि उनीसँग नजिक देखिएन । अनि जनता पनि अर्कै परिवेशको मूर्दावाद र जिन्दावादमा सरिक भैसकका थिए । त्यत्रो इतिहास बोकेका मातृका बाबुको निधनमा आर्यघाटमा सय जना पनि मलामी थिएनन् । उनी २०५४ साल भदौ २६ गते स्वर्गीय भए ।

कोइरालाको जन्म १९६८ साल पुस १७ गते विराटनगरमा भएको थियो । उनी शहीद कृष्णप्रसाद कोइरालाका जेठा छोरा थिए । कृष्णप्रसादका छ जना छोरा मात्रृका, विश्वेश्वर, हरिहर, केशव, तारिणी र गिरिजा थिए र मातृकाप्रसादकी आमा मोहनकुमारी पटि्टका उनी एउटै छोरा थिए ।

छ वर्षा भएपछि कोइरालालाई उनकी बजै राज्यलक्ष्मीदेवीले कासी लगिन् । अनि उनी युवाकालको आरम्भसम्म भारतमै बसे ।
कासीमा कोइरालाले अमरकोश कण्ठ गरे, चण्डी घोके र धर्मकर्मका अन्य ठेली रटे । त्यसपछि उनी स्कूल भर्ना भए । उनी खाँडीको लुगा लगाएर स्कूल जान्थे । उनका परिवारमा खाँडी लगाउने उनी नै पहिलो थिए । उनी पढेको स्कूलमा पं.जवहारलाल नेहरु आएका बखत उनले नेहरुसँग संवाद गरेका थिए । विविध कारणले विभिन्न स्कूल चहार्दाचहार्दै उनले दरभङ्गास्थित राष्ट्रि्रय विद्यालयबाट म्याटि्र्रक पास गरे । त्यसपछि उनी बिहार विद्यापिठमा भर्ना भए ।

बिहार विद्यापिठमा पढेताका कोइराला आफ्नो काँधमा खाँडी कपडा हालेर गाउँ र हाटबजार बेच्न जान्थे । साथसाथै प्रौढ र बाल रात्रि पाठशालामा पनि उनी पढाँउथे । अनि बाढी, आगोलागी र दड्गा भएका ठाँउमा पनि उनी सहयोग गर्न पुग्थे । त्यसै बखत उनलेे महात्मा गान्धीसँग परिचय गर्ने मौका पाए । अनेक कार्यमा जुट्ताजुट्तै उनले सत्र वर्षो उमेरमा स्नातक उत्तीर्ण गरे । त्यति बेलासम्ममा उनले राजनीतिमा निक्कै प्रभाव देखाइसकेका थिए । तर त्यस घडीसम्ममा मोरारजी देर्साई राजनीतिमा प्रवेशै गरेका थिएनन् ।

कोइराला १५ वर्षै उमेरमा राजनीतिको किशोर नेतृत्व पड्तिमा पुगिसकेका थिए । त्यसै उमेरमा उनी प्रथम अखिल भारतीय राष्ट्रिय काड्ग्रेस बिहार प्रान्तको महासचिव र पछि सभापतिमा छानिए । त्यसै परिवेशमा गुहाटीमा सम्पन्न अधिवेशनको नेतृत्व उनैले गरेका थिए । यसैबेला उनको लालबहादुर शास्त्रीसँग भेट भएको थियो ।

त्यतिबेला कोइरालाले हिन्दी र अड्ग्रेजीका बुलेटिन आफ्नै सम्पादनमा प्रकाशन गरे । राजनीतिमा सक्रिय भएका बखत कोइराला र उनका भाइ वीपी कोइरालालाई हातकडी लगाएर जेल पुर्‍याइएको थियो । त्यसबेला यिनीहरुलाई डकैति गरेको झुटो आरोप लगाइएको थियो । त्यसबेला जेल पुर्‍याएर पाँचपाँच केजी ओजनको साड्लोले खुट्टामा बाँधी उनीहरूलाई कालो कोठरीमा थुनिएको थियो । त्यसबेला खुट्टामा ठोकिएको नेलले घाउ पारेको खत उनीहरुको जीवनपर्यन्त रहृयो । त्यसबेला जेल सार्दा पनि हातकडी, खुट्टामा साँङ्लो र कम्मरमा डोरी बाँधी उनीहरुलाई हिंडाएर प्रदर्शनका साथ लगिन्थ्यो । अनेक कष्ट खेपेर उनीहरू छ महिनासम्म जेलमा बसे ।

कोइरालाको विहे २१ वर्षो उमेरमा सप्तरीकी मञ्जु पोख्रेलसँग भयो । यी दम्पतीबाट विमल, कमल, अजय, विजय र सञ्जय अनि सविता र वविता जन्मे । दाम्पत्य जीवनमा बाँधिएपछि उनले नेपाल आएर जागीर खाए । अनि सुब्बा हुने वित्तिक्कै जागीर खोसेर राणाले उनलाई काठमाडौंबाट चारभन्ज्याङ कटाए । त्यसपछि उनी सरासर विराटनगरमा पुगेर काठको ठेक्कामा लागे ।

कोइराला २००४ सालदेखि राणा उखेल्ने राजनीतिमा लागे । त्यसपछि उनी क्रमशः नेपाली राष्ट्रिय काड्ग्रेस, नेपाली काड्ग्रेस र राष्ट्रिय प्रजापार्टीको निर्वाचित सभापति भए । उनको योगदानस्वरुप उनी २००८ मङ्सिर १ गते प्रधानमन्त्री भए । राणाकालीन युग समाप्तपछि जनताको छोरो पहिलो पल्ट प्रधानमन्त्री हुने उनै भए । त्यसबेलासम्ममा संसारभरिमा सबैभन्दा कान्छो उमेरको प्रधानमन्त्री पनि उनै थिए । वीचमा झन्नै एक वर्षजनरल केशरशमशेर मन्त्रीपरिषद्का प्रमुख भए र त्यसपछि फेरि २०१० असार ४ गते राजा त्रिभुवनबाट कोइराला प्रधानमन्त्रीमा पुनः नियुक्त भए ।

राजा त्रिभुवनले कोइरालालाई मन पराएका थिए । त्यसैले उनी नेपाल तारा प्रथमबाट पनि विभूषित थिए । त्यतिमात्र होइन उनलाई मानको खातिर महारथी पनि प्रदान गरियो । अनि राजा महेन्द्रबाट उनले त्रिभुवन प्रजातन्त्र श्रीपद प्रथम पनि प्राप्त गरे ।

कोइरालाको समाजसेवामा पनि निक्कै देन थियो । उनी गान्धी तुलसी चर्खा प्रचारक स्मारक महागुठीका अध्यक्ष र नेपाल क्षयरोग निवारण संस्थाको सभापति थिए । उनी नेपाल रेडक्रस सोसाइटीको अध्यक्ष पनि थिए भने लाइन्स क्लवको चर्टर सभापति रहेर सेवामा बाँधिएका थिए । उनैको गुरुत्तर भूमिकाले विराटनगरमा वीरेन्द्र सभागृह निर्माण भयो र सो सभागृहको उनै अध्यक्ष थिए ।

महेन्द्र मोरड कलेजका संस्थापक सभापति उनै थिए । उनैको कारण विराटनगरमा प्रसुतिगृहको निर्माण र आदर्श विद्यालयको स्थापना भयो । उनैको पहलमा विराटनगरमा स्मशानघाट निर्माण भयो । विराटनगरको शिक्षणसंस्था, पुस्तकालय निर्माणमा कोइरालाको अतुलनीय भूमिका थियो ।

कोइराला शारदाकालीन साहित्यकार थिए । उनी कथा, कविता, निबन्ध, प्रबन्ध लेखनका सिद्धहस्त सष्टा थिए । उनका कृतिहरु ‘कोशीको कथा’, ‘मातृकाप्रसाद कोइरालाको कथा’ र ‘मातृकाप्रसाद कोइरालाका कविता’ प्रकाशित भए । साथै उनको शेषपछि अंग्रेजी भाषामा उनको आत्मकथा पनि प्रकाशनमा आयो ।

२०१५ सालको आम निर्वाचनमा कोइरालालाई टिकट दिइएन । अनि २०१६ सालमा राजा महेन्द्रले उनलाई महासभाको सदस्यमा मनोनीत गरे । उनी २०१८ सालमा अमेरिकाको राजदूत पनि भए । त्यसपछि उनी झारेझुरे राजनैतिक पदहरूमा मनोनीत हुँदै आए । यसैक्रममा उनी राष्ट्रिय पञ्चायत सदस्यमा मनोनीत भए । अनि राजाको मनोनीत छाडेर उनी जनताको निर्वाचित माननीय भए । तर २०३६ सालमा निर्वाचित कोइरालालाई हराएर राजाबाट मनोनीत सूर्यबहादुर थापालाई प्रधानमन्त्री बनाइयो । यतिहुँदाहुँदै पनि उनले हरेस खाएनन् र बरु राजालाई सघाएर नै हिंडे । उनी राजसंस्थाको कामकार्यवाहीबाट त्यति सन्तुष्ट थिएनन् तर नेपालमा यो संस्था चाहिन्छ भनेर घाँटी सुकाउँथे ।

नेपाली परिवेशमा जनरल मातृकाप्रसाद कोइरालाको अनुपातमा काम गर्ने अर्को मान्छे विरलै भेटिन्थ्यो । तर तिनै कोइरालालाई राजनीतिले पनि क्रमशः टिक्न दिएन । साथै ८६ वर्षभएपछि उनलाई स्वास्थ्यले पनि साथ दिन छोड्यो र अस्पताल पुर्‍याइयो । जीवनको अन्त्यमा उनलाई राजवादीको धरहरा छुने वात लाग्यो । त्यसैले उनी मरेपछि उनका नाउँमा सिंहदरबारले पनि सिन्का भाँचेन र राजदरवार पनि चुँ बोलेन । अन्ततः एउटा इतिहास कठाङ्ग्रीएर ठिङ्ग उभिरह्यो ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश