» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » महानन्द सापकोटा Mahananda Sapakota

नइको चिनारी


महानन्द सापकोटा Mahananda Sapakota

महानन्द सापकोटाको जन्म १९५३ साल वैशाख ३० गते इलामको देवानछापमा भएको थियो । रामचन्द्र सापकोटा र सरस्वती सापकोटाका सुपुत्र महानन्दको न्वारनको नाउँ यज्ञनिधि थियो ।

सापकोटा नौ वर्षो भएपछि उनका बुबा दिवङ्गत भए । त्यसपछि उनको घरको आर्थिक अवस्था दयनीय हुन थाल्यो । त्यही कारणले उनी बुबाको निधनसँगसँगै गोठालोमा रुपान्तरित भए । तर पनि त्यसै कामबाट उनको पेट भर्न र आङ ढाक्न पर्याप्त भएन । आर्थिक रनाहामा परेकीले जीवन बाँच्ने अभिप्राय बोकेर उनकी आमा एघार वर्षका महानन्दलाई डोर्‍याएर महानन्दकै गुरु पं.लक्ष्मीनारायण खतिवडासँगै भारतको आसाम लागिन् । त्यहीँ गएर उनले दहीदूध बेचेर जीविका चलाइन् र छोरालाई पनि गोठालो बनाइँन् ।

आसाममा आमा सरस्वती सापकोटाले दुध दुहुने र बेच्ने अनि छोरा महानन्दले गाईभैँसी चराउने काम गरे । त्यस बेला महानन्द गोठमा नै सुत्थे । गोठमा नै सुतेको बेला एक पल्ट यिनलाई एउटा साँपले बेर्‍यो र डस्यो । यस घटनाले यिनकी आमा मुर्छा परिन् ।
सापकोटाका शरीरमा पसेको साँपको विष झारफुकले झारेको थियो । त्यसपछि यी यसै विद्या जान्नका लागि अग्रसर भए । अन्ततः उनी पनि झारफुकका नामी वैद्य बने । कतिसम्म भने गाईगोरु, भैँसीराँगा, भेडाबाख्राको आँखाको फूलो यी मन्त्रै पढेर झार्थे । अनि त्यसै कामले यी चर्चित पनि भए ।
सापकोटा सोह्र वर्षो उमेरमा आसामे भाषाको स्कुलमा भर्ना भए । सात कक्षासम्म उनी त्यहीँ पढेर त्यसपछि उनी दार्जिलिङ पुगे । त्यहाँ उनी २५ वर्षो उमेरमा पुगेका थिए । तर आफू १५ वर्षकोभएँ भनी ढाँटेर उनी त्यहाँ आठ कक्षामा भर्ना भए । वास्तवमा उनलाई पढ्नको धोको थियो । तर जति नै जोड गरे तापनि उनले म्याटि्रकभन्दा माथी चाहिं पढ्न सकेनन् । यतिहुँदाहुँदै पनि उनी विश्वविद्यालय स्तरीय विद्यार्थीका गुरुमा दरिए।
सापकोटा दार्जीलिङ भएताकै धरणीधर कोइरालासँग नजिक पुगे । कोइरालासँग साहित्यसम्बन्धी ज्ञान लिँदालिँदै यी फेरी आसामै पुगे । त्यतिन्जेलसम्म पनि उनी टेक्ने न समाउने अवस्थामा नै थिए । त्यसैले त्यहाँ उनी भारतीय काङ्ग्रेसका कार्यकर्तामा समाविष्ट भए । त्यहीक्रमले उनलाई खादीका लुगा लगाउने कोटिमा पुर्‍याइदियो । उनले त्यहाँ बसेर जीवनपद्धतिको सजिलो पाठ पढे । उनी क्रमशः व्यवहारिक ज्ञानमा पनि उन्मुख थिए । हुँदाहुँदै उनी त्यस ठाउँमा कर्मवादीमा परिचित भैसकेका थिए । त्यतिन्जेलसम्ममा उनी सादा जीवन र उच्चविचारतिर नै लम्किसकेका थिए ।
उता दार्जीलिङमा घरणीधर कोइरालाका लागि महानन्द सापकोटा होनाहार, प्रतिभाशाली र आवश्यकीय व्यक्ति ठहरिएका थिए । त्यसैले उनी सापेकोटालाई खोज्दै दार्जीलिङबाट आसाम पुगे । त्यस बेलासम्ममा त्यहाँ सापकोटा चर्चित भइसकेको पनि कोइरालाले थाहा पाए । त्यसबेला कोइरालाले अनेक जुक्ति झिकेर सापकोटालाई दार्जिलिङ लिएर आए । त्यसै ताका सापकोटाले झयाउरे छन्दमा ‘मनलहरी’ लेखे । त्यसै कृतिले उनी पनि चर्चित भए ।
सापकोटा स्पष्टवादी हुँदाहुँदै पनि रसिक थिए । उनी केटी भनेपछि मरिमेट्थे । उनी कामुक भएको बेहोरा खुलाएर तेजराज खतिवडाले सापकोटाकै अन्तर्वार्ताका आडमा एउटा लेख पनि लेखे । उनको त्यही काण्डका विषयमा धेरैले धेरै कुरा लेखे।ईश्वर बरालदेखि वासुदेव लुइँटेलसम्मले उनको स्त्रीप्रेमको चर्चा गर्थे । उनले धेरै ठाउँ धेरै नारीसँग सम्बन्ध राखे । तर तीन जनासँग चाहिँ यिनको दाम्पत्य जीवन गाँसियो । यिनका तीन श्रीमतीमध्ये दुई जनाबाट तीन छोरा जगदीश, लावण्य र हेमराज र तीन छोरी धरणी, पवी र विद्या जन्मे ।
सापकोटाले भारतको देहरादूनमा ‘तरुणगोर्खा’को सम्पादन गरे । त्यसपछि उनी ‘गोर्खासंसार’को पनि सम्पादक बने । उनले ‘नेपालपुकार’, ‘हाम्रो नेपाल’ र आसामीय भाषामा ‘चेतना’को पनि सम्पादन गरे ।
पारिवारिक जीवन धान्न सापकोटा पुनः आसाम नै पुगे र र्एमई स्कुलको शिक्षक भए । तर चञ्चले र अस्थिर भएका कारण उनी नेपाल आए । त्यसबेला यी चालीस वर्षा थिए ।
सापकोटा कविमा नामी थिए, भाषाशास्त्री उनको योग्यताको माप थियो र सम्पादक उनको शाश्वत परिचय थियो । साथै पछिचाहिं उनी नेपाली राष्ट्रियताका पनि खुबै पक्षपाति भए । यस मामलामा यी धेरैका गुरु बने ।
सापकोटा नेपालको शिक्षाका ज्योति थिए । वास्तवमा नेपाल पसेर यिनले शिक्षामा नै आफूलाई समाहित गरे । उनैको नेतृत्वमा इलामको करफोकमा नेपालीभाषा प्रचारक सङ्घको स्थापना भयो ।
सापकोटा यसैक्रममा धनकुटा पुगे । त्यहाँ उनले गोकुण्डेश्वर स्कुल खोले । राणा शासनको जगजगीमा पनि उनले शिक्षा प्रचारबारे राणालाई रिझाएका थिए । स्कुल चलाउन उनी हरेक कसरत गर्थे । तिहारको देउसी खेलेर नै पनि उनी पैसा बटुल्थे र त्यो पैसा शिक्षामा नै लगाउँथे ।
त्यहीक्रममा सापकोटाले धरान पब्लिक स्कुलको स्थापनामा पनि गुरुत्तर भूमिका खेले । त्यसैबेला त्यहाँको बाटोघाटो बनाउने काममा पनि उनी संलग्न भए । काम गर्दागर्दै त्यति बेलै उनलाई क्षयरोगले आक्रान्त नै पार्‍यो । अनि उनलाई स्वस्थ राख्ने मनसायले चैनपुर पुर्‍याइयो । तर त्यसबेला पनि त्यहीँ उनले फेरि अर्को स्कुल स्थापना गरिदिए ।
सापकोटाले धरानमा फैलिएको हैजासँग पनि सामना गरे । त्यति खेर उनले त्यहाँ ज्यानको वाजी मारेर काम गरे । वास्तवमा त्यो विकट कामका उनी भीम थिए । धरानमा नै बसेका बेला उनले दलितको जीवनस्तर उठाउने काम पनि गरे । त्यसैताका उनले धरानका हीरालाल र टीआर विश्वकर्मालाई स्कुल भर्ना गरिदिए । त्यसभन्दाअघि नेपालमा दलितलाई स्कुले शिक्षामा प्रतिबन्ध थियो । अनेक जुक्ति रचेर उनले मेची र कोशीमा दर्जनौँ हाइस्कुलको स्थापना गरे ।
२०१० सालतिर उपमन्त्री नारदमुनी थुलुङले पनि सापकोटालाई आश्रय दिए । त्यसै बेलादेखि उनी जातपातलाई तिजाञ्जली दिदै हिंडे । उनी अन्धविश्वासका विरोधी थिए । उनी नेपाली समाजमा सधैँ सुधारकै नारा दिन्थे । तर उनी डेगले कहीं पनि बस्तैन थिए । त्यसैताका उनी आफ्नी छोरी लिएर घरि काठमाडौँ आउँथे र घरि दार्जिलिङ र आसम पुग्थे । तर उनी जहाँजहाँ जान्थे त्यहाँत्यहाँ क्रान्तिको विउ र्छर्थे ।
प्रजातन्त्रपूर्व सापकोटाले काङ्ग्रेसको धेरै काम गरे । तर प्रजातन्त्रपछि नेपाली काङ्ग्रेसको मन्त्रीमण्डलले भारत गएर प्रधानमन्त्री पं.जवहारलाल नेहरूसँग मन्त्र लिएको घटनाले यिनले राजनीतिलाई घृणा गरे । अनि उनले भने, “राणाहरूले कहिले पनि विदेशीको पाउ मोलेनन् ।” त्यसपछि उनी राजा महेन्द्रकै मात्र पछि लागे । साथै राजा महेन्द्र र वीरेन्द्रबाट उनको भरअभर पनि हेरिने गर्थ्यो।
सापकोटाले नेपाली साहित्य र पत्रकारिताका लागि पनि अनेक काम गरे । पछि उनले पूर्वाञ्चलमा प्रेस स्थापना गरेर पत्रिका पनि चलाए । उनले नेपाली साहित्यमा आफ्नो राम्रो पहुँच राख्तै गए । लेख्तालेख्तै उनले मदन पुरस्कार पनि पाए । त्यतिखेर मदन पुरस्कारको पनि गतिलो ओजन थियो, भनौं फितलो थिएन। उनका झन्नै दुई दर्जन कृति प्रकाशनमा पनि आए ।
सापकोटा २००७ सालमा झापाको सामयिक सरकारको शिक्षा मन्त्री पनि भए । त्यस बेला उनले झापामा दार्जिलिङबाटै शिक्षक शिक्षिका ल्याएका थिए । उनी सपनाविपना जहिले पनि शिक्षा र साहित्यकै लागि पसिना बगाउँथे ।
सापकोटा जीवनको उत्तर्रार्धमा विभिन्न रोगसँग लडे । अन्ततः २०३५ साल असार १ गते उनी विराटनगरमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश