तारानाथ शर्मा साहित्यमा कविताबाट जन्मे । तर यिनको पहिलो प्रकाशित रचना प्रबन्ध थियो । आफ्नो मातृभूमिलाई ससम्मान समर्पण गरेर लेखेको उनको. सो प्रबन्धको शीर्षक थियो ‘इलाम ।’ ‘इलाम’ विषयक लेख २००८ साल वैशाखमा दार्जिलिङबाट प्रकाशित नेपाली साप्ताहिक ‘साथी’मा छापिएको. थियो । साहित्यिक रूपमा त्यस लेखबाट त्यस भेकमा शर्मा केही चर्चित पनि बन्न पुगे ।
नाट्यसम्राट् बालकृष्ण समलाई तारानाथ शर्मा असाध्यै मान्थे । त्यस बेला भरखरभरखर बालकृष्ण समले ‘शमशेर जङ्गबहादुर राणा’लाई छोट्टयाएर ‘सम’ लेख्न थालेका थिए । समलाई नै गुरु मानेर र समको नै सिको गरेर तारानाथ शर्माले पनि त्यस बेला प्रकाशित आफ्नो लेखमा ‘शर्मा’लाई छोट्याएर ‘शर’ लेखेका थिए । त्यस बखत उनको नाउँ थियो— ‘तारानाथ शर ।’ तर उनको यो ‘शर’ पानीको फोका भएर तुरुन्तै हरायो । त्यसपछि उनी ‘तानासर्मा’का नाउँमा जनसमक्ष आउन थाले । पछिल्ला दिनमा भने उनी डा.तारानाथ शर्माका नामले नै ज्यादा प्रसिद्ध भए ।
नेपाली साहित्याकाशका अनन्त ‘तारा’ डा. तारानाथ शर्मा नेपाली भाषासाहित्य फाँटका विभूति मानिए । त्यति मात्र होइन उनी नेपाली समालोचनाक्षेत्रका एउटा अपरिहार्य व्यक्तित्व मानिए । यिनको समीक्षा एकातिर ‘पञ्चामृत’मा आधारित हुन्छ भने अर्कातिर ‘गोमनसर्पको विष’ ठहरिन्छ । यिनले कसैलाई लेखनीले हिर्काउँदा पाताल भासिदिन्थे र कसैलाई. कलमले म्वाइँ खाँदा पनि एक्कैचोटि चन्द्रमा पुर्याइदिन्थे । कुनै बेला यस्तो पनि समय थियो— डा.शर्माको. कलमबाट एकचोटि लेखिएपछि जुनसुकै मान्छे पनि चर्चामा आउने गर्थ्यो । यति हुँदाहुँदै पनि साहित्यकारहरू भन्थे– ‘डा. तारानाथ शर्माको कलमको कुनै. भर हुँदैन । उनले आज जसका बारेमा जे लेख्छन् भोलि त्यसैका बारेमा त्यसको. विपरीत पनि लेख्न सक्छन् ।’ यस विषयमा डा.तारानाथ शर्माको आफ्नै पनि तर्क हुन्थ्यो– ‘म टिकटिक, टिकटिक हिँड्ने घडीको सुई होइन ।’ वास्तवमा उनको सोचाइ, गराइ र भोगाइ यन्त्रवत् नभएर मानवीय चोलामा आबद्ध देखिन्थ्यो । उनी मान्छेले स्वतन्त्र रूपमा हिँड्नुपर्छ भन्ने धारणा राख्थे । त्यही कारणले हिजो कति ठीक भएका कुरा भोलि बेठीक लाग्न सक्थे र हिजो कति बेठीक भएका कुराहरू आज ठीक पनि लाग्न सक्थे । यतिहुँदाहुँदै पनि उनीभित्र इमानको चाहिँ अनिकालै लागेको देखिन्थ्यो । त्यसैले उनीप्रति पनि अरुले विश्वास राख्तैन थिए । त्यतिमात्र होइन उनी जुन थालमा खायो त्यसैमा चुठी पनि दिन्थे ।
उदाहरणका लागि भन्ने हो भने रानी ऐश्वर्यले उनलाई मद्दतै गरेकी थिइन् तर बहुदलीय व्यवस्था आएरपछि उनले रानीलाई अशिष्ट, अमर्यादित र अश्लिल शब्दका आडमा खेदिरहे । शर्माले पद्म कन्या कलेजमा पढाउँदा आइएमा रानी ऐश्वर्यलाई पनि पढाएका थिए । अनि पछि रानीले पनि उनलाई आफ्नो अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को सदस्य मनोनीत गरेकी थिइन् । नेपालमा बहुदलीय व्यवस्था आएपछि उनी दुई बर्षसम्म ‘द राइजिङ्ग नेपाल’को प्रधान सम्पादक पनि भए ।
सुप्रसिद्ध समालोचक डा.तारानाथ शर्मा आफूलाई खुलस्त देखाएर कृतिहरूको समीक्षा गर्थे । समालोचनाका यात्रामा एकताका उनी खुबै प्रसिद्धिको धुरीमा पनि चढे । त्यस बेला कसैको कृतिमा आलोचना गर्दा उनले साहित्यक्षेत्रमा एउटा डर लाग्दो भूकम्प नै ल्याउँथे । त्यतिखेर उनको समीक्षात्मक अभिव्यक्ति हेर्न विद्वान्हरू तँछाड र मछाड गर्ने गर्थे । त्यसैले. त्यस बेला उनी स्वयं नै भन्ने गर्थे– ‘मेरो आलोचना फटाहाहरूलाई लाटो पारुन्जेल पोल्ने सिस्नु हो ।’ शर्माको यही धारणालाई कदर गर्दै वरिष्ठ समालोचक प्रा.घटराज भट्टराई लेखे– ‘शर्मा साँच्चै नेपाली साहित्यका उदार र निर्भीक आलोचक हुन् ।’ शर्माका सात वटा समीक्षात्मक कृतिहरू प्रकाशित भए । तर उनका कैयौँ फुटकर समीक्षाहरू पनि प्रकाशित छन् । उनका प्रकाशित कृतिहरूमध्ये ‘भानुभक्तदेखि तेस्रो आयामसम्म’ निक्कै प्रसिद्ध भयो । उनको सबैभन्दा पहिले प्रकाशित समीक्षात्मक कृति हो– ‘घोत्ल्याईँहरू’ । त्यसपछि उनका कृतिहरू ‘पश्चिमका केही महान् साहित्यकार’ ‘नेपाली साहित्यको इतिहास’, ‘सम र समका कृति’, ‘नेपाली साहित्यको ऐतिहासिक परिचय’ र ‘सुम्पन ल्याएँ’ प्रकाशित भए ।
नेपाली साहित्यमा बहुआयामिक व्यक्तित्वका धनी डा.तारानाथ शर्माको व्यक्तित्वको अर्को मुख्य विशेषता हो– निबन्धकारिता । फुटकर रूपमा उनका अनगिन्ती निबन्धहरू प्रकाशित भए । कृतिगत रुपमा पनि उनका केही निबन्धकृति प्रकाशनमा आए । नियात्रा भन्ने शब्दको विजारोपरण उनैले गरेका थिए । उनको निबन्धसङ्ग्रह ‘बेलायततिर बरालिँदा’ले मदनपुरस्कार प्राप्त गरेको थियो भने ‘आँसु छचल्किँदै जान्छ’ले सर्वश्रेष्ठ पाण्डुलिपि पुरस्कार प्राप्त गरेको थियो । त्यसैगरी उनले नेपाली साहित्य प्राङ्गणमा एउटा कथासङ्ग्रह ‘दुई पोका चुरा’ पनि अर्पण गरे । उनले ‘सुली’, ‘मेरो कथा’, ‘ओझेलपर्दा’, ‘झझल्को’ र ‘नेपालदेखि अमेरिकासम्म’ नामक पाँचवटा अत्यन्तै उच्च कोटिका उपन्यास पनि लेखे । ‘ओझेलपर्दा’को ल्यारी हर्टसेलद्वारा अङ्ग्रेजीमा अनूदित पनि प्रकाशित भयो ।
नेपाली निबन्धसाहित्यमा माथिल्लो कक्षाका स्रष्टा मानिने डा. तारानाथ शर्माका निबन्धहरू जति पढ्यो त्यति पढूँपढूँ लाग्ने हुन्छन् । उनको लेखनशैली, भाषाको प्रयोग र कथात्मक प्रस्तुति अत्यन्तै मनोहर हुन्छ । समाजको यथेष्ट चित्रण गरेर उनी आफ्नो लेखनलाई सर्लक्क अगाडि बढाउँथे। जीवनमा घटेका कुराहरूलाई उनी त्यस रूपमा उभ्याउँथे जुन बेहोरा पढ्दा पाठकलाई आफू त्यही भोगाइमा छु भन्ने आभास हुन्छ । सम्पादन र अनुवादमा पनि डा. शर्माले त्यतिकै ख्याति कमाए ।
तारानाथ शर्माका कथामा प्रचुर मात्रामा व्यङ्ग्य पाइन्छ । समाजका विविध पक्षका घटनालाई उनले सहज रूपमा आफ्ना कथामा प्रस्तुत गरेका हुन्छन् । प्रेममा आधारित उनका कथाहरूले जीवनपद्धतिलाई अँगालेको पाइन्छ ।
तारानाथ शर्मा एउटा सफल उपन्यासकार पनि थिए । उनले लेखेका उपन्यासमध्ये ‘ओझेलपर्दा’ र ‘मेरो कथा’ उनको जेलयात्राका उपहार थिए । उनका उपन्यासहरूमा प्रेम, पीडा, यौनविकृति र सामाजिक बनावटलाई प्रस्तुत गरिएको हुन्छ । उनी मनोविश्लेषणात्मक रूपले समेत आफ्ना भावना राख्न पोख्त थिए ।
नेपाली साहित्यमा कलम चलाउँदै तारानाथ शर्माले नेपाली भाषामा लेखन र सम्पादन गरेर झन्डै चालीस वटा स्तरीय कृतिहरूको आविष्कार गरे । उनका फुटकर लेखरचनाहरू मात्रै झन्डै एक हजार उकालो लागेको पाइयो । पच्चीसौँ वर्ष प्राध्यापनमा बिताएका डा. तारानाथ शर्माले संयुक्त राज्य अमेरिकामा पनि करिब सात वर्ष प्राध्यापन गरेका थिए । यी त्रिभुवन विश्वविद्यालयका पनि प्राध्यापक बने । नेपालका सुविख्यात व्यक्तित्व प्रा.शर्माले अन्तर्राष्ट्रिय जगत्मा समेत ख्याति कमाए । नेपाली भाषा, साहित्य र संस्कृतिलाई. देशदेशान्तरमा पुर्याउने उनी नेपालका एउटा होनहार, ओजस्वी र गरिमाशाली साहित्यिक व्यक्तित्वमा गनिए । जीवनमा कहिलेकाहीँ समयसापेक्ष रूपमा चल्न नसक्ता उनी बराबर विवादमा पनि आइरहे । तर व्यक्तिगत रूपमा ‘तित्राको मुख बैरी’ भए तापनि कृतिगत रूपमा उनको स्थानले सगरमाथा टेकेको पाइन्छ । वास्तवमा ‘मुख बैरी’ भएका कारणले नै उनले प्रशस्तै दुक्ख, कष्ट र वेदना पनि खेपेका थिए । नेपाली साहित्यमा त्यतिको वीर कलम भएका व्यक्ति पनि आर्थिक र सामाजिक पीडामा रन्थनिन्थे भने ती व्यक्तित्व नै तारानाथ शर्मा हुन्थे ।
प्रजापति भण्डारी उपाध्याय र देवकी उपाध्यायका ज्येष्ठ सुपुत्रका रूपमा १९९१ सालको असार ९ गते शनिवार निर्जला एकादशीका दिन तारानाथ शर्माको जन्म भएको हो । यी इलामको बरबोटेमा जन्मेका थिए । बरबोटे गाउँ इलाम बजारदेखि पाँच किलोमिटर उत्तरपट्टि पर्छ ।
तारानाथ शर्माले २०४४ सालमा काठमाडाैँको चाबेलमा जग्गा जोडे र घर बनाए । सरस्वतीनगर भनी त्यस ठाउँको नामाकरण यिनैले गरेका थिए । अनि पत्नी शान्ता शर्मासहित यी त्यही नगरमा बस्थे । आफ्नी श्रीमती शान्ताको आदर, श्रद्धा र प्रेरणाका कारणले डा. शर्माले आफ्नो बहुआयामिक व्यक्तित्वको सदैव सुरक्षा गरिरहेका थिए । यिनका दुई भाइ छोरा अनल र सलिल आआफ्ना पेसामा संलग्न छन् ।
तारानाथ शर्माको शिक्षा आफ्नै ठाउँ अथवा बरबोटेको सिकुवामा सञ्चालित धुले पाठशालाबाट प्रारम्भ भयो । यिनले त्यहीँबाट ‘भास्वती’ पढे, धुलौटोमा नै पात्रो बनाउन सिके र त्यहीँको पाठशालाबाट ‘अमरकोश’, ‘चण्डी’, ‘रुद्री’ सिके । यिनको त्यहीँको पाठशालामा अध्ययन भइरहेको बेला यिनीहरू इलामकै फिक्कल सरे । फिक्कलमा यिनले ‘यजुर्वेद’ का मन्त्र पढे । पाँच कक्षासम्म फिक्कलमै पढी यी दार्जिलिङको खरसाङतिर लागे । २०१० सालमा त्यहीँबाट यिनले म्याट्रिक समुत्तीर्ण गरे । म्याट्रिकपश्चात् यिनले आफ्नो गाउँ करफोकमा केही समय निःशुल्क शिक्षादान गरेका थिए । त्यस बेला खरसाङको हस्तलिखित पत्रिका ‘आह्वान’, ‘हिमध्वनि’ र ‘गाउँले’ तारानाथ शर्माकै सम्पादनमा निक्लेका थिए । ‘गाउँले’मा आफ्ना राम्रा अक्षरले सुसज्जित रचनाहरू राखेर त्यस भेगमा यिनले नाउँ कमाएका थिए ।
तारानाथ शर्मा आईए पढ्न दार्जिलिङको सन्त जोसेफ कलेजमा भर्ना भए । त्यसै ताका यिनले ‘भारती’ र ‘गोर्खा’मा आफ्ना लेखहरू छपाउन थाले । त्यसै ताका लेखनाथ र देवकोटा दार्जिलिङ पुगेका थिए । २०१२ सालमा आईए सकेर यी बनारस लागे । बनारसमा यिनका साथीहरू बालकृष्ण पोखरेल, बल्लभमणि दाहाल, कोषराज रेग्मी, चूडामणि रेग्मी, गणेश भण्डारी आदि थिए । त्यसै बेला यिनले बालकृष्ण पोखरेलसँग मिलेर ‘नौलो पाइलो’ पत्रिकामार्फत झर्रोवादी आन्दोलन सञ्चालन गरेका थिए । शर्मा केही समयपछि काठमाडौँ आए र कोलम्बो योजनामा छानिई अङ्ग्रेजीमा एमए पढ्न पटना गए । पटनामा पढ्दापढ्दै पनि यिनले ‘उकालो’ वार्षिक पत्रिकाको सम्पादन गरे । एम्ए पास गरेपछि यी पुनः काठमाडौँ आए । सात वर्षपछि यी बृटिस काउन्सिलको छात्रवृत्तिमा बेलायत गए र यिनले द्वितीय भाषाको अङ्ग्रेजीमा एमए गरे । त्यसपछि यी २०३२ सालमा अमेरिका गए र यिनले त्यहाँ भाषाविज्ञानमा एमए गरे । त्यस अवधिमा यिनले त्यहाँ पाठ्यपुस्तक लेख्तै प्राध्यापन पनि गरे । त्यसै बेला २०३६ सालमा यिनले त्यहीँबाट भाषाविज्ञानमा पिएच्डी गरे ।
अध्ययन र विविध कार्यका सिलसिलामा डा.शर्माले भूटान, पाकिस्तान, भारत, इरान, लेवनान, तुर्की, ताइवान,थाइल्यान्ड, जापान, इटाली, पश्चिम जर्मनी, फ्रान्स, स्विट्जल्र्यान्ड, बेलायत, आयल्र्यान्ड र संयुक्त राज्य अमेरिकाको. भ्रमण गरिसकेका छन् । यता नेपालका पनि राप्ती अञ्चलबाहेक उनले तेह्रै अञ्चल टेकेका थिए ।
खान, लाउन, बोल्न र लेख्न सबै कुरामा अत्यन्तै निपुण तारानाथ शर्माले जुनसुकै. सभा, सम्मेलन र समारोहमा भाषण गर्न थालेपछि त्यस ठाउँको रौनक नै अर्कै हुन्थ्यो । उनको भाषणकलाबाट मान्छेहरू मन्त्रमुग्ध हुने गर्थे । उनको व्यक्तित्वको अर्को महत्वपूर्ण विशेषता उनका सुन्दर हस्ताक्षर थिए । नेपाली साहित्यजगत्मा राम्रा अक्षर हुनेहरूमा डा.शर्माको स्थान पनि अग्रपङ्क्तिमा पर्थ्यो । उनका अक्षर मोतीका दाना कुँदिएका झैँ हुन्थे ।
तारानाथ शर्मा र तानासर्मा यी दुवै नाउँबाट नेपाली साहित्यिक प्रदेशमा डा.शर्माले ख्याति बटुले । एकपटक यी तानासर्माका नाउँमा पक्राउ पनि परेका थिए । २०२२ सालमा यी सुरक्षा कानूनअन्तर्गत केन्द्रीय कारागारमा तीन महिना थुनामा परेका थिए । त्यसै बेला यिनले दुईवटा उपन्यास लेखेका थिए ।
तारानाथ शर्मा जीवनको आरम्भमा प्रगतिशील साहित्यकार थिए । त्यही धाराबाट प्रेरित भएर यिनले नेपाली साहित्यमा प्रवेश गरे । खास गरेर कविवर मवीवि शाहका कविताको आलोचना गरेपछि यी प्रसिद्धिको कोटिमा पुगे । तर पछिपछिका ग्रन्थहरूमा उनले मवीवि शाहको यथेष्ट प्रशंसा, सम्मान र श्रद्धा गरेर आफ्नो समालोचकीय धारालाई अगि बढाए । यिनले बालकृष्ण समको काव्यात्मक व्यक्तित्वलाई पनि एकपटक चिथोर्नु चिथोरेका थिए, थेचार्नु थेचारेका थिए र पेल्नु पेलेका थिए । तर पछि यी समका परमभक्त भएर निस्के । मानौँ उनी समका कान्छा भाइ भए ।
डा.तारानाथ शर्माले रत्नश्री सुवर्ण पदक, मदन पुरस्कार, साझा पुरस्कार, महेन्द्र विद्याभूषण, श्री ५ को सरकार शिक्षा मन्त्रालयबाट सर्वोत्तम पाठ्यपुस्तक लेखन पुरस्कार, लुनकरणदास गङ्गादेवी चौधरी पुरस्कार, बालकृष्ण सम पुरस्कार, पृथ्वीप्रज्ञा पुरस्कार आदि प्राप्त गरेका थिए ।
तारानाथ शर्माको भौतिक चोला २०७८ साल फागुन ३ गते आफ्नै घर सरस्वती नगरमा विसर्जन भयो । तर उनी नेपाली साहित्यमा सधैँ सम्मानित प्रतिभा बने । वास्तवमा नै उनले नेपाली साहित्यमन्दिरमा अत्यधिक सेवा गरेका थिए । उनको योगदानबाट नेपाली भाषा र नेपाली साहित्य युगयुगसम्म धनाढ्य रहिरहनेछ । उनी नेपाली भाषासंसारमा सधैँ अमर रत्नका रूपमा अटल भइरहनेछन् ।
डा.तारानाथ शर्माबाट नेपाली भाषामा लेखिएका प्रमुख मौलिक कृतिः
निबन्ध र प्रबन्ध
१. नमस्ते (२०१८)
२. जमर्काहरू (२०२५)
३. बेलाइततिर बरालिँदा (२०२६)
४. जीवनका छाल (२०३०)
५. पाताल प्रवास (२०४२)
६. श्रद्धाका सुमन (२०४४)
७. श्री ५ र पञ्चायत (२०४४)
८. श्री ५ बडामहारानी सरकार र सामाजिक सेवा (२०४५)
९. आँसु छचल्किँदै जान्छ (२०५५)
समालोचना
१०. घोत्ल्याइँहरू (२०२१)
११. पश्चिमका केही महान साहित्यकार (२०२६)
१२. भानुभक्तदेखि तेस्रो आयासम्म (२०२७)
१३. नेपाली साहित्यको इतिहास (२०२७)
१४. नेपाली साहित्यको ऐतिहासिक परिचय (२०२९)
१५. सम र समका कृति (२०२९)
१६. सम्पन ल्याएँ (२०४४)
कथा
१७. दुई पोका चुरा (२०२६)
उपन्यास
१८. मेरो कथा (२०२३)
१९. ओझेल पर्दा (२०२३)
२०. सुली (सन् १९७३)
२१. झझल्को (२०३५)
२२. नेपालदेखि अमेरिकासम्म (२०४८
पुरस्कार
रत्नश्री स्वर्णपदक (२०२३)
मदन पुरस्कार (२०२६)
साझा पुरस्कार (२०२९)
महेन्द्र विद्याभूषण, प्रथम (२०३८)
लुनकरणदास गङ्गादेवी चौधरी पुरस्कार (२०५३)
बालकृष्ण सम पुरस्कार (२०७६)
पृथ्वीप्रज्ञा पुरस्कार (२०७६)
लेखक
नरेन्द्रराज प्रसाई