खड्गबहादुर नेम्वाङ पल्लोकिरातको लिम्बुवानमा प्रसिद्ध थिए । उनी १९९० सालमा इलाम अमिनीमा बिचारी भए । उनी बारुद, बन्दुक र पिस्तोलका सोखिन थिए । साथै उनी सिकार खेल्नमा पनि पारङ्गत थिए । उनी प्रथम र द्वितीय विश्वयुद्धबाट फर्केका पूर्वसैनिकसँग बन्दुक किन्थे । यिनले तिनै हातहतियारहरू राणाशाही विरुद्ध लड्ने क्रान्तिकारी मुक्तिसेनालाई दिएर सहयोग गरे । क्रान्ति सम्पन्न भएपछि २००८ सालमा गृहमन्त्री बीपी कोइराला इलाम भ्रमण गएका थिए । त्यसै बखत कोइरालाले यिनलाई धन्यवादको पत्रसहित यिनका बन्दुकहरू फिर्ता गराइदिएका थिए । त्यसै साल क्रान्तिमा सहयोग गरेवापत यिनले इलाम अमिनीको सुब्बाको पदमा नियुक्ति पाए । किपटिया लालमोहरिया सुब्बा अमिनीको पनि सुब्बा भएपछि यिनलाई डबल सुब्बा भन्न थालियो । अनि यही सम्बोधनले यिनी प्रख्यात भए । त्यस बेलाको अमिनीको सुब्बापद पछि जिल्ला न्यायाधीशमा रुपान्तर भयो ।
पृथ्वीनारायण शाहले नेपालको एकीकरण गर्ने अभियानमा पल्लोकिरात लिम्बुवानलाई पनि विशाल नेपालभित्र समाहित गरे । तर त्यसो गर्दा लिम्बुहरूलाई तिनको जिमिभूमिमा तिनकै स्वामीत्व रहने गरी आफ्नो कुलभाइ ठानी पृथ्वीनारायण शाहले “त्यो मुलुक सम्हार गरी जिमीभूमि रहिन्जेल तिम्रा शाखासन्तानतक भोग्य गर” भनी धर्मपत्रको तसल्लीको मोहरस्वरुप ताम्रपत्र गरिदिए । अनि लालमोहर अनुसार लिम्बुको जातिगत स्वामीत्व हुने जग्गालाई किपट भन्न थालियो । किपट जग्गामा राज्यको स्वामीत्व हुँदैनथ्यो । किपटप्रथाका कारणले नै पूर्वाञ्चलमा लिम्बुजातिको वस्ती पनि स्थिर हुन सकेको थियो ।
पृथ्वीनारायण शाहका उत्तराधिकारीहरूबाट पनि लिम्बुको भूमिमाथिको स्वामित्व र अधिकार लालमोहरमार्फ कायम राखिदिने परम्परा बस्यो । जिमिभूमिमाथि स्वामित्व रहेका लिम्बु जातिको यो भूस्वामित्वसहितको जातीय अधिकारबाट किपट प्रणाली सुरु भयो । जसअर्न्तर्गत स्थानीय प्रशासनिक र न्यायीक अधिकारसहितको सुब्बाङ्गी प्रथा प्रारम्भ भयो । प्रशासनिक र न्यायिक अधिकारसहितको सुब्बाङ्गी प्रथामा अमाल गर्ने अधिकार सुब्बालाई वंशानुगत रूपमा प्राप्त हुँदै गयो ।
शाहवंशीय राजाहरूका लालमोहरबाट लिम्बुका जेठो सन्तान क्रमशः सुब्बा पदबाट सुशोभित हुन थाले । त्यसपछि अरुहरुले पनि लिम्बुहरुलाई सुब्बा भन्न थाले । लिम्बुजातिको नेम्वाङ कुलमा जन्मेका खड्गबहादुरका पुर्खा पनि जातिगत रूपमा सुब्बा भनिए । तर खड्गबहादुर नेम्वाङ भने अमाली र जिम्मावाल सुब्बासमेत भएका थिए ।
डबल सुब्बा लिम्बुजातिको जागरणका हर्कुलस थिए । उनी काम गरेर थाक्तैन थिए । उनको पहिलो काम नै लिम्बु जातिलाई उद्बोधन गर्ने हुन्थ्यो । सातसाल अगाडि सेतामगुराली (सेर्पा, तामाङ, मगर, गुरुङ, राई र लिम्बु) हरू शिक्षाको किरणबाट धेरै टाढा थिए । उनी लिम्बुजातिलाई कुरितीबाट मुक्त गर्न शिक्षा दिनु पर्छ भन्ने मान्यतामा लागे । त्यसैले आफ्नै गाउँमा २००६ सालमा प्राइमरी स्कूल स्थापित गर्न उनी सफल भए । उनैले आफ्ना बुबाआमाको नाउँ जोडेर ‘मनरत्न मिडिल स्कुल’ चलाए । त्यस स्कुलको स्थापना भएपछि त्यहाँ सेतामगुरालीले पनि क्षत्रीबाहुनहरूसँगसँगै पढ्न थाले । सो स्कुल पछि उच्चमाध्यमिक विद्यालयमा रुपान्तरित भयो ।
राणाशाहीका बेलामा किपट भूमिबाट लिम्बुहरुलाई पाखा लगाउने चालबाजी क्रमशः सुरु भयो ।अनि लिम्बुहरूले पनि आफ्नो परम्परागत अधिकारका लागि संघर्ष गरे । २००७ सालको जनक्रान्तिमा लिम्बुहरूको सहभागिता बढी हुनुमा यो नै एउटा मुख्य कारण पनि थियो ।
क्रान्तिताका पूर्वाञ्चल क्षेत्रमा जनमुक्ति सेनाको कुल संख्यामध्ये झन्डै आधाजति लिम्बु थिए । क्रान्तिपछि अवसरवादीका भड्काउमा परेर केही सोझासाझा लिम्बुहरूबाट साम्प्रदायिक दङ्गा भड्किसकेको थियो । भड्काउमा परेका जनमुक्तिसेना र साधारण जनताबिच रक्तपातपूर्ण घटना घट्न नदिन क्रान्तिका अगुवाहरूले डबल सुब्बालाई अघि सारे । आफ्ना दाजुभाइ, कुलकुटुम्ब र गन्यमान्य लिम्बुहरूको सहयोगबाट उनले शान्ति स्थापनामा महत्वपूर्ण भूमिका खेले। फलस्वरूप राजा त्रिभुवनको लालमोहरबाट किपटप्रथा यथावत कायम राख्ने घोषणा भयो ।
डबल सुब्बा शान्ति र सृजनाका साँघु थिए । उनी राम्रा कवि पनि थिए । उनले २०१२ सालमा मुनामदनको भाकामा लिम्बुभाषामा “किरात मिकहन साम्लो’ नामक खण्डकाव्य लेखे । लिम्बुभाषाको काव्यसाहित्यमा यो नै पहिलो आधुनिक काव्य मानियो । त्यतिमात्र होइन लिम्बु जागरणमा समर्पित स्रष्टाहरुका लागि डबल सुब्बा भीम थिए । त्यस मामलामा उनी बाधाको पहरा फोर्न पनि पोख्त थिए । उनी सामाजिक जागरणमा त्यतिकै क्रियाशील थिए । त्यसैले उनले लिम्बु चेलीउपर भएको कुरितिजन्य प्रथा उन्मुलन हेतु लिम्बुभाषामा कविता लेखे—
चेलीलाई बेच्नु ढोगौली पैसा धेरधेर थापेर
तीन वर्षम्म टीकामा ल्याउ नछोडी भनेर
ऋणदान बोक्नु घरबारी बेच्नु जुवाईंं पठाई
छोरी र चेली बेचेर खानु घरबास उठाई
हे बन्धु भन कसरी पुग्ला त्यसपछि खानलाई
घरबार उडे सकिन्न साँच्चै ऋणसम्म तिर्नुलाई ।
अनुवाद (बैरागी काइँला : २०३९)
डबल सुब्बाले लिम्बु संस्कृति र साहित्यलाई प्रकाश पार्ने हेतु झनै जाँगर चलाए । लिम्बुलगायत अन्य जातजातिबिच शिक्षाको प्रचार, कुरितीको उन्मूलन र सामाजिक चेतनाको उज्यालोमा जान उनैले बत्ती बालिदिए ।
डबल सुब्बा शिक्षा प्रचारमा दत्तचित्त भएर नै लागे । उनले आफ्नै गाउँ सारताप, पाँचथरमा खुलेको पाठशाला र इलाम तथा झापाका स्कूल भवन र पुस्तकालय भवन निर्माण गरिदिए । बाँचुन्जेल उनले समाजसेवामा आफूलाई समाहित गरिरहे । खास गरेर लिम्बु समुदायको मानसिक, शारीरिक, बौद्धिक, सामाजिक, राजनैतिक र सांस्कृतिक जागरणका लागि यिनले सशक्त योगदान दिइरहे ।
लिम्बुहरूलाई अन्याय पर्यो भने डबल सुब्बा आफ्नै छाती तेर्साएर अघि सर्थे । यस मामलामा हारे पनि यी चुप लागेर बस्तैन थिए । २०१७ सालमा राजा महेन्द्रको शाही कदमपछि लिम्बुको हकअधिकार र किपटप्रथा कटौती हुन थाल्यो । तर डबल सुब्बा एकनासले सत्ताको विरोधमा नै लागिरहे । २०२१ सालमा भूमिसुधारले लिम्बुहरूको सुब्बाको पद र किपट प्रथाको अन्त्य नै गरिदियो । त्यसपछि पनि लिम्बुहरूलाई अरुहरुद्वारा सुब्बा शब्दले सम्बोधन गरिने चलनचल्ती भने छुटेन । कतिपय लिम्बुले आफूलाई निरन्तर सुब्बा लेख्तै रहे ।
डबल सुब्बाको जन्म १९७१ साल फागुन २९ गते पाँचथरको पौवा गाउँमा भएको थियो । मनप्रसाद नेम्वाङ र उनकी चौथो नम्बरकी भनौ कान्छी पत्नी रत्नकुमारी फागूका यिनी साहिंला छोरा थिए ।
डबल सुब्बाले घरैमा कखरा पढे । उनी सानैदेखि लडाकु स्वभावका थिए । तर उनी मिलनसार पनि थिए । उनी अत्याचार, अन्यायका घोर विरोधी थिए । साथै ज्ञानगुनका कुरामा पनि उनी अगाडि नै पर्थे ।
डबल सुब्बा रसिक थिए । उनी नाचगान र लोकबाजा राम्ररी बजाउन सक्थे । उनी चाडपर्वमा च्याब्रुङ र मुर्चुङ्गा बजाउँदै नाच्ने गर्थे । धान नाच्न जाँदा उनी कसै न कसै नारीलाई मोहित पारी छाड्थे । यही रीतमा यिनले धेरै नारीसँग प्रिति पनि गाँसे । तर यिनले छ जनासँग मात्र बिहे गरे । यिनका छओटी श्रीमतीबाट आठजना छोरा र छजना छोरी जन्मे । उनले आफ्ना छोराछोरीको भविष्यका लागि तन, मन र धन दिए । यसैक्रममा उनले सर्वप्रथम आफ्ना छोराहरुको शिक्षामा पनि जोड दिए । उनका छोराहरु पनि हुने विरुवाका चिल्लोपातका रूपमा निस्के । उनका छोराहरूमध्ये भूविक्रम नेम्बाङ नेपाली काङ्ग्रेसका ठूलै नेता भए र तिलविक्रम नेम्बाङ अर्थात् बैरागी काइँला नेपाली भाषासाहित्यका एउटा महारथी भए । तिनै महारथी नै नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति पनि भए । उनी कुलपति पनि कस्ता थिए भने पछिल्ला समयमा ठाडै दलबाट भर्ना भएका कठपुतली कुलपतिहरुजस्ता नभएर नेपाली साहित्यका सर्वमान्य कुलपति नै थिए ।
डबल सुब्बाको २०३८ साल भदौ २ गते झापाको खुदुनाबारीमा स्वर्गारोहण भयो । त्यस दिन समाजसेवाको एउटा पाटोमा ओझेल परेको थियो भने लिम्बु जातिको आकाशमा बादल लागेको थियो ।