बझाङका राजा विक्रमबहादुर सिंहका चारवटी पत्नी थिए । तीमध्ये दुईटी चाहिं प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरी थिए । रुद्रकुमारी र मेघकुमारीलाई एउटै यज्ञमा उनले बेहुली बनाएका थिए । ती चारवटीबाट उनका १४ जना छोरा जन्मे । जेठी रुद्रकुमारीदेवीबाट पहिलो पल्ट जयपृथ्वीबहादुर सिंह जन्मे र बझाङी राजाका उत्तराधिकारी पनि भए । उनको जन्म १९३४ साल भदौ ७ गते भएको थियो ।
राजा विक्रमबहादुर सिंहझै मुख्य रानी रुद्रकुमारी पनि परोपकारी र मानवतावादी थिइन् । साथै उनी चेतनाकी ज्योति थिइन् र करुणाकी प्रतिमूर्ति पनि थिइन् । उनी न्यायनिसाफ छिन्न पनि सिपालु थिइन् । बझाङ दरबारमा उनको खुवै प्रभाव थियो । त्यही बेहोरा आसेपासे र कुरौटेले बझाङे राजालाई नकरात्मक रुपले जाहेर गरेपछि त्यहाँ राजारानीमाझ भित्रभित्रै भुसको आगो बल्न थाल्यो । अन्ततः राजासँग टिक्न नसकेर रानी आफ्नो राजकुमार चेपेर माइत अर्थात् काठमाडौं आइन् । त्यस बेला जयपृथ्वीबहादुर सिंह आठ वर्षका थिए ।
राजा विक्रमबहादुर सिंहले आफ्नी जेठी रानीले छोरो लिएर डाँडो काटेपछि भारत पिथौरा गढमा गएर ठकुरीकी छोरीलाई पोते लगाइदिए । त्यस बेहोराले रुद्रकुमारी आक्रोशित भइन् । अनि उनले प्रधानमन्त्री वीरशमशेर राणालाई यसबारेको उजुर गरिन् । राणाले पनि बझाङी राजाबाट सिंहलाई बर्खास्त गर्राई जयपृथ्वीबहादुरलाई राज्यारोहण गर्राई दिए ।
राजा जयपृथ्वीले शिक्षालाई खुबै महत्व दिए । त्यहीक्रममा उनले आठजना विद्यार्थी काठमाडौंमा पढ्न पठाए । सामान्य शिक्षा आर्जन गरेपछि ती आठैजना बझाङका विभिन्न अड्डा, स्वास्थ्य र शिक्षण संस्थाका कारिन्दा भए । त्यसपछि पनि उनले त्यहाँका रैती पढ्न भारतको अलमोडा पठाए । साथै उनले काठमाडौंको नक्सालको आफ्नै घरमा सत्यवादी पाठशाला पनि खोले । पछि उनले काठमाडौंको सत्यवादी प्राथमिक पाठशाला बझाङमा सारे । त्यहाँको यो प्रथम स्कूल थियो ।
जयपृथ्वीले देवशमशेरलाई स्कुल खोल्नु पर्छ र नेपाली भाषामा शिक्षा दिनु पर्छ भनेर फकाए । अनि उनले स्कुलेका लागि पुस्तक पनि लेखे । त्यसबेला विद्यार्थीले जयपृथ्वीले लेखेको ‘अक्षरङ्कमाला’ पढ्नु पर्थ्यो । उनले क्रमशः अरु बौद्धिक किताब पनि लेखे । उनले जम्मा १८ वटा किताब लेखेका थिए ।
जयपृथ्वीले राजा भएर नै पनि पढे । उनको पढाइ काठमाडौंको दरबार स्कुलमा भयो । उनले कोलकात्ता गएर म्याटि्रक पास गरे । अनि उनले प्रयागमा आईए पढे तर पूरा गरेनन् ।
जयपृथ्वीको १७ वर्षको उमेरमा श्री ३ चन्द्रशमशेरकी १४ वर्षीया छोरी खगेश्वरीदेवीसँग बिहे भयो । तर यी दम्पतिबाट सन्तान चाहिं भएनन् ।
जयपृथ्वी पढ्न, लेख्न, बोल्न, गाउन, नाच्न, र घोडा चढ्नका सौखिन थिए । उनले आफूले मात्र चढ्न ४० वटा घोडा पालेका थिए । उनी जुन देश पुग्थे शिक्षाका कुरा र कहिलेकाहीं घोडा पनि लिएर र्फकन्थे ।
जयपृथ्वीले बझाङमा आर्थिक सुधारका नाउँमा भूमिसुधारको व्यवस्थापन गरे । उनैले वैज्ञानिक ढङ्गबाट नापीको व्यवस्था पनि गरे । त्यहाँ औषधालय उनैले स्थापना गरे । खग औषधालय र जयपृथ्वी धर्म औषधालय त्यस भेकको पहिलो औषधालय थियो । उनले त्यहाँ कोलकत्ताबाट चिकित्सक पनि ल्याएका थिए । उनले काठमाडौंबाट त्यहाँ धोबी र च्यामे पनि पुर्याएका थिए ।
२५ वर्षीय जयपृथ्वीलाई प्रधानमन्त्री चन्द्रशमशेरले कोलकात्तामा वकिल बनाएर पठाए । त्यतिबेला उनी त्यहाँ तीन वर्षबसेर अङ्ग्रेजीको विशेष ज्ञान हासिल गरे । तर नेपालमा नेपाली भाषाकै किताब छापेर प्रचार गर्ने हेतु उनी नेपालै आए । नेपाल आउँदा उनले हाते प्रेस किनेर ल्याएका थिए ।
चन्द्रशमशेर प्रधानमन्त्री भएपछि नरदेव पाण्डेलाई खोसेर आफ्ना ज्वाइँ जयपृथ्वीलाई गोर्खापत्रको तालुकदार बनाइयो । त्यतिमात्र होइन राणाले गोरखापत्रको सम्पर्ूण्ा आम्दानी पनि सिंहले नै खाने कागत गरिदिएका थिए ।
जयपृथ्वीले भारदारी अड्डाम पनि काम गरे । अर्को वर्षअर्थात् १९६५ सालमा प्रधानमन्त्री चन्द्रशमशेरसँगै उनी बेलायत पनि गए । त्यसैबखत त्यहाँका राजाले उनलाई कर्नेलको दर्जा दिए । साथै उनी अमेरिकाको भ्रमण गर्ने पहिलो नेपाली थिए । रुसको भ्रमण गर्ने पहिलो नेपाली यिनै थिए भन्ने बेहोरा पनि कृष्णप्रकाश श्रेष्ठले लेखे । डा.दुबसु क्षत्रीका अनुसार नक्कली भिसा लिएर जापान पुग्दा उनी पक्राउ पनि परेका थिए । क्षत्रीका अनुसार एसियाका मुलुकलाई संस्कृतभाषामय बनाउन पनि उनको विशेष इच्छा थियो । उनी जुनजुन भूमि टेक्न पुग्थे शिक्षाबारेकै प्रायः जानकारी लिन्थे । साथै उनी जहााजहाँ जान्थे शान्ति, मानवता र भतृत्वकै अभिवृद्धिको सन्देश मात्र दिन्थे ।
जयपृथ्वीले मानवतावादी संस्था खोल्ने अभियान चलाए । त्यसैले उनले विश्वभ्रमण पनि गरे । उनी जुनजुन देशमा जान्थे मानवतावादी भाषण गर्थे । पछि उनैको संरक्षकत्व एशियाका विभिन्न राष्ट्रमा मानवतावादी सङ्घहरू पनि खुले । साथै उनले मानवतावादी पुस्तकहरू पनि प्रकाशित गरे । विश्व एकता उनको मुल मन्त्र थियो । संयुक्त राष्ट्रसङ्घ यिनैको समेत प्रभावले स्थापना भएको हो भनिन्छ ।
जयपृथ्वी न्यायका लागि जस्तै ठूलो बाघसँग पनि भिड्थे । चन्द्रशमशेरका ज्वाइँ भए तापनि उनी राणा शासनको कालो कर्तुत मन पराउँदैन थिए । त्यसैले उनी भित्रभित्रै आगाको झल्िका सल्काउने काममा दत्तचित्त थिए । उनले गोर्खापत्रमार्फत पनि राष्ट्रियता र जनजागरणको गीत गाइरहे । त्यही बेहोराले चन्द्रशमशेरले हटात रूपमा गोरखापत्र नै बन्द गराए । त्यसपछि उनी मुङ्लान पसे ।
चन्द्रशमशेरका डरले जयपृथ्वी भारतबाट पनि भागेर बेलायत पुगे । कसैका आँखामा नपर्ने हेतुले त्यतिबेला उनले ब्रम्हेली पोशाक लगाएका थिए । उनी भागेको बेहोरा श्री ३ चन्द्रशमशेरका कानमा नमज्जाले ठोक्कियो । अनि उनले जयपृथ्वी दाखिल गराउनेलाई पाँच हजार रुपियाँ इनामको र्सार्वजानिक घोषणा गरे । तर उनी राणाका पञ्जामा नआएपछि उनको खाइपाई आएको भत्ता बन्द गराइयो । त्यसपछि राणाले उनीसँग आफ्नी छोरीलाई पनि छुटाए । अनि छोरीलाई उनले कम्पनीको रुपियाँ वाषिर्क आठ हजार भत्ता तोके । त्यसपछि राणाले जयपृथ्वीको जात च्युत गरी पानी काडे । अनि जयपृथ्वी पनि ससुरा मरेपछि मात्र नेपाल पसे ।
जयपृथ्वी पितृभक्त थिए । त्यसैले उनले चालीस वर्षो उमेरमा राजगद्दी छाडेर आफ्ना बुबालाई पुनः राज्यारोहण गराए । ६ वर्षसिंहासनमा बसेपछि उनका बुबा स्वर्गीय भए । त्यसपछि जयपृथ्वी पुनः राजगद्दीमा बसे । तर उनलाई राजा भएर बस्न मन लागेन । उनले आफ्ना भाइ देवीजङ्गबहादुर सिंहलाई राज्यारोहण गराई ४८ वर्षो उमेरमा उनी भारततिर पसे ।
नेपाली परिवेशमा जयपृथ्वी महामानव थिए । उनले आफ्नो जीवनमा जेजे काम गरे प्रायः सबै स्तुत्य गरे । उनले गरेका शास्वत कृत्यको बेहोरालाई उत्तमबहादुर सिंहले पनि प्रकाशमा ल्याए ।
राष्ट्रवादी जयपृथ्वी ६४ वर्षा हिंडिरहेका बेला १९९७ साल असोज १ गते भारतको व्याङलोरमा स्वर्गीय भए । त्यस घडी उनलाई त्यहाँ बृटिशको कम्पनी सरकारले राजबन्दी बनाएर राखेको थियो । स्वर्गीय भएपछि उनी झनै प्रसिद्धिको कोटिमा पुगे । विदेशीहरूले त उनलाई दोस्रो गौतम बुद्धको नाउँले नै सम्मान गरे ।