» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » कुलचन्द्र कोइराला Kul Chandra Koirala

नइको चिनारी


कुलचन्द्र कोइराला Kul Chandra Koirala

कुलचन्द्र कोइरालालाई कसैले राजनीतिज्ञ भनेर चिने, कोहीले प्रशासक भनेर माने र कसैले साहित्यकारका रूपमा वर्णन गरे । तर उनी नेपाली परिवेशमा बहुआयामिक व्यक्तित्वका धनी थिए । उनको योगदानले समाजका विविध पक्ष रङ्गाएको थियो । अनि उनको व्यक्तित्वलाई सङ्क्षिप्त रूपमा भन्नुपर्दा उनी एउटा राष्ट्रभक्त, नैतिक र इमान्दार नागरिक थिए । वासुदेव त्रिपाठीका शब्दमा भन्दा “कोइराला नेपाली महान् प्रतिभा र साधकमध्येका एक विशिष्ट प्रतिभा र साधक थिए ।” ती सबैभन्दा ठुलो कुरा उनी सकरात्मक चेतका धनी थिए ।

कोइरालाको जन्म १९८५ साल जेठ ९ गते सिन्धुलीको वासेश्वरमा भएको थियो । उनी पं.टीकाप्रसाद उपाध्याय र निजकी कान्छी पत्नी दक्षकुमारी कोइरालाका जेठा छोरा थिए । पं.उपाध्यायचाहिँ पुराण वाचक र वैद्य थिए । त्यसैले कुलचन्द्रलाई सानैमा अमरकोश, चाणक्यनीति, हितोपदोश घोक्न लगाइएको थियो । उनकी आमा दक्षकुमारी पनि पुराण, चण्डी र रुद्रीमा पारङ्गत भएकीले कोइराला पनि यिनै विषयमा विशेष केन्द्रित थिए ।

कोइरालाकी आमा दक्षकुमारी जागरुक थिइन् । उनी आफ्ना सन्तानका बारे विशेष चासो राख्थिन् । त्यसैले उनैले आफ्ना छोरा कुलचन्द्रलाई दस वर्षपुग्दानपुग्दै काठमाडौँ ल्याइन् र रानीपोखरीस्थित संस्कृत पाठशालामा भर्ना गरिदिइन् । आफ्नी आमाकै मनसाय बमोजिम कोइरालाले बनारस र पटनामा पनि पढे । त्यतैबाट यिनले स्नातक गरे ।

कोइरालाको १३ वर्षा उमेरमा रामेछापकै छविरमण घिमिरे र पद्मकुमारीकी नौ वषर्ीय छोरी कमला घिमिरेसँग बैबाहिक सम्बन्ध गाँसिएको थियो । यी दम्पतिबाट पाँच जना छोरा र सात जना छोरी जन्मे । उनका सन्तानमध्ये जीवनचन्द्र कोइरालाले उनको बिँडो समाए । राजनीति, समाजसेवा र साहित्यमा समर्पित जीवनचन्द्र कोइरालाको सबैभन्दा ठूलो विशेषता उनी आफ्ना बुबा कुलचन्द्र कोइरालाको व्यक्तित्व र कृतित्व देशदेशान्तमा पुर्‍याउने कार्यमा समर्पित छन् ।

कोइरालाले पनि पण्डित्याइँ गरे । उनी कर्मकाण्डी पनि थिए र पुराण वाचनलाई पनि उनी आफ्नो पैतृक अनुकम्पा मान्थे । त्यसैले उनी पनि पण्डित पेशामा आबद्ध हुँदै आफ्नो घर चलाउने परिपाटीमा बाँधिएका थिए ।

कोइराला ३५ वर्षा उमेरमा सिन्धुलीबाट रौतहटमा बसाइँ सरे । तर आफ्नो घर छोड्दा उनले पैत्रिक श्रीसम्पत्ति केही पनि लगेनन् । उनको पैत्रिक घर भाइ योगेश्वर कोइरालालाई दिएर उनले आफ्नो गाउँ छाडेका थिए ।

कोइराला लोभी थिएनन् । यसको ज्वलन्त प्रमाण के हो भने २०२८ सालमा टङ्कप्रसाद आचार्य राजनीतिक पीडितलाई जग्गा बाँडफाँड गर्ने आयोगका अध्यक्ष भएर रौतहट पुगेका थिए । त्यति बेला आचार्यले भ्रमणमुकामको कार्यालय कोइरालाकै घरमा थियो । त्यसैताक पूर्वप्रधानमन्त्री आचार्यले कोइरालालाई भनेका थिए ”गुरु ! तपाई पनि राजनीतिक पिडित हुनुहुन्छ । अलिकति जग्गा म तपाईलाई पनि छुट्याइ दिन्छु ।” तर कुलचन्द्र कोइरालाले जग्गा लिएनन् । त्यस बेला उनले भने ”म राजनीतिज्ञ हुँ, तर पिडित होइन । जग्गा लिएर म तपाईको अभियानलाई असफल बनाउँदिन ।”

कोइराला १९ वर्षकोउमेरमा नै राजनीतिमा सक्रिय थिए । उनी राजनीतिमा लागेबापत जेल पनि परे । सुरुमा उनले काङ्ग्रेस पार्टीलाई राजनीतिको आधार माने र आफ्नो आदर्श बाटो पनि त्यही ठाने । उनी नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्य पनि भए । उनी देशभक्त, जनवादी र समाजवादी सिद्धान्तमा आवद्ध भएकै कारण महाकवि लक्ष्मीप्रसाद देवकोटासँग यिनको सर्र्क बढेको थियो । उनीहरूमाझ सम्बन्ध पनि कति थियो भने अति थियो । कतिसम्म भने देवकोटाको खुशी र आँसु प्रायः कोइरालाले देख्थे अनि कोइरालाको हर्षर पीडा पनि सर्वप्रथम देवकोटाले नै देख्थे । आफूभन्दा धेरै कान्छा भए तापनि देवकोटाले कोइरालालाई हिम्मति, प्रतिभाशाली र पौरखी पुरुष मान्थे र त्यस्तै आदर पनि गर्थे ।

कोइराला २००७ सालको जनक्रान्तिमा ज्यानको बाजी लगाएर जनचाहनामा ओर्लिएका थिए । त्यस बखत उनको योगदान अत्यन्तै उच्चकोटिको थियो । त्यसैले उनी त्यसताका गठित जनसरकारका रक्षा र अर्थमन्त्री पनि भए । नेपालबाट राणाको जरा धोईपखाली गरेपछि उनी नेपाली काङ्ग्रेस पूर्व २ नम्बर (सिन्धुली, रामेछाप र दोलखा) का सभापति पनि भए । पछि उनी सल्लाहकारसभा (साँसद) को सदस्यमा पनि मनोनीत भए । उनले २०१४ सालको सत्याग्रहमा आफ्नो हैसियत राम्ररी प्रस्तुत गरेका थिए ।

२०१७ सालमा दलहरूको प्रतिबन्ध भएपछि कोइराला पञ्चायती शासनको विरोधमा ओर्ले । त्यसपछि यिनलाई पनि कैदी बनाइएको थियो । त्यहाँ उनलाई डेड वर्षकज्याएर राखियो र अबदेखि मौन बस्नेछु भन्ने कागत गराएर छोडियो । अनि आफ्ना सम्पूर्णजेथा छाडेर यी रौतहटतिर लागे । त्यसपछि विपरित सिद्धान्तको राजनीतिमा सक्रिय हुन उनले हिम्मत हारे ।

कोइरालाले सिन्धुली र रौतहटमा शिक्षण संस्थाको विकासमा महत्वपूर्णकाम गरे । त्यतातिरको पुल, बाँध, बाटोघाटो बनाउने काममा पनि उनले गुरुत्तर भूमिका निर्वाह गरे । साथै पुस्तकालय स्थापनामा पनि उनी जागरुक थिए । उनी निश्वार्थ समाजसेवा गर्थे ।

कोइराला सानैदेखि तीक्ष्ण थिए । दस वर्षका उमेरमा उनले ‘गोपिनी चीरहरण’ शिर्षमा कविता लेखेका थिए । त्यस कविताबाट उनी पुरस्कृत भएका थिए । त्यति बेला हरिभक्त ज्ञावालीबाट खेतको एउटा खलो किन्ने जति पैसा यिनले पुरस्कारस्वरूप थापेका थिए । त्यसपछि क्रमशः उनी लेखनमा नै आकृष्ट हुन थाले । लेख्तालेख्तै उनका कथा, गीतकविता, निबन्ध र संस्कृति गरेर नेपाली भाषामा तीन दर्जन जति कृति प्रकाशित भए । उनका कृतिहरूको लेखाजोखा गर्दा उनी संस्कृतिका फाँटमा अब्बल दर्जामा दरिए । साथै उनी संस्कृतिविद्का रूपमा पनि र्सवत्र पुजिन थाले । उनी नेपाली, हिन्दी, संस्कृत, मैथली भाषामा साहित्य लेख्ने गर्थे । तर नेपाली भाषाका साहित्य मात्र उनले प्रकाशनमा ल्याए ।

जीवनको पछिल्लो दिनमा उनी गुठी संस्थानमा पनि कार्यरत भए । त्यसै बेला संस्थानका अध्यक्ष बद्रीविक्रम थापाले उनलाई सम्मान, माया र प्रेम गरे । उनीहरु एकअर्कालाई खुबै आदर गर्थे। त्यही सिलसिलामा उनलाई गुठी संस्थानको पत्रिका ‘धर्मदर्शन’को सम्पादन गर्ने जिम्मा पनि दिइएको थियो । सो पत्रिका पनि उत्कृष्ट कोटीमा प्रकाशित हुने गर्थ्यो। उनको राजीनैतिक र साहित्यिक योगदानका कारण उनी प्रबल गोरखादक्षिणबाहुका साथै दीपस्मृति पुरस्कार र गुणराज पुरस्कारबाट सम्मानित भएका थिए ।

२०२८ सालको कुरा हो; गाउँलेको बिहेको निम्तो स्वरूप उनले सुपारी पाएका थिए । त्यसै बेला सुपारी चपाएर उनले चुरोटको सर्को ताने । अनि एक्कासी सुपारिको छोक्रा स्वासनलिमा पुग्योे । झन्नै एक वर्षम्म सुपारिको छोक्रा त्यहीँ अड्किरहृयो । त्यसैबीच उनी शारीरिक र मानसिक रूपमा थालिन थाले । क्रमशः उनको स्वास्थ्य ब्रि्रँदै गयो र दम अनि हृदय रोगबाट पनि उनी पीडित हुन थाले । उनीमा अरूअरू रोग थपिनेक्रम पनि बड्यो । त्यसै परिवेशमा उनको शरीरले ती रोगहरू धान्न सकेन । उपचारकै क्रममा २०५० साल जेठ १४ गते शिक्षण अस्पताल, महाराजगन्ज काठमाडौंमा उनी स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश