» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नइको चिनारी


ओमप्रसाद गौचन

ओमप्रसाद गौचनले राजनीति र समाजसेवामा लागेर आफ्नो मन, वचन र कर्म खर्च गरे । उनैको नेतृत्वमा २००७ सालको जनक्रान्तिमा बाग्लुङ कब्जा भएको थियो । त्यसैताका उनले त्यहाँ प्रधानमन्त्री भएर छ महिना शासन गरेका थिए । त्यस अवधिमा उनले गरेको कामले त्यस भेकमा उनी सधैं पुजनीय भए ।

२००७ सालपछि पनि गौचनले एकोहोरो सामाजसेवा गरे । उनले असम्पन्न व्यक्तिहरूको उद्धार गरे । उनैले शिक्षाविकासदेखि बाटोघाटो निर्माणसम्मका कामहरू गरे । उनले धौलागिरी अञ्चलमा हुन सक्ने र गर्नुपर्ने ज्यादै कठिन र जटिल सेवा गरे । गरिवीबाट बहुरिएर पनि उनले त्यस ठाउँको काँचुली फेर्न गुरुत्तर भूमिका खेले ।

गौचनले समाजसेवा गर्दा र्सवप्रथम श्रमदान गर्नुपर्छ भन्ने जनभावना जगाए । उनले आफैश्रमदान गरेर समाजसमक्ष प्रमाण पनि देखाए । अनि कतैकतै चन्दा दिएर पनि उनले सेवा पुर्‍याए । उनी र्ढरा पार्ने खालका सेवाका विरोधी थिए । उनी सानैदेखि कृत्रिम र असामाजिक कुराको विरोध गर्थे ।
गौचनले धौलागिरी अञ्चलमा बाटोका सुधारका लागि आन्दोलन ल्याए । त्यहाँ उनी धारा, पँधेरा स्थापना गर्न रातोदिन निर्लिप्त भए । त्यस ठाँउमा उनले आफ्नै पैसा लगाएर हाईस्कुल खोले, पुस्तकालय बनाए र मन्दिरको स्थापना गरे ।
गौचन सानैदेखि दानी थिए । यिनले महाभारतका कर्ण पढेका थिए, राजा शिविको कथा पढेका थिए र रन्तिदेव भन्ने पनि जानेका थिए । अनि यी सानैदेखि परोपकारी थिए । पहिलापहिला धौलागिरी अञ्चलमा बढी ब्याज लिएर जनतालाई ऋण दिइन्थ्यो । यसबाट निमुखा जनतालाई निक्कै दुक्ख र हण्डर हुन्थ्यो । त्यसै बेला यी जुरुक्कै उठे र जनताको साथमा लागे । त्यसपछि यिनले नगन्य ब्याज लिएर जनतालाई ऋण दिन थाले । आफ्नो पूँजी छउञ्जेल यिनले यस्तो काम गरिराखे । आफ्नो धनले भ्याउन छाडेपछि यी काठमाडौँ आए र ब्याङ्क खोल्न उद्धत भए ।
धौलागिरी भेगका जनतालाई कपाल दुख्ता पनि धामीझाँक्री ल्याउनुपर्ने बाध्यता थियो । पेट दुख्ता पनि पेटमा गोला बढेछ भनेर भ्रममा हिँड्ने जनतालाई गौचनले आधुनिक बाटो पनि देखाउनु थियो । यी फेरि यसैमा पनि तल्लीन भए । अनि फेरि पनि उनी काठमाडौँ आए । धेरै दौडधुप गरेपछि भारतीय राजदूतवासबाट यिनले पन्ध्र हजार भारतीय रुपियाँ पाए । त्यस रकमले बाग्लुङ्मा यिनले डिस्पेन्सरी भवन बनाए । त्यसपछि त्यहाँ औषधी पसलेहरूले औषधी महँगो गरी बेच्न थाले । अनि यिनले जनताको आँसु पुछ्न मिशन अस्पताल नै उपलब्ध गराए । साथसाथै यिनले चाहिएजति डाक्टर पनि त्याँ पुर्‍याए ।
गौचन शिक्षाका लागि नै रम्ने व्यक्ति थिए । धौलागिरी अञ्चल दर्ुगम भएकाले विद्यार्थीहरूलाई धाएर पढ्ने अनुकूल थिएन । त्यसैले यिनले त्यहाँ पुरुष छात्रावास बनाए । त्यस विषयमा पनि यिनले आफ्नै आमदानी लाए । थोरै नपुगेको रकम चन्दा उठाए । अनि उनले धेरैलाई यसमा बसाए ।
गौचनले बालबालिकाको भविष्य निर्माणको तर्जुमा गरे । उनले बाग्लुङमा बालमन्दिर खोल्न उचित ठाने । बालमन्दिर निर्माण समितिका पनि यी अध्यक्ष भए । यिनको कुसल नेतृत्वमा त्यहाँ बालमन्दिर निर्माण भयो । बिस्तारै यिनले नारीशिक्षाका लागि जोड दिए । त्यस प्रयोजनका लागि यिनले त्यहाँ छात्रावास पनि बनाए । त्यस छात्रावास सुरुमा नै यिनले पन्ध्र जना महिलालाई निशुल्क राखे र खानपिन पनि सित्तै दिन थाले । शिक्षकलाई पनि यिनले आफ्नै गोजीबाट नगद दिन्थे ।
गौचनले वाग्लुङमा व्यापार बढाउन सङ्कल्प गर्न पनि थाले । यस ठाउँलाई सम्पन्न बनाउन यी रातोदिन लागे । अनि भारतको पेन्सन क्याम्प बाग्लुङमा खोल्न यी अघि बढे । भारतमा सेवा गर्ने अफिसरहरूलाई यिनैले जागरुक गरे र आफ्नै अध्यक्षतामा समिति खोले । चन्दा उर्ठाई यिनले जग्गा पनि खरिद गरे र आवश्यक जग्गा अफिसरलाई सित्तैँ दिए । अनि अफिसरहरूले त्यहाँ गृहनिर्माणमा मन दिए ।
गौचनले गाउँका जनतालाई काममा बाँध्न थाले । यिनले स्थानीय वासीलाई ग्रामीण विकासमा उन्मुख गराए । त्यसका लागि यिनले त्यहाँ घरेलु उद्योग खोले । अनि यिनले गाउँमै कपास रोप्ने आन्दोलन पनि सुरु गरे । तर त्यसमा यी फेल भए । किनभने त्यस ठाँउमा कहीँ पनि कपास उम्रिएन ।
गौचन फुर्सद हुनेबित्तिकै शिक्षाकै सेवामा पसारिन्थे । १९९७ सालमा यिनले शिक्षाका लागि प्रबन्ध गरे । तर त्यति बेला यिनले पुरुषका लागि मात्र यस्तो काम गरे । ३ वर्षछि यिनले आफ्नै घरमा स्कुल खोले र पछि अन्तै पाठशाला बनाए । खरले छाएर यिनले विद्यार्थीहरूलाई स्कुलमा बसाए । त्यसैलाई पछि यिनले कालो ढुङ्गाले छाए । यिनले पछि त्यसैलाई हाईस्कुल बनाए । कैयौँलाई विश्वविद्यालयको शिक्षा लिने जग बसाए तर यिनले स्कुले शिक्षा लिएनन् ।
गौचनले सधैँ बुद्धिजीवीलाई समाजसेवाका लागि प्रोत्साहन दिए, सहयोग दिए र वातावरण दिए । ‘बुद्धिजीवी भनेका समाजका जागराण हुन्, बाटा हुन् र आँखा हुन्’ यी भन्थे । उनी नैतिकताका सक्कली उदाहरण थिए । आफ्नो छोरा ओमकारप्रसाद गौचन मन्त्री हुँदा पनि उनले भनेका थिए ‘छोरा ! देशको चौतर्फी विकास र जनताको सुक्खसमृद्धिका लागि समर्पित भएर काम गर्नु ।’
गौचनले सुरुमा धौलागिरी अञ्चलमा लिपिको प्रचार पनि गरे । यसैमा थुप्रैले शिक्षाको जग हाले । यिनले मान्छेहरूलाई आफ्नै सन्तान सम्झी सेवा गर्थे र सबैलाई साहसले भर्थे । त्यसैले यिनलाई त्यहाँका सबै मान्छेले ‘काका’ भनेर माने । थुप्रै व्यक्ति काका भनेपछि हुरुक्कै हुन्थे । वास्तवमा यी जनउत्थानका लागि रिमेट्ने मानव थिए । यस बेहोरालाई छोटकरीमा भन्ने हो भने उनी समाजसेवका शिखर पुरुष थिए ।
गौचन मुस्ताङमा जन्मे र सम्वत् १९६१ मङ्सिर पूणिर्मामा धौलागिरी हिमालयमा एक इन्च हिउँ चुलिएको थियो । उनलाई जन्माउने बाबुआमा दलप्रसाद गौचन र हीरामोती शेरचन थिए । उनका बुबा स्थानीय दाना भन्सारका डिठ्ठा थिए ।
ओमप्रसाद गौचन २०४८ साल माघ २० गते काठमाडौंको वीर अस्पतालमा आफ्नो जेठो छोरा ओमकारप्रसाद गौचनका काखमा स्वर्गीय भए । त्यस दिन प्रायः धौलागिरीवासीले आआफ्नो शिरबाट टोपी फुकाएका थिए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश