» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » प्रा.राजनारायण प्रधान

नइको चिनारी


प्रा.राजनारायण प्रधान

कथा
छोराबुहारी
प्रा.राजनारायण प्रधान

मेरी आमा सधैं पूजापाठ गर्थिन् ईश्वरको भक्ति गर्थिन् । उनी प्रत्येक आइतवार पशुपतिनाथको मन्दिरमा जान्थिन् । उनी चोखीनितीमा ख्याल राख्ने, जातभात मान्ने खालकी थिइन् । जातको कुरामा त उनी सारै कट्टर थिइन्। तल्लो जातको कुनै मानिसलाई घरमा पस्न नदिने, अरुले छोएको नखाने उनको नीति थियो ।

मेरी आमा भक्तपुरकी निखुर नेवारनी थिइन् । उनी अग्ली, हट्टाकट्टा, रुपरुंग राम्रो, हेर्नमा सारै राम्री थिइन् । हामी आमाछोरा काठमाडौंमा दुई तले बिल्डिङमा बस्थ्यौं, बाबुले छोडेर गएको सम्पत्ति त्यही थियो ।

एक दिन आमाले भनिन् ‘हेर्, छोरा अ ब तैंले बिहे गर्नुपर्छ । म सबै काम गर्न सक्तिनँ । मैले हाम्रै जातकी एउटी केटी हेरेकी छु, राम्री, पढेकी । अब म तेरो बिहेको कुरा चलाउँछु ।

‘मैले भनें ‘आमा, हेर आजसम्म मैले तिम्रो प्रत्येक कुरा पालन गर्दै आएको छु । म बिहे गर्छु, मैले केटी पनि हेरिसकेको छु । चार वर्षभयो मैले उसलाई माया गरेको । म अरुसँग बिहे गर्न सक्तिनँ ।’

मेरी आमा संसारमा नपाइने आमा थिइन् । उनको मन घिउजस्तो थियो । उनले भनिन् ‘ठीक छ, तैंले केटी मन पराएको छस् भने म बाधा दिन्नँ । तर जात के हो -‘

मैले आमालाई ढाँट्न सकिनँ । किनभने उनी मेरो निम्ति सर्वस्व थिइन् । मैले भने ‘ऊ सर्किनी हो ।’ आमा आगो भइन् । उनी दनदन दन्कन थालिन् ‘तैंले मेरो घरमा र्सर्किनी ल्याउन खोजेको छस् ? एउटा कुरा सुनिराख् । जबसम्म म बाँच्छु मेरो घरमा तल्लो जातकी बुहारी त के, तल्लो जाततको कुनै मान्छेले खुट्टा टेक्न पाउने छैन ।’ त्यसपछि मेरी आमाले रौद्ररुप धारण गरिन् ।

म चुपचाप आफ्नो कोठामा आएँ । दिन बित्दै गए । मेरो मानसिक स्थिति तपाईलाई के बताऊँ – एकातिर सर्किनीको प्रेम, अर्कोतिर आमाको माया । म चेप्टिएँ । आमा मेरो निम्ति र्सवस्व थिइन् । उनले मलाई बढाइन्, पढाइन्, मायाममता दिइन् । म उनको गुण यो जुनीमा कसरी तिर्न सक्छु र – उनको स्वच्छ, पवित्र मन मैले दुखाउनुहुँदैन । मेरो कर्मले उनको धर्म नष्ट हुनुहुँदैन । फेरि उता सर्किनीको माया । गरीबकी छोरी । उसलाई छोड्न पनि त सक्तिनँ । मेरो मुटु मसित कहाँ छ र ? मेरो मुटु त त्यही सर्किनीले बोकीबोकी हिँड्छे । देख्नु भो त मेरो स्थिति ?

एक दिन मेरी आमाकहाँ गएर मैले भनें ‘आमा, हेर तिमीले मलाई हुर्कायौ, बढायौ, पढायौ । अहिले म यति ठूलो जागीर खाने भएँ । यो सबै त्रि्रो परिश्रम र पसिनाको फल हो । बाबु त सानैमा बिते । मेरो निम्ति तिमी नै र्सवस्व हौ । मलाई खुशी देख्न चाहन्छ्यौ भने मलाई उही उर्वशीसँग बिहे गर्ने आज्ञा देऊ । फेरिफेरि म तिम्रो मन दुखाउने काम गर्दिनँ ।’

मेरा कुराले मेरी आमा पाषाण भइन् । तर मैले भनें नि ! मेरी आमा संसारमा नपाइने आमा थिइन् । मैरै सुखशान्तिको निम्ति उनले आफ्नो जीवन अर्पेकी थिइन् । आज मेरो दुःखी रुंगरुप देखेर उनको छाती चिरियो होला । मेरो निदाउरो अनुहार, मेरो शुष्क जीवन, मेरो गतिहीन र उत्साह विहीन जिन्दगी देखेर उनको मन कति रोयो होला !

एक दिन मेरी आमाले मलाई भनिन् ‘तँ त्यो आइमाईसँग त्यति सारै मर्छस् भने ठीक छ त्यसैलाई बिहे गर् । तर तिमीहरु तल्लो तलामा अलग्गै बस्नू, त्यहीं पकाएर खानू । म माथि आफ्नो खाना आफैं पकाएर खान्छु । म अहिले भन्छु त्यो आइमाई मेरो कोठामा चाहिं आउन पाउँदैन ।’

मेरी आमाका कुरा सुन्दा मलाई खुशी पनि लाग्यो, दुःख पनि । मेरी आमा निकै वर आइन्, फेरि पर पनि भइन् । तर मेरी आमा पर किन हुन्थिन् ? मेरो आँखाबाट बलिन्द्र धारा छुटे अनि मैले आमालाई अँगालो मारें ।

‘उता जा, सार्की ! यहाँ चेप्रे नपार्’ आमाले मलाई भनिन् ।

मैले उर्वशीलाई मन्दिरमा लगेर सिन्दूर हालें । त्यहाँ न त बाजा बज्यो, नत गीत गुञ्ज्यो । न त भोजभतेर नै भयो । चुपचापसित सुनसानमा निर्जनतामा हाम्रो विवाह सम्पन्न भयो ।

आमाले आफ्नो चुला अलग गरिन् । उनी आफैं पानी ल्याउँथिन्, पकाउँथिन्, खान्थिन् । उनी बिहानबेलुकी सधैं पूजापाठ गर्थिन् । उनको नित्यकर्ममा कुनै बाधाबन्धन खडा भएन ।

समय बित्दै गयो । हाम्री छोरी दुई वर्षी भई । तर आमा न त उर्वशीसँग बोलिन् न त छोरी उर्मिलासँग । मेरो छातीको व्यथा झनै बढ्दै गयो ।

एक दिन मैले एउटा साडी किनें र आमा कहाँ गएर भनें ‘हेर आमा, तिमीले बाजेबराजुको रीतिथिति मान्दै आएकीछ्यौ । त्यसमा मेरो भन्नु केही छैन । तर जात भनेको त मान्छेले बनाएको पो त ! भोलि एउटा कामी प्रधानमन्त्री भयो भने हजारौं बाहुन, छेत्री, नेवार उसलाई ‘जदौ हजूर’ भन्न उत्तिकै धुइरो लाग्छन् । कसैले आएर यो दमाईको खुट्टामा ढोग गर् म एक लाख रुपैयाँ दिन्छु भन्यो भने हजारौं ठूला जातकाहरु उसको चरणकमलमा आफ्नो शिर राख्न तँछाड् र मछाड् गर्छन् । जात भनेको त्यस्तो हो, आमा ! तिमीसित म धेरै तर्क गर्न चाहन्नँ । भोलि उर्वशीको जन्मदिन हो । उसलाई यो साडी देऊ र बुहारी भनेर बोलाऊ । त्यही नै मेरो जीवनको सबभन्दा खुशीको दिन हुनेछ ।’

‘यो साडी उता लैजा ।’ आमाले कठोर स्वरमा भनिन् । आमाको हाउभाउले मेरो मन दुखिरहेको थियो । यो कस्तो घर हो – एउटै छानामुनि बसेर पनि हामी विभाजित छौं । घर त सिंगो हुनुपर्छ नि ! अविभाजित, अबिभक्त र अखण्डित ।

आज उर्वशीको जन्मदिन । बिहानको आठ बजेको थियो । आमाले मलाई एक्कासि डाकेर भनिन् ‘त्यसलाई तयार हुनु भन् म पशुपतिनाथको मन्दिरमा लैजान्छु ।’

म हर्षले उन्मादित भएँ । म उन्मत्त भएँ । दौडेर गई मैले उर्वशीलाई भनें ‘तिमी झट्ट तयार होऊ ! आमासँग पशुपतिनाथ जानुपर्छ । नीलो साडी र नीलो ब्लाउज लाउनू है ।’ त्यति भनेर म ट्याक्सी लिन गएँ । फर्केर आउँदा उर्वशी झलमल्ल परीजस्ती भएकी थिई । उसको नाम पनि उर्वशी, मान्छे पनि उर्वशीजस्ती देखिई । नीलो साडी लाएकी, लामो मिलेको नाक, उज्याला चम्किला आँखा, रंग चढेका गाला, गालामा एउटा सानो कोठी, हिस्सी परेको अनुहार, देवकोटाले भनेजस्तो घिउघिउ गनाउने, म त उर्वशीलाई हेरेको हेरेकै भएछु । र्सर्किनी त र्सर्किनी कति राम्री र्सर्किनी ! मोरीले मलाई मस्त पारी ।

आमा र उर्वशी ट्याक्सीमा चढेर पशुपति गए । म छोरीसित खेल्न थालें । मैले छोरीलाई भनें ‘हेर् छोरी, हामी सबै नेपाली । जातले मान्छे ठूलो र सानो कहाँ हुन्छ र ? हामी धनी र गरीब पो छौं त । ठूलो र सानो छैनौं नि !’ त्यसबेला मेरी दुई वर्षीय छोरीले के भनी तपाईंलाई थाहा छ ? उसले भनी ‘म पिपलमेन्ट खान्छु ।’

हे मानव ! तँ किन ठूलो हुन्छस् – किन बढ्छस् ? किन तेरो बुद्धिको बिर्को उघ्रिन्छ – किन तँ बालककै बुद्धि लिएर बाँच्न सक्तैनस् ?

दुई घण्टापछि आमा र उर्वशी घर आए । आमाको अनुहारमा शान्त भाव थियो । त्यति बेला उनको जीउ हल्का फुल्का थियो, ठूला बोझ कहीं बिसाएर आए जस्तो । उनी सरासर आफ्नो कोठामा गइन् । सर्किनीचाहिँ र्सर्केर उसैउसै थिई । मैले उसलाई के भयो भनेर सोधें । उर्वशीले भनी ‘आमाले मन्दिरको अघि उभिएर मेरो शिरमा हात राखेर भनिन् ‘हे भगवान् ! यो र्सर्किनीलाई आजदेखि बुहारी भनेर ग्रहण गर्दैछु । मैले छोराको सुखलाई सबैभन्दा ठूलो सुख ठानेकी छु । मैले कुनै पाप गरेकी छु भने अबला ठानी मलाई माफ गर्नुहोला । त्यसपछि नयाँ सडकमा लगेर उनले मलाई दुईवटा साडी किनिदिइन् र भनिन् बुहारी, तेरो जन्मदिनमा यो मेरो उपहार !’ यति भन्दाभन्दै उवशी भकानो फुटाएर रुन थाली । मैले उसलाई अँगालोमा बाँधे । मेरो आँखाबाट पनि बलिन्द्र धारा छुटे । निकै बेर हामी लोग्नेस्वास्नी त्यसरी नै रोइरह्यौं ।

भोलिपल्टदेखि हाम्रो भान्सा एउटै भयो । उर्वशीले खाना पकाई । आमाले पनि खाना खाइन् । एक दिन आमाले भनिन् ‘बुहारीले तरकारी त मीठो पकाउँछे । तर खुरसानी चाहिँ कम्ती हाल्नू है !’

राजनारायण प्रधानको परिचय
जन्म
१९९२ साल पुस २ गते, कोलकाता, भारत
शिक्षा
एमकम, कलकत्ता विश्वविद्यालय
कृति
३२ वटा पुस्तक
बालसाहित्य र पाठ्यपुस्तक ५० वटा पुस्तक
सम्पादन
दियालो
पुरस्कार
पश्चिम बङ्गाल सरकारबाट भानु पुरस्कार (सन् १९८४),
गुमानसिंह चामलिङ पुरस्कार (सन् २००६),
पारसमणि पुरस्कार (सन् २००९),
नेपाली साहित्य सम्मेलन पुरस्कार (सन् २०१०),
लैनसिंह वाङ्देल पुरस्कार (सन् २०११),
बद्रीनारायण प्रधान पुरस्कार (सन् २०१४),
त्रिमूर्ति निकेतनबाट देवकोटा शताब्दी सम्मान (२०६६ साल),
नेपाल सरकारबाट भानुभक्त स्वर्णपदक (२०७१ साल)
अनुभव
वीरेन्द्र इन्टर कलेज, तेह्रथुम आठराईको संस्थापक प्रिन्सिपल (२०१७–२०२२ साल),
सेन्ट जोसेफ कलेज दार्जिलिङको प्राध्यापक (२०२३–२०५८ साल),
पश्चिमबङ्गाल भारतका विभिन्न साँस्कृतिक संस्थामा आबद्ध
निधन
२०७२ साल मङ्सिर २ गते दार्जिलिङ, भारत

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश