» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » Nepali Women Writers » मायादेवी सुब्बा Maya Devi Subba

नइको चिनारी


मायादेवी सुब्बा Maya Devi Subba

Maya Devi Subba (1921-1993)
Works: Two books (novel and poem)
Prize: Bishnu Navin Award. Social reformer.

मायादेवी सुब्बा नेपाली साहित्यमा लामो र छोटो कथा बुन्न सिपालु शिल्पीको नाउँ हो । उनी नारीका लागि अप्ठ्यारो मानिने त्यस समयमा पनि नेपाली भाषासाहित्यको आन्दोलनमा लागिन् । वास्तवमा त्यस घडी नारीलाई कविलेखक भएर हिँड्न त्यति सहज परिस्थिति थिएन । तर उनी आफ्नो रुचिमा दौडँदै हिँडिन् । अथवा भनूँ; त्यस बेला आफ्नो सृजनात्मक प्रतिभा पोख्न उनी सक्रिय भइरहिन् । बाल्यकालमा नै उनी कवितालेखनमा आकृष्ट थिइन् । उनी कृतिगत रूपमा ढिलो जन्मे तापनि फुटकर रचनाकारका रूपमा सातसालको हाराहारीमा उदाएकी थिइन् । त्यति बेला उनको उत्साह विशेष गरी साहित्यमा झयाङ्गिएको थियो ।

मायादेवी सुब्बा नेपाली भाषासाहित्यमा तेस्रो उपन्यासकारका रूपमा स्थापित स्रष्टाको नाउँ हो भनिन्छ । अर्थात् नेपाली साहित्यमा अम्बालिकादेवी र पवनकुमारीपछि उनी अर्की नारी उपन्यासकारका रूपमा झुल्किन् । उनले उपन्यासमात्र लेखिनन् कथासङ्ग्रह पनि प्रकाशनमा ल्याइन् । उनले फुटकर रूपमा नै भए पनि नाटक, प्रहसन र निबन्धप्रबन्ध नेपाली साहित्यसंसारमा पस्किन् । तर उनका अरू विधाका प्रसङ्गलगायत उनले लेखेको उपन्यासका बारेमा समेत आजसम्म कसैले चर्चा गरेको पनि पाइँदैन । वास्तवमा उपन्यासविधाका कुनै समालोचकले पनि उनको नाउँमात्रै पनि कहीँकतै उल्लेख गरेको देखिएन ।

मायादेवी सुब्बाको जन्म संवत् १९७७ माघ १४ गते बुधबार दार्जिलिङको सुकियापोखरीमा भएको थियो । सरदार मदनदास सुब्बा र बोधकुमारीका तीनभाइ छोरा र चारबहिनी छोरीमध्ये मायादेवी जेठी छोरी थिइन् । त्यसैले पनि उनले बाल्यकालदेखि नै हरेक कुरामा सरदार सुब्बाको तालिम पाएकी थिइन् । सरदार सुब्बा त्यहाँका नामी व्यापारी थिए । अङ्ग्रेजहरूबाहेक निजी मोटर चढ्ने पनि उनी नै पहिलो नेपाली थिए । अङ्ग्रेजले उनलाई स्थानीय सरदारको दरबन्दी दिएका थिए ।

मायादेवी सुब्बाले आफ्नै बुबाबाट कखरा पढेकी थिइन् । स्कुलका हकमा दार्जिलिङको मिसिनरी गर्ल्स स्कुलमा उनी शिशुकक्षामा भर्ना भएकी थिइन् र त्यहीँबाट उनले एस.एल.सी.सम्म पढिन् । त्यसपछि वैवाहिक कारणले यिनको पढाइमा बढोत्तरी हुन सकेन ।
मायादेवीको बिहे इलामका पदमबहादुर देवानसँग भएको थियो । बिहेताका यिनी सोह्र वर्षपुगेकी थिइन् । बिहेपछि पनि मायादेवीले आफ्नो नाउँपछि पतिको थर झुन्ड्याइनन् । त्यति बेलाको कठोर पुरुषप्रधान समाजमा पनि उनी आफ्नै जन्मजात सुब्बा थर लेख्न र बोल्नमा नै केन्द्रित भइन् ।
मायादेवी सुब्बाका पति पदमबहादुर देवान नेपालको सामाजिक र राजनैतिक क्षेत्रमा सुपरिचित छन् । देवान पनि सामाजिक सेवामा क्रियाशील थिए । खास गरेर उनी नारीशिक्षा, नारीहित र नारीजागरणका लागि पहरा फोर्न पनि पछि र्सर्दैनथे । त्यसैले मायादेवी सुब्बाले दाम्पत्य जीवनको प्रारम्भिक बेला पनि आफूलाई नयाँ ठाउँमा पुरानो बनाएकी थिइन् । यी दम्पतीले चार छोरी रुद्रकुमारी श्रेष्ठ, उषा महरा, मीना जोशी र मुक्ता श्रेष्ठ तथा तीन छोरा अशोक देवान, उदय देवान र अनुप देवान जन्माएका थिए । मायादेवीका सबै छोराछोरीले आआफ्नै प्रकारले घरजम गरे र सकेसम्म सबैले स्तरीय जीवन निर्वाह गरे । छोरीहरूजतिले चाहिँ अन्तर्जातीय बिहे गरे ।
मायादेवी सुब्बा सानैदेखि सुकिली थिइन् । यिनको मन पनि त्यति नै सुकिलो थियो । यिनको बानीबेहोरा पनि स्वच्छ, कञ्चन र निर्मल थियो । खास गरेर उनी गरिब, दुःखी र असहायकी करुणा पनि थिइन् । उनी मन, वचन र कर्मले जनसेवामा जुट्ने प्रकृतिकी थिइन् । उनी जति नरम थिइन् त्यति नै क्रान्तिकारी स्वभावकी पनि थिइन् । उनी महिला थिचोमिचोको खुलेर विरोध गर्थिन् । खास गरेर महिला जागरणका दिशामा उनको गतिलो पहल हुन्थ्यो । महिलाका लागि उनी आफ्नो सम्पूर्ण समय अर्पण गर्थिन् । यसै क्रममा उनले २००३ सालमै नारीका लागि अनौपचारिक शिक्षाको आरम्भ गरेकी थिइन् । त्यसघडी उनी घरघरबाट महिलाहरूलाई ललाइफकाइ गरेर आफ्नो धुलेस्कुलमा ल्याउने गर्थिन् । त्यति बेला उनको त्यस कामको सबैले स्तुति गर्थे । साथै उनैका पहलमा २००९ सालमा इलाममा सरस्वती कन्या हाईस्कुलको पनि स्थापना भयो । त्यसै वर्षकाठमाडौंबाट त्रिमर्ूर्ति -कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटा) इलाम पुगेका थिए ।

इलामको सरस्वती कन्या हाईस्कुलमा मायादेवी सुब्बाले शिक्षा सेवा पनि गरिन् । सो स्कुल त्यहाँको पहिलो कन्या स्कुल थियो । उनले आफ्नो जीवनको धेरै भाग आफ्नो पौरखले सिँचिएको त्यही सरस्वती कन्या हाईस्कुलमा लगाइन् । वास्तवमा उनी त्यस भेगकी गुरुआमामा स्थापित भइन् ।
मायादेवी सुब्बाले सानैदेखि लेख्न थालिन् । वास्तवमा आफ्नो घरपरिवारको लेखकीय वातावरण उनका मनमा पनि टाँस्सियो, अनि उनले पनि रङ र मसी बोकेर चित्रकारितादेखि हिमालसम्म लेखिन् । उनको बाललेखन र चित्रकारिता त्यति प्रखर भएर अघि बढ्न सकेको थिएन । तर उनले बाल्यकालमा पाएको प्रेरणाले भने उनलाई क्रमिक रूपमा कलाकै क्षेत्रमा उत्प्रेरित बनाएको थियो । उनको लेखनको आँकुरा उनका भाइ गणेशलाल सुब्बा थिए । त्यसो त यिनको औपचारिक साहित्यिक सृजना भने बिहेपछि मात्र देखिएको थियो । २००९ सालमा इलामबाट प्रकाशित भएको ‘घाँसी’ नामक हस्तलिखित पत्रिकामा मायादेवीको ‘ममता’ शीर्षक कविता प्रथम पटक प्रकाशित भएको थियो । सो पत्रिकाका सम्पादकचाहिँ श्यामकृष्ण श्रेष्ठ थिए ।
मायादेवी सुब्बालाई ‘घाँसी’मा प्रकाशित ‘ममता’ले धेरै चस्का लगाएको थियो । त्यस कविताले उनी आफ्ना पतिदेखि अरू साहित्यानुरागीसम्म प्रशंसाकी पात्र भएकी थिइन् । परिणामस्वरूप उनले सरस्वती राईसँग मिलेर २०१४ सालमा ‘पालुवा’ नामक हस्तलिखित पत्रिकाको सम्पादन गरिन् । ‘पालुवा’को सुरुको अङ्कमा उनले पनि एउटा एकाङ्की नाटक लेखिन् । ‘पागल ! पागल !’ शर्ीष्ाकको सो नाटकले त्यतिखेर निक्कै चर्चा पनि पाएको थियो ।
मायादेवी सुब्बाकै कारणले त्यस बेला इलाममा ‘नाटक’ पर््रदर्शनी राम्ररी फस्टाएको पनि थियो । त्यतिखेर स्कुलका सांस्कृतिक कार्यक्रमहरूका लागि उनी नाटक लेख्ने गर्थिन् र अभिनय पनि गर्ने गर्थिन् । साथै उनका पति पदमबहादुर देवानले ती नाटकको निर्देशन गर्ने गर्थे । त्यसैले इलामेली नेपाली नाटकको इतिहासमा ‘पदममाया’को नाट्यकलाको महत्त्वपूर्ण योगदान भेटिन्छ ।
मायादेवी सुब्बाले धेरै फुटकर कविता लेखिन्, एकाङ्की नाटक लेखिन् तथा कथा र लोककथा अनि उपन्यास पनि लेखिन् । उनका लेखरचनाहरू ‘सौगात’, ‘जुनेली’, ‘महिला बोल्छिन्’, ‘भानु’, ‘पारिजात’, ‘रत्नश्री’ आदि पत्रपत्रिकामा प्रकाशित भए । यसै सन्दर्भमा उनले केही उपन्यास लेखिन् तर ती भने प्रकाशनमा आएनन् । उनको ‘परिचय’ नामक सामाजिक उपन्यास प्रकाशन गर्न भनी भवानी घिमिरेले लगेका थिए । तर छपाउने सर्तमा लगेको त्यो पाण्डुलिपि घिमिरेले नै हराइदिए भन्ने गुनासो मायादेवीकी साइँली छोरी मीना जोशीको रहेको छ ।
मायादेवी सुब्बाले पुस्तकाकार रूपमा दुईवटा किताब लेखिन् । यसै क्रममा २०२० सालमा उनको लघु मौलिक उपन्यास ‘पश्चात्ताप’ विष्णु र्राई -गोरखपुर, भारत) द्वारा जनसमक्ष आयो । अनि त्यसै वर्षउनको ‘बिलौना’ कथासङ्ग्रह पनि गोरखपुरबाटै प्रकाशित भयो । यिनका कृतिहरूमा नेपाल र दार्जिलिङको सामाजिक परिवेशका घटना अङ्िकत भएका हुन्छन् । त्यसैले यिनी लेखनमा यथार्थवादी स्रष्टाका रूपमा देखा परिन् । चाहे उपन्यासलेखनमा होस्, चाहे कथालेखनमा होस्, चाहे कविता रचनामा होस्; उनी कल्पनालाई यथार्थले थिच्ने गर्छिन् । उनको लेखनको धारा नै
सत्य, तथ्य र यथार्थ हो किनभने उनी नेपाली जनजीवनभित्रै भिजेकी स्रष्टा हुन् ।
मायादेवी सुब्बाले सानैदेखि मञ्चमा कलाकार हुने सीप पाएकी थिइन् । सानामा उनी नाच्न, गाउनमा पनि निपुण थिइन् । बिहेपछि पनि उनको यस रीतले मौलाइरहने मौका पायो । यिनी नाटकमा प्रमुख नारीको भूमिकामा रमाउने गर्थिन् । त्यस घडी उनको कला हेरेर उनका पति पदमबहादुर देवान पनि गदगद हुन्थे । त्यतिमात्र होइन; गाउँका नारीहरू उनको कलाबाट प्रेरित भएर यस क्षेत्रमा लम्कने गर्थे ।
मायादेवीले नेपाली साहित्यमा पाइला टेकेर कविता पनि लेखिन् । लेख्ने क्रममा उनले जनताको गीत लेखिन्, प्रकृतिको गीत लेखिन्, राजमुकुट र राजसंस्थाको गीत पनि लेखिन् । उनले नेपाली समाजका कथा लेखिन्, जीवन र जगत्को विवरण लेखिन् र नारी र पुरुषको बाटो लेखिन् । लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यमा सदा बाँचिरहने स्रष्टा बनिन् ।
मायादेवी सुब्बाको साहित्यिक व्यक्तित्वलाई उनका पतिको व्यक्तित्वले र्सलक्कै ढाकेको थियो । त्यति बेला उनका पति निर्वाचित भएर नगरपालिकाको अध्यक्ष भए; पछि नगरपञ्चायतका प्रधानपञ्चसम्म भए भने त्यसपछि श्री ५ महाराजाधिराजबाट राजसभा स्थायी समितिको सदस्यमा मनोनीत पनि भएका थिए । त्यस अवधिमा पनि मायादेवीले समाजसेवामा आफ्नो नाउँलाई बलियो पारेर राखिन् । त्यस घडी उनको घरको आर्थिक स्थिति सन्तोषजनक नै थियो । वास्तवमा उनले माइतीमा जति सुखसुविधा र चैनले जीवन बिताइन् बिहे गरेपछि पनि उनी त्यत्तिकै सुख, समृद्धि र आनन्दको जीवनमा आबद्ध भइन् । घरमा पनि उनलाई खानलाउन दुक्ख थिएन । सबैभन्दा ठूलो कुरा उनका पतिले उनलाई हरेक व्यवहारमा सहयोग गरेका थिए ।
मायादेवी सुब्बाले साहित्यसेवामा समर्पण गरेको योगदानले नेपाली साहित्यको आकाश सिँगारिएको छ । तर पनि यिनी साहित्यबाट ओझेल परिरहिन् । केन्द्रीय रूपमा यिनको योगदानको स्मरण नगरिए तापनि इलामबाट चाहिँ यिनले विष्णुनवीन स्मृति पुरस्कार पाइन् । अन्ततः यिनले समाजबाट जे पाए तापनि र जे नपाए तापनि यिनको समाजसेवाको कृत्यले इलामचाहिँ भरिएको थियो । बुढेसकालमा पनि मायादेवी सुब्बा समाजसेवामा नै आबद्ध थिइन् । उनी सक्रिय जीवन भोगिरहेकै बेला उच्च रक्तचापबाट थला परिन् । अनि उनी प्यारालाइसिस भएर एक महिना वीर अस्पताल पनि बसिन् । अन्ततः उनी २०४९ साल फागुन १३ गते बुधबार काठमाडौंमा स्वर्गीय भइन् ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश