उज्यालोको गुफा
ईश्वरवल्लभ
प्रश्न पुरानो
प्रश्न हिंड्ने बाटोको नै हो
अनि पुग्ने बाटोको नै हो ।
यद्यपि यात्रा प्रारम्भ भयो !
तर अमीष्ट पुगिन्छ कि पुगिदैन
पुगिंदैन कि भन्न आशङ्का पनि
भन्ने त्रासको नै हो ।
आदिम अर्थ
भयभीत हुनुको अर्थ सधैं ।
अनि रुख र्सपको कथा
शैतान र छलको कथा
भ्रान्ति खाने कि नखाने भन्ने
वर्जित फलको कथा ।
अज्ञात र अपरिचित कुनै
कुनै अनिर्वचनीय गन्तव्य हो त्यो
निर्लक्ष्य हुँदा पनि पुग्नै पर्ने
सतत वाध्यता !
गुफामा कि कुनै अँध्यारोमा
प्रत्येक बिजुलीको गगनमा उठभव
र चकमन्न उज्यालोको तीव्र आभास
तिनको क्रुर प्रहारमा
त्यसपछि प्रवेश गर्ने – उज्यालो
सानो – सानो उज्यालो
उज्यालो गुफा ।
(यो कविता अमरप्राज्ञ ईश्वरवल्लभद्वारा लेखिएको सबैभन्दा अन्तिम कविता हो)
ईश्वरवल्लभको सङ्क्षिप्त परिचय
जन्म
१९९३ असार २८ गते, जैसीदेवल, काठमाडौं
निधन
२०६४ चैत १० गते, नर्भीक अस्पताल, थापाथली, काठमाडौं
शिक्षा
स्नातक
पत्नी
कमला भट्टराई
छोरीहरू
रेखा, रेणु, रच्चू
छोरा
आनन्द भट्टराई
प्रवर्तक
तेस्रो आयम (इन्द्रबहादुर राई, बैरागी काइँला र ईश्वरवल्लभ)
कृति
आगोका फूलहरूहुन्, आगोका फूलहरू होइनन् (कवितासङ्ग्रहः२०२९)
केही भूमिकाहरू (निबन्धसङ्ग्रहः२०३१)
एउटा शहरको किनारमा (कवितासङ्ग्रहःसन् १९७७)
समानन्तर (कवितासङ्ग्रह)
नीलो माटो (कथाङ्ग्रह:२०४१)
कस्मै देवाय (कवितासङ्ग्रह)
प्रस्तुत (समालोचनासङ्ग्रह)
सोचको मायामठ (निबन्धसङ्ग्रह:२०५७)
धुवाको जङ्गल (कवितासङ्ग्रह:२०६०)
सम्पादन
फूल पात पतकर, तेस्रो आयम, नेपाली चलचित्र निर्माण, टुकी, प्रज्ञा
सम्मान
सुप्रबल गोर्खादक्षिणबाहु
रत्नश्री स्वर्णपदक
मदन पुरस्कार
साझा पुरस्कार
मुक्ति पुरस्कार
नइ सुर सम्मान
व्यथित सिन्धु पुरस्कार
प्रेस काउन्सिल पुरस्कार
सर्वदा अभ्यर्चना
मरणोपरान्त सम्मान
नइ ईश्वरवल्लभ पुरस्कारको स्थापना (२०६५)
सस्थापक तथा अध्यक्ष
नेपाली गीतकार सङ्घ (२०४७-२०६४)
सदस्य
नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान (२०४७-२०६४)
भ्रमण
भारत, चीन, थाइल्याण्ड र हङ्ककङ्
अनुभव
रेडियो उद्घोषक, शिक्षक, जागीर, पसल, होटल, निर्माण ठेकेदारआदि