» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » वानीरा गिरीको विशेष निबन्ध

वानीरा गिरीको विशेष निबन्ध

मेरो अविस्मरणीय दिन

२०७१ साल जेठ १५, १६ र १७ गते ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ काठमाडौँमा आयोजित थियो । यो सम्मेलन नेपाली साहित्यको इतिहासमै सर्वप्रथम आयोजित भएको थियो । अति भव्य र विशाल यस सम्मेलनमा मैले पनि सक्रियतापूर्वक सहभागिता जनाउन पाएकी थिएँ । अझ मेरा लागि त यो सम्मेलन विशेष रूपले अविस्मरणीय बन्न पुगेको थियो ।

‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ सम्पूर्ण नेपाली नारीहरू र विशेषतः नेपाली नारी साहित्यकारहरूको अति विशिष्ट र महत्त्वपूर्ण समारोह थियो । ती सम्पूर्ण नारीहरूले यहाँ विशिष्ट प्रकारको अनुभव सँगालेका थिए । यस सम्मेलनका अवसरमा मलाई नेपाली साहित्यका ‘विश्व नारी रत्न’ जस्तो उच्च गरिमामय सम्मान तथा पुरस्कार सगौरव समर्पण गरिएको थियो । यसैले पनि मेरो निम्ति यो कल्पनातीत आनन्द दिने घटना पनि थियो ।

‘विश्व नारी नेपाली साहित्य सम्मेलन’का अवसरमा मलाई प्रदान गरिएको नेपाली साहित्यका ‘विश्व नारी रत्न’ सम्मानसँग जोडिएको अनुभवलाई मैले दुई भागमा बाँडेर हेर्ने गरेकी छु । यो सम्मान पाउनुअघिको अनुभूति अनि यो सम्मान पाइसकेपछि भोगेका क्षणहरूको मिश्रित अनुभव मसँग ताजा रूपमा रहेका छन् ।

त्रिमूर्ति निकेतनका सदस्यसचिव श्री नरेन्द्रराज प्रसाई ‘मेरी दिदी, मेरी दिदी र मेरी दिदी’ तीन पटक भनेर मलाई सम्बोधन गर्छन् र म पनि त्यसरी नै ‘मेरा भाइ, मेरा भाइ र मेरो भाइ’ तीनपटक नै भनेर आनन्द लिने गर्दछु । मेरो भाइले नै मलाई ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को आयोजना हुनु केही समयअघि नै नेपाली साहित्यका ‘विश्व नारी रत्न’ जस्तो सम्मान प्रदान गरिने कुराको जानकारी गराएका थिए । यो सुनेर म एकछिन त झसङ्ग पनि भएकी थिएँ । किनभने त्यो मेरो भाइसँग सात आठ वर्ष अघिदेखि मेरो बोलचालको भाका पनि नवीकरण भएको थिएन । हामी एकअर्कामा बोल्न मन पनि गर्दैनथ्यौँ । तर तीनै भाइबाट मलाई त्यसप्रकारको त्यति ठूलो कुरा आउँदा मैले कति विश्वास गरेँ र कति गरिनँ, त्यो आफ्नै ठाउँमा छ । त्यसपछि मेरा प्यारा बहिनीहरू— इन्दिरा प्रसाई र उषा शेरचनबाट पनि मैले बधाई पाएपछि म केही ढुक्क भएँ । तर पनि म केही दिन रनभुल्लैमा परेँ । पछि त्रिमूर्ति निकेतनले पनि औपचारिक रूपमा मलाई यसकिसिमको विशिष्ट सम्मान प्रदान गरिने कुरा पत्रका माध्यमबाट अवगत गराएको थियो । यसपछि मैले आफ्नै बारेमा निकै सोचेँ । मलाई लाग्यो— ‘मेरा भाइ नेपाली भाषाका कति भक्त रहेछन् । उनले मलाई माया नगरे पनि मेरो साहित्यप्रति उनको कत्रो घमण्ड रहेछ ।’ म त भावुक बनेँ ।

जेठ १६ गते ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को दोस्रो दिन र औपचारिक समारोहमा नेपाल सरकारका प्रधानमन्त्री सुशील कोइरालाबाट मलाई नेपाली साहित्यका ‘विश्व नारी रत्न’ले सम्मान गरिने र उहाँद्वारा नै रथारोहण गराउने कार्यक्रम थियो । यसै परिवेशमा बिहानै म कार्यक्रमस्थल भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वैटमा पुगेँ । त्यहाँ ठूलो सङ्ख्यामा महिला लेखिकाहरूको जमघट थियो । लाग्दथ्यो— यहाँ ठूलो मेला लागेको छ । वास्तवमा त्यहाँ नारी साहित्यकारहरूको सोचेभन्दा निकै धेरै ठूलो मेला लागेको थियो । म त्यहाँ पुगेपछि त्यहाँ उपस्थित व्यक्तिहरूको ध्यान ममा नै केन्द्रित भएको मैले अनुभूत गरेँ ।

‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को प्राङ्गणमा पुग्नै मलाई त्यो क्षण अनौठो र उदेकलाग्दो लागिरहेको थियो । यो सम्मेलनको आयोजना भव्य, विशाल र अभूतपूर्व रहेको कुरा बताइराख्नु पर्दैन होला । प्रधानमन्त्री श्री सुशील कोइरालाले जब यस सम्मेलनको उद्घाटन गर्नुभयो, त्यस समयमा त्यहाँ नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृहमन्त्री श्री वामदेव गौतम, कानुनमन्त्री तथा समालोचक श्री नरहरि आचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त श्री लोकमानसिंह कार्कीलगायत अन्य विशिष्ट महानुभाव, नेपाली साहित्यानुरागी एवम् नेपाली साहित्यका साधकहरूको बाक्लो उपस्थिति रहेको थियो । यही अवसरमा प्रधानमन्त्रीबाट मलाई नेपाली साहित्यका ‘विश्व नारी रत्न’को सम्मान, मेरै शारीरिक कदका बराबर उचाइको सप्तनाग जडित काठको फ्रेममा राखिएको ताम्रपत्र तथा पाँच लाख रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको थियो । यी सबै यथार्थ मेरा अघि आइपुग्दा म त विपना हो कि सपना हो— ठम्याउने स्थितिमा नै थिइनँ । मलाई यो सम्मान प्रदान गरिँदै गरेको बेला मेरो छातीमा खुसीको भक्कानो गएको थियो र मेरा आँखाहरू त्यसैत्यसै रसाएर आएका थिए । त्यस क्षणलाई शब्दका रूपमा बताउन अहिलेसम्म पनि म असमर्थ बनिरहेकी छु ।

नेपाली साहित्यका ‘विश्व नारी रत्न’को सम्मान असाध्यै ठूलो सम्मान हो । भौतिक रूपमा पनि पाँच फिट हाराहारीको अग्लो ताम्रपत्र र पाँच लाख रुपियाँ राशिको यति ठूलो सम्मान र पुरस्कार पाउने नेपाली साहित्यकार पनि सायद म नै हुँ । मैले एसियामा नै साहित्यमा यस्तो गरिमाशाली पुरस्कारको बारेमा आजसम्म सुनेकी पनि छैनँ । यसैले पनि यो पुरस्कार पाउँदा म कहिले खुसीले प्रफुल्लित भएँ, कहिले हर्षैले पनि छट्पटिएँ र कहिले दुःखी पनि भएँ । दुःखी यस अर्थमा भएँ कि नेपाली नारीहरूले आज यति ठूलो सम्मान पाउन कति सङ्घर्ष गर्नुपर्यो, कति समय बिताउनुपर्यो अनि कतिकति कष्ट सहनुपर्यो। मैले आफ्नो मन्तव्यमा पनि बताएकी थिएँ— ‘म कर्मशीलतामा विश्वास गर्ने व्यक्ति हुँ र त्यही कर्मको प्रतिफल आज मैले यो सम्मान प्राप्त गरेँ ।’ साथै मैले यो पनि भनेकी थिएँ— ‘यो सम्मान मेरो व्यक्तिगत सम्मान मात्र होइनस यो त सम्पूर्ण नेपाली नारी र नेपाली नारी लेखिकाको पनि उत्तिकै ठूलो सम्मान हो । यसैले यस सम्मानको विषयलाई मैले व्यापक अर्थमा लिएकी छु ।’

नेपाली साहित्यका ‘विश्व नारी रत्न’को अवसरमा मलाई रथारोहण गराई नगरपरिक्रमा पनि गराइएको थियो । जब मलाई रथारोहण गराइयो, म छक्क मात्र परिनँस अलिकति ‘नर्भस’ पनि भएकी थिएँ । मलाई रथारोहण गराउन भनेर नेपाल सरकारका प्रधानमन्त्री सुशील कोइरालाले मञ्चबाट मेरो हात समातेर रथसम्म पुर्याउनुभएको थियो । नेपाल सरकारका उपप्रधानमन्त्री वामदेव गौतमले मलाई जुरुक्कै उचालेर रथारोहण गराउनुभएको थियो । राष्ट्रका प्रधानमन्त्रीसँग एकैछिन भए पनि रथमा बस्न पाउँदा मलाई जीवनको अति सार्थक क्षण लागेको थियो । जब रथ त्यहाँबाट हिँड्न लागेको थियो, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले मसँग हात मिलाएर ‘शुभयात्रा १’ भन्नुभएको थियो । ती शब्द पनि मेरो साहित्यिक जीवनमा गाँसिएको मैले फेरि अनुभूत गरेँ । साथै मन्त्री नरहरि आचार्यलगायत अन्य विशिष्ट महानुभाव, नेपाली साहित्यानुरागी एवम् नेपाली साहित्यका साधकहरू सबैले हात हल्लाएर मेरो रथयात्रालाई शुभकामना व्यक्त गरेका थिए । साथै मलाई रथमा ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’का अध्यक्ष प्रा.डा.गार्गी शर्मा, ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’का उपाध्यक्ष द्वय— प्रा,डा.उषा ठाकुर र उषा शेरचनले साथ दिनुभएको थियो । सम्भवतः रथारोहण गर्न पाउने म प्रथम नेपाली नारी थिएँ । मलाई नेपाली सेनाको रथमा चढाएर नगरपरिक्रमा गराउने क्रममा नेपाल पुलिसको ब्यान्डबाजाले साथ दिएको थियो । नगरपरिक्रमा गर्ने क्रममा सहरवासीहरूले जसरी मेरो भव्य स्वागत गरेका थिए, त्यो नै थप अविस्मरणीय बन्यो । त्यस बेला मैले सम्पूर्ण नगरवासीहरूलाई मनमनै कृतज्ञताज्ञापन गरेकी थिएँ । म चढेको रथ नगरपरिक्रमा गरेर समारोहस्थलमा नै फर्किएको थियो । त्यसपछि मेरा भाइ नरेन्द्रराज प्रसाईले रथैबाट मलाई बोकेर नववधू चेलीलाई माइतीले बोकेझैँ पिठ्युँमा बोकेर मञ्चसम्म पुर्याएका थिए । भाइले मलाई रथबाट पिठ्युँमा बोकेर मञ्चमा पुर्याएको घटना विशाल अनि संसारमा हुँदै नभएको दुर्लभ घटना थियो । हुन पनि आजीवन साहित्यलाई बोकेर नथाक्ने मेरा प्रिय भाइ नरेन्द्रराज प्रसाईले मलाई मात्र बोकेनन्स सारा नेपाली नारी साहित्यकारलाई नै बोकिरहेका छन् ।

मलाई ‘नेपाली साहित्यका विश्व नारीरत्न’को उपाधिद्वारा सम्मानित गरिएको छ । यो मेरो निम्ति सफलता र आनन्दको विषय मात्र नभई एक ईश्वरीय अनुभूति पनि बन्न पुगेको छ । अब मलाई जीवनमा केही चाहिँदैन । म आन्तरिक रूपमै गद्गद् हुन पुगेकी छु । ‘नेपाली साहित्यका विश्व नारीरत्न’बाट सम्मानित हुँदा भगवान् रामले अहिल्यालाई शिलाबाट निकालेर प्राण भरिदिए जस्तो मलाई लागेकाले म अभिभूत भएकी छु । यसैले म नेपाली समाजप्रति कृतज्ञ भएकी छु ।

नेपाली साहित्यका अग्रजहरूलाई रथारोहण गराइएको घटना र वर्णनको कुरा सम्झिँदा त्यसैत्यसै आनन्दबोध हुन्थ्यो मलाई, तर अहिले आफू स्वयम् रथारोहित हुँदा माता सरस्वतीलाई अन्तःकरणबाटै अजस्रअजस्र धन्यवाद दिन पुगेँ । अझ कर्मवीर, कर्मशील मेरा भाइ नरेन्द्रमा हाम्रो समाजका महिलालाई अर्पण गर्ने सम्मानमा अझै बृहत्तर रूपमा वृद्धि होओस् भन्ने चाहना मैले गरेकी छु । त्यतिमात्र होइन, मेरी प्यारी बहिनी इन्दिरा प्रसाईको समेत मन, वचन र कर्मले सिँगारिएर नै नेपालमा ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’ हुन सकेको हो र यसै सम्मेलनमा मैले यति विशिष्ट कोटिको सम्मान पाएकी थिएँ । मेरा भाइबहिनी— नइबाट आउँदा दिनहरूमा नेपाली वाङ्‍‍मयका धेरैधेरै वानीराहरूलाई चिनाउने काम हुनेछ । समयलाई चिन्नेले नै समयलाई बलवान् बनाउँछन्स समय आफूमा बलवान् हुँदैन ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी