» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » हितप्रसाद सुवेदी Hit Prasad Subedi

हितप्रसाद सुवेदी Hit Prasad Subedi

चन्द्रलाल र उनकी कान्छी पत्नी पद्मकुमारी सुवेदीका नौजना छोरामध्ये हितप्रसाद उपाध्याय कान्छा छोरा थिए । उनको जन्म १९८० सालमा रामेछापको मन्थलीमा भएको थियो ।

सुवेदी बाल्यकालदेखि नै तीक्ष्ण स्वभावका थिए । साथै सरल, नरम र भद्र उनको वैयक्तिक चरित्रको मौलिकता थियो । त्यतिमात्र होइन उनी सानैदेखि आमाबाबुको सहयोगी थिए । उनी घरमा आइ परेका कठोर शरीरिक परिश्रम पनि गर्थे । त्यसैले बाल्यकाल र किशोरावस्थामा उनले घरधन्दादेखि मेलापातसम्म पनि आफ्ना बुबाआमालाई सघाएका थिए । उनीले बाल्यकालदेखि नै गाईभैंसी गोठालोका रूपमा आफूलाई प्रस्तुत गरेका थिए ।

चन्द्रलाल सुवेदीले आफ्ना घरमा संस्कृत, नेपाली, हिन्दी, बङ्गाली भाषाका कृतिहरू सङ्ग्रह गरेका थिए । त्यसैले उनको घर एक प्रकारको पुस्तकालय नै थियो । तीनै पुस्तक पढ्नु पनि हितप्रसादको दिनचर्या हुन्थ्यो । त्यसैले फुर्सद भएका बेला उनका हातमा किताव हुने गर्थ्यो । ती किताव पढ्दापढ्दै उनी पनि लेख्नमा उद्यत हुन थाले । त्यसो त उनले आफ्नै बुबाको प्रेरणाले काव्यलेखनमा आफूलाई सरिक गराएका थिए । त्यसैले उनले दस वर्षकै उमेरदेखि कविता लेख्न पनि थाले । लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यमा विर्सिनसक्नुका स्रष्टाका रुपमा देखा पर्न थाले । साथै उनका प्रकाशित काव्यकृतिहरू हुन्— चन्द्रवदन, अङ्गद रावण सम्वाद, सती सुलोचना, सुवेदीको पुर्ख्याैली आदि ।

सुवेदीले कविता, भजन र गजल पनि लेखे । आध्यात्मिक चेतनाले ओतप्रोत उनका सृजना मानवतावादी दृष्टिले समेटिएका छन् । उनी प्रायः प्रकृति, जगत, धर्मसंस्कृति र प्रेममा आधारित काव्यको नै रचना गर्थे । उनले लेखेका कृतिमध्ये एउटा कितावले नेपाली भाषासाहित्यको संसारमा विवाद पनि ल्यायो । कुरा के हो भने अनङ्गनाथ पौड्यालकृत ‘अङ्गद–रावण संवाद’ (खण्डकाव्य) यिनका नाउँमा पनि छापिएको थियो । यसबारे कोही जानिफकारले भने ‘‘अङ्गद–रावण संवाद’ हितप्रसाद सुवेदीलाई खुबै मन परेको थियो । अनि उनले यसलाई आफ्नो डायरीमा सारेको हुनुपर्छ । उनको शेषपछि उनका छोरा अशोक सुवेदीले आफ्ना बुबाको डाएरी हेर्ने क्रममा यस कृतिको स्वरुप पनि देखे । अनि उनले यो कृति पनि पक्कै मेरा बुबाकै होला भनेर प्रकाशनमा ल्याए ।’ चर्को विवाद भएपछि मात्र उनले पनि यसबरेको सग्लो जानकारी भेटे । साथै त्यस विषयमा थप अनुसन्धान पनि जारी नै छ ।

सुवेदी साहित्यकार मात्र थिएनन् । उनी तमसुक लेख्न पनि सिपालु थिए । गाउँघरका जालीफटाहाका विरुद्ध उनी जसरी लागे त्यसरी नै गरिब जनताको पक्षमा तमसुक लेख्ने काम पनि उनले गरे । साथै गाउँघरका निरक्षरहरूको चिठीपत्र लेख्ने काममा पनि उनी खुबै सक्रिय थिए ।

सुवेदी माध्यामिक कालको पछिल्लो पुस्तामा उम्रेका कवि थिए भने आधुनिक युगको आरम्भमा देखा परेका साहित्यकार थिए ।

सुवेदीले दुई जनासँग बिहे गरे । तर जेठी पत्नी चन्द्रवदनको निधन भएपछि उनले जुनमायालाई भित्र्याए । अघिल्लो दाम्पत्य जीवनका कुनै नासो थिएनन् तर पछिल्लो दाम्पत्य जीवनमा रहँदैबाँच्ता उनीहरुबाट सातजना सन्तान जन्मे ।

सुवेदी राजर्षी पारामा हिँड्थे । यो कला उनले कोलकाता वस्ता सुवर्णशमशेरसँग सिकेका थिए । तर उनी नेपालमा आएपछि पनि हाकिमकै पारामा ठाँटिएर हिंड्थे । जुनसुकै ठाउँमा जाँदा पनि उनी प्रायः दौरासुरुवाल, कोट, टोपी लगाएर निस्कन्थे । उनी जहाँ जान्थे पहिला राष्ट्रियताको कुरा गर्थे, दोस्रो साहित्यको चर्चा गर्थे र तेस्रो नारीहीतको प्रसङ्ग ल्याउँथे । नारीमा उनी विधुवाहरूको सारै आदर गर्थे । उनी विधुवा र दलितलाई कसैले होच्यायो भने उसैसँग जाइ लाग्थे । यस मामलामा उनी सकेसम्म गलेर सम्झौताको फेर समाउँदैन थिए । उनको जीवनको लक्ष्य नै दलित मुक्ति थियो । जनराष्ट्रकवि ईश्वरवल्लभका शब्दमा भनुपर्दा सुवेदी दिलत उकास्ने नायक थिए ।

सुवेदी प्रजातन्त्रप्रेमी थिए । त्यसैले उनी युवावस्थादेखि राणाको जरा उखेल्ने चेष्टामा लागे । त्यस बेला उनका आदर्श विश्वेश्वरप्रसाद कोइराला थिए । त्यसैले पञ्चायती व्यवस्था कायम भएपछि उनी नेपाल टिक्न सकेनन् र भागेर भारतको कोलकात्ता गए । त्यहाँ उनको सुवर्णशमशेर राणासँग साँठगाँग भयो । अनि त्यहाँ राणाले उनलाई खानबस्नको प्रबन्ध मिलाई दिए । उनको जाँगर, निष्ठा र विश्वासलाई राणाले फेरि मुल्याङ्कन गरे र त्यसबापत उनलाई आठपहरियामा राखे । त्यसबेला राणाको कोलकात्ताको चौरङ्गी रोडमा कारबारीको प्रमुख नै सुवेदी थिए ।

सुवेदीले सुवर्णशमशेरको सङ्गतमा विश्वेश्वरप्रसाद कोइराला चिने, गणेशमानसिंहसँग आत्मीयता बाँडे र थीरबम मल्लसँग घाँटी जोडे । अनि उनीहरूर्क अर्चना कुँदेर उनले महाकाव्य पनि लेखे । त्यस कार्यको प्रशंसा गरेर सुवर्णशमशेरले केही सुन र नगद पुरस्कार पनि दिए ।

सुवेदीलाई जागिर दिएपछि सुवेदी माथी चढेर राणाले दाइँ गर्न थाले । उनले धेरै वर्ष सुवेदीका ढाडमा टेकेर आपूmलाई प्रदर्शन गरिरहे । तर नेपालमा प्रजातन्त्र आएपछि राणाले सुवेदीलाई आफ्नो छायाँबाटै खुर्केर फाले । अनि सुवेदी विद्रोही बनेर नेपाल फर्के । त्यसपछि राणाले सुवेदीलाई फकाउन थाले । राणाले सुवेदीलाई विरगन्जमा भएको आफ्नो २५ विघा जग्गा दिने बेहोराको फेरि अर्को तार पठाए । तर सुवेदी एकोहोरो भएर राणाकै विरोधमा कुर्लिसकेका थिए । अनि त्यति बेला उनले राणालाई जवाफ फर्काएका पनि थिए, ‘यो नेपाली झुक्तैन; एकपटक धोका दिनेले सधैं धोकैधोका दिइरहन्छ । राणाको खेतमा यो नेपालीले आफ्नो गलामा फेरि पासो भिर्दैन ।’

सुवेदी नेपाल आएर जनउत्थानमा लाग्न थाले । उनी घरपरिवारमा जति समय दिन्थे समाजसेवामा पनि त्यतिकै उत्सर्गिक थिए । उनी समाजका हरेक तप्काका मान्छेसँग शिष्टाचार राख्थे तर उनी सधैं नेपाली काङ्ग्रेस जिन्दावाद भन्थे । अन्ततः उनलाई त्यही सिद्धान्तले मुर्दावादमा रूपान्तर गरिदियो । भनौं सिद्धान्तमा मरिमेट्ता यिनले हातमा लाग्यो सुन्ना भिरे । उनको जीवनलीला काङ्ग्रेसको थोत्रो झोला भिरेर नै सकियो । तर उनको त्याग रामेछापका जनताले आआफ्ना कानमा बाँधिरहे । अनि उनको स्वाभिमानको पाठ त्यहाँका नेपालीहरूले याद गरिरहे ।

सुवेदीले आफ्नो जीवनभरी काङ्ग्रेसी सिद्धान्तलाई शिरको ताज बनाएरै हिंडे । तर उनी भित्रभित्रै सुकुम्वासी जीवन भोगिरहेका थिए । किनभने त्यतिन्जेलसम्ममा उनको घरजग्गा अर्कैले कब्जा गरिसकेको रहेछ । यस घटनाबाट उनी रोए । त्यही व्यथाबाट नै उनको प्राण पनि सकियो । उनी २०३९ चैत २५ रामेछापको मन्थलीमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी