» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » हर्षबहादुर बुडा मगर Harsha Bahadura Buda Magar

नइको चिनारी


हर्षबहादुर बुडा मगर Harsha Bahadura Buda Magar

हर्षबहादुर बुढा मगर कट्टर राष्ट्रवादी थिए । उनी आफ्नो हरेक बेहोरामा राष्ट्रियता छाँट्थे । कतिसम्म भने उनी प्रायः जे बोल्दा पनि र जे लेख्ता पनि राष्ट्रियतामा नै लहसिन्थे । उनको हरेक यात्रा राष्ट्रियतामा केन्द्रित हुन्थ्यो । त्यतिमात्र होइन, उनका लागि स्वदेश नै विश्व थियो । उनीसँग आफ्नो गाउँको माटो सधैं हुन्थ्यो । उनी स्वदेशकै माटोको टीका लगाएर मात्र आफ्नो मुलुकको सङ्घार काट्थे । यही रीतले बाँचुञ्जेल उनी राष्ट्रियताको व्याख्या गर्न पनि थाकेनन् ।

भक्तबहादुर बुढा मगर र देवीकलाका एक मात्र सुपुत्रका रुपमा १९८४ साल कात्तिक ३ गते वाग्लुङको गलकोटमा हर्षहादुर जन्मेका थिए । यिनका बुवा भारत आसामको डिगबोईमा कार्यरत रहँदा उनी शिशुकालमा नै आफ्नी आमासँग त्यहाँ पुगेका थिए । तर उनी दुईवर्षकोभएपछि उनका बुवाको रुखले किचेर त्यतै मृत्यु भएको थियो ।

मगरलाई वाल्यकालमा नै भारतबाट नेपाल ल्याइयो । तर त्यस बेलासम्म वाग्लुङमा भएको उनको घरजग्गा अर्कैले आफ्नो बनाइसकेको थियो । त्यसपछि यिनकी आमाले आफ्ना सबै गरगहना बेचेर नयाँ घरजग्गाको निर्माण गरिन् । अनि उनी आफ्नो छोराको उचित शिक्षाका लागि मरिमेट्न थालिन् । उनको छोरो पनि तेजस्वी थिए । त्यसैले उनी पनि राम्ररी पढ्दै गए । तर उनको घरको आर्थिक अवस्था उकास्न पनि त्यस घडी हर्षहादुरले आफ्नो प्रमुख कर्तव्य सम्झे । त्यही परिणतिले पन्ध्र वर्षकोउमेरमा उनी सत्र वर्षकोभएँ भनेर भारतीय सेनामा भर्ना भएका थिए ।
मगरले तेस्रो गोर्खा राइफलको पल्टनमा सिपाहीको पददेखि हवल्दारसम्म पद ग्रहण गरेर दसवर्षविताए । अनि स्पेशल पेन्सन पकाएर उनी आफ्नै गाँउ फिरे । त्यतिन्जेलमा सेनालयमा उनले आफ्नो पुरुषार्थ पनि देखाई सकेका थिए ।
मगरको दोस्रो विश्वयुद्धमा सक्रिय सहभागिता थियो । साथै दक्षिण पूर्वी एशियामा शान्ति कायम गर्ने कार्यमा पनि उनी संलग्न थिए । उनले जम्मु काश्मिर युद्धक्षेत्रमा पनि आफ्नो संलग्नता देखाएका थिए । साथै पछि मलायाको इमर्जेन्सीमा पनि उनले भाग लिएका थिए । सेनामा कार्यरत रहँदा उनले जति काम गरे प्रशंसा पनि त्यति नै बटुलेका थिए । बेलायती राजा जर्ज छैटौंदेखि भारतका पिता महात्मा गान्धीसम्मको प्रसंशामा उनले आफुलाई उभ्याएका थिए । त्यही अनुसार उनले तक्माहरु पनि पाएका थिए ।
मगरको बिहे वाग्लुङ कै टेकबहादुर आले मगर र देउकी आले मगरकी माइली छोरी पुष्पावतीसँग भएको थियो । त्यतिबेला उनी बाईस वर्ष र उनकी पत्नी सोह्र वर्षकीथिइँन् । यी दम्पतिबाट दुई जना छोरा रत्नबहादुर र देवविक्रम अनि छ जना छोरी उन्नती, प्रभा, लेखा, विनीता, यमुना र धर्म जन्मे । उन्नती बोहरा ‘शीला’ चाहिं लेखन, गायन र समाजसेवामा परिचित नाउँ बन्यो । उनैले आफ्ना बुवा डा.हर्षहादुर बुढा मगरको पनि बिंडो समाएर आफुलाई प्रस्तुत गरिरहेकी छिन् ।
मगरले दुक्खसुक्ख गरेर पढे । यिनले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा एमए र पटना विश्वविद्यालयबाट सोही विषयमा विद्यावारिधि गरे । मगर जातीमा विद्यावारिधि गर्ने उनी प्रथम व्यक्त थिए । साथै विद्यावारिधि गर्ने प्रथम लाहुरे पनि उनै थिए ।
मगरले आफ्नो जीवनको भोगाइलाई समाजसेवामा गाभ्न चाहे । त्यही क्रममा उनी बाग्लुङको भरत चैतन्य हाईस्कूलमा प्रधानाध्यापक भए । त्यसै वीच मलाया पुगेर उनले गोर्खा इन्जिनिर्य तालिम पनि लिए । पछि उनले वृटिश क्याम्पको जनसर्म्पर्क अधिकारी भएर बीस वर्षकाम गरे । अनि उनैको पहलमा वृटिश गोर्खाको सहयोगमा पक्लिहवा हाइस्कूलको स्थापना भएको थियो । उनले त्यहाँ लाटाबहिराको स्कूल पनि खोले । त्यतिमात्र होइन, उनैको बुताबाट भैरहवा बहुमुखी क्याम्पसको स्थापना पनि भयो र उनी त्यस क्याम्पसको प्रिन्सिपल भए । त्यहाँ काम गर्दागर्दै उनले राजा वीरेन्द्रबाट राजदरबारको जाँचबुझ केन्द्रको विशेष अधिकृतको जिम्मा पाए । अनि झनसारो यी चर्चित भए । त्यसपछि उनी नेपाल स्काउटको राष्ट्रिय सचिव पनि भए । उनको स्वच्छ छवीको चर्चा राजनीति र प्रशासनमाझ क्रमशः हुन थाल्यो । परिणामस्वरुप उनी राज्यबाट बन बसोवास अधिकार सम्पन्न आयोगको अध्यक्षमा मनोनीत भए । त्यसपछि उनी नेपाल भूतपूर्व सैनिक संगठनको केन्द्रीय सचिवमा छानिए ।
मगरले सामाजिक सेवामा धेरै काम गरे । उनी जहाँ जान्थे राष्ट्रहीतकै काम गर्थे । त्यही हिसावमा विभिन्न शिक्षण संस्था, धर्म र समाजसेवामा उनको सक्रिय सहभागिता भैरहृयो । उनी तीन दर्जन भन्दा बढी शैक्षिक, धार्मिक र सामाजिक संघसंस्थाहरुमा प्रत्यक्ष संलग्न थिए । उनी नेपाल मगर सङ्घ र मगर सेवा समाजको संस्थापक भएर जातीय उत्थानका लागि पनि मरिमेटे । साथै मास्टर मित्रसेन प्रतिष्ठानको संस्थापक भएर पनि उनले महत्वपूर्णकाम गरेका थिए ।
मगरले जति काम गरे त्यति नै यिनको मूल्याङ्कन पनि भैरहृयो । जस अनुसार यिनले स्वदेश तथा विदेशबाट एक दर्जन जति विभूषण र अलङ्कार पाए । साथै उनले त्यति नै पुरस्कार र फेरि त्यति नै सम्मानहरु पनि पाए । उनले तीन दर्जन जति तक्मा, पुरस्कार र सम्मान भिरे तापनि उनी कहिले र्सर्केर समाजमा प्रस्तुत भएनन् । बरु सँधै झुकेर नै उनले आफ्नो यात्रा बर्ढाई रहे ।
मगर नीतिमा खरो, सिद्धान्तमा स्पष्ट र व्यवहारमा निर्भीक थिए । तर जनमाझ उनी आफूलाई सालिन, सरल र सौम्य रुपमा प्रस्तुत गर्थे । उनले लेखनमा पनि आफ्नो व्यक्तित्वको प्रतिबिम्ब त्यसरी नै दिइरहे । उनी विविध विधामा कलम चलाउने स्रष्टा थिए । यति हुँदाहुँदै पनि उनले कविता लेखेर आफ्नो साहित्यिक यात्राको आरम्भ गरेका थिए । कविता लेखनकै क्रममा उनले २०१४ सालमा खण्डकाव्यमार्फ् डा. केआई सिंहको जीवनी लेखेका थिए ।
मगरले नेपाली भाषासाहित्यमा कविता, अन्वेषण, जीवनी, निबन्ध प्रबन्धसमेत गरेर डेड दर्जन जति कृतिको आविष्कार गरे । उनका कृतिमध्ये ‘मगर-नेपाली-लिम्बु-अंग्रेजीकोश’ निक्कै चर्चित पनि भयो । उनैले मगर व्याकरणको प्रारुप पनि लेखे । कृतिगत रुपले उनको जति उचाई नापिए तापनि उनका लेखनको सेरोफेरो प्रायः डा.केआई सिंह नै रहृयो । उनैले डा.केआई सिहं स्मृति प्रतिष्ठानको पनि स्थापना गरेका थिए । साथै उनले यस विश्वको सेरोफेरोमा राजा महेन्द्रको देनको गाथा मात्रै गाइरहे । उनले आफ्नो जीवनको उत्तर्रार्धमा पनि महेन्द्र विषयक एउटा वृहद् ग्रन्थको निर्माण गरेका थिए । उनी महेन्द्रलाई नेपाली राष्ट्रियताका प्राण मान्थे ।
नेपाली राष्ट्रियताको गीत गाउँदागाउँदै मगर शारीरिक रुपमा खच्कँदै गए । जीवनभरी आफूले भोगेका अनेक सुक्ख, दुक्खहरुको नालीबेली लेख्तालेख्तै उनी एक्कासी थला परे । अनि त्यसपछि उनी अनेक रोगसँग जुद्धै हिंड्न पनि सकेनन् । साथै त्यसै बेला उनी प्यारालाइसीसबाट पनि आक्रान्त भए । त्यसपछि उनलाई ब्रेनहृयाम्रेज भयो । त्यो विषय नै उनको जीवनमा कालको रुपमा रुपान्तरित भयो । अनि उनी २०६७ साल माघ १४ गते काठमाडौंमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश