» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » हरिनाथ खनाल Hari Nath Khanal

हरिनाथ खनाल Hari Nath Khanal

पण्डित नरनाथ खनाल र तारादेवीका छोरा हरिनाथ खनालको जन्म १९५४ साल साउन ३१ गते तनहुँको मानुङमा भएको थियो ।

हरिनाथ खनाल वाल्यकालमा नै तीक्ष्ण थिए । उनी घरपरिवारमा आज्ञाकारी पनि थिए । उनी आफ्ना बुबाले दिएको पाठ कण्ठाग्र पारेर बुझाउँथे । त्यही क्रममा उनको विवाह पुण्यशील बाग्ले र श्रीमती देवी वाग्लेकी छोरी वसुन्धरा बाग्लेसँग भएको थियो । त्यसबेला यी १० वर्ष र यिनकी पत्नी ८ वर्षकी थिइन् ।

बिहेपछि खनाल आफ्ना बुबाको औंला समाएर काठमाडौं आए । अनि उनी तीनधारा पाकशालामा भर्ना भए । त्यहाँ उनी पाँच वर्ष जति पढे । त्यसपछि उनी दरबार स्कुलमा पनि पुगे । त्यसपछि उनले कलकत्ता विश्वविद्यालयबाट प्रथम श्रेण्ीमा प्रवेशिका पास गरेका थिए ।

२९ वर्षको उमेरमा खनाल जागीरमा प्रवेश भए । त्यसबेला यिनले शिक्षा विभागमा नियुक्ति पाएका थिए । साथै उनले ३३ वर्षको उमेरमा पटना विश्वद्यिालयबाट एमए पनि पास गरे । त्यसपछि उनी त्रिचन्द्र कलेजको प्रोफेसरमा स्थायी भएका थिए । त्यसबेला यिनको तलब मासिक एकसय पच्चीस रुपियाँ थियो । त्यतिबेलै उनले समय तालिका मिलाएर दरबार हाइस्कूल र कन्या मन्दिर हाइस्कुलमा पनि पढाएका थिए । तर ती दुई स्कूलमा पढाए वापत यिनले तलब चाहिं लिएका थिएनन् । बरु उनी राणाका छोरालाई ट्युशन पढाएर चाहिं पैसा कमाउँथे ।

खनालले राणाका दरबारहरु ट्यूशन पढाएर राणाको मन चाखिसकेका थिए । तर उनी मुखले राजनीति बोल्देन थिए । उनी निर्भीक र प्रष्ट थिए । उनी आफ्ना मनमा लागेका कुरा राणाका कानमा पनि पु¥याउँथे । उनको त्यही इमानलाई मूल्याड्कन गर्दै श्री ३ चन्द्रशमशेरले समेत उनीसँग सरसल्लाह पनि गर्थे । त्यसबेला उनी भारद्वारी सल्लाहकारमा पनि मौजूद थिए ।

खनाल आफ्ना परिवारप्रतिको निष्ठामा बाँधिएका थिए । उनले आफ्नो भाइ यदुनाथ खनाललाई काठमाडौंमा ल्याएर आफैंसँग राखे । उनैले यदुनाथलाई प्राथमिक शिक्षादेखि उच्च शिक्षासम्म पढाएका थिए । उनैका कारणले यदुनाथ लेखक भए, सरकारी सचिव भए, राजदुत भए । त्यसैले बाँचुन्जेल यदुनाथले पनि आफ्ना दाजुको सेवासत्कार गरिरहे ।

वसुन्धरासँग विहे गरेपछि खनाल पढाईमा नै केन्द्रित भएका थिए । युवावस्थाको शिखर आरोहणका क्रममा मात्र उनी पत्नीसमक्षको हार्दिकतामा पुगेका थिए ।

जेठी पत्नीको निधनपछि काठमाडौं क्षेत्रपाटीका विष्णुदत्त खतिवडाकी कान्छी छोरी बेदकुमारीसँग खनालले दोस्रो पटक लगनगाँठो बाँधे । त्यसबेला यी ४० वर्षका थिए । यिनका दुई श्रीमतीबाट तीन छोरा महेन्द्रनाथ, नगेन्द्रनाथ र भोगेन्द्रनाथ जन्मे । साथै उनका दुई छोरीमध्ये जेठी छोरी महाकालीका एउटै छोरा प्रा.डा. राजेश गौतमले नेपाली बौद्धिक समाजमा प्रसिद्धि कमाए । साथै यिनक कान्छी छोरी महालक्ष्मीको बिहे चाहिं नेपाली भाषासाहित्यका महारथी पुष्कर लोहनीसँग भयो ।

खनालले झन्नै चालीस वर्षसम्म शिक्षण सेवा गरे । उनी निष्ठावादी गुरूबाबु थिए । राम्रो पढाउने भएकाले यस शहरमा उनी मास्टर बाजेबाट परिचित थिए । उनी विद्यार्थीमाझ धेरै प्रिय थिए । वास्तवमा उनी सक्कली गुरुबाबु थिए । गरीब विद्यार्थीलाई पनि उनी सहयोग गर्थे र भन्थे, ‘तँ पढ्छु मात्रै भन् केटा ! म मेरो दोरा बेचेर पनि तँलाई पढाउँछु ।’

खनालमा धेरैलाई रिझाउने कला पनि थियो । उनी ख्यालठट्टा पनि गर्थेे । उनी नहाँसी त्यति बोल्दैन थिए । कहिलेकाहीं चाहिं उनी बोलेर पनि हाँस्थे । उनी गफ गर्न पाए भने निद्रा र भोक पनि भुल्थे । अनि रिसाएका बेलामा चाहिं उनको टुप्पीबाट धुवाँ छुट्थ्यो ।

खनाल निक्कै अनुशासित थिए । तर आफ्नो भाइ यदुनाथ खनालप्रति उनी हार्न चाहन्थे । उनी तमाखु र चुरोट खुबै खान्थे र त्यसको स्वादले आल्हादित हुन्थे । तर उनका भाइ यदुनाथंले चाहिं दाजुका अगाडि कहिले धुवाँ उडाएनन् । कृष्णराज खनालका अनुसार यी दाजुभाइ एकअर्काका भरथेक थिए । खास गरेर हरिनाथले भनेका हरेक बेहोरा यदुनाथका लागि ढुड्गाको अक्षर हुन्थ्यो ।

खनाल दौरा सुरुवाल र कोटमा ठाँटिएर हिंड्थे । उनी आफ्नो घरमा पनि नेपाली शैलीका परिकार थुपार्थे । उनको घर गृहस्थीमा पनि रुचि गहिरो थियो । उनी आफैं घरको भान्सामा चाहिने पदार्थ बजारबाट किनेर ल्याउँथे । साथै ती सामान बोक्न उनी भरिया र खेताला पनि लगाउँदैन थिए ।

खनाल आफ्ना बारीमा अनेक प्रकारका फलफूल रोप्थे । मौसमी फलफूल फलेका बेला उनका घरमा जो आए पनि नखुवाई पठाउँदैन थिए । उनका घरमा आएका पाहुनालाई पनि जुठो मुख नपारी उनी बिदा दिंदैन थिए । साँझमा कोही मान्छे आयो भने त्यस रात आफ्नै घरमा बास बस्न उनी ढिप्पी गर्थे । उनको घरको कोठेबारीमा पिडको डोरी टाँगिएको हुन्थ्यो । उनी हरेक दिन पिड मच्चाउने गर्थे ।

खनाल सुपारीका सौखिन थिए । राति सुत्ने बेलामा पनि उनी सुपारी थुक्तैन थिए, बरु चपाएर निलिदिन्थे । साथै बजारमा कहीं कतै उखुको लाँक्रा देखे भने चाहिने जति चट्टै काट्न लगाउँथे र बाटैमा उभिएर चुस्न थाल्थे । उनी उखु चुस्तै कसैको मुख नहेरी बाटोमा हिंडिदिन्थे ।

खनाल नेपाली भाषासाहित्य भनेपछि पनि हुरुक्कै थिए । संस्कृत भाषामा उनी धाराप्रवाह पढ्न र लेख्न सक्थे । अड्ग्रेजी भाषामा पनि उनी पारड्गत थिए । साथै मगर र नेवारी भाषामा पनि उनी लटरपटर कुरा गर्न सक्थे । नेपाली भाषासाहित्यमा भने उनको उत्कृष्ट नै प्रस्तुति थियो । कृतिगतरुपमा उनको योगदान नदेखिए तापनि फुटकर रुपमा उनको नाउँ उल्लेखनीय मानिन्थ्यो । उनका लेखरचनाहरु त्यतिखेर गोर्खाली, चन्द्र, चन्द्रिका शारदा, उद्योग आदि पत्रिकामा छापिन्थे । उनी प्रबन्ध लेखनका स्तरीय स्रष्टा थिए । प्रबन्ध लेखनमा उनको योगदान बिर्सन नहुने बेहोरा ईश्वर बरालले नै पनि लेखेका थिए । त्यसैगरेर उनको निबन्धकारिताका बारेमा राजेन्द्र सुवेदीले बाबुराम आचार्यपछि हरिनाथ खनालको नाउँ उल्लेख्य छ भनेर लेखे ।

खनाल जागरुक थिए । कसैसँग उनले दोब्रिने, गल्ने र हार्ने काम गरेनन् । तर एक्कैचोटि उनी सिकिस्त भएर शान्तभवन अस्पतालमा पुर्याइए । त्यहाँ डाक्टर मिलरले नै उनलाई हेरे । कुनै समय खनालले नै डा. मिलरकी पत्नीलाई नेपाली भाषा पढाएका थिए ।

खनाल दिनदिनै शिथिल हुन थाले । तर उनको रोग पत्ता लागेन । अनि केही दिनपछि अर्थात् २०१६ साल साउन १६ गते उनी शान्तभवन अस्पतालमा नै स्वर्गीय भए । त्यसपछि लगत्तै उनी सुतेको बेडमा नै महाकवि लक्ष्मीप्रसाद देवकोटालाई पनि सुताइएको थियो । साथै देवकोटाका पनि प्रिय डाक्टर मिलर नै थिए । अनि खनालको निधन भएको ४५ दिनमा नै महाकवि देवकोटाको पनि स्वर्गारोहण भएको थियो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी