» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » शान्ता पोखरेल Shanta Pokhrel

नइको चिनारी


शान्ता पोखरेल Shanta Pokhrel

शान्ता पोखरेल काम गरेर नथाक्ने नेपाली वीराङ्गना थिइन् । उनी सधैं नेपाल र नेपालीकै चिन्तनमा आफ्नो समय सदुपयोग गर्थिन् । संसारका हरेक विषयमा प्रायः चासो राखिरहने भए तापनि नेपालको नारीजागरणमा उनको अपरिमेय भूमिका गाँसिएको थियो । उनी नारीहितकी सग्लो जागृति थिइन् । नारीपुरुष एउटा रथका दुइटा पाङ्ग्रालाई सार्थक बनाउनका निम्ति पनि उनले धेरै प्रयास गरेकी थिइन् ।

पोखरेल १९८२ साल असोज २२ गते तोयाराज जोशी र ललिता जोशीकी छोरीका रूपमा काठमाडौंमा जन्मिन् । तर उनी शिशुकाल हुँदै नै उनकी आमालाई हैजाले लगेको थियो । त्यसपछि ६ महिनाको उमेरमा उनी मामाघर पलायन भएकी थिइन् र ६ वर्षपछि तोयाराज जोशीले उनलाई आफ्नो घर ल्याएका थिए ।

पोखरेलको ११ वर्षका उमेरमा आपूmभन्दा धेरै नै पाका सप्तरीका नोरचन्द्र पोखरेलसँग विवाह भएको थियो । वास्तवमा नोरचन्द्र पोखरेलकी जेठी पत्नीको निधन भएपछि शान्ता जोशीले त्यस घरमा प्रवेश गरेकी थिइन् । वैवाहिक जीवन परिपक्व भएपछि उनीहरूले विराटनगरलाई आफ्नो कर्मथलो बनाएका थिए । विराटनगर बसाई सर्दा उनीहरूसँग दुई सय रुपियाँमात्र थियो । त्यसैले सङ्घर्ष गरेर नै यी दम्पतिले नयाँ ठाउँमा पनि बलियो खुट्टा टेकेका थिए । अनि यी दम्पतिबाट पाँच छोरी र एक जना छोरा जन्मे । नानीहरू घरभरि भएकै बेला शान्ता पोखरेलले बनारसबाट म्याट्रिक पास गरेकी थिइन् । म्याट्रिक जाँच दिदा उनी ३८ वर्षकी थिइन् ।

पोखरेल क्रान्तिकारी विचारकी धनी थिइन् । उनका पति पनि आफ्नी पत्नीको इच्छामा बूढी औंठा थिच्ने गर्थे । त्यसैले यी दम्पतिको सहमतिले यिनले नर्सिङ कोर्स पास गरेकी थिइन् । त्यति मात्र होइन उनले टाइपिङ पनि गरिन् र सिलाइबुनाइ पनि गरिन् । उनी भन्थिन्, ‘आफ्नो कर्मबाट पसिना बगाउनु नै पुण्य हो ।’ साथै उनले बाँचुन्जेल अरूको पसिनाको पनि कदर गरिरहिन् । उनी जीवन बुझ्ने सक्कली समाजसेवी थिइन् । उनले युवाअवस्थाको आरम्भदेखि नै जनसेवामा आपूmलाई समाहित गरेकी थिइन् । महिलाहरुले आफ्नो घरको कोठाबाट बलेसीमा निस्कन पनि अनुमति लिनुपर्ने त्यस कालरात्रिमा महिला हक, हित र अधिकारको शङ्खनादमा उनी लागेकी थिइन् । उनी साहसकी प्रतिमूर्ति भएर नारी जागरणको राँको बोकेर सडकमा ओर्लेकी थिइन् ।

पोखरेल राजनीतिमा पनि डटेरै लागिन् । उनले २०१९ सालमा नेपाल महिला सङ्घको स्थापना गरेर त्यसको अध्यक्षता ग्रहण गरेकी थिइन् । उनको सामाजिक र राजनीतिक योगदानलाई विराटनगरले अति मन पराएको थियो । त्यसैले विराटनगरवासीले उनलाई विराटनगर नगर पञ्चायतको प्रधानपञ्चमा जिताएका थिए । २०२३ सालको कुरा हो, त्यस बेला नेपालभरिका महिलाहरूले आआफ्ना मनमा हर्षवढाईको बेठी लगाएर उनको स्वागत गरेका थिए । वास्तवमा त्यस कालमा नेपालमा प्रथम महिला नगर प्रमुख उनै भएकी थिइन् । त्यसपछि पनि विराटनगरलाई उनकै आवश्यकता परेको थियो । अनि फेरि उनी प्रधानपञ्चमा नै पुनः छानिएकी थिइन् । त्यतिखेर उनको त्यो योगदानको समाचार राजधानीसम्म पनि आइपुगेको थियो । अनि उनको सम्पूर्ण योगदानको कदरस्वरुप राजा महेन्द्रले उनलाई राजसभा स्थायी समितिको सम्माननीय सदस्यमा मनोनीत गरेका थिए ।

पोखरेलले २००७ सालमा नारीजागृति स्कुलको स्थापनामा गुरुत्तर भूमिका खेलिन् र निःशुल्क २ वर्ष त्यहीं पढाइन् । पछि त्यही स्कुल आदर्श बालिका स्कुलमा रूपान्तरण भएको थियो । उनले नेपाल परिवार नियोजन सङ्घको अध्यक्ष भएर पनि काम गरेकी थिइन् । साथै उनले २०१६ सालमा विराटनगरमा नारी क्लबको स्थापना गरेकी थिइन् । २०२२ सालमा उनी नेपाल बाल सङ्गठनको सचिव भएकी थिइन् । उनको समेत सक्रियतामा २०३० सालमा नेपाल नेत्रज्योति सङ्घको केन्द्रिय समिति गठन भएको थियो । जोरपाटीको खगेन्द्र नवजीवन केन्द्रको निर्माणमा पनि उनको संस्थापनाकै भूमिका थियो । मोरङ जिल्लाका प्रायः धेरै सामाजिक सङ्घसंस्था उनैको नेतृत्व, संरक्षण र अध्यक्षतामा चलेका थिए । त्यतिबेला विराटनगरकी रानी नै शान्ता पोखरेल थिइन् ।

पोखरेलको चारैतिरको सुभाष चाल पाएर रानी ऐश्वर्यले आफ्नै अध्यक्षतामा गठित सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को नारी सेवा समन्वय समितिको सभापतिमा उनलाई मनोनीत गरेकी थिइन् । त्यतिबेला पनि उनले आफ्नो बलबूता सामाजिक सेवामा अर्पित गरेकी थिइन् ।

पोखरेल नेपाली भाषासाहित्यमा पनि स्थापित थिइन् । उनीद्वारा अनुदित ‘स्वास्नीमान्छे’ नामक निबन्ध २०१६ सालमै प्रकाशित भएको थियो । साथै २०५२ सालमा उनको अर्को मौलिक साहित्यिक कृति ‘जीवनका डोबहरू’ आत्मकथा प्रकाशनमा आएको थियो । उनका प्रबन्ध कृति ‘विकास र नारी’, ‘शिशु उपहार’ र ‘एक फूल अनेक रङ’ले पनि चर्चा पाएका थिए । साथै उनले ‘चित्रलेखा’ नाउँको उपन्यास पनि हिन्दीबाट नेपाली भाषामा अनुवाद गरेकी थिइन् ।

पोखरेलले नेपालका चौधै अञ्चल भ्रमण गरेकी थिइन् । साथै भारत, चीन, जापान, उत्तर कोरिया, थाइल्यान्ड, हङकङ, सिङ्गापुर र इन्डोनेशियाको भ्रमण गरेर उनले विशेष अनुभव बटुलेकी थिइन् ।

विराटनगरमा महाकवि देवकोटाको सालिक राख्न पनि पोखरेल हौसिएकी थिइन् र त्यसका लागि विराटनगरको क्याम्पसचोकस्थित उनैले जग्गा पनि दान गरिन् । देवकोटाकोे सालीकलगायत त्यहाँका अनगिन्ति सामाजिक सङ्घसंथा स्थापना, सञ्चालन र संरक्षणमा उनले बाँचुन्जेलं मन, वचन, र कर्म रोपिरहिन् । उनले नेपालबाट सरकारी र जनस्तरका धेरै अभिनन्दन, सम्मान, विभूषण र पुरस्कार पाएकी थिइन् ।

कोशी अञ्चल अस्पतालमा पनि पोखरेलले आफ्नो जाँगर रोपेकी थिइन् । गर्भवती भएका गरिब महिलाहरूका सेवाका लागि शान्ता पोखरेल, डा.शान्ती बनर्जी, इन्दिरा प्रसाईलगायतका समाजसेवी र बुद्धिजिवीहरूको सहभागितामा अस्वस्थ शिशु सहयोग समितिको स्थापना भएको थियो । अनि पछि त्यस संस्थाको नाउँ परिवर्तन गरी शिशु सेवा समिति राखिएको थियो ।

पोखरेल आफ्नो अभियानमा कहिले थाकिनन् । उनको जीवनमा सात पटक सात ठाउँमा अप्रेशन भएको थियो । उनी रोग र शत्रुसँग सँधै डटेर सधैं लडिरहिन् । अनि उनले जीवनपर्यन्त जनकल्याणका लागि नै आफ्नो पाइला चालिरहिन् । अन्ततः उनी २०६९ साल फागुन २४ गते काठमाडौंमा स्वर्गीय भइन् ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश