» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

शरण प्रधान Sharan Pradhan

शरण प्रधान खास गरेर गीतकार र सङ्गीतकारमा लोकप्रियता कमाएका साधक थिए । उनको बहुआयामिक व्यक्तित्वले २०२० सालदेखि राम्रो गरी झाङ्गिने मौका पाएको थियो । त्यतिखेर एक्काईस वर्षका अल्लारेले नेपाली सङ्गीतक्षेत्र हल्लाउनु भनेको एउटा आश्चर्यको कुरो मानिन्थ्यो । त्यस बेला शरण प्रधानले आफ्नो व्यक्तित्वको परिचय जनसमु प्रस्तुत गर्दा उनीसँगसँगै अरुणा लामा पनि प्रस्तुत भएकी थिइन् । त्यति नै खेर साङ्गीतिक क्षेत्रमा रणजीत गजमेरको पनि त्यत्तिकै प्रशस्ति सुनिन थालेको थियो । वास्तवमा यो दशकको आरम्भ भन्नु नै आधुनिक सङ्गीतमा एउटा स्वर्णिम युगको थालनी थियो ।

शरणकुमार प्रधान बाल्यकालदेखि नै प्रतिभासम्पन्न व्यक्ति थिए । उनी सानामा खास गरेर गीत गाउनमा नै परिचित थिए । त्यतिखेर उनी बाजाहरू बजाउनमा पनि क्रियाशील थिए । किशोरावस्था टेक्तानटेक्तै उनले बेन्जो सिकेका थिए । उनी प्रायः बेन्जो बजाएर गीत गाउने गर्थे । बेन्जो उनको मनपर्ने बाजा थियो । त्यसपछि उनी मेन्डोलिन बजाउनमा एकोहोरिन थाले । फेरि उनको मनपर्ने बाजा मेन्डोलिन हुन थाल्यो । मेन्डोलिन बजाउन थालेपछि उनी त्यही बाजामा नै आफूलाई पनि भुल्न खोज्थे । त्यसै कारणले उनकी आमाले पनि उनलाई नयाँ मेन्डोलिन किनिदिएकी थिइन् । त्यसपछि झन् उनी मेन्डोलिनमा नै सुत्थे र मेन्डोलिनमा नै उठ्थे । पेलेका खुट्टामा फुटबल टाँस्सिएझैँ त्यतिखेर शरण प्रधानका हातमा पनि मेन्डोलिन नै टाँस्सिएको हुन्थ्यो ।

त्यसताका दार्जीलिङमा सङ्गीतको सम्पूर्ण ज्ञान भएका व्यक्ति अम्बर गुरुङ मात्र थिए । शरण प्रधानले अम्बर गुरुङलाई नचिन्दै मेन्डोलिन बजाउनमा दार्जीलिङ थर्का एका थिए । त्यस बेला यिनलाई मेन्डोलिनको सैद्धान्तिक ज्ञानचाहिँ थिएन । शरण प्रधान जब अम्बर गुरुङको सङ्गीत पाठशालामा पुगे त्यसपछि उनले मेन्डोलिनको सैद्धान्तिक पाठ पनि पढे । अनि उनको बाजा बजाउने सीपमा बिस्तारै सुगन्ध पनि टाँस्सिन थाल्यो । त्यही मेन्डोलिनको तारको झङ्कारमा त्यतिखेर नै अरुणा लामाका कान पनि टाँस्सिएका थिए । त्यसपछि शरण प्रधानका निम्ति प्रेम गर्ने विषय अरुणा लामा र मेन्डोलिन थिए ।

शरण प्रधानले आफू पन्ध्र वर्ष को हुँदा अरुणा लामालाई देखेका थिए । त्यसपछि उनी पनि अरुणा लामाकै स्वरमा सपना देख्न थाले र ब्युँझिँदा पनि त्यही स्वरको कल्पनामा उनी मग्न हुन्थे । उनी अरुणा लामालाई प्रेम गर्न चाहन्थे तर अरुणा लामाचाहिँ शरण प्रधानको सङ्गीतको मात्र आराधना गर्थिन् । उनीहरू तँतँ र ममका साथीहरू थिए । शरण प्रधान अरुणा लामासँग बिहे गर्न पनि चाहन्थे तर अरुणा लामाको शरण प्रधानसँग बिहे गर्ने हिसाबको प्रेम थिएन । यति हुँदाहुँदै शरण प्रधानचाहिँ अरुणा लामालाई एकदुई तीन नै बिहे गर्न चाहन्थे । त्यसै ले अनेक प्रपञ्च मिलाएर शरण प्रधानले अरुणा लामाप्रति बल्छी हाले । उनी शरण प्रधानकी प्रेमिकाबाट अर्धाङ्गिनी हुनुभन्दा अघि उनीहरूको पिरतीको चर्चा परिचर्चाले दार्जीलिङको सेरोफेरो हल्लिएको थियो । अन्ततः उनीहरूको औपचारिक लगनगाँठो कस्सियो । अर्थात् संवत् २०२० साल असार २५ गते शरण र अरुणाको बिहे भयो । बिहेपछि अरुणा लामा र शरण प्रधानले संयुक्त रूपमा एउटा गीत लेखे । त्यस गीतको शरण प्रधानले सङ्गीत गरे र अरुणा लामा र जितेन्द्र बर्देवाले त्यो गीत गाए :

हेर न हेर कान्छा डाँडालाई फूलले ढाक्यो
टिपन टिपेर एउटा चुल्ठोमा गाँसिदेऊ न !
हुन्छ लौ हुन्छ कान्छी त्यो फूल म टिपेर ल्याउँला
फुलेको फूलझैँ तारा एकपल्ट हाँसिदेऊ न !

शरण प्रधानको जन्म संवत् २००० साल वै शाख २० गते दार्जीलिङमा भएको थियो । उनी हर्कबहादुर प्रधान र कविमाया राईनीका एक्लो सन्तान थिए । हर्कबहादुर प्रधान जागिरमा भएका कारण शरण प्रधानको बाल्यकाल सुखसयलमा नै भुक्तान भएको थियो । बाल्यकालदेखि सङ्गीतमा रोपिएका शरण प्रधान सङ्गीतमै बढे, सङ् गीतमै फुले र सङ्गीतमै फले । युवा अवस्थामा पुग्दा उनी नेपाली सङ्गीतमा एउटा अत्यन्तै श्रद्धाका पात्र भए ।

अम्बर गुरुङको नेतृत्वमा प्रवेश भएका कारण पनि शरण प्रधानको सङ्गीतकलाले झाङ्गिने मौका पाएको थियो । अम्बर गुरुङको सङ्गीत पाठशालामा भर्ना भएपछि शरण प्रधानले गुरुङको मन जितेका कारण गुरुङद्वारा सङ्गीतबद्ध गीतहरूमा प्रधानले औपचारिक मेन्डोलिन बजाउने अवसर पनि प्राप्त गरेका थिए । अम्बर गुरुङकै सङ्गतका कारणले बिस्तारै शरण प्रधानसङ् गीतकारका रूपमा पनि देखा पर्न थाले । उनी आफैँ गीत लेख्तै आफैँ सङ् गीत गर्दै अरुणा लामालाई सुनाउने गर्थे । अरुणा लामालाई रिझाउने हिसाबमा पनि शरण प्रधान यस मार्ग मा थप क्रियाशील देखिन्थे । सुरुसुरुमा अरुणा लामाले पनि प्रायः शरण प्रधानकै रचना र सङ्गीतमा मात्र गीत गाइन् । त्यतिखेर अरुणा लामाले गाएका सारा गीत प्रसिद्धिको शिखरमा पनि पुगे । वास्तवमा शरण प्रधानको प्रतिभाको अरुणा लामाले सधैँ श्रद्धा गरिन् । यसै प्रसङ्गमा अरुणा लामाले भनेकी पनि थिइन् “शरण प्रधानले सङ्गीतका तालमा पनि गीत लेखे । आफैँ गीत लेखेर उनी तुरुन्तै सङ्गीत पनि गर्थे । म कहिले भान्सामा हुन्थेँ, कहिले कुनै हतारोमा पनि हुन्थेँ तर पनि उनी मलाई जबर्जस्ती बोलाएर गीत सिकाउन थालिहाल्थे । उनको उत्साहलाई म झन् हौसला दिने गर्थेँ । वास्तवमा उनको सङ्गीत सुनेपछि म पनि त्यत्तिकै भुतुक्कै भइहाल्थेँ । शरण प्रधानले मलाई एकपटक सङ्गीत सिकाएपछि फेरि दोहोर्याएर सिकाउनु पर्दैनथ्यो ।”

कुनै बेला दार्जीलिङमा साङ्गीतिक समूहको एउटा ठूलो जत्था थियो । तर त्यो जत्था अम्बर गुरुङ काठमाडौँ आएपछि एकाएक रित्तो भयो । त्यसपछि शरण प्रधानहरू मिलेर त्यहाँ फेरि एउटा अर्को साङ्गीतिक संस्थाको स्थापना भयो ‘सङ्गीत सङ्गम’ । त्यस संस्थामार्फत उनीहरू फेरि जागरुक भए । त्यो संस्था गीतियात्रामा फेरि पनि जोसजाँगर बोकेर हिँड्यो । त्यसै बेला शरण प्रधानका अन्य गीतहरू प्रकाशमा आउन थाले । उनी गीत लेख्तै सङ्गीत गर्ने गर्थे । उनका ती गीतहरू उनकै अर्धा ङ्गिनी अरुणा लामाले गाउने गर्थिन् । उनीहरूको जोडी देखेर नेपाली सङ्गीतका पारखीहरू गदगद हुन्थे ।

स्कुले जीवनमा पनि शरण प्रधान सङ्गीतकर्मी कै रूपमा चिनिन्थे । उनले दार्जीलिङको टर्न बुल इङ्गलिस हाइस्कुलमा पढेताका उनका जोडी रणजीत गजमेर थिए । यिनीहरू दुवै जना खुबै मिल्थे । यी दुवै भाइहरू आफैँ गीत लेख्तै, आफैँ सङ् गीत गर्दै, आफैँ गाउने गर्थे । यिनीहरूको जोडी एउटै भावनामा आबद्ध थियो । उता हिन्दी गीतका प्रसिद्ध सङ्गीतकारद्वय कल्याणजी आनन्दजी र शङ्कर जयकिशनको प्रेरणा बटुलेर यिनीहरूले पनि आआफ्ना नाउँलाई छोट्ट् याएर जोडेका थिए । उनीहरूले शरणरणजीतका नाउँबाट पछिसम्म पनि सङ्गीतको आविष्कार गरे । उनीहरूको मिलीजुली सङ्गीतले पनि नेपाली सङ्गीत प्रेमपूर्वक देशदेशान्तरमा फैलियो ।

शरण प्रधानले गीतमा सहभागिता जुटाएर पनि सेन्ट जोसेफ कलेजबाट विज्ञानविषय लिएर स्नातक गरे । त्यसपछि उनले सेन्ट रोबर्ड हाइस्कुलमा पनि पढाए । त्यहाँ उनले पढाउने विषय गणित र विज्ञान थिए । त्यतिखेर आफ्नो जीवनपद्धतिलाई उनले चार भाग लगाएका थिए; जसमध्ये पहिलो भाग सङ्गीत थियो, दोस्रो भागमा उनले आफ्नी पत्नीलाई लिएका थिए, तेस्रो भाग अध्यापन थियो भने चौथो भागमा उनले घरलाई समाविष्ट गरेका थिए । उनी जहाँजहाँ पुगे पनि इमान्दारीपूर्वक आफ्ना यी दायित्वहरूको निर्वाह गर्थे ।

शरण प्रधान रोगी थिए । उनी घरिघरि मूर्छा परिरहन्थे । एक दिन दिउँसै उनी स्कुलबाट रिङटा लाग्यो भन्दै घर आए । घरमा आएर उनी सधैँझैँ फेरि मूर्छा परे । तर त्यस दिन भने उनी उठेनन्स सधैँभरिका लागि उनी सुते । २०३१ साल वै शाख २० गते उनको भौतिक चोला ईश्वरको काखमा पुग्यो । अरुणा लामा, एउटी छोरी सपना र एउटा छोरो सुप्रितबाट उनी सधैँका लागि छुट्टिए । उनको निधनले सारा दार्जीलिङ शोकमग्न भयो । नेपाललाई पनि त्यस खबरले विह्वलित तुल्यायो । त्यति मात्र होइन संसारमा जहाँजहाँ नेपाली बस्थे त्यहाँत्यहाँ शरण प्रधानको मृत्युको खबरले एउटा रिक्तताको अनुभव गरायो ।

शरण प्रधान शारीरिक रूपमा स्वर्गीय भए तर उनी आफ्ना कर्मका कारण यस जगत्मा जिउँदै भए । नेपाली साङ्गीतिक आकाशमा उनी सधैँ चम्किरहने तारा बने । उनको शब्द र सङ् गीतबाट उनी हरेक नेपालीका भावनामा सधैँ गुन्जिरहने, बजिरहने र गाइरहने अलौ किक व्यक्तित्व बनिरहे ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी