» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » शङ्करप्रसाद रिजाल Shankar Prasad Rijal

शङ्करप्रसाद रिजाल Shankar Prasad Rijal

शङ्करप्रसाद रिजाल सरल, सौम्य र सहृदयी थिए । साथै उनी न्यायिक, हक्कि र प्रष्ट व्यवहारका धनी थिए । आर्थिक सम्पन्नतामा शिखर आरोहण गरेका व्यक्ति पनि जनस्तरमा घुलमिल गर्न सिपालु हुँदा रहेछन् भन्नुको प्रमाण पनि रिजाल नै थिए । त्यतिमात्र होइन उनी आफ्ना गाउँठाउँमा आर्थिक कष्ट खेपेका प्रतिभाशाली व्यक्तिहरुलाई पनि जुरुक्कै उठाएर काँधमा हाल्थे र स्कूल पु¥याउँथे । मान्छेले नै मान्छेको सेवा गर्नुपर्छ र त्यही हो मानव धर्म भन्ने उनको प्रबल धारणा थियो ।

रिजाल धार्मिक प्रवृत्तिका थिए । उनी भगवान्को आराधना पनि गर्थे । तर कानो, रूढीग्रस्त र अन्धो नवहिन्दू विधानको उनी पालना गर्दैन थिए । उनी भन्थे ’हिन्दूधर्ममा जातभात लेखिएको प्रसङ्ग कहीं छैन ।’ त्यसैले उनी परम्परागत कुसंस्कारबाट अलग्गै उभिएर नै कर्तव्य गर्थे । उनका लागि बाहुन र दलित बराबरी हुन्थे । उनी जातलाई होइन योग्यतालाई काँध थाप्थे । त्यसैले उनका पुस्ताका मान्छे भन्थे ‘रिजाल सकारातमक धारामा बाँचेका अब्बल दर्जाका समाजसेवी थिए ।’

न्यायप्रेमी रिजालको जन्म १९६९ साल बैशाख १ गते धनकुटाको सिंबुवामा भएको थियो । ध्रुवलाल रिजाल तथा ललितादेवीका आठभाइ छोरामध्ये उनी माइलो थिए । रिजालहरु त्यसभेकका धनीमानीमा गनिन्थे । त्यसमाथि पनि धर्म र समाजसेवामा उनीहरुको ठूलै उत्सर्ग हुन्थ्यो । त्यसैले त्यस क्षेत्रमा उनीहरु विशेष सम्मानित पनि थिए ।

रिजालले धनकुटा र धरानमा पढे । त्यसबेलाको प्रचलन अनुसार संस्कृत भाषामा उनले प्राथमिक, माध्यामिक र उच्चमाद्यामिक शिक्षा हासिल गरेका थिए । सम्पन्नताका कारण उनी पढ्ने उद्धेश्यमा बनारस गए । उनी घरबाट संस्कृत पढ्न त्यहाँ गएका थिए । तर कासी पुगेपछि उनले आधुनिक शिक्षा लिने मनसाय राखे र अङ्ग्रेजी पढ्न थाले । अन्ततः उनले कासी विश्वविद्यालयबाट स्नातक पास गरे । त्यसबेला बीए पास गर्ने नेपालीको प्रथम लहरमा उनी पनि उभिएका थिए ।

रिजाल बीए पढेर स्वदेश फर्के । उनले बीए पास गरेको बेहोरा श्री ३ मा पनि जाहेर भयो । अनि त्यसैबेला उनलाई न्यायसेवाको डिट्ठामा नियुक्ति गरियो ।

श्री ३ पद्मशमशेरका पालामा उनलाई पूर्वाञ्चलको तराई भेकमा पञ्चायत गठन गर्ने जिम्मा दिइएको थियो । त्यही क्रममा उनी सेनामेना सहित हात्तीमा चढेर गाउँगाउँ पुगे । तर त्यतिबेला उनको हाउभाउ देखेर जनताहरु दैलोमा आग्लो थुनेर घरभित्र लुक्थे । उनले पनि अनेक कसरत गरेर उनीहरुलाई घर बाहिर निकाल्थे र सम्झाई बुझाई गर्थे । प्रायः त्यसैगरेर उनी आफ्ना काममा सफल पनि भएका थिए ।

रिजालले राणका पालादेखि नेपाली काङ्ग्रेसको पालाहुँदै राजाको पालामा पनि न्यायलयको काम गरे । सेवा गर्नेक्रममा उनले कहिले लोभानी र पापानी गरेनन् । उनी निष्ठामा बाँचेका कर्मचारी थिए । एक पटक राजा महेन्द्र पाल्पा पुगेका बेला उनी त्यहींको न्यायालयमा अबद्ध थिए । उनी राम्रो काम गर्ने, हक्की र स्वाभिमानी प्रवृत्तिको न्ययाधीश भएको बेहोरा राजाका कानमा पनि पुग्यो । त्यसैताक उनको राजासँग पनि सवालजवाफ भएको थियो । उनको इमानदारिता, प्रष्ट व्यवहार र कार्यशैलीबाट राजा अति प्रभावित भए र उनलाई मीरसुब्बामा नियुक्त गरिदिए । त्यसपछि रिजाल राजाका हुकुमले काठमाडौं आए ।

रिजाल लगनशील भएर काम गर्थे । नैतिकतामा उभिएर नै उनले आफ्नो सरकारी कामकाज गरेका थिए । ऐन र प्राकृतिन्याय सङ्गत नभएको बेहोरामा कसैको पनि अनुरोध र आदेशलाई उनी स्वीकार्दै थिए । त्यतिबेला उनी भन्थे ‘आफ्नो ओहोदाको आफैले बर्खीलाप गर्न हुँदैन ।’ यति प्रष्ट हुँदाहुँदै पनि उनी धेरै वर्ष जागिरमा टिकेका थिए ।

२०१५ सालको प्रथम आम चुनावमा रिजाल पूर्वाञ्चलीय निर्वाचन प्रमुख थिए । उनका मित्र विश्वेश्वरप्रसाद कोइरालाप्रति उनको विशेष सद्भावना थियो । तर उनी भन्थे, ‘निर्वाचनमा मेरो पदीय जिम्मेवारी छ, म धाँधली हुन दिन्न ।’ कोइरालाले पनि रिजाललाई अति स्वच्छ छवीको न्यायाधीशका रुपमा ग्रहण गरेका थिए । उनीहरुको एक अर्काप्रतिको मित्रवत सद्भावना निक्कै गहिरो थियो । त्यसैले २०१७ सालपछि कोइराला भारत प्रवासमा रहँदा रिजाल बेलामौकामा कासीसम्म खर्च पु¥याउने गर्थे ।

मीरसुब्बा रिजाल राजा महेन्द्रका पनि नजिक थिए । त्यही कारणसमेत जोडिदा उनका काँधमा राजा महेन्द्रलाई बम हान्ने दुर्गानन्द झाको मुद्धा पनि तेर्सिन गयो । अनि झालाई मृत्युदण्ड दिनु पर्ने प्रसङ्गका कुराहरू पनि उठ्न थाले । उनका कानमा त्यस्ता कुरा ठोक्किदा उनी पानीपानी भएका थिए । वास्तवमा उनी मान्छेलाई मार्न हुन्न भन्ने सिद्धान्तका हिमायति थिए । त्यसैले उनले त्यो मुद्धा हेर्ने हिम्मत नै गरेनन् । बरु उनले सर्बोच्च अदालतको रजिष्टार पदबाट नै हात धुने अभिप्रायः लिए । त्यसपछि केही वर्ष विदा लिएर बसेपछि उनले स्वैच्छिक अवकास नै लिएका थिए ।

स्वाभिमानी प्रवृत्तिले ओतप्रोत रिजाल विपन्न व्यक्तिलाई विशेष गरेर स्वास्थ्य, शिक्षाका लागि सहयोग गर्थे । पढेलेखेका मान्छे भेटे भने उनी घाँटी जोडाउन पनि पुगिहाल्थे । नेपाली, संस्कृत, हिन्दी र अङ्ग्रेजी भाषामा उनी ठूलोठूलो वादविवाद गर्न पनि सक्थे । त्यस बेला बनारसबाट संस्कृतका विद्वान्हरु पनि रिजालसँग शास्त्रार्थ गर्न विराटनगर पुग्थे ।

रिजाल नेपाली भाषासाहित्यमा पनि चाख राख्थे । उनले फुट्कर रुपमा दर्जनौं लेखरचना गरे । कृतिगत रुपमा उनले ‘अफीमचीको अफीम’ भन्ने किताब २००७ सालमा प्रकाशनमा ल्याए । त्यस कृतिले त्यसबेला निक्कै हलचल मच्चाएको थियो । त्यसपछि उनले ‘चिन्तन र व्यवहार’ भन्ने अर्को प्रबन्धात्मक पुस्तक पनि लेखे ।

नारी शिक्षा नभएको बेला पनि रिजालले आफ्ना छोरीहरूलाई बालविवाहमा लगेनन् र शिक्षा आर्जनमा नै प्ररित गरेका थिए । जस अनुसार उनका चारै जना छोरीले विश्वविद्यालयस्तरको शिक्षा ग्रहण गरे । साथै दुई जना छोरा इन्जीनीयर बने भने एक जना छोराले चिकित्सा विज्ञानमा नाउँ कमाए ।

रिजालको बिहे भारतको तेजपुरका नारदमणि चम्लागाईं र लक्षिमा चमलागाईंका माइली छोरी नैनादेवीसँग भएको थियो । नैनादेवी पनि सामाजिक जागरणमा समर्पित थिइन् । अनि उनले समाजसेवा गर्ने उद्धेश्यले आफ्नो जीवनकालमा नै पन्ध्र लाख रूपियाँ नगद सुम्पेकी थिइन् । उनको निधनपछि उनका सन्तानले त्यही रुपियाँ राखेर ‘शङ्कर नैना रिजाल गुठी’ स्थापना गरेका थिए ।

शङ्करप्रसाद रिजाल वृद्धावस्थामा पनि सक्रियतासाथ जीवन यापन गर्थे । यसैक्रममा उनलाई मुटु र फोक्सोमा रोग लाग्यो । अनि २०५३ साल माघ २ गते विराटनगरमा उनको स्वर्गारोहण भएको थियो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी