» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » लेखनाथ ज्ञवाली Lekh Nath Gyawali

नइको चिनारी


लेखनाथ ज्ञवाली Lekh Nath Gyawali

लेखनाथ ज्ञवाली शिक्षक, समाजसेवी, साहित्यकार, पत्रकार तथा राजनीतिज्ञमा बराबरी चर्चामा आइरहने नाउँ थियो । ज्ञवालीले जताजता खुट्टा टेके पनि आफ्नो इमानलाई सधैँ शिरको ताज बनाइरहे । उनी जति नैतिक थिए त्यति नै राष्ट्रवादी पनि थिए । उनी खासगरेर नेपालको विकासका लागि चिन्तित थिए । त्यसैले जनकल्याणका काममा उनी विहानदेखि बेलुकासम्म पसिना चुहाउँथे ।

ज्ञवालीको जन्म २००० साल असोज ५ गते गुल्मीको बोहामा भएको थियो । यिनलाई जन्माउने आमाबुबा कुन्ता ज्ञवाली र ऋषिराम ज्ञवाली थिए ।

लेखनाथ ज्ञवाली अभाव मै हुर्के । यसबारे पनि विशेष कारण जोडिएको छ । भनौं उनका बुबा जग्गा जोड्ने उद्धेश्यले तराई पसेका थिए । अनि त्यहीं कान्छीसँग घरजम गर्न थालेपछि उनले जेठीलाई चटक्कै विर्सिदिए । त्यसैले यिनको घरपरिवार छताछुल्ल भएको थियो । बाबु विहीन भएर पनि लेखनाथले खुट्टाचाहिं बलियो नै टेकेका थिए ।

ज्ञवालीलाई बाल्यकालमै पाल्पाको जनता स्कूलमा पु¥याइएको थियो । त्यहाँ दुई वर्ष पढेपछि उनलाई फेरि घरै बोलाइएको थियो । त्यतिखेर उनी ११ वर्षका थिए । केही समयपछि उनी स्थानीय हरिहर संस्कृत पाठशालामा भर्ना गरिए । सो पाठशालामा ज्ञवालीका मिल्ने साथी मोदनाथ प्रश्रित थिए । उनीहरु एकअर्कामा एउटा बाटो अर्को पथिक हुन्थे । उनीहरु एक अर्कामा आँसु हाँसो पनि साटासाट गर्थे । किशोरावस्थामा नै उनीहरूले ‘छोराछोरी पाएपछि उनीहरुको एकअर्कामा बिहे गराइदिने’ बाचा गरेका थिए । त्यसैबेलादेखि उनीहरुले एकअर्कालाई सम्धीसम्धी पनि भन्ने गरे । अन्ततः प्रश्रितका छोरा विजय र ज्ञवालीकी छोरी रम्भाको गौरजेलकै प्रड्गणमा बिहे भयो । त्यसबेला प्रश्रित गौरजेलमा राजबन्दी थिए ।

लेखनाथ ज्ञवाली पढ्ने उद्धेश्य बोकेर २०१७ सालमा बनारस लागे । त्यहाँ उनले शास्त्रीसम्म पढे । त्यसैताक माधव ज्ञवालीको सौजन्यमा पुष्पलालसँग उनको भेट भयो । अनि त्यहाँ दुई वर्षमा उनले शैक्षिक ज्ञानका साथै कम्युनिष्टको सिद्धान्त पनि पढे । नेपालको चौतर्फी विकास र जनताको भलाईका लागि नेपाल कम्युनिष्ट पार्टीमा लागेर काम गर्ने त्यसैबेलादेखि उनले निर्णय गरेका थिए ।

ज्ञवाली वनारस बसेदेखि नै आफ्नी आमाको दर्दनाक आर्थिक अवस्थाका साथै घर सम्झि रहन्थे । अनि उनी २०१९ सालतिर घर फिरे । त्यसपछि उनी गुल्मीको श्रृङ्गामा पढाउन थाले । त्यसै फेरोमा साँस्कृतिक अभियानमा पनि उनको सक्रियता भैरह्यो । साथै स्थानीय शोषक, सामान्ति, जाली, फटाहाका विरोधमा पनि उनी क्रमशः सक्रिय हुन थाले । अनि त्यही कालखण्डमा सार्वजनिक जग्गा खोजेर स्कूल स्थापना गर्नेदेखि साक्षरता अभियानका लागि पनि उनको कार्यतालीका बन्यो । त्यसबेला छुवाछुतको विरोधमा पनि उनको आन्दोलन जारी थियो । ज्ञवालीले त्यहीं हाईस्कूलमा पनि पढाउन थाले । पञ्चायती प्रशासनका कारण त्यसपछि उनी भूमिगत जीवन भोग्न बाध्य भए । तर पनि उनी नेकपा पश्चिमाञ्चल पार्टीको सङ्गठन र सांस्कृतिक विस्तारको काममा समर्पित भएर लागिरहेका थिए । कहिले पानी कहिले घाम, कहिले भोकै, कहिले अनिदो भएका कारण उनको स्वास्थ्य खच्किनेक्रम पनि त्यसैबोलादेखि सुरु भएको थियो । अन्ततः त्यसैबेला उनी टीबीबाट ग्रसित भएको बेहोरा डाक्टरले पनि ठहर गरेका थिए ।

ज्ञवाली सरल, नरम र मिजासिलो थिए । उनी ख्यालठट्टा पनि गर्थे । तर उनी अत्यन्त सादा थिए । खानपान र बसाई उठाई पनि उनको सादै थियो । उनको कपडा पहिरनको रुचि पनि सादा नै थियो । उनको बोलीचाली पनि सादा थियो ।

ज्ञवाली समाजसेवी थिए । उनले आफ्नो गाउँमा विद्यालय, पुस्तकालय स्थापना गर्नेदेखि बाटो बनाउने, वृक्षारोपण गर्ने, खानेपानी, बिजुलीबत्तिआदि निर्माणका लागि उनी खटिरहेका हुन्थे । उनकै पहलमा त्यहाँ गङ्गालाल पुस्तकालय र शङ्करनगर माध्यमिक विद्यालय बनेको थियो । साथै यिनले निजी क्षेत्रमा बार्डिङ स्कुलहरु पनि खोले र त्यततिर पढाउने पनि काम गरे ।

ज्ञवाली पत्रकारितामा पनि लागे । नेपाल कम्युनिष्ट पार्टीको सल्लाहमा उनले भैरहवाबाट ‘निष्पक्षध्वनी’ साप्ताहिकको सम्पादन गरेका थिए । अनि केही वर्षपछि उनी मात्रिभूमि साप्ताहिकको प्रतिनिधि भएर नेपालगञ्ज पनि गए ।

ज्ञवालीलाई मनपर्ने विषय सड्गीत पनि थियो । उनी आफै गीत लेख्तै गाउदै हिंड्थे । उनलाई नाटक खेल्न पनि मन पथ्र्यो । २०२७ सालतिरको कुरा हो– पचास रुपियाँको तमासुक नाटकमा उनले पनि शसक्त अभिनय गरेका थिए ।

ज्ञवाली राजनीतिक सिद्धान्तमा त्यति व्यबहारिक हुन सकेनन् । तर घर व्यवहारमा उनी पारङ्गत थिए । उनको बिहे १३ वर्षको उमेरमा अर्घाखाँचीका देवीदत्त पन्थी र दमयन्ता पन्थीकी ७ वर्षीय छोरी आशा पन्थीसँग भएको थियो । यी दम्पतिबाट ३ छोरी २ छोरा जन्मे ।

ज्ञवाली संवेदनशील थिए । सानैदेखि उनी ज्ञानीगुनी थिए । त्यसैले वाल्यकालमा नै उनले रामायण र महाभारत पढेका थिए । तिनैका कारण उनी साहित्यमा ढल्केका थिए । किशोरावस्थामा नै उनका श्रृजनाहरू प्रस्फुटन हुन थालेका थिए । उनी जनप्रेमका गीत, कविता, निबन्ध, प्रबन्ध र कथाकहानी लेख्थे । पश्चिमाञ्चलमा उनी जनगीतकारका रुपमा चर्चित थिए । उनकी छोरी रम्भा पौडेलका अनुसार उनको लेखनी अविश्रान्त हुन्थ्यो । लेख्नेक्रममा उनले छ वटा किताव लेखे । धेरै प्रयास गरे तापनि उनका आठ वटा किताव भने आफ्नो जीवनकालमा उनले छाप्न भ्याएनन् ।

ज्ञवालीको मन जनचेतना जगाउने काममा नै विशेष केन्द्रित हुन्थ्यो । २०५४ सालमा उनी, घनश्याम भूषाल र अर्जुन ज्ञवाली मिलेर रेडियो लुम्बिनी नाउँको एफएम स्थापना गरेका थिए । अनि त्यस एफएम् रेडियोका उनै प्रमुख थिए । उनले त्यस एफएमलाई बलियो पार्ने अहोरात्र कसरत गरे । कतिसम्म भने उनले परिवारभित्रबाट पनि तिमीहरूलाई यस रेडियोको शेयर होल्डर बनाइदिन्छु भनेर पैसा पनि उठाएका थिए । उनको अबिरल मिहेनतपछि रेडियो पनि सबल हुन थाल्यो । त्यसपछि अनेक षडयन्त्र गरेर त्यहाँबाट उनको टिकट पनि काटियो । उनले बाँचुञ्जेल आफ्नो चिरस्मरणीय दुखद् घटना पनि त्यही नै हो भनेर भनिरहे ।

ज्ञवालीको मुटुको अपरेशन पनि भएको थियो । तर त्यसको दुई वर्षपछि उनको टाउकोमा ट्युमर भयो र त्यसको निदानका लागि अपरेशन पनि भयो । अनि केही दिनपछि अर्थात् २०६७ साल साउन ११ गते उनको काठमाडौंमा निधन भयो ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश