» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » रामशरण दर्नाल Ram Sharan Darnal

रामशरण दर्नाल Ram Sharan Darnal

रामशरण दर्नाल नेपाली सङ्गीत अन्वेषणको पर्यायवाची नाउँ हो । साथै नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि पनि दर्नालको महत्वपूर्ण भूमिका रहृयो । उनले जति लेखे नेपाली भाषामा लेखे, जति बोले नेपाली भाषामा बोले र जति चिन्तन गरे नेपाली भाषामा नै गरे । तर उनका ती सबै बेहोरा सङ्गीतका माध्ययमबाट नै परिचालित भए । त्यसैले उनलाई सङ्गीत कर्मीले हाम्रो भन्छन् भने नेपाली भाषासाहित्यका स्रष्टाले पनि हाम्रो भन्छन् । तर दर्नाल दुवै क्षेत्रमा विख्यात र्सजक थिए ।

 १९९० सालपछिको सबैभन्दा ठूलो भूकम्प मानिएको २०६८ सालको असोज १ गतेको भूकम्प जानु पन्ध्र मिनेटअघि दर्नाल स्वर्गीय भए । त्यस दिनदेखि काठमाडौं उपत्यकामा तेह्र दिनसम्म निरन्तर वर्षा भइरहृयो । २०२५ सालको कुरा हो- अविरल वर्षाका कारण दर्नालको कालधाराको घर दशैं टीकाको पर्सीपल्ट गर्लाम्मै भत्केको थियो र उनकी आमालाई त्यही घरले किचेर मारेको थियो । वास्तवमा त्यस घटनापछि उनी दर्दनाक रुपमा बामे र्सदै हिंडे । त्यसै वर्षगोरखापत्रमा पहिलो पटक उनको रचना छापिएको बेहोरा जयदेव भट्टर्राई बताउँछन् । अनि दर्नाल आफै भन्थे, ‘२०२५ सालको वर्षा, मेरी आमाको निधन र मेरो भौतिक क्षतिले मलाई आँसुमा नै डुबायो । त्यही रोदन, पीडा र चित्कार मैले मेरो साङ्गीतिक यात्रामा बदलें र साहित्य लेखनमा घोले ।’

दर्नाल सौम्य थिए । उनको शिष्ट व्यवहारको सभ्यता उनीद्वारा अप्रत्यक्ष रुपमा अरुलाई सिकाइने पाठ हुन्थ्यो । उनी रिसाउन जान्दैन थिए तर हाँस्न जान्दथे । उनी ठूलो कुरा गर्दैन थिए तर काम ठूलो गर्थे । अनि उनी आडम्बर, हुङ्कार र अहङ्कार गर्दैन थिए तर त्यस कोटीका मान्छेले पनि उनका कामका अगाडी शिर झुकाउनै पथ्र्यो । किनभने नेपाली बाजागाजाका उनी सक्कली अन्वेषक थिए । यस मामलामा उनीभन्दा पहिला वैज्ञानिक ढङ्गबाट खोजी गर्ने सङ्गीत अन्वेषक अरु थिएनन् ।

नेपाली बाजागाजाको तथ्याङ्क राख्ने कामको आरमभ दर्नालबाटै भयो । उनी यसबारेको एउटा संस्था नै मानिन्थे । उनी भन्थे ‘नेपाल बाजागाजाको धनी देश हो । नेपाली संस्कृतिमा उब्जेका ४०० भन्दा बढी बाजा छन् । बेलैमा यिनको तथ्याङ्क राख्न नसके भविष्यमा यी हराएर जानेछन् ।’ अनि बाँचुन्जेल उनी यसै काममा नै समर्पित भए ।

दर्नालको जन्म १९९४ साल असार २७ गते काठमाडौंको कालधारामा भयो । उनी झाप्रे दर्नाल र दिलकुमारीका जेठा छोरा थिए ।

दर्नालले नेपाली ठूलो वर्णमाला पढेकै बेला बिहे गरे । अर्थात् ९ वर्षो उमेरमा सात वर्षी हरिमायासँग उनको बिहे भयो । काभ्रेका छविलाल कर्णबेरी र साइँलीकी माइली छोरी हरिमायाले आफ्ना पतिको साधनामा बाह्रै मास साथ दिइन् । अनि यी दम्पतिले तीन छोरा र एउटी छोरी जन्माए । प्रकाश दर्नाल राष्ट्रिय अभिलेखालयका प्रमुख भए तथा किरण र ज्योति इन्जिनीयर भएर सेवारत रहे । साथै दीपिकाले अध्यापकमा आफूलाई जोडिरहिन् । 

दर्नालले दरबार स्कूल पढ्दा पनि आफुलाई बाजासँगै लगे र उनी दार्जिलिङको सेन्ट रोबर्टस् हाईस्कूलमा पढ्दा पनि बाजासँगै परिचित भए । उनको जीवनको योगदान नै नेपालको आधुनिक वाद्यको इतिहास थियो । साथै वाद्यवादनमा उनको योगदानका कारण उनी नेपाली बाजा सङ्ग्राहलयको संस्थापकमध्ये एकजना थिए ।

रामशरणका बुबा झाप्रे दर्नाल नेपाली सेनाको व्याण्डका नाइके थिए । त्यसैले रामशरण  सानैदेखि बाजामा खेल्थे । उनको मनपर्ने बाजा म्यान्डोलिन र गीतार थियो । नेपालमा यी दुबै थरीका बाजा बजाउने चलन थिएन । यिनले बजाउन थालेपछि मात्र नेपालीले यी बाजा बजाउन थालेका थिए ।

दर्नाल नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको स्थापना पछिको दुई वर्षमा त्यहाँ पुगे । त्यहाँ उनी वाद्यवादनबारेमा नै केन्द्रित थिए । उनले कोरेको खाकामा नै पछि नेपाल सङ्गीत नाट्य प्रतिष्ठानको पनि स्थापना भयो । तर त्यहाँ पुग्न उनलाई कुनै पनि दलले सिफारिस गरेन । बरु उनी  म्यूजिक नेपालका प्रवन्ध निर्देशक सन्तोष शर्माको मायाको फेरोमा परे । त्यसैले उनले म्यूजिक नेपालमा अनुसन्धानको काम पाए । त्यहाँ उनलाई मासिक दस हजार रुपियाँ पारिश्रमिक दिइएको थियो । साथै उनलाई त्यहाँ पूर्णकालीन समय बस्नु पर्ने वाध्यता थिएन । त्यहाँ उनले नेपाली गीतको लगत राख्ने काम गरे । अनि लगत राख्ने क्रममा उनले ठूलाठूला सोह्र वटा रजिष्टरी खाता भरे ।

दर्नालले नेपालका विभिन्न भेगका लोकसङ्गीतको अध्ययन गरे । यसैक्रममा यी विभिन्न अञ्चल र भारत, थाइल्याण्ड र जापानसम्म पुगे । उनी यस बारेका गोष्ठीहरुमा अगुवा हुन्थे । यसबारे उनले कार्यपत्र लेखेपछि त्यो सुन हुन्थ्यो ।

दर्नाल नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको सदस्य पनि भए । तर पहुँच नपुगेकाले त्यस बेला यी बेतलवी प्राज्ञ भए । साथै उनी त्रिभुवन विश्वविद्यालयको सङ्गीत समितिमा पनि आबद्ध थिए । यसैक्रममा उनी लुनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिर, नारायणगोपाल सङ्गीत कोष, छिन्नलता गुठी, नेपाली शिक्षा परिषद् र त्रिमूर्ति निकेतनबाट गठित महाकवि देवकोटा शताब्दी महोत्सवका सदस्य थिए । साथै उनी अनगिन्ति सांस्कृतिक सङ्घसंस्थामा पनि आबद्ध थिए ।

दर्नालले सङ्गीतका क्षेत्रमा लामो सेवा गरेवापत इन्द्रराज्यलक्ष्मी प्रज्ञापुरस्कार, झपट पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, जगदम्बा पुरस्कार, नूरगङ्गा पुरस्कार, नारायणगोपाल सङ्गीत सम्मान प्राप्त गरे । साथै उनले ज्ञानज्ञुनको नयराज पन्त शोध सम्मानदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट प्रदान गरिने अनगिन्ति सम्मानहरु पनि ग्रहण गरे ।

दर्नालले नेपाली भाषासाहित्यमा एकदर्जन कृतिको निर्माण गरे । अनि ती सबै कृति सङ्गीत विषयमा नै केन्द्रित छन् । नेपालमा सङ्गीत विषयक गहन अध्ययन र शोध गर्नेदेखि यसबारेको सामान्य जानकारी राख्नेसम्मका लागि दर्नालका कृति ओजिला मानिन्छन्  ।

दर्नालका लागि ईश्वरप्रदत्त एउटा जीवन थोरै थियो । अर्को एउटा जीवनभरिमा पनि पुरा गरि नसक्ने अन्वेषणका तथ्याङ्क उनले सूचिकृत गरे ।  वास्तवमा यस क्षेत्रमा उनको एकलयात्रा जीवन पर्यन्त रहृयो । रोगले गाँजेर अशक्त हुँदा समेत यिनले आफुलाई साङ्गीतिक अन्वेषणको कार्यबाट अलग्यायनन् । त्यसैले नेपाली बाजागाजाको खोजिका गणेशका रुपमा दर्नाल नै पुजिए ।

जीवनको अन्त्यतिर दर्नाललाई पाकिङ्सन र पोस्टेडको रोगले च्याप्तै लग्यो । यही कारण उनी एकपटक म्यूजिक नेपालमा डङ्गै लडे । यसै प्रसङ्गमा सन्तोष शर्माले उनलाई भने, ‘रामदाइ ! तपाईंले यहाँ गर्ने काम अब घरैमा गर्नुहोस् ।’ तर उनले त्यस कुरालाई मानेनन् र अनामनगरस्थित म्यूजिक नेपालमा उनी अनवरत धाए । किनभने उनी कर्ममा विश्वास राख्थे र नूनको सोझो गर्थे ।

दर्नाल घरिघरि आफ्नै घरमा पनि लडे । अन्तिम पटक उनी आफ्नै पत्नीको काखमा लडे । अनि फेरि पनि मनमोहन अस्पतालमा उनलाई भर्ना गरियो । त्यहाँ भर्ना भएको एघारौं दिनमा उनी स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी