» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » रानुदेवी अधिकारी Ranu Devi Adhikari

रानुदेवी अधिकारी Ranu Devi Adhikari

आज देशको क्रान्तियुद्धमा हाम्रो एक प्रकाश होस्
लड्दालड्दै मरे मरौँला यो एउटा नै नारा होस् ।
(स्वर : रानुदेवी अधिकारी, सङ्गीत र शब्द : तारिणीप्रसाद कोइराला)

रानुदेवी अधिकारीले त्यस्तो बेला गीत गाएकी थिइन् जुन बेला राणा शाहीलाई बढार्न सारा नेपाली एक जुट भएका थिए । त्यतिखेर वीर नेपालीहरूलाई क्रान्तिमा सामेल गराउन, क्रान्तिमा समर्पित गराउन र विजय गराउन रानुदेवी अधिकारीको स्वरले आफ्नै प्रकारको सक्रिय भूमिका निर्वाह गरेको थियो । त्यति बेला उनको गीत पनि नेपाल प्रजातन्त्र रेडियोबाटै प्रसार भएको थियो । राणाको शासन मास्ने आन्दोलनका सिलसिलामा नेपाली काङ्ग्रेसले विराटनगरस्थित रघुपति जुट मिललाई पनि आफ्नो नियन्त्रणमा लिएको थियो । त्यसै मिलमा नेपाली काङ्ग्रेसले नेपाल प्रजातन्त्र रेडियो स्टेसनको स्थापना गरेको थियो ।

क्रान्तिको शङ्खनाद भएताका विराटनगर रेडियो स्टेसनबाट क्रान्तिकारी गीतहरू बराबर बजाउने अभिप्राय राखिएको थियो । जसो गरेर भए पनि राणाशाही समाप्त पार्न त्यतिखेर नेपाली जनता धुरिएका थिए । त्यसैले सो क्रान्तिको सफलताका लागि क्रान्तिकारीहरूलाई अझै तताउन, राणाविरोधीहरूलाई अझै सशक्त तुल्याउन र जनतालाई सकेसम्म आन्दोलित बनाउन वीररसका क्रान्तिकारी शब्द, सङ्गीत र स्वरको पनि त्यत्तिकै आवश्यकता थियो । त्यसै परिवेशमा रानुदेवी अधिकारीले पनि रेडियोबाट आफ्नो कोकिल स्वर गुन्जाएकी थिइन् । वास्तवमा अधिकारीको औपचारिक गायनयात्राको श्रीगणेश पनि त्यहीँबाट प्रारम्भ भएको थियो । संवत् २००६ सालमा उनले नेपाल प्रजातन्त्र रेडियोबाट पहिलोचोटि ‘नेपाली अगि बढ हातमा क्रान्ति झन्डा लिई’ बोलको गीत गाएकी थिइन् ।

हाम्रो समाजमा त्यतिबेला गीत गाउनेलाई राम्रो रूपमा हेरिँदैनथ्यो । हो, त्यस बेलाका मान्छेहरूले गीत मन पराउँथे, गीत सुन्थे र गायकको प्रशंसा पनि गर्थे । यति हुँदाहुँदै पनि तल्लो वर्गका मान्छेले मात्र गीत गाउँछन् भन्ने मनोवैज्ञानिक धारणा पनि प्रशस्तै थियो । त्यसमाथि केटीहरूले गीत गाउनु भनेको टाउकाले पहरा फोर्नु झैँ मानिन्थ्यो । त्यस्तो समयमा पनि रानुदेवी अधिकारीको साहसले चन्द्रमा छोएको थियो । उनी गीत गाएर नै समाजसामु प्रतिष्ठित बनेकी थिइन् । वास्तवमा त्यस घडी उनले हज्जारौँ सिस्नुका झ्याङ आफ्नै स्वरले फाँडिन्, हज्जारौँ काँडाघारीहरू आफ्नै स्वरले पन्छाइन् र हज्जारौँ बारहरू आफ्नै स्वरले भत्काइन् । उनको स्वरले गायक, गायिकाप्रतिको मान्छेको नकारात्मक भावनालाई पर्लक्कै पल्टाइदियो, सर्लक्कै पन्साइदियो र खर्लप्पै खाइदियो । रानुदेवी अघिकारीको त्यही स्वरको महिमामा नेपालीहरूले उनको जय मनाउन थाले । नेपाली जनताको नेपाली सङ्गीतमा विश्वास, माया र सद्भावना पाएपछि उनी फेरि गीत गाउन उत्साहित भइन् र उनले गीत गाइरहिन् ः

जुनेली रात हजुर
गम्किन्छ बास हजुर
फागुनको शीतल बतास !
(स्वर : रानुदेवी अधिकारी, सङ्गीत : हियालाल मण्डल र कालुराम, शब्द : तारिणीप्रसाद कोइराला)

रानुदेवी अधिकारी सानै देखि गीत गाउने गर्थिन् । उनको स्वर, उनको स्वरको मिठास र उनको स्वरको कारुणिकताबाट तारिणीप्रसाद कोइराला पनि परिचित थिए । कोइरालाले नै रानुदेवी अधिकारीको स्वरलाई उज्यालोतिर ल्याउन निक्कै प्रयास गरे । कोइरालाकै सद्विचार, सक्रियता र इच्छाबमोजिम रानुदेवी अधिकारीले आफ्ना गीतहरू स्वराङ्कन गराएकी थिइन् । वास्तवमा कोइरालाको पहल र प्रयासमा रानुदेवी अधिकारीले त्यो कालो युगमा पनि आपूmलाई गायनमा उभ्याउन सकेकी थिइन् ।

त्यस बेलाको नेपाली गायनको इतिहास भन्नु रानुदेवी अधिकारीको वैयक्तिक जीवनको पनि उल्लेखनीय पक्ष थियो, किनभने नेपालको रेडियोमा पहिलोपल्ट प्रवेश गरेको नारीस्वर नै रानुदेवी अधिकारीको थियो । आजको रेडियो नेपालको पूर्वाधार नेपाल प्रजातन्त्र रेडियो भएकाले रानुदेवी अधिकारीलाई रेडियो नेपालमा गीत गाउने पहिलो गायिका भनिएको हो ।

रानुदेवी अधिकारी सानै देखि गायनयात्रामा सरिक थिइन् । उनका बाबुको पाश्र्व भूमि जोडिएर उनी गीतगायनमा सक्रिय भएकी थिइन् । वास्तवमा उनका बाबु सङ्गीतका गहिरो पारखी थिए । त्यसैले उनी प्रायः आफ्नी छोरीलाई गीत गाउन लगाउने गर्थे । छोरीको स्वर सुनेर रानुदेवीका बाबुले उनलाई यसै यात्रामा निरन्तर बढिरहन प्रेरित गर्थे ।

रानुदेवी अधिकारीलाई गीतिक्षेत्रमा प्रवेश गर्न घरपरिवारले चाहिँ कहिले छेक्ने चेष्टासमेत गरेन । उनी घरपरिवारबाट गायनयात्राका लागि स्वतन्त्र छाडिएकी थिइन् । यसै प्रसङ्गमा उनले भनेकी थिइन्— ‘मैले गायनक्षेत्र अँगाल्दा कुनै पनि पारिवारिक समस्या भोग्नुपर्ने स्थिति भएन । मेरा परिवारका सबै सदस्यहरू अत्यन्तै उदार विचारका थिए । साथै उनीहरू नारीस्वतन्त्रताका पक्षधर पनि थिए ।’ वास्तवमा आफ्ना पतिलगायत सासूससुरा र माइतीमामलीबाट पनि अधिकारीले यस बाटोमा क्रियाशील हुने शुभेच्छा, शुभकामना र शुभआशिष पाएकी थिइन् । यसै अनुरूप उनी गायनमा अग्रसर थिइन् । उनी कामविशेषले काठमाडौँ आउँदा फाट्टफुट्ट गीत रिकर्डिङ गराउँथिन् । वास्तवमा यातायातको असुविधा भएको त्यस्तो समयमा गायनकार्य जारी राख्नु सम्भव पनि थिएन । त्यसपछि उनी गायनक्षेत्रमा जति नै लालायित भए तापनि यस क्षेत्रबाटै पलायन हुन बाध्य भएकी थिइन् । वास्तवमा उनको स्वरलाई अझै गायनयात्रामा डो¥याइएको भए उनी नेपाली गायनकी शिखर हुन्थिन् । किनभने उनको स्वर ज्यादै मनमोहक थियो, मिठासले भरिएको थियो र सललल बग्ने खालको थियो ः

चरी भुर्र उडी घरमा मेरो जा,
लिएर सन्देश ।
(स्वर : रानुदेवी अधिकारी, सङ्गीत : हियालाल मण्डल र कालुराम, शब्द : तारिणीप्रसाद कोइराला)

रानुदेवी अधिकारी आफ्ना सन्तान छोरा अबिन तथा छोरीद्वय अर्चना र अल्पनालाई शिक्षा प्रदान गर्दै आफू पनि अध्ययनमा जुटी शिक्षिकाका रूपमा आबद्ध थिइन् । उनी धेरै वर्षसम्म विराटनगरको आदर्श बालिका विद्यालयमा संलग्न रहिन् । उनको कोइलीको झैँ मीठो स्वर विद्यार्थीलाई किताब घोकाउँदाघोकाउँदै ध्वस्त पनि भयो । शैक्षिक पेसाजस्तो जटिल र कठिन कामले एउटा होनहार गायिकाको गायनयात्रा नेपाली भाषाले गुमाउनुप¥यो । किनभने रानुदेवी अधिकारी जुन काममा लाग्यो त्यसमा पूर्ण रूपले निष्ठावान् हुन्थिन् । त्यसै ले उनी गीतसङ्गीतबाट टुक्रिएर एउटी असल गुरुआमा बनेकी थिइन् ।

रानुदेवी अधिकारीको स्वरमा सुन नै फल्थ्यो । उनको स्वरको तारिफ नेपालीले मात्र गरेनन् । उनको स्वरको प्रशंसा गर्ने मान्छे भारतमा पनि थिए । त्यसैले भारतीय सिनेजगत्का प्रसिद्ध सङ्गीतकार एस.एन.त्रिपाठीले रानुदेवी अधिकारीलाई हिन्दी चलचित्रमा गीत गाउन धेरै आग्रह गरेका थिए । साथै दिल्ली रेडियोबाट प्रसारण हुने नेपाली कार्य क्रममा नेपाली गीत गाउन पनि उनलाई प्रस्ताव आएको थियो । त्यति बेला उनको योग्यताको उचित मूल्याङ्कन गर्न खोजिँदा उनी आफ्नो कर्म भूमिबाट उम्कन पाएकी थिइनन् । पारिवारिक स्थितिलाई स्थिर राख्नका लागि पछिपछि उनको प्रतिभाले स्कुलकी शिक्षिकामा नै आफूलाई एकत्रित बनाउनुपरेको थियो ।

सरल व्यवहारले खारिएकी, सादा भावनाले बाँधिएकी र सौम्य जीवनले उठेकी रानुदेवी अधिकारीले नेपाली सङ्गीतमा चढाएको स्वरको पूmल अविस्मरणीय छ । नेपाली नारीहरू त्यतिखेर पनि कति स्वच्छन्दतामा उडेका थिए, बढेका थिए र हिँडेका थिए भन्ने कुराको एउटा दुरुस्त प्रमाण रानुदेवी नै थिइन् । उनी जति माथि चढिन् सामाजिक जागरणका लागि अरूलाई प्रेरित गर्ने हिसाबमा नै रहिन् । उनले त्यतिखेर फलामका चिउरा चपाउने जुन साहस गरिन् त्यस परिणामले उनी पछिल्ला पुस्ताका लागि पथप्रदर्शक नै भइन् । उनको त्यसै बेलाको गीतियात्रा नै सदासर्वदा स्तुत्य भयो ।

ईश्वरीप्रसाद उपाध्याय र इन्दिरा उपाध्यायका पाँचौँ सन्तानका रूपमा रानुदेवी अधिकारीको जन्म भएको थियो । उनी संवत् १९९३ सालको मङ्सिर ११ गते वीरगन्जमा जन्मेकी थिइन् । उनी सानैदेखि मीठो बोलोवचनले सुसज्जित थिइन् ।

रानुदेवीको बिहे तेह्र वर्षको उमेरमा तीर्थप्रसाद अधिकारीसँग भएको थियो । वैवाहिक जीवनमा बाँधिएपछि उनले पतिको सहयोग पाएर पढ्न थालिन् । वास्तवमा उनले बिहेपछि नै औपचारिक रूपमा गीत गाउन सुरु गरिन् । नेपाल प्रजातन्त्र रेडियोमा पनि उनले पतिकै स्वीकृति पाएर गीत गाएकी थिइन् । उनका पति निक्कै भलादमी, उदार र सह्दयी थिए । त्यसैले रानुदेवी अधिकारीले गीत गाउँदै पढ्न पनि पाइन् । पढ्दापढ्दै उनले इतिहासमा एम.ए. उत्तीर्ण गरिन् ।

रानुदेवी केही वर्षअघिदेखि अस्वस्थ्य थिइन् । खास गरेर अल्जाइमर्स र पार्किन्सन्सबाट उनी पीडित थिइन् । संसार कोरोनाले आक्रन्त भएको अवस्थामा नै उनले आफ्नो प्राण त्याग गरिन् । २०७७ साल वैशाख १८ गते राति काठमाडौंमा उनी स्वर्गीय भइन् ।

रानुदेवीले औपचारिक रुपमा थोरै गीत गाइन् । थोरै गीत गाएर पनि माथिको बादल छुन यी सफल थिइन् । रेडियो नेपालमा उनका नौ वटा गीत रेकर्डिङ भएका थिए । साथै नेपाल प्रजातन्त्र रेडियोबाट यिनले सैयौँ गीत गाएकी थिइन् । उनी गीतगायनमा जति उत्सर्गित थिइन् घरपरिवारमा चारैतिरबाट यिनलाई त्यत्तिकै सहुलियत पनि थियो । आफ्ना अगिपछिका संरक्षकहरूको साथ पाएर यिनले आफ्नो मीठो स्वर नेपाली गीतगायनका क्षेत्रमा रोप्तै गइन् । उनका गीत सुनेर उनका पति झनै मक्ख पर्ने गर्थे । वास्तवमा यो ममता रानुदेवी अधिकारीका लागि साक्षात् पुरस्कार थियो । त्यसैले पनि उनी गीत गाउनमा सरिक भइरहिन् । रानुदेवीको यो गीतियात्राले २०२३ सालमा बिदा मागे तापनि उनी आफ्ना अतीतका स्वर सुनेर पूर्व स्मृतिमा उड्ने गर्थिन्, बग्ने गर्थिन् र हिँड्ने गर्थिन् :

मेरो मुटुको माझमा कसको तस्बिर झल्कियो
कुन वेदनाको पीरले मनको घडा छल्कियो ।
(स्वर : रानुदेवी अधिकारी, सङ्गीत : हियालाल मण्डल र कालुराम, शब्द : तारिणीप्रसाद कोइराला)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी