» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » राजेन्द्र सुवेदी Rajendra Subedi

राजेन्द्र सुवेदी Rajendra Subedi

महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले भनेका थिए— ‘नेपाली समालोचना हराए राजेन्द्र सुवेदीलाई खोज्नु ।’ प्रा.राजेन्द्र सुवेदी त्यही स्तरका समालोचक थिए । वास्तवमा जुन कृतिको पृष्ठ पल्टायो उनी त्यहीँ कृतिको समालोचनागत धारणामा खरर बोल्न सक्थे, त्यसबारे लेख्न सक्थे र ती सबैको चिन्तनमा अर्को एउटा ठेली स्थापित गर्न सक्थे । उनी समालोचनाका अर्को एउटा आधिकारिक मेरुदण्ड थिए । उनको समालोचनाको विशेषता नै निष्पक्ष, निर्णयात्मक र ठोस टुङ्गोमा पुग्ने बिम्ब हो । त्यसैले महासमालोचक डा.त्रिपाठीले उनलाई नेपाली भाषासाहित्यको आधिकारिक र प्रामाणिक समालोचकका रूपमा सदैव प्रस्तुत गर्दै आए ।

राजेन्द्र सुवेदीको जन्म २००२ साल साउन १९ गते पाँचथरको अमरपुरमा भएको थियो । यिनका बुबा पद्मप्रसाद सुवेदी त्यस भेगका कर्मकाण्डी पुरेत थिए । साथै उनी कृषि व्यवसायमा पनि आबद्ध थिए । अनि पद्मप्रसादकी पत्नी राधिकाचाहिँ गृहणी थिइन् । यी दम्पतीले चार भाइ छोरा जन्माएका थिए; तीमध्ये जेठा राजेन्द्र सुवेदी र साहिँला होम सुवेदी साहित्य र प्राध्यापन पेसामा आबद्ध भए । अनि माहिला वासुदेव सुवेदी कर्मकाण्डी बाहुनमा परिचित भए भने कान्छा जीवन सुवेदीचाहिँ खेती, किसानीमा नै रमेका थिए ।

राजेन्द्र सुवेदी सानैदेखि हट्टाकट्टा थिए । उनी बाहिर देखिँदा हर्कुलसजस्तै बलिया थिए, फलामजस्तो अररो थिए र बाँसजस्तै सुरिलो थिए । शारीरिक उचाइमा उनी अग्ला थिए, उनी खरा त्यस्तै थिए तर उनको मन भने ज्यादै कमलो थियो । उनको वैयक्तिक चरित्रलाई उधिन्नुपर्दा उनी स्वाभिमानका प्रतीक थिए । उनी युवा अवस्थाको आरम्भमा चाहिँ कर्मकाण्डी बाहुन थिए ।राजेन्द्र सुवेदी शास्त्री पास गरेपछि प्रगतिशील विचारबाट प्रेरित भए । उनी सिद्धान्तका लखपति थिए । त्यसैले जीवनभरि उनी त्यही विचारधाराकै हिमायतीका रूपमा अटल भए । उनी धार्मिक, सांस्कृतिक र सामाजिक न्यायका कट्टर पक्षपाती पनि थिए । उनी आफ्ना विचारका प्रेरक पुष्पलालदेखि मदन भण्डारीसम्मका सामाजिक न्यायिक कुरालाई आफ्ना दुवै कानमा सिउरिन्थे । वास्तवमा उनी आफ्ना धार्मिक, सांस्कृतिक र सामाजिक आदर्शवाट कहिल्यै विचलित भएनन् । फराकिलो भावनाका कुवेर भएकैले उनी जुनसुकै विचारका व्यक्तिसँग पनि गद्र्धन जोड्थे । अनि पुष्पलालको दर्शनबाट प्रभावित भएर जुनसुकै विचारको अध्ययनलाई पनि उनले मूल मन्त्र ठानेका थिए । त्यसैले पनि उनी नेपाली भाषासाहित्यका फाँटमा सर्वाधिक प्रिय थिए । साथै प्राध्यापनका क्षेत्रमा पनि उनी त्यत्तिकै सम्मानित थिए ।

राजेन्द्र सुवेदी वक्तृत्वमा अब्बल थिए । नेपाली भाषासाहित्यको परिसरमा पुगेर भाषण गर्नु पर्यो भने उनी कलात्मक पारामा सुन्दर र प्रभावशाली ढङ्गबाट प्रस्तुत हुन्थे । उनको त्यही क्षमताका कारण उनले पढाएका विद्यार्थीहरू उनीसँग झुम्मिने गर्थे । उनका विद्यार्थी र पछिल्ला दिनमा उनीसँगै नेपाली केन्द्रीय विभागमा पढाउने प्राध्यापक डा.महादेव अवस्थीका अनुसार— ‘प्राध्यापक राजेन्द्र सुवेदीको प्राध्यापनकला प्रवाहमय, ओजपूर्ण, विश्लेषणात्मक र गहन थियो । सुवेदीको पाठ्य विषयवस्तुमाथि बलियो पकड थियो र विद्यार्थीहरूका माझमा तत्सम्बन्धी सामग्रीको विश्लेषण धाराप्रवाह रूपमा गर्न सक्ने खुबी थियो । सुवेदीको ओजपूर्ण र प्रवाहमय प्राध्यापनकला विद्यार्थीहरूका निम्ति अनुकरणीय थियो । सुवेदीका कैयौँ विद्यार्थीले त्यसको अनुसरण गर्ने चेष्टा गरेको पनि देखियो ।’ वास्तवमा सुवेदी आफ्नो पेसामा सफल मात्र थिएनन् अति सफल थिए ।

राजेन्द्र सुवेदी साहित्यिक सभासम्मेलन र गोष्ठीहरूमा सहभागी भइरहन्थे । उनी जहाँजहाँ पुग्थे त्यहाँत्यहाँ उनी दर्शक र श्रोताका आँखामा सग्लो भएर देखा पर्थेे । अनि उनले भाषण गर्ने ठाउँमा प्रायका कान उनका वाक्यवाक्यमा जोडिने गर्थे । वास्तवमा मान्छेको मन र दृष्टि आफूतिर आकृष्ट गर्न सक्ने उनको गज्जबको वाक्शैली एवम् प्रस्तुतिको क्षमता थियो र शारीरिक व्यक्तित्व पनि सोहीअनुरूप नै थियो ।

राजेन्द्र सुवेदीले नेपाली भाषासाहित्यका क्षेत्रमा आफ्नो वैशिष्ट्य कायम गरे । उनले कविता लेखे, निबन्ध लेखे र समालोचना लेखे । साहित्यमा उनी कथाबाट झुल्के तापनि उनको लेखनमा कथाको सिङ्गो कृति प्रकाशनमा आउन सकेन तर उनका तीनवटा उपन्यास प्रकाशनमा आए । त्यसै गरी उनीद्वारा लिखित नौवटा निबन्धसङ्ग्रह र एउटा जीवनीकृति पनि प्रकाशनमा आयो । साथै उनले तेह«वटा समालोचनात्मक कृति लेखे भने बीसवटा महत्त्वपूर्ण ग्रन्थहरूको सम्पादन पनि गरे । यी समग्र कृतिहरूबाट उनको विशिष्ट प्राज्ञिक व्यक्तित्व स्थापित भयो ।

राजेन्द्र सुवेदी सशक्त कवि थिए । उनले छन्दोबद्ध फुटकर कविता धेरै लेखे । सिङ्गो कृतिका रूपमा उनको ‘आत्मनिर्माण’ महाकाव्य प्रकाशित भयो । यसै महाकाव्यले उनको काव्यात्मक व्यक्तित्वलाई शिखरमा पु¥याइदियो । उनको यस कृतिका विषयमा प्राध्यापक केशव सुवेदीको धारणा छ— ‘चार दशकभन्दा लामो साहित्यसाधनाका पृष्ठभूमिमा जीवनका उत्तरवयमा सार्वजनिक भएको ‘आत्मनिर्माण’ महाकाव्य भरतद्वाजवंशीय सुवेदीकुलको आजको ‘म’लाई केन्द्रबिन्दु बनाएर रचिएको छ र यसमा आफ्नो वंशपरम्पराको सङ्घर्षपूर्ण यात्राका कथाशृङ्खलामार्फत सिङ्गो पौरस्त्य सभ्यतायात्राको सङ्क्षिप्त र सुन्दर काव्यात्मक रेखाङ्कन गरिएको छ, जहाँ सामाजिक, सांस्कृतिक एवम् समग्र मानवचेतनाको विकासका अनेक आरोह अवरोह तथा तिनका आधारभूत प्रवृत्ति र उपलब्धिको सुमधुर प्रतिध्वनि सुन्न सकिन्छ । यही सशक्त व्यञ्जनासौन्दर्यका साथै स्वतःस्फूर्त एवम् सहज वर्णमात्रिक छन्दढाँचा र कोमलकान्त सुललित भाषिक विन्यासबाट सुसज्जित ‘आत्मनिर्माण’ समकालीन नेपाली महाकाव्य परम्परामा सर्वाधिक शक्तिशाली काव्यकृति बन्न पुगेको छ ।’

राजेन्द्र सुवेदी समालोचनाका कृति लेखेर अनुसन्धान गर्नेहरूका माझ छिटै चर्चित, प्रसिद्ध र प्रिय भए । उनका समालोचनामा विषयवस्तुको बिम्बलाई स्पष्ट ढङ्गवाट प्रकाश पार्ने क्षमता देखिन्छ । उनको समालोचनात्मक लेखनमा जराभित्रै पुगेर उक्त कृतिको पूरै निक्र्यौल गर्ने पद्धति भेटिन्छ । त्यसैले उनको समालोचनाबारे कनिष्ठदेखि महासमालोचकसम्मले बखान गरेको पाइन्छ । उनका जम्मा तेह्रवटा समालोचनात्मक कृति प्रकाशनमा आए । उनी बहुत्ववादी समालोचक थिए । कृतिका अपेक्षाअनुसार यथोचित समालोचना सिद्धान्तका आडमा साहित्यिक कृतिहरूको समीक्षा गर्ने उनीभित्र व्यापक समालोचना समाथ्र्य थियो ।

राजेन्द्र सुवेदीले सम्पादनमा पनि कुशलता देखाए । उनका सम्पादनमा बीसवटा कृति प्रकाशित भए । तीमध्ये महाकवि देवकोटाकृत निबन्धसङ्ग्रह ‘दारिमको रूखनेर’ र ‘डा.वासुदेव त्रिपाठी : स्रष्टा एक द्रष्टा अनेक’ अति महŒवपूर्ण कृति मानिन्छन् । उनीद्वारा सम्पादित प्रायः सम्पूर्ण कृति उल्लेख्य नै भए ।

राजेन्द्र सुवेदीले भारतको कालेबुङबाट उत्तरमध्यमा र बनारसबाट शास्त्री गरे । यिनले ट्युसन पढाएर पढे, कर्मकाण्ड र जजमानी गर्दै पढे । अनि यिनले विभिन्न स्कुलमा पढाएर पनि पढे । एमए पढ्न उनी काठमाडौँ आए र त्यसै बेला बनेपाको आजाद हाईस्कुलमा पढाउन पुगे । त्यस स्कुल र पहाडतिरका स्कुलमा पढाएको पैसा जोहो गरेर उनले एमएको अध्ययन गरेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट २०३० सालमा एमए पास गरे ।

राजेन्द्र सुवेदीले एमए पास गरेपछि त्रिभुवन विश्वविद्यालयमा ३७ वर्ष पढाए । त्यसै कालखण्डमा उनी महेन्द्ररत्न क्याम्पस इलाममा क्याम्पस प्रमुख र त्रिभुवन विश्वविद्यालयको नेपाली विभागका प्रमुखसमेत भए । पछिल्ला दिनमा उनी कोटेश्वर बहुमुखी क्याम्पसका प्रमुख पनि भए । त्यो क्याम्पस उनैको योजना, पहल र नेतृत्वमा खोलिएको थियो । उनी गोरखापत्र संस्थानका अध्यक्ष तथा महाप्रबन्धक पनि भएका थिए । साथै त्रिमूर्ति निकेतनको लेखनाथ पौड्याल काव्यसभाको संयोजकका रूपमा पनि उनले यथेष्ठ काम गरे ।

राजेन्द्र सुवेदीले जीवनभरि साहित्य साधना गरेबापत केही सम्मान तथा अभिनन्दन प्राप्त गरे । साथै उनी भानुभक्त प्रज्ञापुरस्कार, झपट पुरस्कार, नइ ईश्वर बराल पुरस्कार तथा भानुभक्त स्वर्णपदक, त्रिमूर्ति पदक, देवकोटा शताब्दी स्वर्णपदक र सत्यमोहन जोशी शताब्दी पदकबाट पनि विभूषित भए ।

राजेन्द्र सुवेदी विकासवादी थिए । उनी जहाँ पुगे पनि केही न केही विशिष्ट कर्म गरेर आफ्नो पहिचानको बिम्ब छाड्ने उनको सिद्धान्त देखिन्थ्यो । नेपाली केन्द्रीय विभागका प्रमुख भएका बेला उनैको पहलमा नेपाली विषयमा एमफिल तहको पठनपाठन सुरु गर्न उनी सफल भएका थिए । यिनले त्रिचन्द्र कलेज र रत्नराज्यलक्ष्मी क्याम्पसमा पनि पढाए ।

राजेन्द्र सुवेदीको बिहे २०१६ साल फागुन २३ गते इन्दिरा अधिकारीसँग भएको थियो । त्यसै प्रसङ्गमा श्रीमती इन्दिरा सुवेदीले भनेकी थिइन्— ‘मेरा पुरुषको जन्म २००२ साल होइन; २००० साल साउन १९ गते हो । बिहे हुँदा म ११ वर्षकी थिएँ । मेरा बुबा पाँचथर सुभाङका सोमनाथ अधिकारी र आमा मन्दोदरा अधिकारीले हामी दुवैको गोडा धोएर मलाई कन्यादान गरेका थिए ।’ यी दम्पतीले दुई छोरी पुष्पा, भूमिका र एक छोरा कमल सुवेदी जन्माए । कमल सुवेदीचाहिँ पुस्तक प्रकाशन र त्यही विषयकै व्यापारमा लागे । उनी साझा प्रकाशनसँग समेत सम्बन्धित भएर नेपाली भाषाको सेवामा नै समर्पित देखिए ।

उत्साह, ऊर्जा र प्रेरणाका प्रतिमूर्तिका रूपमा सक्रिय जीवन यापन गरिरहेका प्रा.राजेन्द्र सुवेदीलाई पनि उनीभन्दा बलियो बनेर कोरोना भाइरसले आक्रमण ग¥यो । जीवन यापनका क्रममा कैयन् सामाजिक युद्धमा उनी विजयी नै थिए । केही वर्षदेखि मधुमेह पीडित प्रा.राजेन्द्र सुवेदीले कोभिडसँगको युद्धमा चाहिँ पराजय भोग्न बाध्य हुनुप¥यो । अन्ततः कोरोना महामारीले नै नेपाली भाषासाहित्यका क्षेत्रमा अर्को अपूरणीय क्षति गराई छोड्यो । आफ्ना अमर कृति र कीर्तिमा कालजयी प्रा.राजेन्द्र सुवेदीको भौतिक चोला २०७८ साल जेठ ३ गते बिहानै यस धराबाट विलीन भयो ।
राजेन्द्र सुवेदीका कृति
उपन्यास
१. सुद्युम्न (२०३१),
२. स्वप्नसंसार (२०३३),
३. धितो कोख (२०७६),निबन्धसङ्ग्रह
४. खाली सिसी पुराना कागत (२०४९),
५. आफ्नो यात्रा ः आफ्नै परिवेश (२०५४),
६. अब मेरो क्यासेट बन्द हुन्छ (२०५६),
७. गुडबाई छोडिजानेहरूलाई (जीवनीसमेत ः २०६५),
८. म अाैँला नकाटिएको एकलव्य (२०६५),
९. निबन्ध किशोर (२०६९),
१०. जीवन : गोप्य सिलबन्दी खाम (२०७१),
११. तीर्थपर्यटन (२०७१),
१२. सम्राट्का सीमाभित्र र बाहिरका भानुभक्त (२०७२),
जीवनी
१३. अनन्त यात्रा (बुबाआमाको जीवनी ः २०७०),
महाकाव्य
१४. आत्मनिर्माण (२०७०),
समालोचना
१५. विषय गहन सतह चिन्तन (२०३८),
१६. स्रष्टासृष्टि द्रष्टादृष्टि (२०४३),
१७. समवर्ती साहित्यकार र झपटबहादुर राणा (२०४८),
१८. केही समीक्षण केही विश्लेषण (२०४९),
१९. नेपाली उपन्यास : परम्परा र प्रवृत्ति (२०५३),
२०. सृजनात्मक लेखन : सिद्धान्त र विश्लेषण (२०५७),
२१. नेपाली समालोचना परम्परा र प्रवृत्ति (२०६१),
२२. काव्य निबन्ध केन्द्रका देवकोटा (२०६६),
२३. चलचित्र सिद्धान्त र नेपाली चलचित्र (२०६९),
२४. समसामयिक नेपाली उपन्यास (२०६९),
२५. सांस्कृतिक अध्ययन र नेपाली साहित्य (२०७२),
२६. नरेन्द्रराज प्रसाईकृत एकल जीवनीको विश्लेषण (२०७३),
२७. आख्यानकार इन्दिरा प्रसाई ः सिर्जना र दृष्टि (२०७७),
सम्पादन
२८. समसामयिक साझा कथा (२०४१),
२९. दारिमको रूखनेर (देवकोटाका निबन्ध ः २०४१),
३०. धुवचन्द्र गौतमका प्रतिनिधि कथा (२०४१),
३१. स्रष्टा देवकोटा द्रष्टा परिवेशमा (२०४३),
३२. नेपाली हास्यव्यङ्ग्य निबन्ध (२०४६),
३३. स्नातकोत्तर नेपाली कथा (२०५१),
३४. स्नातकोत्तर नेपाली निबन्ध (२०५१),
३५. चालीसको दशकका नेपाली कविता (२०५१),
३६. सूक्तिसिन्धु (पुनः सम्पादन : २०५५),
३७. प्रियदर्शिका ( पुनः सम्पादन : २०६३),
३८. नेपाली निबन्ध र अन्य विधा (भाग २ : २०६६),
३९. रत्न बृहत् नेपाली समालोचना (सैद्धान्तिक खण्ड : २०६९),
४०. रत्न बृहत् नेपाली समालोचना (प्रायोगिक खण्ड : २०६९),
४१. प्रज्ञा नेपाली समालोचना (२०६९),
४२. डा.वासुदेव त्रिपाठी : स्र्रष्टा एक द्रष्टा अनेक (२०६९),
४३. समालोचकहरूका आँखामा हरिहर खनाल (२०७०),
४४. समालोचना वृत्तमा खेमनाथ दाहाल (२०७२),
४५. स्रष्टा होम : द्रष्टा अनेक (२०७२),
४६. सङ्गीत चन्द्रोदय ( पुनः सम्पादन : २०७२),
४७. उषा चरित्र र मनोद्वेग प्रवाह (पुनः सम्पादन : २०७२) ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी