» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

योगेश वैद्य Yoges Baidhe

सपना भुलाई सारा आँसु पिएर जाऊ
मन्दिरमा छ तिम्रो तसबिर लिएर जाऊ ।
(स्वर : योगेश वैद्य, सङ्गीत : नातिकाजी, शब्द : शिव अधिकारी)

कुनै एउटा यस्तो समय थियो जुन समयमा योगेश वैद्यका गीतमाला श्रोताहरूका लागि प्रिय हुन्थे । उनको त्यो रहरलाग्दो स्वर त्यसपछि पनि जीवन्त भयो । त्यो स्वर नेपालीका मन र मस्तिष्कमा सधैँ जोडिइरह्यो । उनी पनि गीत गाउनमा नै सक्रिय भइरहे । गीत गाउनमा मात्र उनको नाउँ चलेन उनी सङ्गीतकारका रूपमा पनि प्रवेश भए, त्यसका साथसाथै उनी गीतिरचनाकारका रूपमा पनि देखापरे । साङ्गीतिक पथमा हिँड् दै जाँदा वै द्यले जम्मा तीन सय पचासवटा गीत गाए, केही गीत लेखे र केही गीतहरूमा सङ्गीत पनि प्रदान गरे ।

संवत् २००३ साल नागपञ्चमीका दिन काठमाडौँको नरदेवीमा योगेश वैद्यको जन्म भएको थियो । इन्दिरानन्द वैद्य र रुक्मिणी वैद्यका छ बहिनी छोरी थिए र दुई भाइ छोरामा चाहिँ योगेश वैद्य जेठा थिए ।

योगेश वैद्य बाल्यकालदेखि नै सङ्गीतमा मरिमेट्थे । त्यति बेलादेखि नै उनको धून, ताल र चालचलन सङ्गीतप्रति नै झुकेको थियो । खास गरेर उनी काठमाडौँस्थित शान्ति निकुञ्ज विद्यालयमा पढ्दा स्कुलका सांस्कृतिक कार्य क्रमहरूमा आफ्ना मधुर स्वरहरू अर्प ण गर्ने गर्थे । उनको स्वरले त्यतिखेर नै उनी आफ्नो टोल र आफूले पढेको स्कुलमा राम्ररी परिचित भएका थिए । किशोरावस्था पार लाग्दा नलाग्दै उनी एउटा राम्रो गायकमा स्थापित भइसकेका थिए । वास्तवमा उनको स्वरको लालित्यको जोकोही सङ्गीतका पारखीले पनि वर्णन गर्थे ।

योगेश वैद्यले स्कुल पढिरहेकै बेला सङ् गीतप्रवीण नरराज ढकालसँग साङ्गीतिक तालिम लिए । ढकालको शास्त्रीय तालमा त्यतिखेर वैद्य घोटिनुसम्म घोटिएका पनि थिए । त्यही पूर्वाधारले गर्दा वैद्यको सङ्गीतयात्राले राम्ररी जरा हालेको थियो । पछि उनले फेरि दर्शनदास श्रेष्ठसँग पनि सङ्गीतको तालिम लिए । उनले जतिजति सङ् गीतको व्यावहारिक शिक्षा लिए उनी त्यतित्यति खारिन पनि थाले ।

योगेश वैद्य विभिन्न साँस्कृतिक मञ्चहरूमा गीत गाइसकेपछि मात्र रेडियो नेपाल प्रवेश भएका थिए । उनी युवावस्थाको कलकलाउँदो गुबो बोकेर रेडियो नेपाल पुगेका थिए । उनले रेडियो नेपाल पुगेर ‘कति प्यासी छ जिन्दगी’ गीत गाउन थालेपछि उनको औपचारिक गीतगायनको आरम्भ भयो । त्यसपछि उनी गायनक्षेत्रमा राष्ट्रिय स्तरमा देखा पर्न थाले । उनका गीत फेरिफेरि पनि रेडियो नेपालको स्टुडियोमा रिकर्डिङ भइरहन थाले । उनी जतिजति गीत गाउँथे त्यतित्यति उनको गीतको प्रशंसा हुने गथ्र्यो । वास्तवमा उनको स्वरमा पालिस लाउनु पर्दैनथ्यो । अथवा भनौँ उनको स्वरबाट प्रस्फुटित अकबरी गीतलाई कसी लगाउनुपर्दै नथ्यो । उनी गाइरहन्थे, रेडियो नेपालले उनको गीत बजाइरहन्थ्यो र श्रोताहरूले ती गीत सुनिरहन्थे । योगेश वैद्यको गायनप्रति श्रोताहरूको मत भेटिन्छ “वैद्यको गीतभित्र राष्ट्रियताको धुकधुकी भेटिन्छ, नेपालप्रतिको माया पाइन्छ र राष्ट्रको एउटा सग्लो परिचय देखिन्छ” :

नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी
अपनाऊ या नअपनाऊ तिम्रै छ सर्वस्व जेजति ।
(स्वर : योगेश वैद्य, सङ्गीत : नातिकाजी, शब्द : मवीवि शाह)

योगेश वैद्य बीएस्सी पढेताका उनको भेट तैयारा बानु नाउँकी एउटी किशोरीसँग भएको थियो । त्यतिखेर तैयाराचाहिँ एस्एल्सीका लागि पढाइमा जुटिरहेकी थिइन् । योगेश वैद्य त्यति बेला तन र मनबाटै तैयारासँग आकर्षित भए । वास्तवमा त्यस बेला उनीहरूबीच प्रकृति र पुरुषको आकर्षणले एकअर्काको दिलमा झड्का हानेको थियो । त्यसताका उनीहरूबीचको प्रेमले उनीहरूको ह्दयलाई एकअर्काप्रति टमक्कै बाँधेको थियो । त्यतिखेर उनीहरू एकअर्कालाई कहिल्यै नछोड्ने वाचाबन्धनमा टमक्कै बाँधिएका थिए । त्यसैले संवत् २०२८ साल मङ्सिर १७ गते उनीहरू औपचारिक रूपमा लोग्नेस्वास्नी भएका थिए । त्यतिखेर तैयारा बानुले चाहिँ उन्नाईस वर्ष मात्र टेकेकी थिइन् ।

योगेश वैद्यले अदालती बिहे गरेका थिए । उनी आफ्नी प्रेमिका तैयारासँग जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाँदा उनीहरूको नैतिक समर्थनका लागि त्यहाँ बच्चुकैलाश, पुष्प नेपाली, प्रेमध्वज प्रधान, हिरण्य भोजपुरेलगायतका सङ्गीतकर्मीहरूको उपस्थिति थियो । साथै योगेश र तैयाराको सुरक्षार्थ त्यहाँ अमृत साइन्स कलेजमा अध्ययरत विद्यार्थी हरूको पनि भीड लागेको थियो ।

धर्मको गणित जोडिन जाँदा तैयारा मुसलमान भए तापनि र योगेश हिन्दू भए तापनि उनीहरूको मुटुचाहिँ प्रेममा समर्पित थियो । त्यतिखेर मानवतावाद जिन्दाबादमा उनीहरूको भावनाले नारा लगाउने गथ्र्यो । त्यसैले घरपरिवार, समाज, धर्म र रीतिरिवाजलाई त्यति बेला उनीहरूको मनले तिलाञ्जलि दिएको थियो । यसैकारणले उनीहरूलाई जीवन परिचालनार्थ थुप्रै सङ्घर्ष पनि खेप्नुप¥यो । त्यति बेलादेखि झन्डै डेढ दशकसम्म सामाजिक र पारिवारिक द्वन्द्वमा योगेश वैद्यले आफ्नो जीवनलाई कठोरतापूर्वक परिचालन गरेका थिए ।

योगेश वैद्यले वनस्पतिशास्त्रमा एम्एस्सी गरे । साथै उनले बेल्जियमबाट खाद्यविज्ञान तथा पोषणमा पुनः स्नातकोत्तर तहको अध्ययन पूरा गरे । उनकी पत्नीले पनि एस्एल्सी पछि आईए र बीए पनि उत्तीर्ण गरेकी थिइन् । तैयारा वैद्यले यी तीनै चरणका परीक्षामा ऐच्छिक नेवारी विषय पढेकी थिइन् ।

वैद्यदम्पतिले तीन जना सन्तान जन्माए– लब्लिन, जस्मिन र लोकेश । जीवनमा जति नै रुढिवादीको चोट भेटे पनि शान्त, सुखद र उज्यालो घरपरिवारमा वैद्यले क्रमशः जीवन भुक्तान गरिरहेको थियो । आफ्नो प्रिय पत्नी र छोराछोरीसँग उनी त्यही रमाइलो संसारमा आफ्ना भावना फुकाइरहन्थे । कवितालेखनमा पनि लागिपरेका हुँदा उनी आफ्नो काव्यसंसारभित्र आफ्नी पत्नी र छोराछोरीलाई बराबर प्रवेश गराउँदै फेरि आफ्नो स्वर प्रस्तुत गर्थे :

मुखले पोखेको पिरतीभन्दा तिम्रो गहिरो आँखाको कसम देऊ
ओठले छरेका मुस्कानभन्दा तिम्रो न्यानो मायाको कसम देऊ ।
(स्वर : योगेश वैद्य, सङ्गीत र शब्द : जी शाह)

सङ्गीतजगत्मा समर्पित हुँदैजाँदा योगेश वैद्य २०२६ सालमा आधुनिक नेपाली सङ्गीतसम्मेलनमा पनि सहभागी भएका थिए । त्यस बेला उनी स्वरमा दोस्रो भई राजा महेन्द्रद्वारा पुरस्कृत भएका थिए । त्यसपछि उनी राजाको निम्तो पाएर बेलाबेला राजदरबार पनि गीत गाउन पुग्न थाले । राजासमक्ष गीत गाएर उनी झनै उमङ्गित र उत्साहित हुन्थे । उनको स्फूर्तिले उनी गीतियात्रामा झनै उँभो लाग्दै गए । गायनमा समर्पित हुँदै जाँदा २०२८ सालमा राष्ट्रिय गीत सम्मेलनमा उनी प्रथम भएका थिए । विभूषण र पुरस्कारकै कुरा गर्ने हो भने उनले राजाबाट प्रसिद्ध गोरखादक्षिणबाहु र विख्यात त्रिशक्तिपट्ट पाए । अनि उनले छिन्नलता गीत पुरस्कार पनि पाए । दिवङ्गत हुनुभन्दा तीन दिनअघि उनले धुस्वाँ सायमि पुरस्कार पाएका थिए । उनी माघ ४ गते राजधानी काठमाडौँमा स्वर्गीय भए । उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको थियो ।

योगेश वैद्यद्वारा रचित गीतका हरपहरूको बालकृष्ण सम पनि प्रशंसा गर्थे । त्यसैले समसँग पनि यिनको घनिष्ठता थियो । वैद्य जति गीत लेख्थे कविता पनि त्यतिकै लेख्ने गर्थे  । वास्तवमा उनी कवि गायक थिए, कवि सङ्गीतकार थिए र कवि गीतकार थिए । त्यसैले उनका गीत काव्यात्मक हिसाबका र कर्ण प्रिय हुन्थे ।

योगेश वैद्यलाई गायनमा एडिक्शन थियो । एक पटक ईश्वरवल्लभको रचना ‘धेरै भइसके जीवनमा पीडा’ गाउँदागाउँदै उनी त्यहीँ भक्कानिएर रोएका थिए । साँच्चै हो, उनी गीतिरचनाको मर्म बुझ्ने गायक थिए । उनले नेपाली र नेपालभाषामा धेरै गीत गाए । तर उनले गीतगायनलाई सोखका रूपमा मात्रै ग्रहण गरेको देखियो । वास्तवमा उनले पेसागत रूपमा चाहिँ सरकारी नोकरीलाई नै रोजे । त्यहीअनुरूप उनी खाद्य अनुसन्धानशालामा प्रवेश भए । त्यसपछि उनी लड्दै पड्दै श्री ५ को सरकारको प्रथम श्रेणीको अधिकृतमा पुगे । उनी वनस्पति विभागको उपमहानिर्दे शक पदमा कार्यरत भए । उनले प्राविधिक विषयका सातवटा पुस्तकहरू पनि लेखे ।

नेपाली परिवेशमा एउटा धेरै पढेलेखेका विद्वान् , एउटा माथिल्लो ओहदाका जागिरे र एउटा नामी गायकका रूपमा चिनिएका व्यक्तित्व योगेश वैद्य जति भ¥याङ चढे पनि उनमा कहिल्यै घमण्ड पलाएन । वास्तवमा उनी झट्ट हेर्दा पनि त्यत्तिकै सरल देखिन्थे । उनी त्यागमय जीवनका एउटा अलङ्कार पनि थिए । उनका लागि सबै भन्दा ठूलो धर्म इमान थियो । त्यसैले उनी सबैका प्रिय पनि बने । उनले कसैलाई बिझाएनन् बरु अरूअरूबाट उनलाई चिमोट्ने काम भइरह्यो ।

नेपाली साङ्गीतिक आकाशमा योगेश वैद्यको स्वर नसुन्ने, नबुझ्ने र नजान्ने मान्छे बिरलै होलान् । वैद्य नेपालका सुगम र दुर्गम गाउँठाउँ, सहरबजार जतासुकै चल्तीमा आएका गायक हुन् । उनको स्वर अनि सङ्गीतको पनि तारिफ गर्ने धेरै श्रोता छन्  । उनी राम्रा गायकमात्र नभएर सफल गीतकार र सङ्गीतकार पनि थिए :

बितेका मेरा दिनहरू किस्सा बनिसके
मेरा जिन्दगीका घाउहरू अब दाग बनिसके ।
(स्वर, सङ्गीत र शब्द : योगेश वैद्य)

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी