» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » युद्धप्रसाद मिश्र Yuddha Prasad Mishra

युद्धप्रसाद मिश्र Yuddha Prasad Mishra

युद्धप्रसाद मिश्र सुरुमा गान्धीवादी थिए । प्रौढ काल टेकेपछि उनले माक्र्सवादी सिद्धान्त पढे र उनी त्यतै ढल्के । उनको लेखन सुरुमा स्वच्छन्द थियो । उनी प्रकृतिवादी कविमा दरिएका थिए । पछि उनी प्रगतीवादी लेखकमा स्थापित भए ।

मिश्रको काव्यात्मक व्यक्तित्वको सबैभन्दा ठूलो विशेषता के थियो भने उनी लोभमा कहिल्यै फसेनन् । उनी भोकले मूर्छा परे तर उनले कुनै शासकको स्तुति गाएनन् । उनी स्वाभिमानले भरिएका थिए र नेपाली समाजलाई टड्कारो बुझ्ने जनपक्षीय कवि थिए । जीवनको उत्तरार्धमा उनले जनव्यथालाई आफ्ना लेखनको विम्ब बनाए । त्यसैले उनी वामपन्थीका आड हुन थाले । उनको लेखेको गीतको बोल ‘रक्तक्रान्तिको ज्वालामुखीमा आज उठेको यो बलिदान’ प्रगतीशीलहरूको थेगो नै बन्यो ।

प्रगतिशीलहरूले मिश्रलाई सांस्कृतिक शिर माने । अनि गैरकम्युनिस्टहरूले उनलाई मूर्धन्य स्रष्टा माने । भूगोलको जुनसुकै सीमा पुगे पनि र सिद्धान्तको जुनसुकै धरातल टेके पनि बाँचुन्जेल उनले आफ्नो सृजनालाई उकासी रहे । अनि आफ्नो यात्रामा घस्रिनेक्रममा उनले कसैसँग सिङ्गौरी पनि खेलेनन् र कोहीसँग पौठीजोरी पनि खेलेनन् ।

मिश्रको जन्म १९६४ सालको पुसमा भक्तपुरको सोमलिङ्गटारमा भएको थियो । उनी राइटर रुद्रप्रसाद मिश्र र गीताकुमारीका एक्लो छोरा थिए । यी डेढ वर्षको छँदै यिनका बुबा स्वर्गीय भए । पैतृक सम्पति हुँदाहुँदै पनि यिनले बाल्यकालमा सारै दुक्ख पाए । तर त्यही दुक्खको प्रतिबिम्बमा नै उनले ज्ञानआर्जन गरे । त्यही ज्ञानको अथाहा भण्डारबाट उनी नेपाली संसारमा युद्धप्रसाद मिश्रमा स्थापित भए । जुन नाउँलाई नेपाली साहित्यका मर्मज्ञले सम्मान र आदर गरे ।

मिश्रले दरबार हाइस्कुलमा पढे । त्यहाँबाट उनले तीन पास गरे । शिक्षा आर्जनहेतु उनलाई आफन्तले बनारस पनि लगे । त्यहाँ उनले संस्कृत, हिन्दी र अङ्ग्रेजीभाषा पढे । त्यस घडी उनी तेह« वर्षका थिए । केही वर्ष त्यता हल्लिएपछि उनी काठमाडौं नै आए ।

मिश्रको घरको आर्थिक अवस्था धरासायी थियो । त्यसैले उनी नाकेरीमा लागे । त्यतिबेला उनी नौसिन्दाको पदमा कुमारीचोक अड्डामा कार्यरत थिए ।

काठमाडौं भोटाहिटीका मधुवन देवकोटाकी छोरी लोककुमारीसँग मिश्रले २२ वर्षको उमेरमा दाम्पत्य जीवनको कसे । यी दम्पतिबाट ४ छोरा र ५ छोरी जन्मे । घरिघरि छोराछोरी जन्मदा यिनको आर्थिक अवस्था झनै भताभुङ्ग हुन थाल्यो ।
घरको बिग्रिएको आर्थिक अवस्थालाई केही चाम्रो पार्ने काम उनको जागिरबाटै भयो । जागिरबाट एकातिर उनको दैनिक घरखर्च चल्थ्यो भने अर्कोतर्फ जागिरलाई उनले भविष्यको सुरक्षाको बाटो पनि ठानेका थिए । तर जागिर खाएको तीन वर्षमै उनको सपना हुरीबतासले उडायो । त्यसपछि उनी भीमशमशेरकी उपपत्नी सीता राणाको ढुकुटी हेर्ने बहिदारमा भर्ना भए । त्यहाँ पनि उनी मुस्किलैले चार वर्ष टिके । केही वर्ष ढाक्रेको जीवन भुक्तान गरेर उनी जागिरको खोजीमा वीरगन्जतिर हान्निए । त्यहाँ उनले सुवेदारको जागिर पाए ।

वीरगन्जमा मिश्र भित्रभित्रै नेपाली राष्ट्रिय काङ्ग्रेसमा लागे । उनको त्यो सिद्धान्तबाट वीरगन्ज सर्कल कार्यालय सनसनी थियो । त्यसैघडी उनले ‘अहिंसा प्रार्थना’ भन्ने कविता लेखे । यो कविता भीमशमशेर महाराजकोमा दाखिला गरियो । राणाले त्यो काव्य आफ्नै हातले आगोमा झोसिदिए ।

मिश्रले राणाका विरोधमा सुरुङ खन्दै गरेको बेहोरा महाराज पद्मशमशेर राणामा पनि जाहेर भयो । राणाले ‘त्यस बाहुनलाई जेलमा कोची दे’ भन्ने हुकुम दिए । अनि जागिरबाट सिधै उनलाई लाठी बजार्दै जेलखाना पु¥याइएको थियो । जेलमा बसेताका पनि उनले क्रान्तिकारी कदम चाले । त्यतिबेला विभिन्न माग राखेर उनी २१ दिनसम्म अनसनमा गरे । त्यही कारणले उनी थला परे । अनि उनलाई विश्वेश्वरप्रसाद कोइरालाको बुताले औषधी गर्न तुरुन्तै पटना पु¥याइएयो । झन्डै साढे दुई वर्ष जेल बसेर फुस्केकाले पटनाबाट फर्केर उनी रक्सौलमा आएर बसे । राणाशासन खेर गएपछि उनी फेरि वीरगन्ज पसे र त्यसैबेलादेखि खरदारको जागिरमा झुन्डे ।

जागिरको परिवेशमा मिश्रको नाउँ इमानदारमा चलेको थियो । उनको त्यो हल्ला राजा त्रिभुवनको कानसम्म पनि पुग्यो । अनि उनको इमानको कदर गर्दै राजाको ठाडो हुकुमले उनी सुब्बामा बढुवा भए । यो विषय वीरगन्जको नेपाली काङ्ग्रेसका केही नेताका आँखामा खुर्सानी परेझै भयो । अनि उनका ती विरोधीले त्यहाँको नेपाली काङ्ग्रेस पार्टीमार्फत उनलाई भ्रष्टाचारको मुद्दामा झोसिदिए । त्यसपछि उनलाई काठमाडौं ल्याएर हिरासतमा राखियो । धेरै समय मुद्धा चल्यो र अन्ततः उनले सफाइ पाए । त्यसपछि पनि उनी त्यही जागिरको फेरोमा आवद्ध भइरहे । २०१८ सालमा जागिर छाडेर उनी बनारस लागे ।

वनारसमा मिश्र काङ्ग्रेस र कम्युनिष्टहरुसँग बराबरी लहसिन थाले । त्यसैबेला उनको भेट पुष्पलालदेखि मोदनाथ प्रश्रितसम्म भयो । अनि यी दुई भाइले यिनलाई माक्र्सवादी सिद्धान्तमा एकाहोे¥याए र त्यही विद्या पढाउन थाले । यिनले पनि ध्यान दिएर त्यही सिद्धान्त रट्न थाले । उनी क्रमशः नेपाल कम्युनिष्ट पार्टीमा नै समर्पित हुन पनि थाले । त्यसैबेला त्यहाँ पुष्पलाल, मोदनाथ प्रश्रित र युद्धप्रसाद मिश्रको पहलमा ‘नेपाली जनवादी क्रान्तिकारी साँस्कृतिक सङ्घ’को स्थापना भयो । अनि त्यस सङघको अध्यक्ष मिश्रलाई नै बनाइयो । त्यसपछि उनी एकोहोरो भएर कम्युनिष्ट सिद्धान्तकै जयजयकारमा लागे ।

वनारसबाट नेपाल फर्केपछि कम्युनिष्टहरुमाझ मिश्रको हैसियत एक बाँस अग्लो भयो । त्यसैले उनले बोलेपछि प्रगतीशील स्रष्टाहरु राँके जुलुसमा समेत रुपान्तरित हुन्थे । त्यही क्रममा २०४६ सालमा उनले निर्दलीय पञ्चायती व्यवस्थाको विरोधमा स्रष्टाहरूको नेतृत्व गरे । ८२ वर्षीय मिश्रको त्यस बेलाको उत्साहले चन्द्रमा छोएको थियो । उनको त्यो मनोबल वाङ्मयकर्मीका लागि मात्र नभएर राजनीतिज्ञका लागि पनि औषधीका रुपमा स्थापित देखिन्थ्यो ।

शारदाकालीन चर्चित कवि मिश्रको प्रथम रचना १९८८ सालको गोर्खापत्रले ‘विद्यार्थीशिक्षा’ शिर्षकमा प्रकाशित गरेको थियो । कृतिहरूका हकमा उनका काव्यमा ‘चरा’ १९९४, ‘मुक्तिरामायण’ २०२७, ‘मुक्त सुदामा’२०२८, ‘बाढी’ २०२९, ‘युद्धप्रसाद मिश्रका कविता’ २०४८ र ‘अमरकथा’ कथासङ्ग्रह २०१५ प्रकाशनमा आयो ।

मिश्रका बारेमा धेरैले धेरै कुरा लेखे । तर उनीबारे मुटु फुटाएर वकालत गर्ने स्रष्टाहरू तारानाथ शर्मा, घटराज भट्टराई, जनकप्रसाद हुमागाईं, पशुपतिप्रसाद तिमिल्सेना र वासुदेव अधिकारी नै देखिए ।

नेपाली भाषासाहित्यका महारथी युद्धप्रसाद मिश्रका नाउँमा ‘युद्धप्रसाद मिश्र प्रतिष्ठान’ पनि स्थापना भयो । त्यसै संस्थाबाट उनका नाउँमा हरेक वर्ष नेपाली वाङ्मयकर्मीहरू माल्यार्पित भइरहने गर्छन् ।

नेपाली भाषासाहित्यमा खट्ताखट्तै मिश्र थला परे । उपचारार्थ उनलाई वीर अस्पतालमा भर्ना गरिएको थियो । त्यसैघडी उनीलाई मस्तिष्कमा रक्तस्राव भयो । अनि २०४७ साल फागुन ६ गते त्यहीँ उनको प्राण गयो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी