» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » यादवप्रसाद पन्त Y.P. Panta

नइको चिनारी


यादवप्रसाद पन्त Y.P. Panta

डा. यादवप्रसाद पन्त सरलका गुरु थिए, शिष्टका साथी थिए र मृदुका नमुना थिए । नेपालमा भद्रभलाद्मी पनि मन्त्री भए भने उनै पनि एक भए । नेपाल राष्ट्र बैंकमा इमान्दार गभर्नर भए भने उनी पनि एक भए र योग्यताबाट कोही राजदूत भएका थिए भने उनै पनि बिरालाकोटिमा देखा परेका थिए । सज्जनको खोजी गरिँदा दर्लभ बिउमा उनको नाउँले पनि ठाउँ पाएको थियो ।

पन्तको जन्म १९८२ साल मङ्सिर २ गते काठमाडौँमा भएको थियो । उनी विष्णुप्रसाद र भीष्मकुमारीका एउटै सन्तान थिए । अनि उनले सत्र वर्षको उमेरमा सरदार रुद्रराज पाण्डेकी छोरी रमासँग लगनगाँठो कसे । त्यसपछि यिनको जीवनमा ससुरालीको पनि थप प्रभाव पर्‍यो । किनभने यिनका ससुरा एउटा अर्का विशेष व्यक्तित्व थिए ।

पन्त सानैदेखि अनुशासित थिए । बाल्यकालदेखि नै उनी पढ्नमा बढी समय दिन्थे । खास गरेर अर्थशास्त्रको अध्ययनमा यिनले मिहिनेत गरे । परिणामस्वरूप उनले त्यसैमा भारतको बनारस हिन्दु विश्वविद्यालयबाट विद्यावारिधि गरे र नेपालमा पहिलो पिएचडी गर्ने उनै देखा परे । पिएचडी गरेको चौबीस वर्ष पुगेपछि उनलाई सोही विश्वविद्यालयले डीलिटको उपाधि पनि प्रदान गर्‍यो ।अर्थशास्त्रमा डीलिट पाउने पहिलो नेपाली पनि उनै भए ।

पिएचडी गरेपछि पन्तले त्रिचन्द्र कलेजमा पढाए । समयक्रममा उनी योजनाकारमा पनि प्रस्तुत भए । नेपालमा विकास योजनाको आरम्भसँगसँगै उनी राष्ट्रिय योजना आयोगको सदस्य भए । त्यति मात्र होइन उनी सरकारको योजना र आर्थिक कारोबारका मुख्य सल्लाहकारमा पनि नियुक्त भए । साथै उनी सरकारको अर्थ मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैङ्कको गभर्नर र आर्थीक ओगको अध्यक्ष पनि भए । आफ्नो कामको दक्षताका कारण उनी नेपालका झन्नै एक दर्जन सरकारी निकायका वित्तीय र आर्थिक प्रतिष्ठानका अध्यक्ष भए । उनका कार्यकालमा ती सबै संस्थाहरू मुलुकका आर्थिक मेरुदण्डमा बल पुर्‍याउने स्थितिमा पुगेका थिए । ढोडको लौरोले ठडिएको संस्था पनि उनी पुगेपछि फलामका खुट्टामा रुपान्तरण हुन्थे । किनभने उनी कमिशन, घूस र भ्रष्टाचारका विरोधी थिए । उनी आर्थिक रुपबाट देश र सरकार मार्ने कर्मचारी र राजनेतालाई मुलुकको शत्रु ठान्थे ।

पन्त सरकारको कारिन्दादेखि नेतृत्वपक्षसम्म पुगे तर यिनले सधैं पूजनीय काम मात्रै गरे । उनका हरेक कार्यकाल सुनौला भए । किनभने यी योजनाका हर्कुलस र कामका भीम थिए । यी कहिल्यै हात बाँधेर बसेनन् । बाँचुन्जेल यिनले केही न केही चमत्कार गरिरहे ।

सरकारी कामकाजबाट अवकाश लिएपछि पनि पन्त नेपालमा बैङ्किङ क्षेत्रलाई फराकिलो पार्न सक्रिय भए । परिणामस्वरूप उनैको अध्यक्षतामा बैङ्क अफ काठमाडौँको स्थापना भयो । कतिपय अन्तरराट्रिय वित्तीय संस्थाहरू उनैको सल्लाह र संरक्षणमा स्थापना हुँदै पनि गए ।

पन्त नेपालमा मात्र नभएर अन्तरराट्रिय क्षेत्रमा नै आर्थिक विज्ञका रूपमा सुपरिचित थिए । विश्वका आर्थिक सम्मेलनहरुमा पनि नेपालको नेतृत्वपङ्तिबाट उनी नै पुगे । एसियाका प्राय मुलुकले उनलाई आर्थिक गुरु थापे । उनको स्पष्ट धारा, मौलिक चिन्तन र दुरदर्शी विचारबाट धेरै मुलुकले उनको प्रत्यक्ष सहयोग मागे । उनैले एसियाली विकास बैङ्कको स्थापना र त्यसको वैधानिक सर्न्दर्भमा जग हाले । त्यसैले उनी त्यस बैङ्कको बोर्ड अफ गभर्नरको अध्यक्ष पनि भए । त्यसको अध्यक्ष हुने उनी पहिलो नेपाली थिए । उनको कार्यकालमा त्यस संस्थाले अन्तरराट्रिय ख्याति कमाएको थियो । यति मात्र होइन उनी संयुक्तराष्ट्र सङ्घ नेपालको अध्यक्ष भएपछि नेपालको सामाजिक र आर्थिक क्षेत्रलाई थप टेवा मिलेको थियो ।

पन्त जापानका लागि नेपाली राजदूतहुँदा उनले नेपालको विकासका लागि जापान सरकार र जापानीलाई पनि नेपालप्रति केन्द्रित गरे । साथै यी फिलिपिन्स, कोरिया, अस्ट्रेलिया र न्युजिल्यान्डको राजदूत भएका बखत आनुपातिक रूपमा ती देशहरूसँग नेपालको धेरै आर्थिक कारोबार भयो । वास्तवमा उनी जहाँजहाँ जान्थे त्यहीँत्यहीँ नेपालको गरिबीको दर्दनाक सत्य कथा बोकेर जान्थे र नेपालको स्वणिर्म भविष्यका लागि आफ्नो योजना राख्ने गर्थे । सही काम गरेर नै उनको व्यक्तित्वले सधैँ फराकिलो लिस्नो चढिरहृयो । जसले गर्दा उनी दिन दुईगुना र रात चारगुनाका दरले प्रसिद्धिको कोटिमा चढिरहे ।

पन्तले नेपालको आर्थिक विकासका लागि मात्र आफ्नो दिनचर्या रोपेनन् । उनी समाजसेवाप्रति पनि समर्पित थिए । चाहे नेपाल रेडक्रसको उन्नति र प्रगतिमा होस् अनि चाहे लायन्स क्लबको तर्फबाट राष्ट्र विकास गर्नुमा होस् उनी त्यसैमा पनि टाँस्सिरहेका हुन्थे । उनी जातभात र छुवाछुतको पनि विरोधी थिए । त्यति मात्र होइन, उनी साहित्य र संस्कृतिका मर्मज्ञ थिए । त्यसैले लक्ष्मीप्रसाद देवकोटा पनि यिनको योगदानको प्रशंसा गर्थे । प्रायः देवकोटाले जाने घरमध्ये पन्तको घर पनि एउटा थियो । किनभने पन्तको घरमा साहित्यगोष्ठी पनि भइरहन्थ्यो । पन्तले नेपाल सांस्कृतिक सङ्घमा रहेर पनि काम गरे । उनी त्रिभुवन विश्वविद्यालयको कोषध्यक्ष पनि भए ।

पन्त राष्ट्र निर्माणको महायज्ञमा समर्पित भएबापत राष्ट्रिय पञ्चायतको सदस्यमा मनोनीत भए । वास्तवमा उनी २०३६ सालअगाडि राजनीतिको ‘रा’ पनि बोल्न मान्दैन थिए । त्योभन्दा अघि उनी विशुद्ध विकासवादी प्रशासक मात्र थिए । उनको सिद्धान्त मुलुकको विकास गर्नुपर्छ भन्ने मात्र सोचाइमा केन्द्रित थियो । आर्थिक प्रशासन स्वच्छ हुनुपर्छ र मात्र राष्ट्रको विकास हुन्छ भन्ने उनको सैद्धान्तिक मान्यता थियो ।

पन्तले प्रशासनबाट राजनीतिमा लागेपछि सोचे ‘अब म जनताको सुखसमृद्धि र राष्ट्रको चौतर्फी विकासका लागि हिँड्छु ।’ त्यसपछि उनी रातोदिन जनविकासमा नै केन्द्रित भए । उनी राजनीतिमा प्रवेशको सुरुकै दिन अर्थ तथा सामान्य प्रशासन राज्यमन्त्री भए । त्यसपछि उनले आफ्नो दक्षता देखाउँदै गए । उनी मन्त्रीमा पदोन्नति पनि भए । अनि उनले जनताको मन पनि बुझे र जनताले पनि यिनलाई चिने । भनौं उनले राजनीतिमा जनताको महत्त्व बुझन थाले । त्यसपछि उनी चुनावमा उठे र नवलपरासी जिल्लाबाट राष्ट्रिय पञ्चायतको सदस्यमा निर्वाचित भए । त्यसपछि उनी फेरि मन्त्री भए ।

देशमा बहुदलीय प्रणाली आएपछि पन्त पनि सक्रिय राजनीतिबाट टाढा जान सकेनन् । त्यसैले यी समेतको सक्रियतामा पञ्चहरूले राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना गरे । क्रमशः उनी यस दलको कोषाध्यक्ष र उपाध्यक्ष भए । तर उनी जुनसुकै पार्टीका सरोकारवाला भए तापनि विश्वका अर्थशास्त्रीहरूमाझ उनको आफ्नै प्रकारको शिष्टाचार, सौहार्दता र योगदान थियो ।

पन्तले निरन्तर राष्ट्रको सेवा गरेबापत उनी नेपालका प्रायः ठूला विभूषणबाट विभूषित भइरहे । त्यति मात्र होइन बेलायत, जापान र कोरियाबाट ठूलाठूला विभूषण पाउने उनी प्रथम नेपाली थिए । बौद्धिक रुपमा विश्वको मूल्याङ्कन गर्न सक्ने उनको ल्यागत थियो ।

नेपालमा बुद्धिजीवीको प्रथम हारमा उभिएका पन्तले एक हजारभन्दा धेरै फुटकर लेख लेखे । उनको कलम नेपाली र अङ्ग्रेजी भाषामा बराबरी चल्थ्यो, त्यसैले दुबै भाषामा उनका बीसवटा ओजस्वी कृति प्रकाशनमा आए । उनीभित्र भएको साहित्यिक रुचिकै कारण उनकै नेतृत्वमा रुद्रराज पुरस्कारको पनि स्थापना भयो ।

अशक्त अवस्थामा पनि मुलुकबारे चिन्तन गर्नु डा.यादवप्रसाद पन्तको दैनिकी थियो । उनी निक्कै बिमारी परे र उनलाई उपचारार्थ थाइल्यान्ड पुर्‍याइयो । त्यहीँ उनको भौतिक चोलाले विर्सजन गर्‍यो । बयासी वर्षको उमेरमा २०६४ कात्तिक २८ गते आफ्नी जीवनसङ्गिनी रमा, तीन छोरा गिरीश, भुवनेश र राधेश अनि एउटी छोरी मीरालाई यस लोकमा छोडेर पन्त परलोक गए ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश