» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » भोग्यप्रसाद शाह Bhogya P Shah

भोग्यप्रसाद शाह Bhogya P Shah

विदा हुने भैगयो बेला,
फेरि भेट होला कि नहोला ।
कुनै बेला रेडियो नेपालबाट बजेका गीतका माध्यमले गीतकार भोग्यप्रसाद शाह जनमाझ पुगेका थिए । हुन त उनी रेडियो नेपालको समाचार वाचनले पनि नेपालमा परिचित नै थिए । त्योभन्दा पनि ठूलो कुरा उनी भद्र, सोझो र सरल थिए । त्यतिमात्र होइन मसिनो कुरा गरेर उनी ठूलो काम गर्थे । उनका अघि कोही कड्केर बोल्यो भने पनि उनी नरम भएर नै प्रस्तुत हुन्थे र कड्किनेको पनि मन जित्थे । किनभने उनी सकेसम्म सबैको भलो गर्थे । उनलाई दुक्ख दिनेको पनि उनी कुभलो चिताउँदैन थिए । साथै उनी कसैको फुटानी, धाक र धम्कीको फेरोमा परेर पनि डराउँदैेन थिए । अनि उनी कसैसँग सिगौरी खेल्न पनि अघि सर्दैन थिए ।

शाहको जन्म १९८१ साल भदौ ८ गते काठमाडौंको ज्ञानेश्वरमा भएको थियो । उनी रेफप्रसाद शाह र राजकुमारीका पाँच जना छोरामध्ये उनी साहिंला छोरा थिए । उनी बाल्यकालदेखि नै इमानपूर्वक आफ्नो गन्तव्यमा लागेका थिए ।
शाहले दरबार हाई स्कूलमा पढे । उनले त्रिचन्द्र कलेज र पटना विश्वविद्यालयबाट आइए र बीए पास गरे । अनि प्राइभेट परीक्षा दिएर उनले नेपालबाट एम्ए पास गरे ।

शाह किशोरावस्थादेखिनै समाजप्रतिको निष्ठामा बाँधिएका थिए । २००७ सालको क्रान्तिका बेला उनकै पहलमा ज्ञानेश्वरमा टोलरक्षा सङ्घको गठन भएको थियो । त्यसमा महासचिव उनी नै थिए । त्यसपछि अशान्त ठाँउलाई शान्तमा रुपान्तरण गर्ने काम यिनीहरुबाट भएको थियो । त्यसबेला दैनिक उपभोग्य वस्तुको वितरणमा पनि यिनले साहासिक भूमिका खेलेका थिए ।
शाहको विवाह भगवतबहादुर शाह र इन्द्रकुमारी शाहका छोरी सगुन शाहसँग २०१९ साल बैशाख ४ गते भएको थियो । अनि यी दम्पतिबाट एक छोरा सन्तोष शाहको जन्म भयो । भगवतबहादुर शाह र इन्द्रकुमारीका दस छोरी र दुई छोरीमध्ये सगुन शाह काँइली छोरी थिइँन् ।

शाहकी पत्नी गीतकार सगुन शाह समाजसेवामा मन, वचन र कर्मले नै समर्पित रहिन् । काठमाडौंको शान्तिनगरमा निःसहाय सेवा सदन र वृद्धाश्रमको निर्माण उनैबाट भएको थियो । साथै त्यही उनले सिद्धेश्वर स्कुलको पनि स्थापना गरिन् । शान्तिनगरको नामाकङ्न पनि उनैले गरेकी थिइँन् । उनी निसाहाय शिशु र बालबच्चाको पालनपोषणमा पनि समर्पित भइरहिन् । तिनीहरुलाई पढाउने काम पनि यिनले गरिन् । यिनले ठाँउठाँउमा स्वास्थ्य शिविर र क्लिनिक पनि स्थापना गरिन् । समाजसेवामा उनले अन्य ठाउँमा पनि पाइला राखिन् र नेपाली समाजमा उनी उदाहरणीय पनि बनिन् ।

भोग्यप्रसाद शाह नेपाली भाषा, नेपाली भेष र नेपालीपनको पक्षपाती थिए । नेपाली भाषा र साहित्यमा उनले विशेष रुचि राखेका थिए । उनले २००५ सालमा नै ‘शारदा’मा गीतिकविता प्रकाशित गरेर आफूलाई चर्चित बनाएका थिए । त्यसै बेलादेखि उनले गीत लेखे, निबन्ध लेखे र प्रबन्धहरु पनि लेखे ।

शाहले रेडियो नेपालमा एकाड्की नाटक लेखेर वाचन गरे र गीतिकथा पनि भने । साथै उनले नाटक मञ्चहरुमा कलाकारको भूमिका पनि निभाएका थिए । नाट्यसम्राट् बालकृष्ण समको ‘हरितारा’ नाउँको नाटकमा शाहले तिब्बतका प्रधानसेनापतिको अभिनय गरेका थिए । समबाट लिखित र निर्देशित अन्य नाटकहरुमा शाहको नै प्रमुख भूमिका जोडिएको हुन्थ्यो । साथै उनी सोयम् र अरुले निर्देशन गरेका नाटकहरुमा पनि उनले सशक्त अभिनय गरेका थिए ।

रेडियो नेपालमा नाटक खेल्दाखेल्दै शाहको तारिणीप्रसाद कोइरालासँग परिचय भएको थियो । त्यसिबेला कोइराला रेडियो नेपालका प्रमुख थिए । कोइरालाकै अनुरोधमा शाहले २००८ सालदेखि रेडियो नेपालमा काम गर्न थाले । सुरूमा ज्यालादारीमा बसेर उनले रेडियो नेपालमा उद्घोषक भएर काम गरे, समाचार दाताको काम गरे, समाचार लेखकको काम गरे र समाचार वाचनको पनि काम गरे । त्यसबेला उनी सहायक स्तरका जागिरे थिए । उनी साइकलमा हरेक विहान छ बजे रेडियो नेपाल पुगिसक्थे । उनको रेडियो नेपालप्रतिको निष्ठा माथिल्लो कोटिको थियो । त्यसैको परिणमसमेत जोडिएर बाह« वर्षपछि उनी त्यहीं अधिकृतमा बढुवा भए ।

रेडियो नेपालमा समर्पित भएकै कारण शाह त्यहाँ निर्देशक पनि भए । उनलाई सूचना विभागको पनि निर्देशकमा सारियो । फेरि त्यहाँबाट हुत्याएएर उनलाई केन्द्रीय सेवा विभागको निर्देशकमा पनि पु¥याइएको थियो । पछि फेरि उनलाई रेडियो नेपालमा महानिर्देशक बनाएर ल्याइएको थियो । उमेरको हदले अवकाश पाएपछि पनि उनलाई रडियो नेपालको वरिष्ठ सल्लाहकारमा नियुक्ति गरिएको थियो । उनले ३७ वर्ष जति नेपाल सरकारको तलवी सेवा गरे । तर उनले आफूले पाएको जागिरभन्दा एक बाँस अल्गो पारेर रेडियो नेपाललाई उकासेका थिए ।

शाहकै पहलमामा रेडियो नेपालको नयाँ स्टुडियो भवन जापानी सहयोगमा निर्माण भएको थियो । उनैको पहलमा पाँच विकास क्षेत्रमा रेडियो नेपालको केन्द्र विस्तार भएको थियो । वास्तवमा उनकै पालामा रेडियो नेपालको स्तरवृद्धिको क्रम सुरु भएको मानिन्छ । रेडियो नेपालको नयाँ स्टुडियो भवन उद्घाटनका अवसरमा उनले त्यहाँका ज्यालादारी र करारका गरि एकै दिनमा दुई सय जना कर्मचारीलाई स्थायी बनाएका थिए । खास गरेर कलाकारका लागि उनी मरिमेट्थे । यसबारे नातीकाजी सोयंले भनेका थिए, ‘शाहको कलाकारहरुप्रति बलियो टेवा थियो । साथै शाहकै कुशल नेतृत्वले रेडियो नेपालको जग बसेको थियो ।’

शाह शिक्षाप्रेमी पनि थिए । उनैको समेत पहलमा काठमाडौंको डिल्ली बजारमा विजय मेमोरियल स्कूल खोलिएको थियो । त्यस स्कुलमा उनले २०१२ सालदेखि २०१८ सालसम्म पढाएका थिए । उनी अंग्रेजी र इतिहास पढाउँथे । उनका विद्यार्थीमध्ये तारादेवीले पछिसम्म भन्ने गर्थिन् ‘भोग्यप्रसाद शाहजस्तो राम्रो पढाउने र नरम मान्छे मैले देखिेकै थिएन ।’

शाह पत्रकारिताबारे चिन्तनशील थिए । उनैको पनि भूमिका जोडिएर २०४३ सालमा नेपाल प्रेस इन्सिटच्यूटको स्थापना भएको थियो । सुरुमै त्यस संस्थाको यी उपाध्यक्ष थिए । उनी जहाँ जान्थे केही न केही लिएर नै जान्थे । बाह्य रुपमा उनी सारै सिदा देखिए तापनि आफ्नो कामबारे उनी सधैं घोत्लिरहन्थे । सञ्चार क्षेत्रका विभिन्न संस्थानमा उनको प्रबल सहभागीता हुन्थ्यो । साथै यस परिवेशमा यिनले देशदेशान्तरको भ्रमण समेत गरेका थिए । सञ्चार विषयक अन्तर्राष्ट्रिय स्तरका यिनले केही तालीम पनि लिएका थिए ।

शाहको योगदानको केही सम्मान पनि भयो । राजकीय रुपमा उनको योगदाको कदर स्वरुप उनी गोर्खादक्षिणबाहु, त्रिशक्तिपट्ट लगायत अनगिन्ति स्वदेशी र विदेशी अलङ्कारहरुबाट विभूषित थिए । यिनलाई बेलायत, जर्मनी, फ्रान्स सरकारबाट पनि विभूषित गरिएको थियो ।

शाहलाई युवाकालदेखि नै दमको रोग थियो । त्यही कारणले २०६३ साल माघ २६ गते उनी काठमाडौमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी