» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » भीष्मराज प्रसाई Bhishma Raj Prasai

भीष्मराज प्रसाई Bhishma Raj Prasai

भीष्मराज प्रसाईको जन्म १९८९ साल असोज फूलपातीमा ताप्लेजुङको आठराई निघुरादिनमा भएको थियो । उनी गङ्गाप्रसाद प्रसाई र छायादेवीका जेठा छोरा थिए । उनी सानामा झन्डै मरेका थिए । उनी बाल्यकालमा हुँदा उनलाई विफरले आक्रमण गरेको थियो । उनका शरीरभरि फोका थिए र फुटेर घाउ हुने भएकाले उनले ओछ्यानमा सुत्न मिल्दैनथ्यो । त्यतिखेर घाउको पिपले उनी मरणासन्न थिए । तीन महिनासम्म उनलाई केराका पातमा सुताएर बचाइएको थियो ।

भीष्मराज प्रसाईलाई संस्कृत पढाएर पण्डित बनाउने उनका बुबाको योजना थियो । तर उनले चौध वर्षको उमेरबाट लुकीचोरी गरेर एबीसीडी पढे । उनी सानैदेखि आधुनिक स्कुलमा पढ्ने इच्छा राख्थे । परिणाम स्वरूप उनलाई दार्जिलिङ पु¥यायो । त्यहाँ उनी दानवीर देवीप्रसाद उप्रेतीको ‘दिल खुशा हाउस’मा बसे । दार्जिलिङबाटै उनले म्याट्रिक पास गरे । त्यहाँ बसेताका उनले बीपी कोइराला, गणेशमान सिंह र पुष्पलालसँग चिन्ने मौका पाएका थिए । त्यस बेलैदेखि उनलाई राजनीतिमा पनि रस भिज्न थालेको थियो ।

प्रसाईले आइएस्सीसम्म दार्जिलिङमा नै पढे । त्यसपछि उनले बीएस्सी पढ्न त्रिचन्द्र कलेजमा नाउँ लेखाए । उनलाई डाक्टर पढ्न खुबै रहर थियो । त्यसैका लागि उनले अनेक कसरत गरे । अनि उनले पाकिस्तानका लागि एम्बीबीएस् पढ्ने छात्रवृत्ति पाए ।

प्रसाईभन्दा अघि कुनै नेपाली विद्यार्थी पाकिस्तानमा पुगेका थिएनन् । त्यसैले हिन्दू राष्ट्रका विद्यार्थी मुसलमानहरूसँग कसरी बाँच्ने भन्ने उनको मनको अन्तर कुन्तर पिडाले भरिएको थियो । तर सोचेभन्दा उनले राम्रो वातावरण पाए । उनी मुसलमानहरूसँग छिटै हेलमेल भए । त्यतिखेर उनलाई खसी, गोरु, भैँसी जेजेको मासु दिन्थे, उनी सबै थोक खाइदिन्थे । उनले त्यहाँ पाँच वर्षको एम्बीबीस कोर्स सके । कोर्स सकेर एक वर्षे मेडिकल तालिमका लागि उनी पाकिस्तानै बसे र उनी नेपाल आए ।

२०१९ सालको कुरा हो— डा.प्रसाईले एम्बीबीएस सकेर नेपाल आउँदा वीर अस्पतालमा जम्मा चौध जना मात्र विशेषज्ञ डाक्टर थिए । त्यतिखेरसम्ममा एक जना पनि प्रसूति डाक्टरचाहिँ थिएनन् । यतिहुँदाहुँदै पनि उनले काठमाडौँमा जागिर पाएनन् । किनभने यहाँ एउटा मात्र सरकारी वीर अस्पताल थियो । त्यसैले वीर अस्पतालमा टेकिन उनले तीन महिनासम्म कसरत गरे । त्यसपछि उनलाई अनररी हाउस अफिसर भनेर वीर अस्पतालमा खटाइयो । तर त्यहाँ उनलाई तलब दिइँदैनथ्यो । अनि प्रायः दिन बिराएर उनी सिंहदरबारमा धाइरहे । अन्नतः डोटीमा उनलाई खटाइयो । उपाय केही नभए पछि उनी काम गर्न डोटी नै पुगे ।

डा.प्रसाईले बेलायतबाट प्याथोलजीमा पोस्ट ग्राजुयट गरे । त्यसै बेला बेलायतमा भएका क्यानाडाका एजेन्टले उनलाई क्यानाडा जान फकाउनु फकाए । त्यस बेला क्यानाडामा दक्ष जनशान्ति न्यून थियो । तर उनले त्यस बेला राजा महेन्द्रले भनेको सम्झे— ‘स्वदेशी बन, स्वदेश भन सम्हाल नेपाल’ अनि उनी नेपालमा नै आए ।

डा.प्रसाई नेपालमा आउनु एउटा ठूलै उपलब्धि थियो । कालान्तरमा उनैको जोडले नेपालमा मेकिडल शिक्षा उदायो । जापानको सहयोगमा शिक्षण अस्पताल बनेपछि उनी त्यहाँको प्रथम कार्यकारी निर्देशक बने । उनले वीर अस्पतालको पौराणिक ढाँचालाई बदलेर शिक्षण अस्पताललाई आधुनिक शैलीबाट सञ्चालन गर्ने अठोट गरे । उनी बसिन्जेल शिक्षण अस्पताल नाफैनाफामा थियो,त्यहाँ छिटो र छरितो काम हुन्थ्यो अनि सरसफाई, सुग्घर र सुकिलो हुन्थ्यो । उनी त्यहाँ चार वर्ष बसेर निस्केपछि त्यो अस्पताल पनि बिस्तारै सुक्न थाल्यो । पछिल्लो दिनमा नेपालको राजनीतिको केन्द्रबिन्दु नै शिक्षण अस्पताल परिणत भयो । अनि हरेक कारणले सो अस्पताल पनि रोगाउन थाल्यो ।

शिक्षण अस्पताल बनाएपछि जापानिज ठेकेदारबाटै अस्पतालकै हाताभित्र डा.प्रसाईले महामृत्युञ्जय शिवको मन्दिर बनाए । तर मन्दिर निर्माणमा लागेको पैसा उनले कार्यालयबाट लिएनन् । साथै अस्पतालमा विरामी सुत्ने ओछ्यान ओछ्यानको सिरानीमा आफ्नै खर्चमा उनले ‘गीता’को किताब राखेका थिए ।

डा.प्रसाई सरल, शान्त र सौम्य भएकै कारण उनले कसैको मन दुखाउन चाहँदैन थिए । तर धेरैले उनको मन दुखाएका थिए । ईश्वरप्रति उनको पूर्ण विश्वास थियो । उनी विज्ञान र धर्मसंस्कृतिका ज्ञाता थिए । धर्म र विज्ञानबारे उनी भन्थे— विज्ञानले पृथ्वीको गति बन्द गर्ने र सूर्यलाई रोक्ने कुनै चमत्कार देखाएको छैन । ईश्वरीय सृष्टिभित्र रहेका अनेक चमत्कारलाई वैज्ञानिक मापदण्डले नाप्ने प्रयास गर्दैछ, त्यसैले विज्ञानले तयार पारेको साधन मानवधर्म र संस्कृतिको संरक्षण र साधन बन्न सक्ने छ ।’

डा.प्रसाई डीन भएका बेला रजिस्टार, शिक्षाध्यक्ष र उपकुलपति पद खाली थियो । अर्को व्यवस्था नभइन्जेल राजा वीरेन्द्रले उनैलाई रजिष्टार, शिक्षाध्यक्ष र उपकुलपति नियुक्ति गरेका थिए । त्रिभुवन विश्वविद्यालयको इतिहासमा एक्कैचोटि चार पदमा राजाबाट नियुक्ति हुने उनी प्रथम प्राध्यापक थिए । साथै उनी नेपाल बाल सङ्गठनको केन्द्रीय उपाध्यक्ष पनि थिए । तर बहुदलीय व्यवस्था आएपछि गणेशमान सिंहकी छोरी रीता सिंह वैद्य सो सङ्गठनको अध्यक्षतामा भर्ना भइने । त्यसपछि त्यो गरिमाशाली संस्था पनि तहसनहस हुन थालेकोे थियो ।

डा.प्रसाई स्वच्छ, इमानदार र नैतिकताका लखपति थिए । उनी नेपाल राष्ट्रका एउटा नमुना नै थिए । उनका विषयमा राष्ट्रकवि माधव घिमिरे भन्थे— ‘भीष्म भनेका साँच्चैका ऋषितुल्य डाक्टर रहेछन् ।’ शताब्दी पुरुष डा.सत्यमोहन जोशीले भनेका थिए— ‘भीष्म साँच्चिकै भीष्म थिए ।’ अनि महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले पनि भनेका थिए— ‘भीष्मराज प्रसाई ज्ञानगुन र कर्मबाट धेरै माथि उठेका एक जना ज्ञानी डाक्टरको नाउँ हो ।’

डा.प्रसाईले कर्ममा विश्वास राख्थे । कर्म गर्ने जोकोही पनि उनका प्रिय हुन्थे । उनले धेरैको निःशुल्क उपचार गराए, धेरैका घरका छाना फेरिदिए, साहित्यकार उनका घरमा पुग्दा सकेको सहयोग दिन्थे । उनी सधैँ भन्थे— ‘काम गर फलको आशा नगर ।’ त्यसै उपदेशलाई शिरमा राखेर उनले नेपालीमा ‘गीता’ अनुवाद गरेका थिए । पाटीपौवा र मन्दिर संरक्षणमा उनले धेरै नै मन, वचन र कर्मले नै लगानी गरेका थिए ।

नेपालको चिकित्सा क्षेत्रलाई बैज्ञानिकीकरण गर्नेको नाउँ भीष्मराज प्रसाई हो । प्रसाईले नै नेपालमा चिकित्सा शास्त्रीय विधिको निर्माण गरेका थिए । भनौँ उनी नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार थिए । अथवा भनौँ उनी यसको प्रवर्तक थिए । उनकै नीति, निर्देशन र सहभागितामा त्रिभुवन विश्वविद्यालयलले नेपालमा मेडिकल शिक्षा सञ्चालन ल्याएको थियो । यस कार्यका लागि डा.प्रसाई २०३४ सालदेखि लागि नै अविरल गतिमा समर्पित भएका थिए ।

डा.प्रसाई खुबै ठुला देशभक्त थिए । विदेशी ऋण, विदेशी लगानी र विदेशी चलखेल उनको सिद्धान्तको विरोधी कुरा थियो । तर नेपालमा बहुदलीय व्यवस्था आएपछि जब गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री भए अनि नेपालमा मेडिकल कलेजहरू स्थापना हुन थाले । २०४६ अघि नेपालमा निजीक्षेत्रमा मेकिडल कलेज थिएनन् । भारतीय लगानीमा नेपालमा मेडिकल कलेज खोल्न ढोका खोलिदिने कोइराला नै थिए । त्यस बेलासम्म भारतमा पनि निजि मेडिकल कलेज थिएन । कोइरालाकै पहलमा भारतीय व्यवसायीहरूको लगानीमा पोखरामा मणिपाल कलेजको स्थापना भएको थियो । त्यसपछि क्रमशः प्रायः भारतीय लगानीकर्ताहरूकै आर्थिक बाहुल्यमा नेपालमा मेडिकल कलेजहरूको स्थापना हुँदै जान थाल्यो ।

नेपालको राजनीतिक घटनाक्रमले राम्रा मान्छे कोही विदेश जान थाले, कोही घरै बस्न थाले र कोही पेसाबाट अलग्गिन थाले । कतिसम्म भने २०४९ साल पछाडि शिक्षण संस्थामा रहेका राम्राराम्रा विशेषज्ञहरूलाई पनि सत्तापक्षबाट हात धुन बाध्य पार्न थालिएको थियो । उदाहरणका लागि भन्ने हो भने शिक्षा मन्त्री गोविन्दराज जोशी र त्रिभुवत विश्वविद्यालयका उपकुलपति डा.केदारभक्त माथेमा भएर डीन प्रा.डा.भीष्मराज प्रसाईको राजीनमा मागेका थिए । उनी कतै भनसन, चाकरी र उजुबाजुरमा लाग्दैन थिए । बरु घरै बसेर उनी कविता लेख्थे—
‘नीतिको कुरो ज्ञानीले बुझ्छ मुर्खले बुझ्दैन
बलको नीति बलले बुझ्छ बुद्धिले बुझ्दैन ।’

डा.प्रसाईले शिक्षण अस्पताल बनाउन कति दुक्ख गरे, नेपालमा एम्बीबीएस कक्षाको सुरुवात गर्न कति कष्ठ खेपे अनि पाठ्यक्रम बनाउनेदेखि नीतिनियम बनाउन कतिकति पसिना बगाए । न त उनी पञ्च थिए र न त दरबारका नजिक थिए । नेपालको स्वास्थ्य विज्ञान क्षेत्रकै विशिष्टकोटिका अग्रपङ्तिमा हुँदा पनि उनलाई न राजाले एउटा गोखादक्षिणबाहू दिन सके न त प्रजातन्त्र आएपछि उनीमाथि न्याय भयो । उल्टै उनले आफ्नो पदबाटै उछिट्टिनु प¥यो । यति हो राजाबाट उनीमाथि मूल्याङ्का नै नभएको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालयले उनको सम्मानका लागि शिक्षण अस्पतालको प्राङ्गणमा ‘भीष्म उद्यान’ बनाइदियो । तर बहुदलीय व्यवस्थाका पदाधिकारीले त्यो उद्यान भत्काउनचाहिँ हिम्मत गर्न सकेनन् । देशमा गणतन्त्र आए तापनि त्यस्ता वीर पुरुषको खोजिनिन्दा नै भएन । आफ्नो जीवनको अन्तिम समयमा उनले भनेका थिए— ‘गणतन्त्र भनेको पनि व्यापार व्यवसाय गर्ने थलो रहेछ । प्रायः सबै नेताहरू देश बनाउछु भन्ने नारा दिदै व्यापारमा नै लागे । गणतन्त्र नेपालका नेतालाई चिट्ठै पर्यो; प्राय सबै धनी भए । खाली खुट्टाहरूले जुत्ता मात्र लगाएको भए हुन्थ्यो, तर तिनीहरूले विश्वकै धनीहरूमध्येमा धनी हुन तँछाड र मछाड गर्न लागे ।’

चिकित्सा क्षेत्रमा मात्र नभएर नेपालको धार्मिक, सामाजिक र नेपाली साहित्यमा पनि डा.प्रसाईलले प्रसिद्धि कमाए । उनका एक दर्जनजति साहित्यिक कृति प्रकाशनमा आए । उनी नेपाल सरकारको भानुभक्त पुरस्कार, त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा सम्मान, नइ देरुनीख सुकीर्ति पुरस्कार आदिबाट सम्मानित थिए । साथै उनी राजाबाट राजसभाको सम्माननीय सदस्यमा पनि मनोनीति भएका थिए ।

डा.प्रसाईले जनरल भूपालमानसिंह कार्कीको सक्रियतामा मीर सुब्बा शङ्करप्रसाद रिजालकी सत्र वर्षीय छोरी सुभद्रा रिजालसँग लगन गाँठो कसे । त्यस बेला नारीले विरलै पढ्थे तर सुभद्राले बीए पास गरिन् । उनैले डा.प्रसाईको पूर्ण सफलताका लागि होस्टेमा हैँसे गरिन् ।

डा.प्रसाई दम्पतिले दुई छोरी सिरु, सञ्जु र एउटा छोरा सगर जन्माए । डा.सिरुले एम्बीबीएस, गाइनोकोलोजीमा एम्एस र अमेरिकाबाट एम्पीएचको उपाधि हासिल गरिन् । सञ्जुले एम्ए पास गरिन् । अनि डा.सगरले पीएचडीको उपाधि हासिल गरे ।

जीवनमा कर्म गर्दागर्दै प्रा.डा.प्रसाई सिथिल हुँदै गए । जीवनको अन्तिम घडीमा उनलाई ललितपुरको मेडिसिटी इन्टनेशनल हस्पिटलमा भर्ना गरिएको थियो । अन्ततः उनी २०७७ साल मङ्सिर १० गते सोही हस्पिटलमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी