» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » भागीरथा प्रसाई Bhagiratha Prasai

नइको चिनारी


भागीरथा प्रसाई Bhagiratha Prasai

१९७५ सालको कुरा हो, ताप्लेजुङको हाङपाङका नरध्वज प्रसाई र तेह्रथुम ईवाका प्रेमलाल उप्रेतीको तारिक खेप्ने सिलसिलामा धनकुटाको अमिनीमा परिचय भएको थियो । एउटै प्रकृतिको काम भएकाले उनीहरुवीच घनिष्ठता पनि बढ्दै गयो । उनीहरुले एकअर्काको परिवारको चासो राख्दा दुबैका पत्नीहरु गर्भिणी भएको बेहोरा पनि चाल पाए । त्यसैबेला उनीहरुले आआफ्ना सन्तानहरु छोरा र छोरी जन्मे भने एकअर्कामा कुटुम्बेली सम्बन्ध गाँस्ने निधो पनि गरे । यथासमय उप्रेतीका घरमा छोरी र प्रसाईका घरमा छोरा जन्मे । मेरी आमा भागीरथाको जन्म १९७६ साल जेठ ८ गते बुधवार आठराई ईवामा भएको थियो । पूर्ववचन पालना गर्दै सात वर्षका जयप्रसाद प्रसाईसँग भागीरथा उप्रेतीको लगनगाँठो कसियो ।

मेरा बाजे नरध्वज प्रसाई त्यस भेककै कहलिएका धनी थिए । त्यस युगमा कागजी पैसा थिएन, धातुमुद्राको चलन थियो । अनि हाम्रो घरमा पैसा हातले गन्ने चलन थिएन । धातुका पैसा पाथीले भरेर हिसाब राख्दै ठूलाठूला घ्याम्पामा थन्कान्थ्यो ।

नरध्वजका पाँच भाइ छोरामध्ये जेठा खडानन्दलाई युधिष्ठिर, माइला मानबहादुरलाई भीम र मेरा बुबा जयप्रसादलाई अर्जुन भनिन्थ्यो । त्यसबखत यी तीनको मतो मिल्थ्यो । भनौं ती भाइमध्ये एउटाले बोलेपछि अरु दुई भाइले बूढीऔठा थिच्थे । अनि सानै उमेरमा ज्ञानको प्रखरता भएकाले मेरा बुबालाई जिजू पनि भनिन्थ्यो ।

मेरा बुवाले १९९० सालअघि नै त्यस दुर्गम ठाउँमा आफ्नो घरको छाना च्यादरले छाएका थिए । त्यसबेला जस्ताको छानोलाई च्यादर भनिन्थ्यो । त्यतिबेला त्यतातिर च्यादरघरे भनेपछि हामीलाई नै चिनिन्थ्यो ।

हाम्रा बुवाआमा सामाजिक काममा नै धनखर्च गर्थे । उदाहरणका लागि भन्ने हो भने- काठमाडौंबाट घर फर्केपछि मेरा बुवाले मेरी आमालाई पशुपतिनाथको महिमा, गरिमा र महत्ताको बेलिबिस्तार लाए । अनि त्यसैवर्ष अर्थात् १९९५ साल कृष्णअष्टमीमा हाम्रा बुवाआमाको जेठो छोरा विष्णुभक्त प्रसाईको जन्म भयो । अति खुसी भएर मेरा बुवाले मेरी आमालाई सोधे, ‘तिमीले छोरो पाएको उपलक्ष्यमा म तिमीलाइ के उपहार दिउँ-‘ मेरी आमाले पनि आफ्ना पतिसँग पशुपतिनाथ झैं सानो मन्दिर आफ्नै घरपरिसरमा थापिमागिन । मेरी आमाको इच्छालाई साकार पार्न युधिष्ठर, भीम र अर्जुन लागिपरे । जसअनुरुप उनीहरुले हाङपाङमा चार ढोका भएको शिवालय बनाए । यतिमात्र होइन यी तीनै भाइ मिलेर हाङपाङको मेलेमा च्यादरपाटी र तीनधारेहिटी पनि बनाए । अनि ठाउँठाउँमा मूलबाटो बनाउन पनि यी तीन भाइ नै अग्रसर हुन्थे ।

धनीमानी, समाजसेवी र दानीका कारण गाँउमा मेरी आमाको निकै ठूलो इज्जत थियो। तर उनीमा धनको कहिल्यै अभिमान आएन । उनीभित्र केवल सेवाभाव नै ओतप्रोत थियो ।

मेरी आमा निरक्षर थिइन् । तर उनी आफ्ना छोराछोरी लगायत गाँउका बालबच्चाको समेत शिक्षाका लागि मरिमेट्थिन् । त्यस ठाँउमा शिक्षाको ज्योति फैलाउने काम पनि मेरी आमाबाटै भयो । उनैले आफ्नै गोदाममा स्कूलको स्थापना गरिन् । त्यसबेला स्कुल पढ्ने परिपाटि नभएकाले स्कुल खोले पनि बालबालिका पढ्न आउन मान्दैनथे । त्यसैले मेरी आमाले धनीका छोरालाई मीठाई खुवाएर र गरीबका छोरालाई खानापिनाको समेत प्रबन्ध गरेर स्कुल आउन पल्काएकी थिइन् । हाइस्कुल पढ्नेहरुका लागि पनि पछि उनले त्यहाँ निशुल्क छात्रावास बनाएकी थिइन् । जिजु हाउस नाउँको उक्त छात्रावास मेरी आमा कै घर थियो । त्यसैले उनका बारे तेजबहादुर प्रसाईले लेखे- ‘हाम्री आमा भागीरथा प्रसाई निरक्षर भएर पनि चेतनाकी प्रखर नारी थिइन् । सङ्घर्षपूर्ण जीवन यापनका साथै उनमा भएको सामाजिक भावनाको प्रचुरता स्तुत्य छ ।’

शिवालय वनेपछि हाम्रा घरमा प्रायः जोगीहरूकै बास हुन्थ्यो । अनि मेरो जन्मपूर्व मेरा बुवा पनि जोगी भएरै हिंडे । बुवाको मन फर्काउन मेरी आमालाई १२ वर्षलागेको थियो । तर त्यसपछि मेरा बुवा क्रमशःक्रमशः सिथिल हुँदै गए । त्यतिन्जेलसम्ममा मेरी आमापटि्टबाट हामी पाँच छोरा र एउटी छोरी जन्मिसकेका थियौं । अन्ततः मेरा बुबा २०२० साल असार ४ गते स्वर्गीय भए । चौवालीस वर्षको उमेरमै मेरी आमा विधवा भइन् र उनले अर्थिककष्ट पनि खेप्न थालिन् । यसै प्रसङमा नन्दकुमार प्रसाईले लेखे ‘त्यसपछि उहाँकै आफन्तले उहाँको सम्पत्तिमा गिद्दे दृष्टि लगाई आर्थिक धक्का पुर्‍याएका थिए । त्यस्तो अवस्थामा पनि साइँली आमाबाट सौता र सौतापटि्टका छोराछोरीहरूका साथै आफ्ना लालाबाला स्याहार्ने काम भयो ।’

तत्कालीन सामाजिक कुरितिको प्रताढनाका कारण मेरी आमाले सौता पनि बेहोर्नु परेको चाहिं थियो । तर उनले सौता दीव्यरुपालाई आजीवन आफ्नी बहिनीतूल्य स्नेह दिइन् । त्यसबेलाको सामाजिक मान्यता अनुरुप मेरी आमालाई माइतबाट मैतालु पठाँउदा ‘कि घर गरेर खानू, नसके तमोरमा हाम फालेर मर्नु’ भनिएको थियो । त्यसैले आफ्ना पतिको निधनपछि उनी आर्थिक दृष्टिले तलतल र तल झर्दै जाँदा पनि सङ्घर्ष नै गरिरहिन् तर उनले माइती कहिल्यै गुहारिनन् । खनूपरुदे रामबाबू प्रसाईले लेखे अनुसार उनले ‘सुनसरीको सुख्ख र पितलसरिको दुक्ख पाइन् ।’ वास्तवमा उनी जीवनसँगको सम्झौताको पूर्ण निष्ठामा बाँधिएकी थिइन् ।

युवा अवस्थामा मेरी आमाको स्वास्थ्य राम्रो थियो । आफ्ना शिशुलाई चुसाईसकेर बाँचेको दूध आमाको दूध नपुगेका गाँउका शिशुहरुलाई चुसाउन पनि उनी पुग्थिन् । साथै उनी धनीगरीव सबैलाई एउटै आँखाले हेर्थिन् । कसैलाई अन्याय परेको देखेपछि उनी न्याय दिलाउन पनि तम्सिन्थिन् । उनको हकी स्वभावका अघि अत्याचारीको सातो जान्थ्यो । उनको उपकारी व्यक्तित्वको परिचय पाएका मानिसले उनका अघि शिर निहुर्‍याउँथे ।

मेरी आमा एकैछिन पनि फुर्सतमा बस्तिन थिइन् र हात बाँधेर बस्नेलाई पनि मन पराउँदिन थिइन् । उनी हरेक प्रकारका सीपले सजिएकी थिइन् । उनले समयसन्दर्भ अनुसार नजानेको र नगरेको कुनै काम पनि थिएन । साथै उनी आशुकवयित्री पनि थिइन्। मेरा बुवाले वाचन गरेका पुस्तकहरुका सैयौं श्लोक उनलाई कण्ठाग्र थिए । सुरिलो भाकामा उनी गीत पनि गाँउथिन् । उनी चार्डपर्वमा साथीसँगीसँग नाचगान गर्न पनि औधी मन पराउँथिन् । साथै उनीमा बरबगैंचाको निर्माण गर्ने सीप पनि थियो । चाहे ताप्लेजुडमा होस् र चाहे झापामा होस् उनले आफ्नो घरमा लोभलाग्दो बरबगैंचा बनाएकी थिइन् । उनको जिन्दगानीका सम्पूर्णपाटो एकएक केलाएर इन्दिरा प्रसाईले ‘मेरी सासू’ नाउँको ग्रन्थमा समेटिन् ।

छप्पन्न वर्ष अघिको कुरा हो; घर लिप्ने रातोमाटो खन्न गएकी मेरी आमालाई पहिरोले पुरेको थियो । कपाल बाटेको धागोको रातो फुर्कोका आधारमा विस्तारै खनेर उनलाई पहिरोबाट निकालिएको थियो । त्यसबेला उनका पेटमा सात महिनाको नानी थियो। त्यसपछि उनी दुई महिना जिउँदो लासझैं घरैमा लडिरहिन् । महिना पुगेपछि उनले स्वभाविक प्रसवपिडामा एउटा बालक जन्माइन् । ज्योतिषीहरुले ती बालकको नाउँ नरेन्द्रराज प्रसाई राखे ।

नइ प्रकाशनका संरक्षक मेरी आमा भागीरथा प्रसाई २०५६ सालदेखि काठमाडौंमा नै बसिन् । २०६२ सालमा ब्लडक्लटका कारण टाउकाको शल्यक्रिया गरिएकी उनलाई मधुमेय, उच्चरक्तचाप, दम र अल्जाइमरले सताएको थियो ।

मेरी आमाले आजीवन भौतिक, शारीरिक र मानसिक सङ्घर्ष खेपिन् । अनि उनी त्रियानब्बे वर्षको उमेरमा २०६८ साल माघ १४ गते श्रीपञ्चमीका दिन काठमाडौंको आफ्नै घरमा ब्रम्हलिन भइन् ।

प्रस्तुति
नरेन्द्रराज प्रसाई

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश