» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » भैरवबहादुर थापा Bhirab Bahadur Thapa

भैरवबहादुर थापा Bhirab Bahadur Thapa

उस्ताद भैरवबहादुर थापा नेपाली गीतगायन र सङ्गीतकारमा मात्र परिचित थिएनन् । उनले आजका चर्चित थुप्रै गीतकार, गायक र सङ्गीतकारलाई पनि गीतियात्रामा प्रवेश गराए । तारादेवी पनि थापाकै उपज थिइन् । सङ्गीतकर्मीहरूलाई बोक्तै, उठाउँदै र बढाउँदै थापा स्वयम्ले झन्डै एक हजारवटा गीतमा सङ्गीत गरे र पाँच सयजति गीतमा स्वराङ्कन गरे । नेपाली आधुनिक गीतको स्तरनिर्माणमा समेत थापाको ठूलो लगानी जोडिएको छ ।

थापाको जन्म १९८२ साल असार १६ गते काठमाडौँस्थित कुलेश्वरमा भएको थियो । बाबु उस्ताद पद्मबहादुर पराजुली थापा र आमा कृष्णमायाका उनी जेठा छोरा थिए ।

थापाले आफूलाई सानमा सङ्गीत र नाटकमा ढल्काएका थिए । आफ्ना बाबु स्वयम् सङ्गीतमर्मज्ञ र राणाका दरबारमा भजन गाउने भएका कारण भैरवबहादुर थापा चाँडै नै यस क्षेत्रमा प्रेरित भएका थिए । सानामा गीत गाउनु, हार्मोनियम बजाउनु र रङ्गमञ्चहरूमा खेल्नु उनको दैनिकीजस्तै हुन्थ्यो । उनले सङ्गीत सिक्नका निम्ति पाटननिवासी भुवन जोशीलाई पहिलो गुरु थापे, दोस्रो गुरुका रूपमा सङ्गीतशिरोमणि यज्ञराज शर्मा देखापरे र तेस्रो गुरुका रूपमा नरराज ढकाल देखिए । शास्त्रीय गीत गाउनु, आधुनिक गीत गाउनु र लोकगीत गाउनु भैरवबहादुर थापाका लागि बराबरी सोख थियो । साथै नेपाली लोकगीतको भण्डारलाई धनी पार्ने पनि थापाको ठूलो धोको थियो । त्यसैले उनले लोकगीतसङ्कलनका लागि नेपालका हिमाल, पहाड र तर्राई भूभागमा आफ्ना पैताला पुर्‍याए । नेपाली लोकगीतलाई कैलाश पुर्‍याउनमा थापाको योगदान बिर्सिनसक्नुको छ ।

थापा रेडियो नेपालको स्थापनासँगै त्यहाँ पुगेका थिए । त्यतिखेर उनी त्यहाँ गायकको दरबन्दीमा भर्ना भएका थिए ।थापाको रेडियो नेपालको प्रवेशबाट एकातिर उनको सुवासले डाँडाकाँडा ढाक्यो भने अर्कातिर रेडियो नेपाल पनि खास गरेर लोकगीतको सङ्कलनमा धनी बन्यो । रेडियो नेपालमा उनले थुप्रै नाटक पनि खेले । त्यतिमात्र होइन, उनले ‘हिजो आज भोलि’, ‘आमा’ र ‘मनको बाँध’मा अभिनय पनि गरे ।

थापा प्रकृतिका सच्चा भक्त थिए । उनको कोमल हृदयका कारण उनी नारीजातिप्रति पनि त्यत्तिकै नतमस्तक हुन्थे । कोही सुन्दरी केटी देखे भने उनका मनमा गुलाफ फक्रिन्थ्यो । उनी केटीहरूसँगको प्रेमप्रसङ्गमा पनि सक्रिय थिए । यसको अर्थ उनी छाडाचाहिँ थिएनन् । उनी मधुर र सुमधुर हिसाबमा केटीहरूसँग समय भुक्तान गर्थे ।

थापा रसिक थिए । उनी ठट्टा गर्न मा पनि नामी थिए । उनको बोलीवचन र व्यवहार पनि सङ्लो हुन्थ्यो । अरूको उपकार गर्ने काममा पनि उनी लागिपर्थे । खास गरेर केटीहरूका गोडामा काँडा बिझदाचाहिँ उनको मन दुख्थ्यो । छोटकरीमा भन्ने हो भने उनी किशोरीहरूप्रति आसक्त थिए । त्यसै क्रममा उनले थुप्रै गीतमा किशोरीहरूलाई पनि डुलाए । आफ्ना मीठामीठा सङ्गीतले पनि उनले धेरैलाई भुलाए ।

थापाले चारवटीसँग बिहे गरे । उनकी जेठी पत्नी धनकुमारीबाट एउटी छोरी जन्मिन् र ती स्वर्गीय पनि भइन् । माइली गुहृयेश्वरी थापाले पनि एउटै छोरी जन्माइन् र तिनै हुन् भुवन थापा । भुवन थापा भन्नु पहिलो नेपाली चलचित्र ‘आमा’की नायिका हुन् । साथै उनी गायिका पनि थिइन् । भुवन थापाले करिब पचासवटा गीत पनि गाइन् ।

थापाकी साइँली श्रीमतीको नाउँ कान्छी थियो । कान्छी थापाले चाहिँ एउटा छोरा जन्माइन् । यिनीहरूले महेश पनि चलचित्रक्षेत्रमा प्रवेश भए ।

थापाले धेरै सङ्गीतकर्मीका गुरु बन्ने अवसर पाए । त्यसै परिप्रेक्ष्यमा गायिका धर्मदेवी तुलाधरलाई पनि उनले सङ्गीतमा तालिम दिन थाले । वास्तवमा धर्मदेवीको चाहिँ भैरवबहादुर थापाका छेउमा पुग्ने ठूलो धोको थियो । त्यसैले उनले प्रेमध्वज प्रधानकी आमा प्राणदेवीलाई त्यहाँ पुर्‍याउन खुबै अनुरोध गरिन् । प्राणदेवी प्रधानकै सौजन्यबाट धर्मदेवीले भैरवबहादुर थापालाई गुरु थाप्तै उनीसमक्ष पुगिन् । क्रमशः गीत सिक्न गइरहँदा धर्मदेवी र भैरवबहादुर थापाकी छोरी भुवन साथीसाथी हुन थाले । त्यसपछि धर्मदेवी छिनछिनै थापानिवास पुग्ने गर्थिन् ।

धर्मदेवी जतिजति भैरवबहादुर थापासँग बोल्थिन् त्यतित्यति उनलाई आफ्ना गुरुलाई बराबर देखूँदेखूँ लाग्न थाल्यो । यसैको परिणामस्वरूप थापाको धर्मदेवीसँगको गुरुचेली सम्बन्ध प्रेमीप्रेमिकामा परिवर्तन हुन थाल्यो । हुँदाहुँदै एक दिन धर्म देवीलाई नदेख्ता थापा भौँतारिने गर्थे र धर्म देवी पनि थापासँगको प्रेमको रनाहामा परेकी थिइन् । उनीहरूको प्रेमप्रसङ्ग पनि एक कान, दुई कान र मैदान हुन थालेको थियो । अन्तत २०१७ सालमा छत्तीस वर्षीय थापाले सत्र वर्षीय धर्मदेवीलाई आफ्ना घर भित्र्याएका थिए । यी दम्पतिले दुई छोरा र तीन छोरी पाए । छोरीहरूमध्ये शान्ति र सङ्गीता पनि नेपाली साङ्गीतिक बगैँचामा राम्ररी फुले । यसै क्रममा शान्तिले चार सयजति गीत गाइन् भने सङ्गीताले पाँच सयवटा गीत गाइन् ।

२०२२ को कुरा हो; त्यस बेला काठमाडौँमा आयोजित विराट् सङ्गीत सम्मेलनमा थापाले पनि भाग लिएका थिए । त्यतिखेर उनको स्वर, गायन र अभिनय राजा महेन्द्रले एकटकले हेरेका थिए । कार्यक्रम सकिने बेलामा राजाले भैरवबहादुर थापालाई एउटा मान दिए । अर्थात् राजाबाट त्यसै दिन उनी ‘उस्ताद’बाट सम्मानित भए । २०२३ सालमा आयोजित आधुनिक गीतसम्मेलनमा थापा शब्द, सङ्गीत र स्वर तीनै विधामा प्रथम भएका थिए । त्यसै गरी २०२६ सालमा पनि उनी सङ्गीततर्फप्रथम नै भएका थिए । साथै २०३३ सालमा पनि थापा सोही विधामा प्रथम भएका थिए । त्यसै वर्षस्वरतर्फ यिनकी छोरीद्वय सङ्गीता थापा प्रथम र शान्ति थापा सान्त्वना पुरस्कारबाट सम्मानित भएका थिए ।

थापा जुन प्रतियोगितामा भाग लिन्थे त्यहीँ पुरस्कृत हुन्थे । वास्तवमा उनले भाग लिएका ठाउँमा एउटा पुरस्कार चाहिँ उनको ठेक्कै जस्तो हुन्थ्यो । किनभने उनको स्वर र सङ्गीत प्रस्तुत भएपछि मै हुँ भन्ने गायक र सङ्गीतकार पनि उनीभन्दा एक इन्च पछि नै हुन्थे । उनको गीतसङ्गीत उच्चकोटिकै हुन्थ्यो । त्यसताका थापाको स्वर र सङ्गीतको आराधनाले नेपाली गीतसङ्गीतलाई धुरी चढाउने साहस बटुलेको थियो । उनले आफ्नो सङ्गीतयात्रामा आफ्नी छोरी शान्ति र सङ्गीतालाई पनि डोर्‍याउँदै लगेका थिए ।

थापाको जीवन विचित्रले बित्यो । उनको बुढेसकाल ‘मुख हर्ेर्ने राँडीका बाह्रवटा पोइ, मर्ने बेला कोही नकोही’ नै जस्तो भयो । वास्तवमा उनले पछिल्ला स्वास्नी ओर्सार्न थालेपछि उनका पहिलापहिलाका पत्नीहरू र तिनबाट पैदा भएका सन्तानहरू पनि उनीसँग परपर भए । यसै क्रममा भुवन थापाले पनि उनी बाँचुन्जेल उनको मुख हेरिनन् । त्यसै ले भैरवबहादुर थापाको जीवन बाहिरबाहिर चिल्लो, पीरो र गुलियो भए तापनि भित्रभित्रचाहिँ अख्रक्क परेको बालुवाजस्तै थियो । उनले बुढेसकाल भुक्तान गर्ने बेलामा मनभित्र जीवनज्योति भेट्न थाले । उनले जीवनको ज्ञान त्यतिखेर पाए जब त्यस ज्ञानले उनलाई शिखा हुन सिवाय केही दिन सकेन । उनी मैन बत्तीझैँ आफैँ बल्दै, गल्दै र जल्दै गए । उनको त्यति फर्ुर्तिलो शरीर, त्यति उत्साहित प्रेमले भरिएको छाती र त्यति चञ्चले आँखाहरू पनि क्रमशः सुस्ताउन थाले । उनी आफ्नो सीप, जाँगर र उत्साहलाई बोक्ताबोक्तै थला परे । त्यसपछि उनी सधैँका लागि सबैसँग बिदा भए ।

नेपाली सङ्गीतका विशिष्ट साधक भैरवबहादुर थापा २०३९ साल पुस १८ गते स्वर्गीय भए । उनको भौतिक चोलाको शोभाभगवतीमा दाहसंस्कार भयो ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी