» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » पार्थमणि दीक्षित Partha Mani Dixit

पार्थमणि दीक्षित Partha Mani Dixit

पार्थमणि आचार्य दीक्षितले शिक्षकका रूपमा ख्याति कमाएका थिए । उनले चालीस वर्षसम्म एकोहोरो दरबार हाई स्कूलमा पढाए । उनी कुशल शिक्षक थिए । त्यसैले उनको व्यक्तित्वको रौनकले चाँडै प्रसिद्धि बटुलेको थियो । त्यसैबेला उनले सेक्सपियरका कथाहरू पनि नेपालीभाषामा रुपान्तर गरेका थिए । त्यसैले पनि अझैसम्म यस भूमिमा उनको योगदानको चर्चा हुने गर्छ । भनौं उनको नाउँ अहिलेसम्म सग्लै पारामा तानिइरहेको छ ।

मास्टर पार्थमणि आदीले अनुवाद गरेको सेक्सपियरका कथासड्ग्रह १९९४ सालमा छापिएको थियो । त्यतिबेला नेपाली भाषा प्रकाशिनी समितिले छापेका २४ पुस्तकहरुमध्येको यो पनि एक गहन पुस्तक थियो ।

दीक्षित लेखनका सिद्धहस्त स्रष्टा थिए । तर उनी व्याकरणमा बढी समर्पित थिए । अनि व्याकरणका किताव लेखेर नै उनले नाउँ कमाएका थिए । त्यसबेला उनका फूटकर रचना पनि प्रकाशित भैरहन्थे । अनि कृतिगत रुपमा उनका सेक्सपियरका कथासड्ग्रह, नेपाली संस्कृत व्याकरण, संस्कृत सरल अनुवाद, संस्कृत वाणि, सरलीकृत संस्कृत टीका नाउँका किताव प्रकाशित भए । उनी संस्कृतका प्रकाण्ड विद्वान थिए । नेपाली भाषासाहित्यमा पनि उनी त्यस्तै पारड्गत थिए । साथै अड्ग्रेजी साहित्यमा पनि उनको रुचि चुलिएको देखिन्थ्यो । उनले एउटा अङ्ग्रेजी व्याकरणको पुस्तक पनि लेखेका थिए ।

दीक्षितका जन्म १९५८ साल बैशाख १५ गते काठमाडौंको भाटभटेनीमा भएको थियो । सानामा उनले आफ्नै घरमा आफ्ना बाजे पण्डित शिरोमणि आचार्यबाट प्रारम्भिक शिक्षा लिएका थिए । शिरोमणि पनि आफ्नो जमानाका वीर पुरुष थिए । उनले बनारसमा सोमयाग यज्ञको अनुष्ठान गरेका थिए । त्यही यज्ञबाट उनले आफू र आफ्ना वङ्शजलाई दीक्षित तुल्याएको बेहोरा उनका नाति अर्जुनमणि आदीले उल्लेख गरेका छन् ।

पार्थमणि दीक्षितका बुवा रामचन्द्र आदी पनि पण्डित थिए । उनी कुलको रितिथितिका ज्ञाता मानिन्थे । उनकी आमा कमलप्रियादेवी निरक्षर भएर पनि साक्षरसँग छलफल, वादविवाद र शास्त्रास्त्र गर्न सक्थिन् । त्यसैले सानैदेखि पार्थमणिलाई पनि आमाबुवाको प्रभाव परेको थियो । साथै उनी पढाईमा पनि तेजिला थिए । उनले प्रथम श्रेणीमा म्याट्रिक पास गरे । त्यसघडी उनका माहिलो काका काशीनाथ आदी श्री ३ चन्दशमशेरका हर्ताकर्ता भएकाले उनलाई चन्द्रशमशेरले उच्च शिक्षा पढ्न कोलकाता पठाएका थिए । कोलकाताको प्रेसिडेन्सी कलेजबाट उनले वीए पास गरेका थिए । नेपाल आएपछि उनले चन्द्रशमशेरको दर्शन पाए । अनि श्री ३ को हुकुम प्रमाड्गीले उनी दरबार स्कूलमा पढाउन थाले ।

दीक्षितले चालीस वर्षसम्म दरबार स्कूलमा नै पढाए । आफ्ना आमाबुवाको स्वर्गारोहण हुँदा बाहेक उनले त्यस अवधिमा एकदिन पनि स्कूलबाट छुट्टि लिएका थिएनन् । त्यसैले उनी खुबै निष्ठावान मास्टर भनिन्थे ।

दीक्षितले चन्द्रशमशेरका दरबारमा गएर राणाका सन्तान पढाउने पनि काम गरे । उनी बिहान राणा दरबारमा साइकल चढेर जान्थे र ट्युशन पढाएर हतार हतार भात खाएर दरबार स्कूलमा ठीक समयमा पुग्थे । आफ्नो काममा लगनशील भएववापत उनले राणा सरकारबाट पनि नगद र जिन्सी बक्सिस पाइरहन्थे । तर उनले राणाको दैलो कुरेर चाकरीचाहिं कहिले पनि गरेनन् ।

ठूलाबडाका सन्तान पढाउनका लागि दीक्षितलाई नै खोजिन्थ्यो । वास्तवमा उनी पढाएर नै नामी भएका थिए । उनको उच्च स्तरीय वाकशैली भएकाले नै उनलाई त्रिचन्द्र कलेजले पनि डो¥याएको थियो । भनौं उनले केही समय त्रिचन्द्र कलेजमा पनि प्राध्यापन गरेका थिए ।

दीक्षित अत्यन्तै इमान्दार, निर्भीक र कडा मिजासका थिए । उनलाई देख्ता उनका विद्यार्थी थर्थरी काम्थे । उनका हातमा सधैं बेतको एउटा लौरो हुन्थ्यो । तर उनी अनायसै कतै जाइलाग्दैन थिए । उनको अति उत्तम प्रवृति भएका कारणले विद्यार्थी उनका भक्त हुन्थे । वास्तवमा उनले एकोहोरो पढाउने मात्र काम गरेनन् । विद्यार्थीलाई नैतिक, असल र इमान्दार बन्न पनि प्रेरणा दिन्थे । उनका प्रेरणाले कोही विद्यार्थी वैज्ञानिक, कोही इन्जिनियर, कोही डाक्टर, कोही राजनीतिज्ञ भए । ती प्रायःले उनलाई आफ्नो बाबुपछाडिको महान् मान्छे पनि ठाने । शहदेव शमशेरले त आफ्नो अन्नपूर्ण होटलमा पार्थमणि दीक्षितको ठूलो तस्वीर नै टाँसेका थिए । वास्तवमा दीक्षित त्यसरी घरघरमा फोटो टाँस्न योग्य गुरुबावु थिए ।

दीक्षित गुणी मात्र थिएनन् उपकारी पनि थिए । उनीमा समाजसेवी भावना पनि प्रचुर थियो । कहीं भत्केको, विग्रेको र च्यातिएको छ भने आफ्नो गच्छेले उनी टाल्ने काम गर्थे, सपार्ने काम गर्थे र सिउने काम पनि गर्थे । त्यसैले उनले बाँचुन्जेल धेरैको माया पनि पाइरहे ।

दीक्षितको बिहे धुमधामसँग भएको थियो । पन्ध्र वर्ष पुगेकै दिन यिनको बिहे असन महाभूत निवासी छायादेवी देवकोटासँग भएको थियो । त्यसबेला कार्ड छपाएर बिहे गर्ने प्रचलन त्यति थिएन । तर पण्डित रामचन्द्र आदीले आफ्नो माइला छोरा पार्थमणि आदीको शुभविवाह पनि भव्यताका साथ सुसम्पन्न गरेका थिए । पार्थमणि र छायादेवीले चरजना छोरा र एउटी छोरी जन्माएका थिए ।

शिक्षाका लागि कालरात्री मानिने तत्कालीन समयमा दीक्षितले शैक्षिक विकासका लागि दिएको योगदान स्तुत्य थियो । साथै साहित्यले बामे सरिरहेको त्यस परिवेशमा उनको सृजनात्मक योगदान उल्लेखनीय थियो । रोजिरोटीका लागि ट्युशन पेसा अपनाउन बाध्य भए तापनि भाषिक तथा साहित्यिक क्षेत्रलाई गुन लगाउन पनि उनले विर्सेनन् । समाजलाई यथोचित लगानी गरेर गएका दीक्षित आफ्ना चेला चपेटाका लागि मात्र नभएर समग्र नेपालीका लागि समेत चीरस्मरणीय व्यक्तित्वका रुपमा पूजनीय बने ।

दीक्षितले धेरै धपेडी गरेर आफ्नो जिन्दगानी चलाएथे । बिहानदेखि रातिसम्म उनको काम पढाउने मात्रै हुन्थ्यो । अनि खाली र बिदाका समयमा उनी लेखिबस्थे । खानपानमा उनीमा खासै रुचि थिएन । किनभने उनका लागि खाने समय पर्याप्त पनि थिएन । त्यसैले उनलाई अल्सरले मरणासन्न पार्यो । त्यही कारण उनको भौतिक चोला पनि रित्तियो । उनी २०३२ साल असार ३१ गते काठमाडौंको भाटभटेनीमा स्वर्गीय भए । त्यसबेला उनी ७५ वर्षका थिए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी