» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नारद ओझा Narad Ojha

नारद ओझा १९८४ साल फागुन १७ गते भोजपुरको नोर्पायामा जन्मे । तर उनको वाल्यकाल भारतको असमस्थित ग्वालपाडामा वित्यो । उनले त्यहीँ प्राथमिक शिक्षा लिए । उनले स्थानीय भाषा लगायत संस्कृत, नेपाली र वड्गालामा पनि आफ्नो सीप रोपे । उनले संस्कृतमा मध्यमासम्म पढे । साथै उनले ज्योतिष र तन्त्र विद्या पनि पढेका थिए ।

ओझाले भारतको असममा दुई वर्षसम्म हिन्दी परीक्षक भएर काम गरे । त्यहीं नै उनले आठ महिनासम्म साना नानीहरूलाई निशुल्क पढाए, निश्शुल्क प्रौढ कक्षा पनि सञ्चालन गरे र नेपालीभाषामा आधारित पुस्तकालय पनि खोले । त्यहाँ उनले बड्गालाभाषामा आधारित पूर्णाड्की नाटक बसुन्धरालाई नेपालीमा अनुवाद गरी मञ्चन पनि गराए । उनी त्यस ठाउँमा अति मिहेनत गर्दै आफ्नो गन्तब्यमा लम्किरहेका थिए । तर त्यहाँ उनी गमलामा बरको बिरुवा जस्तै भए । अनि झाङ्गिने अभिप्रायमा उनी मात्रृभूमि पसे । नेपाल छिरेपछि सुरुमा उनले झापाको धुलाबारी हाइस्कुलमा पढाए । पछि उनले भद्रपुर रात्रि विद्यालयमा पनि पढाएका थिए ।

ओझा शिक्षण छाडेर पत्रकारितामा लागे । २०१९ सालमा भद्रपुरबाट प्रकाशित साप्ताहिक युवकमा प्रवेश गरेर यिनले पत्रकारितामा पाइला टेकेका थिए । झापा कै आलोक पत्रिकामा पनि उनले काम गरे ।

ओझाले झापाका श्यामकृष्ण उपाध्यायको आडमा पत्रकारितामा खुट्टा टेकेका थिए । यस पेसामा त्यहाँ नाउँ चलाएपछि उनले विराटनगरतिर फड्का हाने र विपिनदेव ढुड्गेलद्वारा प्रकाशित र सम्पादित हिमालचुली साप्ताहिकमा उनी कार्यरत भए । त्यसपछि कुमारबहादुर श्रेष्ठसँगको सहकार्यमा उनले कोसेली साप्ताहिक चलाए । त्यसैताक उनले राष्ट्रिय समाचार समितिमा पनि काम गरेका थिए ।

ओझाले काठमाडौंमा नै पत्रकारिताको राम्रो भविष्य देखे र यतै हाम फाले । यहाँ आएर उनले विभिन्न पत्रिकाहरूमा लेख्न थाले । अनि फेरि यहाँ टिक्न नसकेर उनी बिराटनगर नै पुगे । त्यहाँ उनले मासिक अनुशीलन र साप्ताहिक र दैनिक पत्रिकाको पनि सम्पादन गरे । साथै उनी बिराटनगर प्रेस क्लवको पनि अध्यक्ष भए । उनी भद्रपुरस्थित नेपाली साहित्य परिषद्का सचिव पनि थिए ।

जहाँ, जति र जहिलेसुकै घोटिंदा पनि ओझा तन्नम थिए । परिवारका लागि उनले एक पैसा जोड्न सकेनन् । यति हुँदाहुँदै पनि उनी उदार, निष्पक्ष र निर्भीक भएर नै हिंडे । उनलाई धेरैले घोडा कुदाए । उनी पनि अर्काको काम भनेपछि मरुञ्जेल खट्थे र घरमा आएर बरु भोकै सुत्थे ।

जतिसुकै अनिकाल लागे पनि ओझाले कहिल्यै पित पत्रकारिता गरेनन् । सोझो र साझा भावनामा उनको पत्रकारितामा नाउँ फस्टाएको थियो । उनी यथार्थपरक, स्पष्ट र सग्लो बेहोरा पत्रकारितामा प्रवेश गराउँथे । कसैलाई पीडा दिने र कसैलाई उकास्ने हेतू उनले पत्रकारितामा मसी खेर फालेनन् । वास्तवमा उनी बस्तुनिष्ट पत्रकार थिए । यो भन्दा ठूलो कुरा उनी निष्ठामा बाँधिएका इमान्दार पत्रकार थिए ।

ओझा प्रायः बोलिबस्थे । उनी स्पष्ट बोल्थे र तुरुन्त संशोधन गर्नु पर्ने कुरा त्यति बोल्दैन थिए । छलफलमा उनका अघिपछिका बक्ताले होसियारै भएर बोल्थे । किनभने उनी खण्डन गर्न पनि सिपालु थिए । उनी व्यक्ति विशेषका विचारको खण्डन गर्दैन थिए । तर समाजमारा, जनमारा र अप्राकृतिक कुराको निन्दा गर्न उनी मायुर थिए । अनि उनको लेखनको सबैभन्दा ठूलो विशेषता नेपाल प्रेम नै थियो । नेपालको राष्ट्रियताबारे उनले धेरै नै लेखे ।

ओझा निम्तो नपाएको विशेष समारोहमा पनि जान्थे र समाचार सड्कलन गर्थे । निम्तो विना पुगेका ठाँउमा आयोजकले जति बिन्तीभाउ गरे पनि उनी जलपान र भोजभतेरतिर नफर्की घर फर्कन्थे । त्यसबेला उनी भन्थे ‘म पत्रकार हुँ र समाचार सड्कलन गर्न मात्र आएको हुँ । म यहाँ खान आएकै होइन ।’

ओझा जोगी जस्ता पनि थिए । म भोलि फर्कन्छु भनेर घरबाट निस्केपछि उनी कहिलेकाहीं महिनौं दिनसम्म पनि बेपत्ता हुन्थे । तर त्यस अवधिमा उनी नेपालीभाषा र पत्रकारिताका विषयमा नै आफ्नो पैतला घोटिइरहेका हुन्थे । त्यसैले उनले नेपाली भाषासाहित्यमा पनि चर्चा पाए । उनले निबन्ध र प्रबन्धमा आधारित केही गहकिला किताव पनि लेखे ‘गन्थनमन्थन’, ‘केही पुराना निबन्धहरु’, ‘बेदतन्त्र र साधना’, अनि एउटा उपन्यास पनि लेखे –‘अस्तित्व र अस्मिता’ ।

ओझाले ‘गन्थनमन्थन’ कृतिका लागि प्रतिभा पुरस्कार पनि पाए । त्यो पुरस्कार पाउने उनी प्रथम स्रष्टा थिए । साथै उनले सिर्जनशील पत्रकारिता पुरस्कार पनि ग्रहण गरे । उनी निबन्ध प्रतियोगिताहरूमा पनि भाग लिइरहन्थे र त्यस्ता प्रतियोगितामा दुईपटक उनी प्रथम पनि भए । उनी पुरस्कारलाई सम्मानको तराजुमा मात्र जोख्तैन थिए । पैसा खामिएका पुरस्कारलाई उनी घरको गर्ज टाल्ने माध्यम पनि ठान्थे ।

ओझा लेखनका सिद्धहस्त कालीगढ थिए । त्यसैले उनी चुरोट चेपेका भरमा देवकोटाझैं रातोदिन लेख्न सक्थे । जीवनको उत्तरार्धमा उनी गोकर्णदेव पाण्डेको पशुपति छापाखानामा कार्यरत थिए । वास्तवमा उनी जहाँ जान्थे निष्ठामा नै डुबेर तन, मन र धन खर्चेर काम गर्थे । उनलाई एउटा कलम र कापी हातमा थमाइदियो भने दायाँबायाँ नहेरी उनी सहज रूपमा नै आफ्नो पाठ सक्थे ।

ओझाले आफ्नो जीवनमा धेरैलाई गुन लगाए । उनको शेषपछि ती मान्छेहरु पनि प्रायः सबै हराए । तर उनका मित्रभाइ गोविन्द तिम्सिनाले ओझा बाँच्ता पनि धेरै सहयोग गरे अनि उनको शेषपछि पनि त्यतिकै सहयोग पु¥याए । उनले ओझाको निधन भएपछि सर्वप्रथम ओझाले राष्ट्रिय वाणिज्य बैक विराटनगर शाखाबाट लिएको ऋण व्याजसहित तिरिदिए । अनि २०६२ सालमा ओझाको व्यक्तित्व र कर्तृत्वमा आधारित ‘ज्यूँदा पत्रकारको पर्याय ः नारद ओझा’ नामक कृति लेखे । वास्तवमा ओझा स्वर्गीय भएपछि हराउँदै गएका थिए । तर तिम्सिनाले ओझालाई सर्लक्कै कृतिबद्ध गरिदिए ।

ओझाले दुई जनासँग बिहे गरे । पुष्पा र मीना नाउँका दुवै पत्नीबाट दुई छोरा र पाँच छोरी गरी सात जना सन्तान जन्मे ।

ओझा काममा जति खट्थे त्यति नै धुम्रपान र मद्यपानको सेवनमा पनि अघि सर्थे । उनी कति चुरोट खान्थे भने अति नै खान्थे । जीवन कुण्ठित हुँदै जाँदा उनले नसा लाग्ने र मात लाग्ने कुरा पनि धेरै खाए । अनि खाएर नै उनले आफ्नो जीवन पनि रित्याई दिए । उनी २०४७ साल असार १० गते बनेपाको शिर मेमोरियल अस्पतालमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी