» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » धरणीधर शर्मा Dharani Dhar Sharma

धरणीधर शर्मा Dharani Dhar Sharma

साहित्यिक जगतमा क्रान्तिकारी कविका रुपमा चिरस्मरणीय नाउँ हो– धरणीधर शर्मा । भानुभक्त आचार्यपछि नेपाली जातीय कविमा उनैको नाउँ दरियो । खासगरेर उनका कविताले २००७ सालको आन्दोलन छेड्न महत्वपूर्ण भूमिका खेलेको थियो । नेपाली भाषा, नेपाली भेष र नेपाली शैलीका उनी कट्टर पक्षपाति थिए । उनी समाजसुधारक र यस विषयका सुत्रधार पनि थिए । बाँचुन्जेल उनी आफ्ना सिद्धान्तमा नै उभिइरहे । अन्ततः उनले नेपाल र नेपालीको गीत गाएर नै आफ्नो भौतिक चोला रित्याए ।

शर्मा १९४९ साल माघ २४ गते रामेछापस्थित आफ्नो मामा घरमा जन्मेका थिए । सिन्धुलीको दुम्जाबाट आफ्नी आमा माइत गएका बखत यी जन्मेका थिए । अनि यी अवन्तीनाथ शर्मा र पुण्यमाता शर्माका प्रथम सन्तान थिए ।

सानैदेखि शर्माले आफ्नो घरव्यवहार देखे । आफ्नो पारिवारिक दुक्खसुक्खको जीवनबाट पनि उनी पर सरेनन् । उनी मन, वचन र कर्मका पक्का थिए । त्यसैले बाल्यकालमा गाँसिएको उनको धारणाले उनी बाँचुन्जेल साथ पाइरह्यो । त्यही हिसाब जोडिएर नै उनी नेपाली परिवेशमा स्थापित भए । भनौं देशदेशान्तरमा जहाँजहाँ नेपाली भावना छ, त्यहाँत्यहाँ धरणीधर शर्मा पुगिरहे ।

शर्माले नेपालमा नै आफ्नो जरा गाड्दै थिए । तर यहाँ टिक्न नसकेर उनले डाँडा काटे । काका कृष्णप्रसाद कोइरालाको औंला समाएर १९७५ सालमा उनी दार्जीलिड पुगे । त्यहाँ टेकेपछि आफ्नो कोइराला थरलाई छोपेर उनले शर्मा लेख्न थाले ।
दार्जीलिड पुगेको दुई वर्षमा उनको सूर्यविक्रम ज्ञवाली र पारसमणि प्रधानसँग आत्मीयता जोडियो । त्यहीक्रमको डोरी बाटिंदा नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि उनीहरु एउटै धारमा बाँधिन थाले । अन्ततः त्रिरत्न र सुधपाका नाउँमा यिनीहरु सुपरिचित पनि भए ।

१९७८ सालमा त्रिरत्न अथवा सुधपाको गठनपछि धरणीधर, सूर्यविक्रम र पारसमणिले नेपाली भाषासाहित्यको संस्थागत संरचनाका लागि औपचारिक पहल गर्न थाले । अनि त्यसैको निष्कर्षमा दार्जिलिडमा नेपाली साहित्य सम्मेलनको स्थापना भयो । साहित्यका यी तीनै महारथी त्यस संस्थाका हस्ती थिए । कोलकत्ता विश्वविद्यालयमा नेपाली भाषाको प्रवेश गराउन सुधपाको नै गुरुत्तर भूमिका थियो । ती तीन भाइमध्ये शर्माचाहिं सम्मेलनका उपसभापति थिए । त्यस संस्थाको सभापतिचाहिं हरिप्रसाद प्रधान थिए । यस संस्थामा शर्माले ३५ वर्ष नरिन्तर सेवा गरेका थिए ।

सुधपाले नै २००९ सालमा काठमाडौंबाट दार्जिलिड पुगेका कविशिरोमणि लेखनाथ पौड्याल, नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटालाई त्रिमूर्तिको उपाधि प्रदान गरेका थिए ।

दार्जीलिडको नेपाली भाषासाहित्यको जग निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अग्रणीका रुपमा धरणीधर शर्माको नाउँ आउँछ । नेपाल र भारतको दार्जीलिड वीच साहित्यिक सेतुका रुपमा यिनैको अद्वितीय भूमिका थियो । त्यतिबेला स्कुलमा पढाउदै साहित्यिक सङ्गठन गर्दै आफ्नो सृजना यी अघि सार्थे । उनले नेपाली भाषामा धेरै नै फुटकर लेखरचनाको निर्माण गरे अनि आठ ओटा आफ्ना कृति प्रकाशनमा ल्याए । उनका नाउँ चलेका कृतिहरू हुन्— नैवेद्य (कवितासङ्ग्रह : १९७७), श्रीमद्भगवतगीता (अनुवाद : १९९१) र स्पन्दन (कवितासङ्ग्रह : २००९) । उनी नेपाली, संस्कृत, हिन्दी, अड्ग्रेजी र वड्गला भाषाका पनि ज्ञाता थिए ।

शर्माले कासी, दार्जीलिङ, कोलकाता र ढाकामा पढे । यिनले बीएबीटी पास गरे । उनी दार्जीलिडमै हँुदा लण्डन र अमेरिकाबाट पनि उनले विश्वविद्यालय स्तरीय शैक्षिक उपाधि पाएका थिए ।

पढ्न थालेदेखि नै शर्माले समाजसेवा गरे । काशीमा बस्ता उनले हिमालय प्रेस खोल्न प्रोत्साहन गरे, गोर्खाली साप्ताहिक स्थापना गर्ने भूमिका खेले र हिमालय विद्यार्थी सड्घको स्थापनामा नेतृत्व गरे । उनैले त्यहाँ आफ्नै डेरामा धरणीधर छात्रावास खोले । त्यहीं उनी विद्याधर्म प्रचारिणी समितिको अध्यक्ष पनि चुनिए । समाजसेवा कै कुरा गर्दा उनी दार्जीलिडका मनोविनोद पुस्तकालय र भीम छात्रवृत्तिका अध्यक्ष भए । उनी काठमाडौं फर्पिडको त्रिभुवन आदर्श आवसीय विद्यालयमा प्रधानाध्यापक भए । साथै उनले नेपालकै शेषनारायण महिला विद्यापीठ, राजनीति निरपेक्ष नवनेपाल संघ र सनातन धर्म सेवा समितिको पनि अध्यक्ष भएर काम गरे ।

शर्माले शिक्षणसंस्था र साहित्य विषयक कममा हात हाले । उनैको नेतृत्वमा दार्जीलिडमा मनोविनोद पुस्तकालयको स्थापना भएको थियो । उनी दार्जीलिडको सरकारी उच्च माध्यामिक विद्यालयमा धेरै वर्ष प्रधानअध्यापक भए । अनि त्यस स्कूलका उनी नेपाली पढाउने प्रथम गुरुबाबु थिए । त्यतिखेर दार्जीलिड बाहिरबाट पढ्न आउने विद्यार्थीलाई उनैले संरक्षण दिन्थे । त्यस स्कूलमा भर्ना हुँदा उनको मासिक तलबचाहिं बीस रुपियाँ थियो ।

शिक्षण पेसामा जीवन निर्वाह गरेका शर्माले पेसागत रुपमा पढाउने काम मात्र गरेनन् । उनले विद्यार्थीलाई देशप्रेम, भाषाप्रेमका साथसाथै नैतिकता र सदाचारको पाठ पनि कण्ठाङ्ग्र गराउँथे । उनका कारणले समेत त्यसबेला शिक्षण पेसा मर्यादित मानिन्थ्यो ।

शर्मा भानुभक्तका भक्त थिए । उनको मुखमा भानुभक्तको रामायण नै टाँस्सिएको थियो । उनले आफ्ना हरेक रचनामा पनि भाुभक्त नै भानुभक्त मात्र खिप्थे । स्कूलमा पढाएका बेला होस् या बजार भर्न गएका बेला होस् या साहित्यिक र साँस्कृतिक समारोहमा गएका बेला होस् उनी भानुभक्त नै मात्र गाउँथे र त्यसैबारे मात्रै देउसिरे भट्याउँथे ।

शर्मा जहाँ गए तापनि नेपाल, नेपाल र नेपाल मात्रै बोल्थे । उनी राणाशाहीको जग हल्लाउने कुरा मात्रै गर्थे र त्यस्तै लेख्थे । त्यसैले दार्जीलिड नै बसे ताक पनि उनलाई राणा विरोधी कामका अतिरिक्त गोर्खे सिपाहीलाई भड्काउने कुचेष्टा गरेको आरोप लाग्यो । अनि २००१ साल बैशाख २२ गते राजबन्दीका रुपमा उनी एक वर्ष जेलखाना बसे ।

शर्मा हिन्दूधर्म संस्कृतिप्रति कट्टर आस्थावान थिए । दार्जीलिङमा उनले धीरधामको पनि स्थापना गरे । त्यस संस्थाको बाँचुन्जेल उनैले अध्यक्षता ग्रहण गरे । नेपाली साहित्य सम्मेलनका हरेक भाका र प्रस्तुतिमा पनि उनी हिन्दूधर्म र संस्कृतिकै रङ्ग पोख्थे ।

स्कूलको शिक्षकबाट अवकास भएपछि शर्मा दार्जीलिङको जिल्ला समाज शिक्षा अधिकारीमा भर्ना भए । चार वर्ष त्यस पदमा बसेर उनले जिल्लाको शिक्षासेवा मात्र गरेनन् ठाँउठाँउमा पुस्तकालय खोल्न पनि प्रोत्साहन दिइरहे ।

नेपाली साहित्यमा शर्माको विर्सिनसक्नुको योगदान थियो । त्यसैले यिनलाई त्रिभुवन प्रज्ञापुरस्कार प्रदान गरियो । त्यसपछि त्रिभुवन विश्वविद्यालयले पनि उनलाई साहित्यबारे महाविद्यावारिधिको मानार्थ उपाधि प्रदान ग¥यो । उनी गोर्खदक्षिणबाहु तेसोबाट पनि विभूषित थिए ।

शर्माको पहिलो बिहे अर्कलाल उपाध्यायकी छोरीसँग बनारसमै भएको थियो । बिहे गरेको पाँच वर्ष नपुग्दै उनकी पत्नीले आँखा चिम्लिन् । त्यसपछि उनले काठमाडौं चाबेल बस्ने सुब्बा प्रेमनाथ ढुड्गानाकी छोरी चन्द्रकुमारीसँग लगन गाँठो कसे ।

शर्मा चन्द्रकुमारीको नियन्त्रणमा थिए । तर उनकी पत्नीले सन्तान पाएकी थिइनन् । त्यसैले उनी पत्नीप्रति विद्रोही थिए तर त्यस कुरामा उनी मुख बाउन सक्तैन थिए । उनी पुरातन संस्कृतिको जडका एउटा सग्लो प्रतीक थिए । त्यसैले सन्तान जन्माउने हेतु उनले कान्छी ल्याउन पत्नीसँग अनुनय विनय गरे । तर यसबारे उनले हार मात्रै खाए । त्यसबेला यी दार्जीलिड सरकारी स्कूलमा पढाउँथे । त्यसैफेरोमा इलाम कर्फोककी गड्गादेवी अधिकारीसँग यिनले प्रीति गाँसे । अनि यी जोडीले एउटा छोरो पाए र उनको नाउँ अच्युत कोइराला राखियो । बाँचुन्जेल उनले जति जुक्ति ख्याए पनि कान्छी पत्नी र छोरालाई आफ्नो घरमा छिराउन सकेनन् । अनि उनी २०३६ साल माघ २६ गते नेपालमा नै स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी