» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » दैवज्ञराज न्यौपाने Daibagya Raj Neupane

दैवज्ञराज न्यौपाने Daibagya Raj Neupane

गणेशप्रसाद न्यौपाने र उमादेवीका जेठा छोरा दैवज्ञराज न्यौपानेको जन्म २००४ साल मङ्सिर ३० गते भोजपुरको गोगनेमा भएको थियो ।

न्यौपाने सानैदेखि जेहन्दार थिए । उनी पढ्नमा विशेष रुचि राख्थे । उनी खेलकुद र वादविवादमा पनि क्रियाशील हुन्थे । स्कुले जीवनको अध्ययनका क्रममा यिनले विभिन्न स्कुल चहारे । उनले स्थानीय गगने पाठशाला, दिङ्लाको षडानन्द संस्कृत विद्यालय र दाङको जनता प्रधान पाठशाला पढेर संस्कृतकै माध्यमबाट स्कुले शिक्षा तुरे ।

न्यौपाने स्कुले जीवन सकेपछि पश्चिम नेपालबाट घर पुगे । अनि त्यहाँ उनले कार्तिकेको जलपादेवी प्राथमिक विद्यालयमा प्रधानाध्यापकको काम पाए । त्यहाँ उनले चार महिना पढाएपछि काठमाडौँ आएर संस्कृत छात्रावासमा छिरे । अनि उनले तीनधारा संस्कृत छात्रावासमा बसेर राजकीय संस्कृत विद्यालयमा पढ्न थाले । यिनले शास्त्री पास गरे र आचार्य पनि त्यहीँ पढे । त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयबाट एमए पास पनि गरे ।

न्यौपानेले २०२७ सालमा भक्तपुर कलेजमा प्राध्यापनको काम पाए । तर केही समयपछि उनले त्यो काम पनि छाडेर उनी सरकारी जागीरमा आवद्ध भए । त्यसबेला यी राष्ट्रिय व्यवसायिक केन्द्र सानोठिमीमा अधिकृत थिए । तर सरकारी जागिर पनि उनका लागि सहज भएन । बिहानदेखि बेलुकासम्म जागिरले नै उनको सृजनात्मक समय पनि बर्बाद गरेको उनले बुझे र राजीनामा दिए । त्यसपछि उनी पुनः प्राध्यापनमा नै लागे । साहित्यिक लेखनमा गाँसिएर फेरि उनी भक्तपुर कलेजमा नै पुगे । त्यसपछि उनले बाह« वर्ष पाटन कलेजमा पढाएर कीर्तिपुरतिर सरे । अन्ततः उनी प्राध्यापक भए । त्यतिबेलासम्ममा उनी नेपाली भाषासाहित्यका फाँटमा प्रसिद्ध भैसकेका थिए ।

न्यौपानेको बिहे सानैमा भयो । भोजपुरका पदमलाल नेपालकी छोरी मुनालाई छाडेर यिनले २५ वर्षको उमेरमा फेरि अर्को बिहे गरे । धनकुटाका डा.शिवप्रसाद पोख«ेलकी छोरी रीता पोख«ेलसँगको दाम्पत्य जीवनले यिनीहरूका सन्तान पनि भए । दुवै जनाको जागीर भएका कारण यिनीहरूले आफ्ना सन्तानलाई उचित शिक्षादीक्षा पनि दिए । यी दम्पतिका दुई छोरा भूषण र उज्ज्वल र एक छोरी अर्चना विदेशमा नै बसोबास गर्न थाले ।

न्यौपानेले फेरि तेस्रो बिहे गरे । दयानिधि कोइरालाकी छोरी सुधा कोइरालासँग वैवाहिक जीवनमा बाँधिएपछि उनीमा वैयक्तिक विचलन पनि आएन । सुधा जागिरे पनि भएकाले न्यौपानेको दिनचर्यामा कुनै असुविधा पनि भएन । साथै यी दम्पतिबाट पनि एक जना छोरा सौरभको जन्म भयो ।

न्यौपाने चटक्कै परेर हिँड्थे । राम्रा, गोरा र अल्का भएका कारण उनीप्रति ठिटीहरू पनि झुम्मिने गर्थे । उनी झिल्के थिए । तर सौम्य पनि थिए । यी बोल्दा पनि मीठा पाराले बोल्थे । लेखन पनि स्तरीय लेख्थे । गीति कवितामा यिनको विशेष पहुँच थियो । निबन्ध, समालोचना लेखनमा पनि यिनले स्तरीयता कायम गरेका थिए । बालसाहित्य लेखनमा पनि उनले ख्याति कमाएका थिए । त्यति मात्र होइन कविता वाचनकलामा पनि उनी अब्बल दर्जाका मानिन्थे । यिनले जीवनी र कथा पनि लेखे । यिनले जे लेख्ते खिपेर लेख्थे ।

न्यौपानेले सानैदेखि नाटक पनि खेले । उमेर छिप्पिदै जाँदा यिनको अभिनय झन मोहक बन्यो । त्यसैले यिनले भीमनिधि तिवारीदेखि विजय मल्लसम्मले लेखेको नाटक खेल्न भ्याए । उत्कृष्ठ अभिनय गरेर यिनले पुरस्कार पनि जितेका थिए । सानामा उनी गीत पनि गाउँथे । उनी पहाडमा गीत गाउँदागाउँदै धेरैका प्रिय भइसकेका थिए । गीत गाउन उनी स्कुलका माइकहरुमा उभिएपछि त्यहाँ अर्कै रौनकको सुत्रपात हुन्थ्यो ।

न्यौपानेले खेलकुदमा पनि विशेष चाख राख्थे । उनी फुटबल, भलिबलका पारखी थिए । साथै हाइजम्प र लङजम्पमा पनि उनी प्रायः सधैँ पुरस्कृत हुन्थे । उनी हार्ने खेलमा अघि सर्दैन थिए ।

न्यौपानेले दस वर्षको उमेरमा कविता लेखे । तर १६ वर्षको उमेरमा पहिलोपल्ट यिनको कविता अरुणोदयमा प्रकाशित भयो । साथै यिनले ३१ वर्षको उमेरमा गीतिकवितासङ्ग्रह ‘सिर्जनाका लहर’ प्रथम कृतिका रूपमा देखापर्यो । यिनका छवटा काव्यकृति प्रकाशनमा आए । अनि बालसाहित्यमा पनि यिनले छवटै पुस्तक लेखे । उनले केही कृतिको सम्पादन पनि गरे । उनी भानुसेवा समितिका अध्यक्ष थिए । साथै उनले धेरै साहित्यिक संस्थाको सेवा पनि गरे ।

नेपाली भाषासाहित्यमा समर्पित भएबापत न्यौपानेले झन्डै तीन दर्जन पुरस्कार, पदक र सम्मान पाए । युवावर्ष मोती पुरस्कार पाउने उनी प्रथम स्रष्टा थिए । अनि उनले २०४२ सालमा यो पुरस्कार पाएका थिए ।

भद्र, सज्जन र सौम्य न्यौपाने समाजसेवी भावले पनि ओतप्रोत थिए । उनी मीठो कुरा गर्थे । उनी खस्रो कुरा गरेर मान्छेलाई बिजाउन चाहँदैन थिए । उनी प्रष्ट पनि बोल्थे र अक्षर तोलिएर नै बोल्थे । कसैले उनलाई आक्रमण ग¥यो भने उनी मुसुक्कै हाँस्थे र शत्रु पनि गलाउँथे ।

न्यौपाने विद्यार्थी राजनीतिमा पनि खुबै सक्रिए थिए । उनी नेपाली काङ्ग्रेसलाई मन पराउँथे । धेरै क्रान्तिकारी भएका कारण उनी २०२२ सालमा जेल पनि परे । उनी त्यहाँ चार महिना बसे र कविता लेखे । उनी जुनसुकै सिद्धान्तका मान्छेको पनि गुण छ भने उसलाई काखी च्याप्थे । उनी जातीयता, आञ्चलिकता र सिद्धान्तलाई होइन मान्छेको गुणको कदर गर्थे । उनी राष्ट्रभक्त थिए ।
न्यौपाने वाणिक छन्द लेखनमा सफल कवि थिए । उनी गीत र वार्णिक छन्दका कविता वाचन गरेर पाठक र स्रोतालाई आफन्त बनाउँथे । त्यसैले पनि उनी जुनसुकै सांस्कृतिक र साहित्यिक भेलामा जान मन पराउँथे । उनी कविता पनि राष्ट्रियतामा आबद्ध भएरै लेख्थे । उनी शास्त्रीय छन्दमा कविता लेख्न सिपालु थिए । उनी लेखनाथ, सम र देवकोटालाई धेरै नै मान्थे । तर उनले राष्ट्रकवि माधव घिमिरेका शैली समाएर नै कविता लेखे ।

न्यौपानेलाई साठी वर्षको पूर्वसन्ध्यामा मधुमेहले सताउन थाल्यो । त्यसपछि उच्च रक्तचापले उनी थलिन थाले । त्यति मात्र होइन उनलाई मुखमा पक्षघातले पनि आक्रमण ग¥यो । मुखमा पक्षघात भएपछि उनी बोल्न सक्तैन थिए । रोगसँगको अविरल युद्धमा उनले धेरै कष्ट खेपे । अन्ततः २०६८ साल पुस २ गते उनी काठमाडौँमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी