» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » देवीप्रसाद रिमाल Devi Prasad Rimal

देवीप्रसाद रिमाल Devi Prasad Rimal

देवीप्रसाद रिमालले नेपालको सार्वजनिक प्रशासन, शिक्षा र साहित्यका क्षेत्रमा नाउँ कमाएका थिए । उनी बोद्धिक, इमान्दार र व्यबहारिक थिए । प्रशासन, शिक्षा र साहित्यमा समर्पित भएका कारणले पनि त्यसबेला उनको योगदानको निक्कै चर्चा हुन्थ्यो । वास्तवमा राणाकालीन अन्धकारमय नेपालमा उनले जति गरेका थिए धेरै गरेका थिए । उनको योगदान तत्कालीन समयमा नै प्रशंसनीय थियो । अनि त्यो लहरो सधैं तानिदै पनि आइरह्यो ।

रिमाल संस्कृतभाषाका धुरन्धर विद्वान थिए । नेपालीभाषामा पनि उनको त्यतिकै वर्चस्व थियो । साथै अड्ग्रेजीभाषामा पनि उनको धेरै मोह गाँसिएको थियो । त्यसबेला नेपालमा अङ्ग्रेजी शब्दकोश कण्ठ गर्ने रैती कोही थिए भने उनी पनि एक जना थिए । भनौं उनलाई अक्फोर्ड डिक्सनेरी कण्ठाग्र थियो । २००० साल तिरको कुरा हो, ‘टर्नर’ भन्ने बेलायती विद्वान्ले अङ्ग्रेजी–नेपाली शब्द कोश तयार गर्ने कार्यमा उनैलाई अघि सारेका थिए ।

रिमाल विश्वसनियताका हकदार पनि थिए । खास गरेर शिक्षा र प्रशासनमा उनले आफ्नो विश्वासको शाखलाई धुरी चढाएका थिए । साथै उनी निर्भीक पनि थिए । प्रष्ट ब्यबहार उनको नैसर्गिक जीवन पद्धती थियो । तर सुरुसुरुमा राणाहरुसँग उनले खरो बोली बोल्दा उनी झन्नै कोप भए । त्यसपछि उनी समय अनुसार नरमभन्दा नरम, सरलभन्दा सरल र मिलनसारभन्दा मिलनसार हुन थाले । उनको त्यही परिवेशका कारण उनी राणा दरबारमा पनि प्रिय हुन थाले । उनको राणाहरूप्रतिको समर्पण, निष्ठा र अनुशासनले उनीप्रति राणाहरु पनि आल्हादित हुन थाले । वास्तवमा उनी दिनानुदिन राणाका पतेरा नै हुन थाले । त्यतिमात्र होइन कमाण्डर इनचिफ रुद्रशमशेर जबराले उनलाई निजी सचिवमा पनि राखेका थिए ।

रिमालले आफ्नो हैसियतलाई कहिल्य कमजोर बनाएनन् । अनि शिक्षामा उनको धेरै ठूलो कमान्ड थियो । त्यसैले त्यसबखत गतिला र धनी मानिसहरुले उनको घरमा लगेर आफ्ना छोराहरुलाई जिम्मा लाउँथे र उनीसँग ट्युशन पढाई माग्थे । त्यसै हिसावमा उनले लक्ष्मीप्रसाद देवकोटा, शङ्करदेव पन्त, यदुनाथ खनाल, रामप्रसाद जोशी आदिलाई ट्युसन पढाए । उनको ट्युशन पढाउने कलामा पे्ररित भएर सत्ताधारी राणाले पनि आआफ्ना छोरा पढाउन उनलाई आआफ्ना महल बोलाउँथे ।

रिमाल सृजनात्मक प्रतिभाका धनी थिए । उनी लेख निबन्धहरुको पनि आविष्कार गर्थे । नेपालीभाषा प्रकाशिनी समितिले पनि उनलाई गर्व, विश्वास र श्रद्धापूर्वक काम दिएको थियो । त्यही परिप्रेक्ष्यमा समितिले चौबीसवटा किताब प्रकाशन गर्ने योजनामा उनलाई पनि एउटा किताबको जिम्मा दिइएको थियो । त्यसबेला यिनले ‘नेपोलियनको जीवनी’ लेखेका थिए । १९९८ सालमा प्रकाशित सो कृति १४७ पृष्ठमा आधारित थियो ।

रिमाललाई नेपोलियनको जीवनीले नेपाली भाषासाहित्यमा थप एक खुट्किलो चढाएको थियो । यिनले अरु पनि थुप्रै फुटकर लेखरचनाको आविष्कार गरेका थिए । त्यसै प्रसड्गमा उनका छोरा लक्ष्मणप्रसाद रिमालले भने, ‘मेरा बुबाले किताबहरु लेख्नु भएको मैले देखेको थिएँ, तर ती पाण्डूलिपी अहिले हामीसँग छैन । ती दस्तावेजहरू खालीसिसी पुराना कागज उठाउनेले लगेजस्तो छ ।’ लक्ष्मणप्रसाद रिमाल पनि राणाकालीन युगदेखि जागिर खाएर पञ्चायती समयसम्ममा नेपाल सरकारका सचिव भएका थिए । साथै उनी पनि साहित्यकारमा दरिदैछन् ।

रिमालको जीवको अर्को महत्वपूर्ण विशेषता उनी नेपाली भाषासाहित्य भनेपछि हुरुक्कै हुन्थे । उनी नेपालीभाषाको श्रीवृािद्धका लागि मरिमेट्थे । यसबारे उनी भन्थे ‘नेपाल राष्ट्र र नेपाली भाषा भनेको विश्व परिवेशमा हाम्रो शिर हो ।’ वास्तवमा उनी संस्कृत र अङ्ग्रेजीका विद्वान भए तापनि उनले नेपाली भाषामा मात्रै प्रायः लेखे । साथै उनैको सम्पादनमा २००६ सालमा ‘आँखा’ नामक पत्रिका पनि प्रकाशनमा आएको थियो । शिव रेग्मीका अनुसार नेपाल स्कूलहरुको मासिक पत्रिका आँखा पहिलो स्कूलेपत्रिका थियो ।

नेपालको शिक्षा विकासमा पनि रिमालको नाउँ आउँछ । खास गरेर पद्मकन्या कलेज स्थापनाकालमा उनको मन, वचन र कर्म जोडिएको थियो । उनी त्यस कलेजको संस्थापक सदस्यहरुमा एक थिए । साथै उनी सो कलेजको प्रथम प्रिन्सिपल पनि थिए ।

पण्डित देवीरमण रिमाल र खेमकुमारीका जेठा छोरा देवीप्रसाद रिमालको जन्म १९५३ साल आषाढ कृष्ण तृतीयाका दिन काठमाडौंमा भएको थियो । उनको व्रतबन्ध भएपछि उनलाई आफ्ना बुवाले घरैमा अमरकोश तथा वेदको ज्ञान प्रदान गरे । अनि उनले दरबार हाईस्कुलमा पढे र म्याट्रिक परीक्षा दिन कोलकाता गए । उनले कलकत्ता विश्वविद्यालयबाट द्वितीय श्रेणीमा म्याट्रिकुलेसन गरे । त्यतिखेर उनीसँग जाँच दिने उनका समकालीनमा सरदार माणिकलाल राजभण्डारी, बोधविक्रम अधिकारी, सरदार गुञ्जमान सिंह तथा लोकमान सिंह थिए । पछि काठमाडौंमा आएपछि उनका मित्रहरुमा योगी नरहरीनाथ, धरणीधर कोइराला, सूर्यविक्रम ज्ञवाली आदि थपिएका थिए ।

रिमालले उच्च शिक्षा कोलकाताको ‘स्कटिस चर्चेज कलेज’ तथा ‘कलकत्ता विश्वविद्यालयमा उनले एमए सम्म पढे । तर विरामीका कारण उनले एम्ए पास गरेनन् । उनको स्वास्थ्य सुधारका लागि उनलाई कोलकाताबाट दार्जीलिडको कालेबुङमा पुर्याइयो । त्यहाँ उनी हरिप्रसाद प्रधानका घरमा बसे । पछि तिनै प्रधान नेपालको सर्वोच्च अदालतका प्रथम प्रधान न्यायाधीश भएका थिए ।

रिमालको श्री ३ चन्द्रशमशेर राणासँग ठाडो सम्पर्क थियो । त्यसैले राणाबाट उनलाई बोलाएर भने ‘तिमीले एमएको फाइनल परीक्षा दिन नपाए पनि अध्ययन पूरा गरिहाल्यौ, अब यहीँ बसेर काम गर’ । त्यसपछि रााणाले उनलाई दरबार स्कुलको शिक्षकमा नियुक्त गरिदिए । केही समय दरबार स्कुलमा अध्यापन गरेपछि उनको सुभासले राणा दरबार छोएको थियो । अनि राणाको हुकुमले उनी त्रिचन्द्र कलेजको प्राध्यापनमा पनि गाँसिए ।

मात्रृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपछि रिमाल गोर्खाका बडाहाकिमा नियुक्ति भए । त्यसपछि उनी बाँके बर्दियाका पनि बडाहाकिम भए । उनी २०११ सालसम्म सरकारी सेवामा लागे । त्यसपछि उनी एकोहोरो तपस्यामा मात्र लागे । अनि उनी शास्त्रीय पद्धती र धार्मिक चिन्तनमा डुब्न थाले । ९१ वर्ष भएपछि चाहिं उनीमा केही असहज देखिन थाल्यो र उनलाई पशुपति आर्यघाट लगिएको थियो ।

रिमाललाई आर्यघाटमा सुताएका बेला उनकी पत्नी नीरमञ्जरीले गजेन्द्रमोक्ष पाठ गरिरहेकी थिइँन् । त्यसपछि थप असजिलो भएपछि उनलाई ब्रम्हनालमा सुताइएको थियो । त्यहाँ परिवारजनले उनलाई जल खुवाउनेक्रममा उनले आफ्ना दुबै आँखा चिम्लिदिए । अथवा भनौं २०४४ साल भदौ ५ गते उनी स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी