» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » तोलाराम दुगड Tola Ram Dugad

तोलाराम दुगड Tola Ram Dugad

सवासय वर्षपूर्व विराटनगर बसाउन तोलाराम दुगडका बाजे चाँदमल दुगडको गुरुत्तर भूमिका थियो । उनी भारत राजस्थानबाट बिहारहुँदै विराटनगर आएका थिए । त्यसबेला उनी आफ्ना दाजु सुगनमल दुगडसँगै नेपाल आएका थिए । 

त्यतिबेला मोरङमा विराटनगर भन्ने थिएन । अनि त्यो ठाउँ पनि घना जङ्गलले ढाकेको थियो । त्यतिबेला त्यहाँ जङ्गली जनावरको ठूलो डर हुन्थ्यो । साथै त्यस ठाउँमा लामखुट्टेको टोकाईले मान्छे सुक्थे र त्यही कारणले मर्ने गर्थे । यति हुँदाहुँदै पनि यी दुई दाजुभाइले ज्यानको बाजीमा नै त्यस ठाँउमा व्यापार गरेका थिए । 

त्यसबेला त्यस ठाँउलाई नेपालगञ्ज भनिन्थ्यो । नेपालगञ्ज पश्चिममा पनि छ भन्ने कुरा थाहा भएपछि त्यस ठाउँलाई गोग्राह भन्न थालियो । अनि १९५० सालमा दुगडहरूसमेतको आडमा त्यस ठाँउलाई विराटनगर बनाइएको थियो ।
 
सुगनमल र चाँदमल दुगडले विराटनगरमा व्यापार नै गरे । धान, तोरी, सुनचाँदी, कपडा र किरानाको थोकबाट उनीहरुले त्यहाँ व्यापार सुरु गरेका थिए । त्यही फेरोमा त्यहाँ लुनकरण दुगडको जन्म भयो ।

लुनकरण दुगड र ज्ञानदेवी गोल्छाका प्रथम सन्तानका रुपमा १९८७ साल भदौ ४ गते तोलाराम दुगडको जन्म विराटनगरमा भयो । दुगड आमाको गर्भमा दुई वर्षसम्म बसेर जन्मेका थिए । जन्मेपछि पनि उनी रोगी थिए । त्यतिबेला उनलाई कसैले बाँच्छ पनि भन्दैन थिए । त्यसैले पनि उनले स्कूल भर्ना भएपछि चार वर्ष जति मात्रै पढे । सानैमा उनलाई पढनुभन्दा व्यापार गर्न नै मन पर्थ्यो । 

व्यापारमा प्रवेश गर्न थालेपछि दुगडको स्वास्थ्यमा पनि क्रमिक सुधार हुन थाल्यो । यसैक्रममा उनी बाह« वर्षका भएपछि उनका बुबाले उनलाई कपडाको थोक व्यापार गर्न सिकाएका थिए । तेह« वर्षका उमेरमा उनका बुवाले उनलाई टाउकामा फेटा गुँथाएर र कम्मरमा नोट बँधाएर कपडासम्बन्धी व्यापारका लागि कोलकात्ता पठाएका थिए । उनका बुबाको उनीप्रतिको सोही विश्वासका कारण उनी व्यापारका सन्दर्भमा आँटिला हुँदै गए । त्यसपछिका दिनहरुमा उनले चार वर्षजति कोलकाताबाट कपडा ल्याएर विराटनगरमा व्यापार गरे । अनि विस्तारै उनी बम्बै पनि जान थाले । पछिपछि उनले कपडाको काम त्यागे र उनी जुटको व्यापारमा लागे ।

दुगडको विवाह भँवरीदेवीसँग २००३ सालमा भएको थियो । यी दम्पतिबाट २००७ सालमा छोरो जन्म्यो । जन्मेकै एकाध घन्टामा ती शिशुको निधन भएको थियो । अनि फेरि दुई वर्षपछि अर्को छोराले पनि एकदिन मात्र पृथ्वीको भोग गरे । अनि अर्को वर्ष अर्थात् २०१० सालमा मालचन्दको जन्म भयो । यिनैले आफ्ना बुवाको पेसा समाएर नेपालको व्यापारमा उल्लेखनीय योगदान दिए । साथै तोलाराम भँवरीदेवीका तीन बहिनी छोरीहरु मधु, वीणा र सुषमा आआफ्ना घर गृहस्थीमा बाँधिए । 

मातृकाप्रसाद कोइराला र भूपालमानसिंह कार्कीहरुसँगको गहिरो सम्बन्धका कारण दुगड पनि समाजसेवातिर उन्मुख थिए । २००९ सालमा विराटनगर नगरपालिकाको प्रथम निर्वाचनमा उनी वडा नम्बर ३ को सदस्यमा निर्वाचित भए । त्यसैताक उनी मोरङ व्यापार सङ्घको महासचिव भए अनि पछि अध्यक्ष पनि भए ।

विराटनगरमा काम गर्दै जाँदा दुगडको मात्रृकाप्रसाद कोइराला र भूपालमानसिंह कार्कीसँग भेट भयो । त्यसपछि उनी समाजसेवामा झनै अग्रसर भएका थिए । त्यसैछेकमा दुहवी बजार आगलागीमा ध्वस्त भएको थियो । अनि भूमालमानसिंह कार्कीको अध्यक्षतामा गठित नवनिर्माण समितिमा दुगड सचिव थिए । मात्रृकाप्रसाद कोइराला प्रधानमन्त्री भएकाले पीडितहरुका लागि सरकारबाट ३० लाख रुपियाँ ऋण प्राप्त भएको थियो । साथै अति तन्नम र पीडितहरुलाई सहयोग गर्न एक लाख रूपियाँ पनि प्राप्त भएको थियो । सर्त बमोजिम पछि सबैले निर्व्याजी ऋण तिरेका थिए ।
  
दुहबी बजार आगलागी भएकै अर्को हप्तामा इटहरी बजारमा पनि आगो लागेको थियो । त्यहाँ पनि कार्की र दुगडकै सक्रियतामा राहतको काम भएको थियो ।

राजनीतिमा दुगड नेपाली काङ्ग्रेसका समर्थक थिए । त्यसैले २०१७ सालपछि उनी केही वर्ष भारतमा नै निर्वासित पनि भए । पछि राजा महेन्द्रको हुकुमले उनी नेपाल पसेका थिए । 

२०१२ सालमा मोरङ व्यापार सङ्घको अध्यक्ष भएका बेला दुगडले विराटनगरमा त्रिभूवन स्मारक अस्पताल स्थापना गर्ने पहल गरे । त्यसबेला ५२ शैयाको अस्पताल बनाउने उनले स्वीकृति पनि लिए । अनि बडाहाकिम कार्कीको सहायताले उनले त्यहाँ अस्पताल पनि बनाए ।  

दुगडले सानैदेखि शिष्टतामा आधारित भएर जनसेवामा मन दिए । उनी किशोरावस्थादेखि अणुव्रतका नियमहरुसँग आकर्षित थिए । नेपाल अणुव्रत समितिको उनी संरक्षक मण्डलमा रहे । साथै त्यस संस्थामा उनी सल्लाहकार मण्डलको समेत अध्यक्ष भएका थिए । साथै उनी तेरा पन्थ धार्मिक संस्थाम पनि अबद्ध थिए । उनले जैन स्वेताम्बर तेरापन्थको महासभा अध्यक्ष भएर पनि काम गरे । २०१२ सालमा उनैको पहलमा अखिल नेपाल मारवाडी सम्मेलन विराटनगरमा सम्पन्न भएको थियो । त्यस सम्मेलनको उनी नै महासचिव थिए । उनैको बलबुताले त्यस सम्मेलनमा मारवाडीका पत्नीले आइन्दा घुम्टो हाल्नु पर्दैन भन्ने निर्णय पास गराइएको थियो ।

दुगडकै अध्यक्षतामा विराटनगरमा अतिथि सदनको स्थापना भयो । पूर्वप्रधानमन्त्री मात्रृकाप्रसाद कोइराला र जनरल भूपालमानसिंह कार्कीको नेतृत्वमा उनले विराटनगरमा वीरेद्र सभागृहका लागि पनि आफ्नो तन, मन र धन खन्याएका थिए । त्यो उनको जीवनमा अर्को महत्वपूर्ण कार्य मानिन्थ्यो । 

दुगड त्रिभुवन विश्वविद्यालयको सिनेटर पनि भए । साथै रानी ऐश्वर्यको नेतृत्वमा परिचालित सामाजिक सेवा मन्दिरको निर्माणमा यिनको पनि बलियो आड जोडिएको थियो । दुगडसमेतको मिलोमतोमा २०३१ सालमा नेपाल आँखा अस्पतालको स्थापना भएको थियो । 

काठमाडौंको जैन निकेतन निर्माणमा पनि दुगडको दरो भूमिका थियो । साथै उनी नेपाल जैन परिषद्का संस्थापक र अध्यक्ष पनि थिए । 

नेपालभरि भन्सार विषयक सुझाव दिन सरकारले दुगडलाई २००९ सालमा टेरिफ बोर्डको सदस्य मनोनीत गरेको थियो । उनी वीर अस्पतालको विकास समितिको अध्यक्ष भएर पनि काम गरे । दुगडले विराटनगरमा २०६२ सालमा तोलाराम भँवरीदेवी दुगड चिकित्सालय तथा अनुसन्धान केन्द नाउँको अस्पताल स्थापना गरे । त्यस अस्पतालमा उनले हाडजेर्नी, चर्मरोग र कुष्ठरोगको उपचार गरिने परिपाटि मिलाइदिए । ४७ शैयाको उक्त अस्पतालका लागि उनले त्यसैबेला ४ करोड रुपियाँ खर्च गरेका थिए ।

उद्योग, वाणिज्यक्षेत्रमा दुगडले आफ्नो स्वच्छ छवीलाई बाँचुन्जेल समाजको नमुना बनाइरहे । उनले आफ्नो इमानधर्ममा कहिले आँधीहुरी छिर्न दिएनन् । त्यही रीतमा उनले सुदुर पश्चिमाञ्चलमा पनि उद्योगधन्दा चलाएका थिए । उनैले मोरङ मङ्लबारेमा ज्ञान उद्यान नामक कृषि फर्म स्थापना गरेका थिए । 
  
राष्ट्रियता, धर्म, समाजसेवा र उद्योगव्यवसायका क्षेत्रमा कीर्तिमय कार्य गरेकाले उनी नेपाल रत्न अलङ्कारबाट सम्मानित थिए । साथै उनी गोरखा दक्षिणबाहु लगायत देशविदेशका विविध विभूषण र अलङ्कारबाट विभूषित थिए ।
दुगडको जीवनमा घरिघरि मुटु रोगले दुक्ख दिइरह्यो । अन्ततः उनलाई हृदयघात नै भयो र २०६८ साल जेठ १५ गते काठमाडौंमा उनी स्वर्गीय भए । 

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी