» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » ठाकुर पराजुली Thakur Parajuli

ठाकुर पराजुली Thakur Parajuli


ठाकुर पराजुलीले ‘गोरखापत्र’ र ‘हालखबर’मा गीतकविता प्रकाशित गरेर साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए । २०१४ सालमा उनको पहिलो लेखरचना प्रकाशित भएको थियो । त्यसपछि उनी निबन्ध र कथा–लेखनतिर प्रवृत्त भए ।

पराजुली ‘सिंहनाद’ र ‘जयतु संस्कृतम्’ पत्रिकाको सम्पादनको क्रममा गरिएका पुस्तक–पुस्तिकाहरूको. परिचय, टिप्पणी र समालोचना, छात्रावासमा बसेका बखत छात्र पुस्तकनिकेतनद्वारा आयोजित कृतिकेन्द्रित प्रतियोगितात्मक प्रवचन र एम्.ए. अध्ययनका क्रममा गरिएको साहित्यसम्बन्धी सैद्धान्तिक अध्ययनबाट समालोचनातिर आकर्षित भएका थिए २०२२ साल असोज ३० गतेको ‘गोरखापत्र’मा ‘आधुनिक कवितामा मूल्याङ्कनको समस्या र रससिद्धान्त’ शीर्षकको सैद्धान्तिक समालोचनाबाट पराजुलीको प्राज्ञिक स्तरको समालोचनात्मक लेखनको श्रीगणेश भएको थियो । त्यसपछि लगातार २०३० सालसम्म उनले ‘गोरखापत्र’, ‘रत्नश्री’, ‘रूपरेखा’ ‘रमझम’ ‘मधुपर्क’ र ‘हाम्रो संस्कृति’मा तीन दर्जनजति समालोचनात्मक लेखहरू प्रकाशित गरे । त्यस कालका लेखनमा अनावश्यक भूमिका वा परिवेशलाई महत्त्व दिने र वस्तुतथ्यका छानबिनमाभन्दा भावुक उद्गार तथा कृतिकारको गुणगान गर्ने प्रवृत्ति ज्यादा देखापरेको थियो । त्यतिखेर विधागत सीपतिरभन्दा विषयवस्तुलाई नै प्राथमिकता दिएर कलम चलाउनुलाई पनि पर्याप्त ठानिन्थ्यो । त्यस्तो बेलामा पनि ठाकुर पराजुली समीक्षात्मक कलामा उत्कृष्टताको नमुना प्रस्तुत गर्न पछि परेका थिएनन् ।

२०३१ सालमा नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको मुखपत्र ‘प्रज्ञा’ ११ मा प्रकाशित ‘नेपाली नाट्यपरम्परा र मोतीरामको नाट्यचेतना’ शीर्षकको. समालोचनादेखि कृतिलाई वस्तुगत, विधागत र कालिक प्राप्तिका रूपमा हेर्ने. दृष्टि पराजुलीले लिएको देखिन्छ । त्यसपछि ठाकुर पराजुलीले गोरखाबाट प्रकाशित ‘मनकामना’ (२०३८) सामयिक सङ्कलनमा प्रकाशित ‘नेपाली भाषा र साहित्यको रेखाङ्कनमा पृथ्वीनारायण शाहको भूमिका’ शीर्षकको समालोचनादेखि संरचनात्मक र वस्तुतथ्यात्मक दृष्टिमा जोड दिँदै. समालोचनालाई वस्तुनिष्ठ र अनुसन्धानपरक रूपमा प्रस्तुत गर्ने जमर्को गरेका छन् ।

२०४५ सालमा पराजुलीले एक्काईसवटा समालोचनासहितको ‘नेपाली साहित्यको परिक्रमा’ नामक ग्रन्थ प्रकाशित गरे । यस ग्रन्थमा पराजुलीले नेपाली भाषा र वाङ्मयको इतिहासपरक अध्ययन, लोकसाहित्यपरक अध्ययन, युगीन प्रवृत्तिको मूल्याङ्कनमा आधारित स्रष्टापरक अध्ययन र कृतिपरक अध्ययन गरेका छन् ।

पराजुलीको पुस्तकका हकमा ‘नेपाली साहित्यको परिक्रमा’ एक मात्र प्रकाशित ग्रन्थ हो । यस ग्रन्थका माध्यमले उनले गुणात्मकताको यथेष्ट परिचय दिएका छन् । परम्पराभन्दा भिन्नै किसिमले यिनले यस ग्रन्थमार्फत समीक्षात्मक निर्णय दिएका छन् । समालोचनात्मक दृष्टिले अत्यन्तै नयाँ, मौलिक र प्रवृत्तिपरक यथार्थ टिप्पणीका रूपमा ठाकुर पराजुलीका दृष्टिकोणहरू ‘नेपाली साहित्यको परिक्रमा’मा अभिव्यक्त भएका छन् ।

‘नेपाली साहित्यको परिक्रमा’मा कृतिमा समाविष्ट समीक्षाबाहेक पराजुलीले अन्य पचासौँ स्तरीय समालोचना विभिन्न पत्रपत्रिकामा प्रकाशित गरिसकेका छन् । त्यतिमात्र होइन, ‘गरिमा’, ‘रचना’ र ‘रूपरेखा’मा गरी उनले तीन सयभन्दा बढी पुस्तकको. समीक्षा गरिसकेका छन् । उनका विचारमा जीवनका सन्दर्भमा रहेर कृतिको कालिक र परम्परागत मूल्यका सापेक्षतामा गरिने संरचना, वस्तु र शिल्पको विवेचना नै समालोचना हो ।

पराजुलीले विभिन्न साहित्यिक पत्रपत्रिकाहरूको सम्पादनमा पनि कुशलता देखाएका थिए । २०१९ सालमा उनी ‘सिंहनाद’ नामक नेपाली साहित्यको. द्वैमासिक पत्रिकाको प्रधानसम्पादक भएका थिए । पराजुलीले २०१७ सालदेखि २०२१ सालसम्म ‘जयतु संस्कृतम्’ मासिक पत्रिकाको सम्पादन पनि गरेका थिए । त्यसै गरी २०२० सालमा उनी ‘हिमाली साहित्य’ सामयिक सङ्कलनको पनि सम्पादक रहेका थिए । उनी २०२२ सालमा ‘विद्यार्थी सन्देश’ नामक पाक्षिक पत्रिकाको प्रधान सम्पादक भएका थिए । सम्पादनकै क्रममा उनले २०३९ सालमा झपटका कथाहरूको खोज गरी ‘सौन्दर्य’ नामक ग्रन्थको र ‘मैना’ (देवकोटाका अप्रकाशित खण्डकाव्यहरूको सँगालो)को सम्पादन पनि गरेका थिए । उनले २०६२ सालमा ‘त्रिमूर्तिगाथा’ नामक ग्रन्थको पनि सम्पादन गरे ।

नेपाली साहित्यिक पत्रकारिताको सम्पादनकलामा निपुण ठहरिएका पराजुलीले ‘वाङ्मय’को सम्पादनमा पनि यथेष्ट सहयोग गरे । पराजुलीले. २०२५ सालमा त्रिचन्द्र कलेजको मुखपत्र ‘ज्योति’को पनि सम्पादन गरेका थिए । ‘नेपाली साहित्यशृङ्खला’को सम्पादनमा पनि उनको दरो सहभागिता रहेको. थियो । ‘रूपरेखा’ मासिकमा पराजुलीले २०२५ सालदेखि २०४१ सालसम्म नियमित रूपमा आफ्ना हस्ताक्षर अर्पण गरिराखे । कक्षा चारको ‘महेन्द्रमाला’ (२०३७) का लेखकका रूपमा पनि उनी रहेका थिए ।

नेपाली साहित्य जगत्मा भलाद्मी, परिश्रमी र मिलनसार व्यक्तिका रूपमा प्रसिद्ध ठाकुर पराजुलीले आफ्ना यात्रामा कुशलतापूर्वक आफ्नो दायित्व निर्वाह गरिरहे । उनी साहित्यिक समालोचनामा जसरी स्पष्ट र निभ्र्रान्त थिए त्यसरी नै साहित्यिक र प्राज्ञिक सङ्गठनहरूमा पनि क्रियाशील रहँदै आएका थिए । उनी संवत् २०२२–०२४ को अवधिमा त्रिभुवन विश्वविद्यालय नेपाली साहित्य परिषद्को सचिव भएका थिए । २०२३ सालमा धौलागिरी अञ्चलको नेपाली साहित्य संस्थानका महासचिव बनेका पराजुली संवत् २०४४ देखि ‘उत्तम कुँवर स्मारक पुरस्कार गुठी’को सदस्यसचिव रहे । उनी लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका अध्यक्ष थिए र त्रिमूर्ति निकेतनबाट गठित देवकोटा प्रतिष्ठानकै संयोजक पनि भए । चन्द्रधन प्रज्ञानिकेतनका समेत अध्यक्ष रहेका पराजुली छिन्नलता पुरस्कार गुठी, झपट पुरस्कार व्यवस्था समिति र सैनध्वज नन्दकुमारी विद्वत्वृत्ति गुठीका सदस्यका रूपमा पनि कार्यरत थिए । पराजुली म्याग्दी क्याम्पस (२०४८)को संस्थापक सदस्य र सो. क्याम्पसको सहयोग समितिका संयोजक पनि रहेका थिए ।

पराजुलीको जन्म १९९७ सालको भदौमा म्याग्दी जिल्लाको. पातलेखेतमा भएको थियो । रघुनाथ पराजुली तथा भद्रकालीका कान्छा सुपुत्रका रूपमा ठाकुर पराजुलीको जन्म भएको थियो । यी जन्मेको आठ महिनापछि नै यिनलाई पितृवियोग परेको थियो । यिनलाई आफ्नै पितामहबाट घरमा कामचलाउ शिक्षा प्रदान भएको थियो । पराजुलीले स्थानीय स्तरका केही पण्डित गुरुहरू र स्वामी भास्करानन्दबाट कौमुदी, कोश, रघुवंश आदि संस्कृत व्याकरण, साहित्य तथा केही हरहिसाबको शिक्षा प्राप्त गरेका थिए ।

पराजुली सानैदेखि अध्ययनशील थिए । यिनको त्यस लगनशीलताको कदर गर्दै यिनका ठूला दाजु राधाकृष्ण शर्माले यिनलाई २०१३ सालमा काठमाडौँ ल्याई पढाए । काठमाडौँमा केही वर्ष यी तीनधारा छात्रावासमा पनि बसेका थिए । यिनले २०२३ सालमा साहित्यमा आचार्य र २०२४ सालमा नेपालीमा प्रथम श्रेणीमा एम.ए.उत्तीर्ण गरेका थिए ।

पराजुलीको योग्यताले शिक्षणसेवामा सरिक हुने मौका पायो । सर्वप्रथम यी २०२५ साल वैशाखमा त्रिचन्द्र कलेजको सरकारी प्राध्यापकमा नियुक्त भए । त्यसपछि २०२७ साल वैशाखमा त्रिभुवन विश्वविद्यालय (कीर्तिपुर)मा उपप्राध्यापकमा नियुक्ति पाएका पराजुली २०३८ सालमा सहप्राध्यापक पदमा बढुवा भएभने २०५० सालमा त्रिभुवन विश्वविद्यालय नेपाली विभागका प्राध्यापक भए । २०५५ सालदेखि चार वर्षसम्म उनी त्रिभुवन विश्वविद्यालयका नेपाली केन्द्रीय विभागका प्रमुखका रूपमा पनि कार्यरत भए ।

प्राध्यापक ठाकुर पराजुलीले स्नातकोत्तर तहका र केही विद्यावारिधि उपाधिका निम्ति तीन दर्जनजति शोधपत्र, शोधग्रन्थका शोधनिर्देशक र सल्लाहकारका रूपमा रही त्रिभुवन विश्वविद्यालयमा एउटा उच्चस्तरीय प्राज्ञिक कार्य सम्पन्न गरेका थिए ।

खुलस्त विचारधाराका धनी पराजुली पाठक तथा विद्यार्थीहरूका लागि प्रस्ट, निष्पक्ष र सहृदयताका प्रतिमूर्ति मानिन्थे ।
प्रा.पराजुलीले श्रीमती भवानी पराजुली, दुई छोरा कमल र किशोर एवम् दुई छोरी शारदा र शान्तिका साथ सुखमय पारिवारिक जीवन बिताइरहेका थिए । उनी केही वर्षअघिदेखि शारीरिक रूपमा सिथिल हुन थालेका थिए । उनका कान्छा छोरा अमेरिकामा नै बस्ने भएकाले उनी घरिघरि अमेरिका पनि जाने गर्थे । औषधोपचार र विविध कारणले उनी अमेरिकामा दुई वर्ष बसे । त्यसपछि उनैले नेपाल आउने जोड गरे र नेपाल आएकै महिना दिनपछि उनी २०७९ साल फागुन २० गते काठमाडौँको आफ्नै घरमा स्वर्गीय भए ।

पराजुलीले महेन्द्र विद्याभूषण (२०२५), रत्नश्री सुवर्णपदक (२०२८), झपट पुरस्कार (२०३९), रत्न श्रेष्ठ पुरस्कार (२०४५), शिक्षा पुरस्कार (२०४६), त्रिभुवन विश्वविद्यालयबाट दीर्घसेवा पदक (२०५३), गद्दी आरोहणको रजत महोत्सव पदक (२०५३), सुप्रबल गोरखादक्षिण बाहु (२०५९), देवकोटा शताब्दी सम्मान (२०६६), त्रिमूर्ति पदक (२०७१), भानुभक्त पुरस्कार (नेपाल सरकार : २०७२), भानुभक्त स्वर्णपदक (नेपाल सरकार : २०७२), नइ ईश्वर बराल पुरस्कार (२०७४) र सत्यमोहन जोशी शताब्दी पदक (२०७७) प्राप्त गरेका थिए । पराजुली नेपाली प्राज्ञिक र साहित्यिक खेमाका एक भरपर्दा व्यक्तित्व मानिन्थे । उनीद्वारा समर्पण गरिएको शिक्षा र साहित्यिक सेवा नेपाली परिवेशमा उच्चकोटिको मानिन्छ । त्यसैले उनी नेपाली वाङ्मयका फाँटमा चिरञ्जीवी भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी