» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » टुकराज मिश्र Tuka Raj Mishra

टुकराज मिश्र Tuka Raj Mishra

टुकराज मिश्र सादा बोल्थे, सादा खान्थे र सादा लाउँथे । उनी सादा सोच्थे, सादा लेख्थे, र सादा जीवन यापन गर्थे । त्यसैले उनको शेषपछि पनि भन्नेहरूले उनलाई ‘टुकराज मिश्र सरल जीवन र उच्चविचारका प्रतिबिम्ब थिए’ भन्न छाडेनन् । उनको सबैभन्दा ठूलो विशेषता उनी विश्वासिलो मान्छेसँग मनै खोल्थे । शिष्ट, सौम्य र स्तरीय रुपमा उनले आफ्ना श्रद्धेय व्यक्तिको प्रशंसा गर्थे । उनको जीवनको सबैभन्दा ठूलो अर्को विशेषता के थियो भने उनी मुखमा एउटा कुरा र मनमा अर्को कुरा गर्दैन थिए ।

मिश्रको जन्म १९६६ साल फागुन ९ गते लम्जुडमा भएको थियो । उनका बुबा डिल्लीकृष्ण मिश्र वैद्य पेशामा स्थानीय ख्याति आर्जन गरेका व्यक्ति थिए । साथै उनकी आमा टीकालक्ष्मी पनि सामान्य नारीहरुका तुलनामा सुझबुझ राख्ने किसिमकी प्रखर नारी थिइन् ।

मिश्र किशोरावस्थादेखि नै साहित्यमा रुचि राख्थे । यिनका भाइ पद्मराज मिश्र पनि यिनको दौराको फेर समाउँदै साहित्य सृजनामा आबद्ध भएका थिए । त्यसैबेलादेखि यी दुबैभाइले संयुक्त रुपमा आफ्ना काव्यहरु जनसमक्ष पु¥याउने काम गरे ।

मिश्र पाँच वर्षको हुँदा उनका दुबै आँखा बन्द भएका थिए । केही महिनापछि यिनका बुबा डिल्लीकृष्ण मिश्रले त्यसबारेको औषधी पनि फेला पारे । कुरा के भने कुकुरको शरीरमा हुर्केको झिंगा मिचेर आँखामा हालेपछि उनले दुबै आँखा देख्न थाले । त्यसपछि पश्चिम नेपालतिर आँखा बन्द भएका मान्छेलाई कुकुर झिंगा निचोरेर आँखामा हाल्ने प्रचलन आएको थियो ।

खरदार टीकाराज पाण्डे र शेषकुमारीकी १४ वर्षीय छोरी बद्रीकुमारी पाण्डेसँग १८ वर्षको उमेरमा मिश्रको बिहे भयो । अनि प्रथम बिहे भएको अर्को वर्ष नै यिनले पुनः देवदत्त पन्त र गणेशकुमारीकी छोरी मीनकुमारी पन्तसँग दोश्रो बिहे गरे । सौता पसेपछि यिनकी जेठी श्रीमती यिनकी अति प्रिय, मिलनसार र आज्ञाकारी हुन थालिन् । अन्ततः यिनको जीवनभरि यिनकी जेठी पत्नीले नै यीसँग आँसु र हाँसो नै बाँडिरहिन् । साथै बद्रीकुमारीबाट देवेन्द्रराज मिश्र र तीर्थेन्द्रराज मिश्र जन्मे । देवेन्दराज मिश्र चाहिं त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्ष पनि भए । साथै उनकी उपपत्नी मीनकुमारीबाट एउटै छोरी सीता जन्मिएकी थिइन् ।

मिश्रले युवाकाल मैं पहाडबाट आएर काठमाडौंको धोबीधारामा घर बनाएका थिए । अनि उनी राजधानीमा नै बसे ।

मिश्र १९८४ सालमा सामान्य तहको जागीरमा प्रवेश भए । त्यसपछि यिनी त्यस अड्डाको हाकिम पनि भए । त्यस अड्डाबाट २०१७ सालमा सरुवा भई उनी महालेखा परीक्षकको विभागमा लेखा परीक्षण अधिकारी भए । अनि सो पदमा उनी २०२९सम्म काम भए । ४५ वर्षसम्म जागीर खाएर २०२९ सालमा यिनले जागीरबाट अवकास लिएका थिए ।

मिश्र जति लेख्थे साहित्य सड्गठन गर्न पनि त्यस्तै सिपालु थिए । यिनले नेपाली शिक्षा परिषद्मा प्रथम सहायक प्रबन्धक भइ काम गरेका थिए । नित्यराज पाण्डे र शिवगोपाल रिसालसँग जोडिएर यिनले २०१७ सालमा नेपाली साहित्य निकेतनको स्थापना गरेका थिए । त्यस संस्थाले नेपालमा तीनचोटि नेपाली साहित्य सम्मेलनको आयोजना गरेको थियो ।

मिश्रले जागिर खाँदै साहित्यको पनि सेवा गर्दै हिंडे । उनी १९९२ सालदेखि नेपाली भाषासाहित्यमा औपचारिक हुन थाले । लेखनमा समर्पित भएवापत उनी नेपाली समाजबाट सम्मानीत पनि भए । उनलाई ‘रिडी र राँची ः हाँस्तैरुदै’ नामक कृतिका लागि २०४८ सालको उत्तम कुँवर पुरस्कार प्रदान गरिएको थियो । यिनलाई रुद्रराज पाण्डे पुरस्कार, वेदनीधि पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, नेपाली साहित्य सम्मान लगायत भारतबाट समेत साहित्यभूषण प्रदान गरिएको थियो । साथै उनलाई नइको पहलमा सीताराम प्रज्ञाप्रतिष्ठानदेखि लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानसम्मले बाँचुन्जेल विद्वत्वृत्ति पनि प्रदान गरेको थियो ।

१९९२ सालमा चक्रपाणि चालिसेद्वारा आयोजित समस्यापूर्ति कविता महोत्सवमा यिनले भाग लिएर पुरस्कृत भएका थिए । त्यसपछि यी निरन्तर साहित्यमा झुकाव राख्तै आए । त्यस कविता त्यसै सालको ‘उद्योग’ पत्रिकामा पनि छापिएको थियो । यस कविताको शिर्षक थियो ‘सुनमा सुगन्ध’ । अनि यो कविता मिश्र दाजुभाइ टुकराज र पद्मराजबाट प्रेषित थियो ।

मिश्र दाजुभाइको प्रथम कृति १९९६ सालमा प्रकाशित थियो । ‘रजबन्धकी नाउँ’को सो उपन्यास नेपाली भाषासाहित्यको प्रथम ऐतिहासिक उपन्यास थियो । यी दाजुभाइका सहलेखनमा पाँचवटा पुस्तकहरु प्रकाशित भए । अनि टुकराज मिश्रले चाहिं पाँचवटा उपनाउँहरुबाट पनि कविताहरु लेखिरहे र ती कविताहरु शारदाले छापिरह्यो ।

मिश्र साहित्यमा सिद्धान्तवादी थिए । त्यसैबेला उनका लागि स्रष्टा सरस्वती पुत्र मानिन्थे । नेपालमा साहित्यकारहरुको जन्मजयन्ती मनाउने परिपाटीको पनि यिनैले चलन चलाएका थिए । यिनैले ज्यूँदा शहीदका रुपमा स्थापित मन्त्री खड्गमान सिंहको सरकारी आवास त्रिपुरेश्वरमा २००९ सालमा सर्वप्रथम भानुभक्त आचार्यको जन्मजयन्ती मनाएका थिए । त्यसपछि मात्र नेपालमा साहित्यकारहरुको जयन्ती मनाउने परम्पराको सुरु भएको थियो ।

मिश्र न्यायमा आधारित साहित्य लेख्थे । उनी साहित्यमा चाप्लुसी लगाएर कसैको प्रिय बन्न चाहँदैन थिए । त्यसैले उनले भानुभक्त आचार्यको रचनामा पनि औला ठड्याएका थिए । वास्तवमा भानुभक्तबारे टीकाटिप्पणी गर्ने उनी प्रथम समीक्षकमा पनि दरिए । भानुभक्तले घाँसीको प्रसड्ग निकालेको बेहोराको मिश्रले तीव्र आलोचना गरे । उनका अनुसार त्यसबेला नेपालमा घाँस किनवचको कुनै चलनै थिएन । त्यसैले मोतीरामले लेखेका कविता भानुभक्तका नाउँमा छापिएको घाँसी कविताबारेको सग्लो प्रमाण सुरुमा उनैले दिएका थिए ।

मिश्र यथास्थिति र परम्पराका विरुद्ध सत्यतथ्यका प्रस्तोता थिए । उनी जति सरल थिए साहित्य लेखनमा पनि त्यतिकै खरो आलोचक मानिन्थे । उनी बाँचुन्जेल इमान र न्यायमा नै समर्पित भइरहे ।

मिश्रलाई २०४८ साल फागुन २६ गतेदेखि पक्षघातले आक्रमण गर्यो । पक्षघात हुँदा पनि उनले लेखिरहे । त्यसपछि उनी अपाड्ग सरह जीवन विताउन वाध्य भैरहे । यस रोगबाट उनी १२ वर्षसम्म थलापरे । क्रमशःक्रमशः उनी उठेर बस्न पनि नसक्ने भए । अन्ततः २०६० साल पुस १९ गते काठमाडौंमा उनी स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी