» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

नइको चिनारी


जसुदा राई Jasuda Rai

जसुदा राईले आफ्नो जीवनमा जे गरिन् हार्दिकता पूर्वक गरिन् । जोसँग शिष्टाचार राख्ता पनि उनी मन खोलेरै व्यवहार गर्थिन् । कसैलाई केही दिनुछ भने पनि आफ्नो गच्छेलाई उनी र्सलक्कै नाङ्लोमा राखिदिन्थिन् । कोही कपट पालेर उनका सामु आए भने पनि उनी आफ्नो मन, वचन र कर्मको मन्त्र सुनाई दिन्थिन् । त्यसैले बाँचुन्जेल उनका शत्रु पनि देखिएनन् । उनी कम्युनिष्ट पार्टीको झण्डा बोकेर दौडँदा पनि अरुहरु दलबलका नेतादेखि कार्यकर्तासम्मले उनको कार्यको प्रसंशा गर्थे । त्यही क्रममा आवद्ध हुँदा भोजराज भट्ट चाहिं उनका दिलैमा पसेका थिए । भट्ट काङ्ग्रेस भएर पनि राईझैं सहृदयी थिए । त्यसैले एकपटक काङ्ग्रेस र कम्युनिष्टको झण्डाले समेत मितेरी लगाएको थियो ।

जसुदा नेकपा एमालीकी शसक्त कार्यकर्ता थिइन् । उनी शारीरिक, बौद्धिक र मनकी सुन्दरी थिइन् । त्यतिमात्र होइन, उनी सङ्गठनकलाकी शिर्षथ योद्धा थिइँन् । मोदनाथ प्रश्रतिका अनुसार उनी पार्टीभित्रकी इमान्दार, अनुशासित र गतिली सङ्गठन कर्ता थिइन् । साथै उनीबारे झलनाथ खनालले पनि लेखे ‘कमरेड जसुदा पनि नेपालआमाकी त्यस्तै एक सुपुत्री थिइँन्, जसले पूर्वी नेपालदेखि पश्चिम नेपालसम्म आफ्नो जीवनयात्राका हर घडीमा देश र जनता पक्षमा आफूलाई उभ्याइन् । उनी जनतालाई जागृत, सङ्गठित र एकतावद्ध बनाउने काममा निरन्तर लागिरहिन् ।’

जसुदा वसुधैव कुटुम्बकम्की हिमाइती थिइँन् । उनी जेजस्तो सिद्धान्तकार भए तापनि न्यायका लागि गरीव धनी सबैलाई एउटै तुलोमा राख्थिन् । उनी कसैको विपक्षमा हुन्न थिइन् । आफ्नै दलका मान्छेले सेतोलाई कालो भन्यो भने उनी त्यसको प्रतिकार गर्थिन् । त्यसैले थोरै समयमा उनले माथीको बादल छोएकी थिइँन् ।

जसुदा मन खोलेर हाँस्थिन् । त्यसबेला उनीसँग संसार आफ्नै हुन्थ्यो । त्यसैले उनी प्रकृतिले दिएको जीवनबाट पक्षपात हुनुहुँदैन भन्थिन् । उनी रुढिवादीको चाहिं विरोधी थिइन् । साथै उनी जातपातलाई जीवनधर्म मान्दैन थिइन् । अनि उनले जातजाती, धर्मकर्म, सिद्धान्त आदिको कदर पनि गरिन् र जनएकताको सिद्धान्तमा पनि आफूलाई बाटिन् । साथै उनको सादा जीवन र उच्च विचारले सुदूर पश्चिमाञ्चलमा उनी झनसारो प्रिय भइन् । पूर्वको चिसो ठाउँकी चेलीले पश्चिमको तातो हावामा तनमन जोडेर सेवा गरेको परिवेश त्यतातिर पनि निक्कै नौलो र प्रेरक भयो । उनले नेपालको सुदुर पश्चिमाञ्चलको शिक्षा विकासका लागि आफ्नो गच्छे रोपेकी थिइन् ।

जसुदाले जीवनको अन्त्य समयमा धनगढीको ऐर्श्वर्य विद्या निकेतनमा पढाइन् । उनी त्यस ठाउँकै राम्रो र चर्चित शिक्षिका थिइन् । साथै उनी त्यस भेकका सामाजिक सङ्घसंस्थाहरूमा पनि आवद्ध थिइन् । उनी जुन संस्थामा पस्थिन् त्यसैमा समर्पित भएर खटेकी हुन्थिन् ।

जसुदाको जीवनको सबैभन्दा ठूलो विशेषता उनी जनसेवामा हुरुककै थिइन् । त्यसैले कहीँ कसैको भत्केको देखिन् भने टाल्ने मान्छेको खाजीमा जसुदा नै लाग्थिन्, कसैको कहीँ उद्रयो भने जसुदाले सिउने पनि मान्छे खोज्न थाल्थिन् र कहीँ विमारी मान्छे सुनियो भने जसुदाले नै डाक्टरको खोजि गर्ने कामसमेत गर्थिन् । अनि विद्यार्थी, साहित्यकार र कलाकारका लागि उनले आफ्नो सकेसम्म पूरै मन रोप्ने गर्थिन् ।

जसुदा आफ्नै पाराकी एउटी राजनीतिज्ञ थिइन् । साँघुरो बाटोमा हिंड्ने उनका केही नेतामाझ पनि उनी जुनकिरी भएर आफै छामछुम गर्दै फर्‍याक बाटो खोज्दै हिंड्थिन् । उनी नारीपुरुष समान धरातलमा राख्न रुचाउँथिन् । तर उनी नारी अस्मिताको रक्षार्थ डटेरै उभिन्थिन । वास्तवमा उनी सकरात्मक सोचकी लखपति थिइन् । त्यसैले उनी विपरित सिद्धान्तका मान्छे पनि राम्रा छन् भने जय मनाउँथिन् । तर उनी आफ्नो सिद्धान्तमा निष्ठावादी थिइन् । मान, प्रतिष्ठा र पदका लागि उनी कहिले अघि सरिनन् । किनभने उनी ठूलो चित्त भएकी जागरुक नारी थिइन् ।

मूर्तिकार, नाटककार, साहित्यकार तथा प्रशासक ठाकुरसिंह राई र इन्द्रकुमारी राईकी माइली छोरी जसुदाको जन्म २०१५ साल असार ८ गतेे इलाममा भएको थियो ।

जसुदाले प्रारम्भिक शिक्षा उनका बाजे हरिलाल राई र बजै राधा राईसँग बसेर दार्जिलिङमा प्राप्त गरिन् । तर त्यहाँ यी धेरै टिक्न सकिनन् र उनलाई इलाम नै ल्याइयो । उनले स्थानीय स्कुलमा पढिन् र इलामकै महेन्द्ररत्न क्याम्पसबाट आईए पनि पास गरिन् । साथै उनले काठमाडौंको पद्मकन्या कलेजमा बीए पढिन् ।

जसुदा किशोरीमा केटाझैं थिइन् । उनी सहृदयी, मिलनसार, निर्भीक, न्यायिक, राम्री, फूर्तिली, सेवी, सल्लाहकार अथवा भनौं सम्पर्ूण्ा थिइन् । त्यतिबेला उनका नरनारी बराबरी साथी हुन्थे ।

जसुदा जागरणकी कुशल हस्ती थिइन् । उनी आफ्नो राष्ट्रियताको जग बलियो र फराकिलो पार्न समय खर्च गर्थिन् । त्यसैले उनी हर घडी नेपाल र नेपालीका बारे चिन्तित हुन्थिन् । अनि उनी मेचीमहाकाली एउटै थाप्लोमा अटाएर एउटा ठोस चिन्तन पालेर हिंड्थिन् ।

सङ्गठन विस्तारमा हिँडेकै बेला इलामकी जसुदा राईको सम्बन्ध कैलालीका भोजराज भट्टसँग भयो । त्यसबेला राई र भट्ट २४ वर्षा थिए । बराबरी उमेर खेपेका उनीहरू मायाको डोरीमा बाँधिए, धेरै बाँधिए र निक्कै धेरै बाँधिए । त्यसैको परिणामले उनीहरु लगन गाँठोमा कस्सिए । अधिवक्ता भट्टसँग वैवाहिक जीवनमा गाँसिएर पनि यिनले समाजसेवा नै गरिन् । अनि यी दम्पतिबाट एक जना छोरा प्रणव र दुई छोरी ऋतु र पृथा पाए । त्यसपछि उनीमा स्वास्थ्यले त्यति साथ दिएको थिएन । 

जसुदाको स्वास्थ्य सानैमा खच्केको थियो । सानैदेखि उनको फोक्सो बिग्रिएको थियो । उनी सानैदेखि स्वासप्रश्वासको विमारी थिइन् । सानैमा उनी ख्यारख्यार गरेर सास फेर्थिन् । अनि सानैमा उनको छाती पनि कुख्रे थियो । चालीस वर्षकाटेपछि यिनलाई गम्भीर रुपमा यसै रोगले च्याप्न थाल्यो । उनका पतिले उनलाई बचाउन धेरै प्रयास गरे । अनि उनलाई झन्नै ४ वर्ष चौबीसै घण्टा अक्सिजन दिएर काठमाडौंका विभिन्न अस्पतालमा पनि राखियो । त्यतिबेलासम्ममा उनको फोक्सो ७५ प्रतिशत सम्पूर्ण रूपमै बिग्रिएको रहेछ । त्यसैले अठचालीस वर्षसम्म मात्र उनले पृथ्वी हेर्न सकिन् । अन्ततः २०६४ साल माघ २८ गते सरस्वती पूजाका दिन उनको काठमाडौंमा स्वर्गारोहण भयो ।

भोजराज भट्टले आफ्नी मायालुसँग २६ वर्षो दाम्पत्य जीवन गाँसे । त्यसपछि उनले जसुदाका नाउँमा स्मृति ग्रन्थ प्रकाशनमा ल्याए । उनी हरेक पलमा आफ्नी पत्नीको सपना बोकेर हिंड्छन् । उनलाई कसैले बिहे गर्ने प्रस्ताव गर्‍यो भने उनले उत्तरको रेडिमेड जवाफ पनि तयार गरे ‘बिहे गरेर म राम्रो खेलौना भेट्न सकूँला तर जसुदालाई त पाउँदिन ।’ यही आदर्शमा नै उनी आफ्ना छोराछोरीसँगको जीवनयात्रामा टाँस्सिरहे ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश