» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » जनकलाल शर्मा Janak Lal Sharma

नइको चिनारी


जनकलाल शर्मा Janak Lal Sharma

जनकलाल शर्मालाई नचिन्ने नेपाली साहित्यकार प्रायः छैनन् । यिनलाई चिन्नेमध्ये वासुदेव शर्मा लुइँटेल पनि एक थिए । लुइँटेलले जसको नाउँ पनि त्यस मान्छेको केही न केही प्रवृत्ति जोडेर र उसलाई अलिक होच्याएर नै राख्ने गर्थे । त्यसैले उनले जनकलाल शर्मालाई धोवी भन्थे ।

जनकलाल शर्मा पनि व्यङ्ग्यका महारथी थिए । बोलाइमा मात्र होइन लेखाइमा पनि उनी अरूलाई छेड हान्न छाड्दैन थिए । तर उनको छेड सौर्न्दर्यले भरिएको हुन्थ्यो । उनी सारै पेचपरेपछि मात्रै मान्छेलाई घोचेर भन्थे र व्यङ्ग्य गरेर लेख्थे । अनि लेख्तालेख्तै उनी नेपाली भाषासाहित्यका पनि महारथी भए । उनको लेखनको सीपले उनी देशदेशान्तरमा सुपरिचित भए । संसारभरि जहाँजहाँ नेपाली भाषासाहित्य छ त्यहीँत्यहीँ उनको लेखकीय व्यक्तित्व पुगेको छ । लेख्तालेख्तै यिनले दुई दर्जनजति पुस्तक लेखे । लेखेरै यिनले चार नम्बरको गोरखादक्षिण बाहु पाए । लेखेरै यिनले चार हजार रुपियाँ राशिको मदन पुरस्कार पनि पाए ।

‘१९८३ साल वैशाख १७ गते जन्मेको हो मेरो छोरो भनेर दार्जिलिङको स्कुलमा नाउँ लेखाइदिएका थिए मेरा पिताले’ भन्ने जनकलाल शर्मा यथार्थमा इलामको क्याबुङमा १९७८ साल वैशाख १७ गतेनै जन्मेका थिए । यिनका बुबा आमाको नाउँ थियो गोविन्दप्रसाद उपाध्याय ढकाल र कौशल्यादेवी । यिनीहरु कृषि पेशामा आबद्ध थिए । तर ताक परेका बेला गोविन्दप्रसाद ढकाल जजमानी पनि गर्थे । आफ्ना आमाबुबाकै नेतृत्व र संरक्षणमा शर्माको वाल्यकाल र किशोरावस्ता टुङ.गिएको थियो ।

शर्मा नेपाल र नेपाली प्रति खुवै चासो राख्थे । त्यसैले यी नेपालका धेरै गाउँ डुले र त्यही परिवेशमा डुबेर यिनले ‘हाम्रो समाज : एक अध्ययन’ नामक एउटा वृहत् सामाजिक इतिहास लेखे । साथै यिनले आफू पुगेका ठाउँमा पाठकहरूलाई पुर्‍याए । अर्थात् भनौं यिनले नियात्रा पनि लेखिरहे । साथै यी एसिया र युरोपका केही देश पुगे र त्यस विषयमा पनि यिनले लेखे ।

शर्माले दार्जिलिङदेखि बनारससम्मका स्कुल तथा कलेजहरू पढे । अन्त्यमा यिनले भारतको उत्तर प्रदेशबाट साहित्यरत्नको उपाधी लिए र यी फेरि नेपाल पसे । नेपाल आएर उनले सुरुमै सरकारी जागीर खाए तर त्यस बेला यिनको पद मास्टर थियो । क्रमशः उनी पुरातत्व विभागको महानिर्देशकसम्म पनि भए । उनले अरु हाकिमजस्तै कुर्सीमाबस्ने काम मात्र गरेनन् । त्यहाँ जागीर खाएर उनले त्यसै सर्न्दर्भमा नेपालका विभिन्न ठाउँको भ्रमण गरे र पुरातत्वका ज्ञानहरू बटुले । अनि उनले त्यस विषयका लेखरचनाको पनि आविष्कार गरे । त्यही काममा लाग्दा भारतका महापण्डित राहुल साङ्कृत्यायनसँग पनि यिनको सर्म्पर्क भयो । यिनहिरुको एकअर्कासँग सम्बन्ध पनि कस्तो थियो भने राहुलले उनलाई लेखेका चिठीमात्र १०४ वटा फेला परे । शर्माकै कारण राहुलले तेश्रो पत्नीका रुपमा डा. कमला साङ्कृत्यायनसँग विहे पनि गरे ।

शर्माले महाकवि देवकोटालाई मामा भन्थे । शर्माका कारणले राहुलले देवकोटालाई भारतीय तीन कवि पन्त, प्रसाद र निराला बराबर नेपालका एकजना महाकवि देवकोटा लेखे । अनी त्यसै घडी राहुलले देवकोटालाई पागलको सङ्केत गरेर पनि लेखे । त्यो पढेर देवकोटाले जनकलाललाई उति नै खेर लछारपछार गरे । अनि त्यसै राति उनले ‘जरुर साथी म पागल’ भन्दै एउटा कविता पनि लेखे र भोलिपल्टै त्यो जनकलाललाई सुनाए ।

शर्मा पुस्तक प्रेमी थिए । हात बाहिर पुस्तक भएका बेला उनीसँग कलमकापी हुन्थ्यो । उनी लेखिरहन्थे । त्यो पनि भएन भने उनको जनसर्म्पर्कमा समय जान्थ्यो यात टेलिफोनमा उनी झुण्डिरहन्थे । तर उनी ध्यान गरेरचाहिं बस्नै सक्तैन थिए । साथै उनी साथीभाइ भेला पारेर रक्सी खुवाउँथे र आफू पनि खान्थे । विजुली खाएर यी टिल्ल मात्थे तर नाक र मुख भूईँमा जोत्तैन थिए । एक दिन बिजुली खाएर उनले भनेका थिए, ‘एक पटक केशवराज पिँडाली बिजुली खाएर पिसाब गर्न गएका थिए । पिसाब गरिसकेपछि उनले प्यान्टको टाँक (त्यस बेला प्यान्टमा फस्नर लाउने चलन थिएन) लगेर कोटको टाँक लगाउने ठाउँमा लगाएछन् । त्यसै कारण उनी शौचालयमै कुप्रो परेकापरेकै भएछन् । केही छिनपछि पनि पिँडाली फर्केर नआउँदा म उनलाई खोज्दै शौचालय छिरेँ । त्यहाँ उनलाई कुप्रो परेर बसेको देखेपछि हत्तपत्त बोकेर वीर अस्पतालको इमर्जेन्सीमा पुर्‍याएँ । उनी इमर्जेन्सीको खाटमा सुताइए । डाक्टरले कैंचीले च्वाट्टै टाँक काटेर उनलाई बिदा दिए ।’त्यस दिन शर्माका कुरा सुनेर हाँस्नेहरूमा दार्जिलिङका डा.कुमार प्रधान, ईश्वरवल्लभ र नरेन्द्रराज प्रसाई थिए । उनको विशेष सोख नै हाँस्नु हो भनेझैं गरी उनी प्रायः हाँस्थे । उनको हँसाइमा पीडाको रूपरङ्ग देखिँदैनथ्यो । दिल खोलेर हाँस्नु उनको कला थियो ।

आफूलाई भेट्न आउनेलाई शर्मा हँसाइरहन्थे । उनी अरूलाई प्रायः व्यङ्ग्य पनि हानिरहन्थे । अनि उनलाई पनि अरूले अपमान गरिहिन्थे, त्यो पनि उनी सहिरहन्थे । उनी केही कुराको पनि प्रत्युत्तरचाहिँ छिट्टै दिँदैनथे । त्यसैले उनले दिने प्रयुत्तरहरू पनि छुट्तै जान्थे । पछिपछि आफ्ना निबन्धमा उनी आफूलाई अपमान गर्नेलाई हिर्काएर पनि आफ्नो मन शान्त पार्थे ।

शर्माले २००२ सालमा (चन्द्रकला) संग बिहे गरे । यी दम्पत्तिबाट तीन छोराछोरी जन्मे । उनलाई २०४३ सालमा पत्नीशोकले छोप्यो । त्यसपछि मात्र उनले आफ्नो सक्कली जुनी बुझे ।

शर्मा हरेक प्रकारका खानाका सौखिन थिए । जुवा खेल्नेको विरोधी थिए । कसैले उनका विषयमा कुरा गर्दा उनी थाहा पाइहाल्थे ‘यो के भन्दै छ -‘ उनी आफूलाई र्सकाएको रहेछ भने तुरुन्तै बुझथे र भन्थे ‘मसँग तपाईं के पटयाउन लाग्दै हुनुहुन्छ !” उनी खुलस्तका चौबीस क्यारेडका सुन थिए ।

शर्मा प्रायः सबै कुराका सोखिन थिए । बजारमा राम्रो कलम निस्केको छ भने त्यो उनका घरमा पनि देखिन्थ्यो । राम्रा किताब, राम्रो लाइट, राम्रो चिम र भान्सामा प्रयोगमा आउने राम्राराम्रा सामानहरू किन्नमा पनि उनको विशेष रुचि थियो । उनी पैसाले माल किन्दैनथे, मालका लागि पैसा तिर्थे । उनका घरमा एउटा असल छोरो सुमन र एउटी असल बुहारी रम्भा पनि थिए । वास्तवमा उनको घर नै मनमोहक थियो । उनी बराबर भन्थे ‘कसैको सभ्यता हेर्नुपर्छ भने त्यस घरको शौचालय, घरमूली स्त्रीको कुर्कुच्चो र काम गर्ने मान्छेको कपडा हेरे पुग्छ ।’

शर्माको सुत्ने कोठामा पनि पुस्तकका र्‍याक नै र्‍याक हुन्थे । उनको बैठककोठा त पुस्तकालय नै थियो । तर उनी कसैलाई एउटै पुस्तक दिँदैनथे । कसैलाई पुस्तक दिँदा लामो तमसुक नै लेख्नुपथ्र्यो । त्यसरी उनले पुस्तकहरूको आदर गरेका थिए । तर उनको शेषपछि त्यहाँको पुस्तकालय, दराज र पुस्तकहरु खण्डित भएर हरेक कोठाकोठामा शरण पर्न थाले ।

नेपाली साहित्याकाशका प्रखर, निष्ठावान् र माथिल्ला कोटीका साधक शर्मा सिर्जनामा नै जोतिदा जोतिंदै थला परे । २०५६ साल माघ १६ गते अथवा शहीद सप्ताहको अन्तिम दिन उनी पनि स्वर्ग गए ।

लेखक
नरेन्द्रराज प्रसाई

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश