» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » चक्रपाणि चालिसे Chakra Pani Chalise

चक्रपाणि चालिसे Chakra Pani Chalise

संसारमा नेपाली भाषा जहाँजहाँ पुगेको छ, त्यहाँत्यहाँ चक्रपाणि चालिसे पुगेका छन् । भूगोलका वयस्क नेपालीले प्रायः सबैले चालिसेको नाउँ सुनेका छन् । उनले आफ्नै जीवनकालमा प्रसिद्धिको धुरी चढे । तर उनले जीवनभरि दुक्खै मात्र पाएका थिए ।

चालिसेले आमाको कोखबाटै दुक्ख पाइरहे र आर्यघाटमा तेर्सिंञ्जेलसम्म पनि यिनको जीवनचक्र वेदना, पीडा र रोदनमा नै बितिरह्यो ।

चालिसेको जन्म १९४० साल कात्तिक २० गते भक्तपुरको कटुञ्जेमा भएको थियो । यी अदालतका डिट्ठा प्रेमलाल चालिसे र चन्द्रमाया चालिसेका छोरा थिए । यिनकी आमा चन्द्रमाया चाहिं प्रेमलालकी तेस्री पत्नी थिइन् । तर चक्रपाणि जन्मेको तीन वर्षमा नै यिनकी आमाले सँधैका लागि आँखा चिम्लिन् । त्यसपछि चक्रपाणिलाई उनको मामाघर ललितपुरको सिस्नेरी पुर्याइएको थियो । तर त्यहाँ पनि उनको स्याहार नपुगेकाले उनलाई उनको बूढो मावली गोदाबरी लगेर पनि राखियोे ।

आठ वर्षसम्म चालिसे घर बाहिर नै बसे । आठ वर्षको उमेरमा ब्रतबन्ध गर्न यिनलाई घर हुँलिएको थियो । अनि त्यही ब्रतबन्धको जग्गेमा नै उनका बुबा प्रेमलालले छबीलाल ढुड्गेलकी छोरी माइली ढुड्गेलसँग चौथो बिहे गरेका थिए ।

चालिसेका बुबाले चौथी पत्नीलाई घरमा हुलेपछि यिनले फेरि हरिबिजोगका दिन गन्न थाले । यिनकी सौतेनी आमा राक्षेस्नी झैं थिइँन् । त्यसैले सौतेनी आमाले यिनलाई बराबर झम्टिरहन्थिन् । अनि यिनको जीवन रक्षार्थ यिनलाई यिनका बुबाले आफ्नी भाञ्जीको घर कमलपोखरीमा पु¥याए । तर त्यहाँ पनि चक्रपाणिले अपमानित भएर नै बस्नु परेको थियो ।

चालिसेको प्रारम्भिक शिक्षा तीनधारा पाकशालामा भयो । उनले दरबार स्कुलमा पनि पढे । साथै उनले कासी र कोलकातामा पनि पढे । कासी पुगेपछि यिनले साहित्य लेखनमा पनि हात बसाए । त्यहीं ठाउँमा यिनको प्रारम्भिक लेखरचनाको निर्माण भयो । त्यसबेला यिनका रचना कासीबाट प्रकाशित हुने ‘शूक्तिसुधा’नामक पत्रिकामा छापिन्थ्यो । उनले बनारसमा पनि केटाकेटी पढाएर ज्यान चलाएका थिए । साथै कोलकातामा पनि यिनको काम बालबच्चा पढाउने नै थियो । उनी बालबच्चा पढाउँदै पढ्ने गर्थे । यिनले जीवनभरी ट्युशन पढाउने काम चाहिं गरिरहनु पर्यो ।

कासीबाट फर्केपछि चालिसे काठमाडौंको केलटोलमा डेरा गरेर बसे । त्यतिबेला उनको हातमुख जोड्ने कुनै उपाए थिएन । त्यसैले उनले जीवन चलाउने बाटो खोजे । अनि यिनले स्थानीय धनीमानीका छोरा भेला पारेर ट्युशन पढाउन थाले । त्यतिन्जेलसम्ममा उनको मन पनि बलियो भैसकेको थियो । त्यसैबेला यिनले एउटा साहित्यिक संस्था पनि स्थापना गरे जसको नाउँ कवि कल्पदू्रम थियो । त्यसपछि उनी नेपाली भाषासाहित्यको सेवार्थ एकनासले जु६न थाले ।

कासीबाट फिरेपछिको केही महनिामा नै चालिसेले गोर्खाभाषा प्रचारक समितिमा जागिर पाए । त्यसपछि उनको बिहानबेलुकाको गुजार चलाउन कष्ट हुन छाड्यो । साथै त्यस संस्थामा उनले लेख्ने काम पनि गरिरहे । त्यहाँ उनको काम पाठ्यपुस्तक लेख्नेदेखि संस्कृतका ग्रन्थहरु नेपाली भाषामा अनुवाद गर्नेसम्म हुन्थ्यो । त्यसैछेकमा उनले गीत, कविता, निबन्ध र प्रबन्ध पनि लेखे । त्यसैबेला यिनले लेखनमा शिर्षस्थान कायम गरिसकेका थिए । यिनको लेखन वर्चस्वका कारण यिनलाई गद्यशिरोमणि भनिन्थ्यो । वास्तवमा यिनले त्यसबेला धेरै लेखे । हरेक दिन दसदेखि पच्चीस पृष्ठसम्मको लेखरचना गरेर यिनले आफ्नो जागीर खाएका थिए । तर यिनका सबै कृत्यले प्रकाशित हुने मौका पाएनन् । अनि ती पाण्डुलिपीहरू त्यतिकै सडेर गए । कुनै डडे, कुनै मुसाका दुलोमा पसे कुनै किराना पसलमा जीरामरिचका पोकामा रुपान्तर भए । यति हुँदाहुँदै पनि यिनका तीन दर्जन जति कृति प्रकाशित भएको बेहोरा राममणि ढुड्गेलले प्रकाशमा ल्याए ।

गोर्खाभाषा प्रचारक समितिमा रहँदा चालिसेले नेपाली भाषाको धेरै प्रचार र सेवा गरे । नेपाली साहित्य भण्डार रित्तो भएका बेला यिनैले आवश्यकीय सामग्री निर्माणमा गुरुत्तर भूमिका निर्वाह गरे । नेपाली भाषासाहित्यको अहिलेको समृद्धिसम्म आइपुग्नका लागि गद्यशिरोमणि चक्रपाणि चालिसेको महत्वपूर्ण योगदान थियो ।

चालिसे वीर थिए । उनी निडर पनि थिए । उनी सही कुरा गर्थे । त्यसैले यिनलाई राममणि आचार्यले पनि काखी चेपे । यिनै आचार्यको पारामा लागेरे भानुभक्तीय हलन्त परम्परालाई यिनले तोड्ने काम पनि गरे ।

चालिसेले गोर्खाभाषा प्रचारक समितिमा ३५ वर्ष सेवा गरे । नेपाली भाषाप्रतिको यिनको निष्ठामा हिलो छ्याप्ने मान्छे पनि फेरि निस्के । अनि यिनको जागीरमा भूइँचालो समेत आयो ।

मृगेन्द्रशमशेरलाई अनेक झोसपोल गरेर चालिसेलाई गोर्खाभाषा प्रचारक समितिबाट निकालियो । त्यसपछि यिनको प्रतिष्ठामा आँच आउने गरी यिनलाई गोरखापत्रको प्रुफरिडरमा सरुवा गरियो । त्यसकार्यले यिनलाई मानसिक तनाव बढ्न थाल्यो । परिणमस्वरुप यिनलाई पक्षघात भयो । अशक्त विमारी भए तापनि यिनले कार्यालय जान छाडेनन् । तर त्यो घटुवा जागीर खाएको पनि यिनलाई देख्न नसक्ने मान्छे थिए । त्यसैले गोरखपत्रबाट पनि अनायसै यिनको जागिरको टिकट काटियो । त्यसपछि यी रुनु रोए । अनि यिनका घरमा अनिकालको बास हुन थाल्यो ।

चालिसेले कमलपोखरीमा ऋण काढेर एउटा पुरानो घर किनेका थिए । १९९० सालको भूइँचालोले त्यो घर पनि गर्लामगुर्लुम भत्क्यो । फेरि पनि ऋण काढेर उनले त्यस घरको मर्मतसम्भार गरे । तर ऋणको भारले थिचिएर उनी थिलथिलो भए । अनि यिनले त्यस घरलाई दसहजार रुपियाँमा बेचिदिए ।

चालिसेको बिहे १२ वर्षको उमेरमा फर्पिड भतेरेचौरका भवानीशड्कर पोख्रेलकी छोरी गायत्रीदेवीसँग भएको थियो । यी दम्पतीले दुई छोरा र एक छोरी पाए तर उनीहरु बाँचेनन् । उनका कान्छा छोरा लक्ष्मीनन्दन चालिसे २००२ सालमा ३२ वर्षको उमेरमा राणा सरकारका कारणबाट मारिएका थिए । लक्ष्मीनन्दन चालिसेले बीएको परीक्षामा आफ्नो उत्तर पुस्तिकामा राणलाई नपुंसक लेखेका थिए । त्यही लेखोटलाई आधार बनाएर उनको अङ्श सर्वस्व गरियो र उनलाई जन्मकैद गरियो । लक्ष्मीनन्दनलाई ६ वर्षसम्म जेलमा कुटपिट गरिएर राखियो । त्यतिन्जेलसम्म यिनको सास मात्रै बाँकी थियो । अनि राणालाई अब यो मर्छ भन्ने लाग्यो र यिनलाई जेलमुक्त गरियो । जेलबाट बाहिर निकालिएको एक महिनामै यिनको प्राण गयो । 

चालिसेको गरिवीको समाचार राजा महेन्द्रका कानमा पनि पुग्यो । यिनले राष्ट्रगान लेखेपछि राजा यीप्रति प्रभावित पनि थिए । त्यसैले राजा महेन्द्रले यिनलाई मासिक १५० रुपियाँ भत्ता दिन थाले । यी दिवंगत भएपछि यिनका नाउँमा त्रिभुवन प्रज्ञा पुरस्कार पनि समर्पण गरिएको थियो । उनको शेषपछि भक्तपुरको कटुञ्जेमा यिनको अर्धकदको सालिक बन्यो र यिनका नाउँमा संस्था पनि खुल्यो ।

लेख्न त चालिसेले गद्य लेखे, पद्य लेखे, कोश लेखे, अनुवाद गरे र पाठ्यपुस्तक लेखे । तर नेपाली भाषा संसारमा उनी नेपालको राष्ट्रगान लेखेर नै प्रख्यात भए । त्यस गीतलाई २०१९ सालको नेपालको संविधानमा पनि अङ्कित गरियो । ‘श्रीमान् भम्भीर नेपाली, प्रचण्ड प्रचापी भूपति’ लेखेपछि देशदेशान्तरमा यिनको झनै इज्जवत बढ्यो । वास्तवमा त्यसपछिका दिनमा त्यस बेहोराले यी हर्षले कुर्लन पनि थाले ।  हुन पनि त्यही राष्ट्रगानले चालिसेलाई नेपालीजन माझ सुप्रसिद्ध पनि बनायो ।

चालिसे जीवनभरिको पीढामा रन्थिनीयर रोगसँग सङ्घर्ष गरिरहे । अन्ततः उनी २०१५ साल चैत ५ गते रामनवमीका दिन काठमाडौंमा स्वर्गीय भए ।

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी