» नइ प्रकाशन नेपाल सरकारबाट आयकर छुट पाएको गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » गोविन्द मल्ल गोठाले Gobinda Malla Gothale

नइको चिनारी


गोविन्द मल्ल गोठाले Gobinda Malla Gothale

ऋद्धिबहादुर मल्लले कुनैबेला नेपाली भाषासाहित्यमा एकछत्रले आफ्नो हैसियत देखाएका थिए । तिनै मल्लका सन्तानहरु पनि नेपाली साहित्यका महारथीमा स्थापित भए । गोविन्दबहादुर मल्ल ‘गोठाले’ र विजयबहादुर मल्लले हातमालो गरेर नै नेपाली भाषासाहित्यका लागि आफ्नो सम्पूर्ण जीवन अर्पण गरेका थिए ।

गोविन्दबहादुर मल्ल गोठालेको जन्म १९७९ असार २७ गते काठमाडौंमा भएको थियो । ऋद्धिबहादुर मल्ल र आनन्दकुमारी मल्लका यी जेठा छोरा थिए ।

मल्लले सानैदेखि आफूलाई तिखारेकाका थिए । आफ्ना बुवाको औंला समाएर उनी सानैदेखि नेपाली भाषासाहित्यको सेवार्थ जुटेका थिए । त्यही लहरो तानिएर नै उनले लेखनमा सिद्धि प्राप्त गरेका थिए । ८९ वर्षम्म बाँचेका गोठालेले नेपाली भाषासाहित्यमा मात्रै ७० वर्षजति निरन्तर सेवा गरेका थिए ।

गोठालेले आफ्नै घरमा प्रारम्भिक शिक्ष ग्रहण गरे । त्यसपछि उनी दरबार स्कूलमा प्रवेश भए । अनि उनलाई पढ्नका लगि बनारस पनि पुर्‍याइयो । त्यहीं उनले म्याटि्रक परीक्षा दिए । त्यसपछि उनी त्रिचन्द्र कलेजमा भर्ना भए र विज्ञान पढ्न थाले । तर त्यो विषय उनलाई कठोर हुन थाल्योे । त्यसैले उनले आइएस्सी पास गरेनन् र डाक्टर बन्ने इच्छा पनि त्यागि दिए । अनि उनले साहित्यमा नै आफ्नो जीवन रित्याएका थिए ।

गोठालेलाई भवानी भिक्षुले नेपाली भाषासाहित्यको जागरणमा प्रवेश गराएका थिए । साथै लक्ष्मीप्रसाद देवकोटाले यिनको लगनलाई झनै प्रेरित गरेका थिए । यिनलाई सिद्धिचरण श्रेष्ठले पनि लेख्न प्रायः घच्घच्याउने गर्थे । साथै गोपालप्रसाद रिमालले आधुनिक पारामा लेखन गर्न उनलाई उत्र्सर्गिक गरेका थिए ।

गोठाले १७ वर्षो उमेरमा साहित्यकारका रुपमा औपचारिक भएका थिए । उनको कविता १९९६ सालमा शारदामा छापिएको थियो । राणाका आँखामा छारो हाल्ने उद्धेश्यले त्यतिखेरै भवानी भिक्षुले नै यिनको नाउँको पुच्छरमा गोठाले झुण्ड्याई दिएका थिए । साथै जयबहादुर मल्ललाई गोविन्दबहादुर मल्ल बनाउने काम पनि भिक्षुले नै गरेका थिए । उनको नाउँ फेरिए तापनि नेपाल प्रजापरिषद्को पर्चा छरेको अभियोगमा यी पक्राउ परेका थिए र फेरि छाडिएका थिए ।  

गोठालेले नेपाली साहित्यमा मनोविश्लेषणवादी, यथार्थवादी र नारीवादी लेखकका रूपमा नाउँ चलाएका थिए । नेपाली भाषासाहित्यमा कथा, उपन्यास र नाटक गरेर यिनले ११ वटा स्तरीय कृति प्रकाशनमा ल्याए । तर यिनको ‘पल्लो घरको झयाल’ले चाहिं खुबै नाउँ कमायो ।

गोठालेले २००७ साल फागुन ८ गतेदेखि दैनिक ‘आवाज’को सम्पादन गरेका थिए । यो पत्रिका नेपाल राष्ट्रबाट प्रकाशित प्रथम दैनिक पत्रिका थियो । मोटामोटी डेड वर्षम्म उनले त्यस पत्रिकाको सम्पादन गरेका थिए । साथै उनले त्योभन्दाअघि भनौं २००४ देखि २००८ सालसम्म अर्थात् बर्ष१३, अङ्क १ देखि १७ अङ्कसम्म ‘शारदा’को सम्पादन गरेका थिए । शारदाकै अनुभव पनि उनले जोरगणेश प्रेसमा पोखेका थिए । त्यस प्रेसमा उनले सञ्चालकको भूमिका निर्वाह गरे ।

गोठालेले दुईजनासँग बिहे गरे । भेडासिंहका साहू माणिकलाल जोशीकी छोरी लक्ष्मीप्यारीसँगको बैवाहिक जीवनबाट उनका दुई छोरा जन्मे । लक्ष्मीप्यारीको शेषपछि उनले उनकै सहोदरी बहिनी सरस्वतीसँग आफ्नो पूर्ण जीवन भोगे । अनि यी दम्पतिबाट पनि ४ जना छोरी जन्मे ।

गोठाले साहित्यको सृजना र सङ्गठनको सम्वृद्धिमा लागिरहे । त्यसै सिलसिलामा उनले एशियाली लेखक सम्मेलनमा पनि नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेका थिए । उनले भारत, चीन, लेवनान, जर्मनी, बेलायत, फ्रान्स, इटाली, बेल्जियम र निदरल्याण्डको भ्रमण गरेका थिए ।

प्रजातन्त्रपछि स्थापित नेपाली लेखक सङ्घको निर्माणमा पनि गोठालेको गुरुत्तर भूमिका जोडिएको थियो । साथै उनी नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य थिए । उनी प्रेस काउन्सिल नेपालको पनि सदस्य भए । २०३६ सालको राष्ट्रिय जनमत सङ्ग्रहमा उनी निर्वाचन आयोगका सदस्य भएका थिए ।

गोठाले मौलिक सिद्धान्तमा आधारित बुद्धिजिवी थिए । उनको लेखनले पनि नेपालको डाँडा पाखा छोएको थियो । साथै देशदेशान्तरमा रहेका नेपालीले उनको रचना मन लगाएर पढेका थिए ।

नेवारी मात्रृभाषा भएका गोठालेको नेपालीभाषासँग अनन्य प्रेम थियो । वास्तवमा नेपाली भाषासाहित्यलाई आधुनिक सिद्धान्तको पाठ पढाउने उनी गुरुबाबु नै थिए । उनैको समेत योगदान जोडिएर आधुनिक नेपाली साहित्यको जग बसेको मानिन्छ ।

गोठालेको लेखनले मनोविश्लेषणलाई पहिलो प्राथमिकता दियो । उनी समाज र राष्ट्रको यथार्थ बेहोरालाई जनमन पुर्‍याउन पनि सफल थिए । उनको मान्छेप्रतिको गहिरो सद्भावना भएकै कारण उनका कथा, उपन्यास र नाटकलाई उनी गहिरो छाप पार्न सफल भए । सामाजिक धरातल र राजनैतिक दृष्टिकोणलाई समेत उधिन्दै, खोतल्दै र खोस्रँदै उनले आफ्नो लेखनीको अविरल छहरा बगाउँदै गए । संस्कृतिको जरालाई पनि उनले आफ्नो लेखनको आवश्यकीय आधार मानेका थिए । मानव जीवनको सग्लो दस्तावेजलाई सहज, सरल र सरस पाराले प्रस्तुत गरेर नै उनले नेपाली साहित्यका पाठकको जनमन जितेका थिए ।

गोठालेले त्रिभुवन प्रज्ञापुरस्कार पाए । आजीवन स्तरीय लेखनको मापोमा बाँधिएरै यिनले पृथ्वी प्रज्ञापुरस्कार पनि पाएका थिए । राष्ट्रिय जनमत सङ्ग्रहमा कुशल काम गरेवापत उनले दोस्रो दर्जाको गोर्खादक्षिणबाहु पनि पाए । उनले वेदनिधि पुरस्कार, जगदम्बाश्री पुरस्कार, पहलमानसिंह स्वाँर पुरस्कार र भवानी साहित्यिक पत्रकारिता पुरस्कार पनि ग्रहण गरेका थिए ।

गोठाले थोरै बेल्थे तर प्रष्ट बोल्थे । उनी निक्कै सरल थिए । उनी कसैको कुरा काट्न जान्दैन थिए र सकेसम्म कसैको वर्ण्र्ाागरेर पनि समय फाल्दैन थिए । मात्तिने, पात्तिने र आँत्तिने काम पनि उनीबाट भएको देखिएन । साथै पैसा, पैसा र पैसा भनेर पनि उनी हिंडेका थिएनन् । सप्तरीमा अवस्थित आफ्नो पैत्रिक जग्गाबाट प्राप्त आयस्ता र घरभाडाले उनले आफ्नो घर व्यवहार चलाएका थिए ।

एकपटक गोठाले राति वाथरुममा लडेका थिए । त्यस घटनाबाट त उनी उस्के । तर पछिपछि उनी आफ्नो स्वास्थ्यका कारणले सिथिल हुँदै जान थाले । हुँदाहुँदै उनलाई बस्न, उठाउन, खुवाउन र शौचालय पुर्‍याउन उनका छोराछोरीले सहयोग गर्नु पर्ने अवस्था पनि आयो । त्यसपछिका दिनहरूमा क्रमशः उनीभित्र प्रतिकुल व्यबहार आउन थाल्यो । अनि शौचालय जाने काममा पनि यी असफल हुन थाले । त्यसैले करीब ४ महिना जति यिनलाई डाइपरकै मद्धतमा राखिएको थियो । विस्तारै यी झनझनै शिथिल हुँदै गए । अति कष्ट हुन थालेपछि उनलाई ज्ञानेश्वरको हिमाल अस्पतालमा पुर्‍याइएको थियो । अनि त्यहाँ पुगेको केही दिन अथवा भनौं २०६७ साल मङ्सिर २६ गते उनको स्वर्गारोहण भएको थियो ।

नेपाली साहित्यका विभूति

नइ अभिलेख


नइ टेलिफोन कोश