» नइ प्रकाशन गैरराजनीतिक साहित्यिक, सांस्कृतिक र सामाजिक संस्था हो ।

Home » बाँचेका मान्छे (जीवनीसङ्ग्रह) » गोविन्द भट्ट Govinda Bhatta

गोविन्द भट्ट Govinda Bhatta

औँलामा गन्न सकिने नेपालका शिखर बुद्धिजीवीहरूमा गोविन्द भट्टको नाउँ आउँछ । उनी नेपालको राजनैतिक मैदानमा जसरी अग्रपङ्क्तिमा आउँथे त्यसरी नै साहित्यको क्षेत्रमा पनि उनको नाउँ विशिष्टताको सूचीमा अङ्किकत हुन्छ । साहित्यमा विशेष गरी उनी समालोचकीय विधामा कस्सेर लागेका थिए । अनि उनी प्रगतिवादी चिन्तनमा चाहिं गहिरिएर नै डुबेका थिए ।

भट्टको जन्म १९९४ साल साउन २ गते घामको झुल्कासँगै रौतहटको पुरेनियामा भएको थियो । उनी एउटा कट्टर ब्राहृमण परिवारमा जन्मे । त्यसैले सानैदेखि उनी कठोर धार्मिक अनुशासनमा बाँधिए । उनलाई सानैदेखि संस्कृत मात्र घोकाइन्थ्यो र गाई खाने भाषा हो भनेर त्यति बेला अङ्ग्रेजी पढ्नबाट उनलाई वञ्चित गराइएको थियो ।

परिवारमा बढ्दो आर्थिक सङ्कट, आमा र भाइको असामयिक निधन तथा घरमा यदाकदा उत्पन्न हुने पारिवारिक अन्तर्विरोध र द्वन्द्वले भट्टको. मनमा गहिरो चोट पुगेको थियो । त्यति मात्र होइन जहानिया राणाशासनबाट जनताले भोग्नुपरेका कष्टकर दिनहरूबाट पनि उनीभित्र विद्रोह पलाएको थियो । यी सारा कुराहरू उनी प्रायः आफ्ना कापीमा टिप्ने गर्थे । तिनै कथनलाई उनी कहिले कविता बनाएर लेख्थे र कहिले निबन्धका रुपमा पनि लेख्थे ।

सरल, मिलनसार र उत्कृष्ट बौद्धिकताका धनी भट्टको पहिलो. रचना बनारसबाट निस्कने ‘युगवाणी’मा प्रकाशित भएको थियो । निबन्धमा आधारित सो लेखको शीर्षक थियो ( ‘आमा नेपाल ।’ सो निबन्ध पुरस्कृत पनि भएको थियो ।

भट्टको प्रथम पुस्तकाकार कृति ‘शान्तिसन्देश’ खण्डकाव्य हो र यो २०२४ सालमा प्रकाशित भयो । यो खण्डकाव्य नेपाल विद्यापीठमा एसएल्सी सरहको परीक्षाको पाठयक्रममा पनि समावेश भयो।

भट्टका अहिलेसम्म विविध विषयमा गरी दसवटा पुस्तक प्रकाशित भइसकेका छन्( शान्तिसन्देश, नेपाललाई बुझने समस्या:एक लामो र कठिन प्रक्रिया, अन्तरविरोधबारे मार्क्सवादी चिन्तन, आधुनिक युग, आधुनिक साहित्य र नयाँ साहित्य, (नेपालभाषा), चीनका चार आधुनिकीकरणहरू, गोविन्द भट्टका समालोचना (सम्पादक, रविलाल अधिकारी), गोविन्द भट्टको मार्क्सवादी चिन्तन, गुण्डादर्प दलन र माइ मदर (अनुवाद) ।

नेपाली भाषासाहित्यमा समर्पित भएवापत भट्टले महाकवि देवकोटा सम्मानका साथै र्सवश्रेष्ठ पाण्डुलिपि पुरस्कार, कृष्णमणि साहित्य पुरस्कार, नारायणी वाङ्मय पुरस्कार, गोकुल स्मृति पुरस्कार, र्सवदा वाङ्मय पुरस्कार, प्रज्ञाप्रतिष्ठान कविता महोत्सव पुरस्कारका अतिरिक्त धेरै सम्मानहरू ग्रहण गरेका थिए ।

भट्ट विद्यार्थी जीवनदेखि नै बौद्धिक क्रियाकलापमा निरन्तर संलग्न थिए् । जीवन पर्यान्त उनी नेपालीको सुक्खसमृद्धिको चाहनामा नै केन्द्रित थिए । नयाँ नेपाल बनाउने उनको ठूलो धोको थियो । त्यसैले उनी जीवनका हरेक मोडमा राष्ट्रियता र देशप्रति खुल्ला वकालत गरिरहन्थे ।

भट्टले प्रवासमा पुगेर उच्च शिक्षा लिए । उनले बनारस हिन्दू विश्वविद्यालयबाट स्नातक र लखनउ विश्वविद्यालयबाट दर्शनशास्त्रमा एमए गरे । साथै उनले कोलम्बो प्लानअर्न्तर्गत पाश्चात्य दर्शनमा पीएच्डीको शोधग्रन्थ तयार पारेका थिए । तर विविध कारणले त्यो ग्रन्थ बुझाउन उनी असमर्थ भए ।

भट्टले खास गरेर समालोचनासम्बन्धी लेखरचनाहरूको निर्माण गरे । सुरुका दिनमा उनले विश्वेश्वरप्रसाद कोइराला, पारिजात, विजय मल्ल, गोविन्द मल्ल गोठाले आदिका उपन्यासहरू र गोकुल जोशीका कृतिका बारेमा यथेष्ट मूल्याङ्कन गरी लेखहरू लेखे । उनले आदिकवि भानुभक्त, महाकवि देवकोटा, भीमनिधि तिवारी, गोपालप्रसाद रिमाल र युद्धप्रसाद मिश्रहरूका बारेमा पनि समग्र रूपमा समीक्षात्मक लेखहरू लेखेका थिए । उनी पुराना लेखक वा कृतिहरूभन्दा विशेषतः नयाँनयाँ लेखक र कृतिहरूको समीक्षा गर्नेतर्फबढी केन्द्रित हुन्थे ।

बीपी कोइरालाको ‘तीन घुम्ती’, र पारिजातको ‘शिरीषको फूल’को समालोचनापछि उनी नेपाली समीक्षात्मक फाँटमा चर्चित, प्रसिद्ध र स्थापित भए । वास्तवमा यिनका यी समालोचनात्मक लेखहरूमा उत्कृष्ट साहित्यिक अभिव्यक्ति त छँदै थिए तर त्यसभन्दा पनि वैचारिक रूपले गर्दा यिनका ती समालोचना ख्यातिका चुचुरोमा पुगे ।

नेपाली भाषासाहित्यको समकालीन समालोचकीय धाराका विषयमा उनी खुबै चिन्तित देखिन्थे । उनकै शब्दमा भन्ने हो भने ”हामीकहाँको प्रगतिवादी समालोचनालाई पनि पूर्णतः दोषमुक्त भन्न सकिन्न । नेपाली साहित्यको समालोचनाको फाँट सन्तोषजनक रूपबाट अझै विकसित भइसकेको छैन र त्यस क्षेत्रमा जेजति विकास भएको छ त्यो. एकपक्षीय, असन्तुलित र अपूर्ण नै रहेको छ ।”

भट्टले कथा र उपन्यासलाई नै आफ्नो समीक्षाको खास विषयवस्तु बनाउन रुचाएका थिए । उनको पहिलो समालोचनात्मक अभिव्यक्ति पनि ‘सौता’ भन्ने एउटा उपन्यासका विषयमा आधारित थियो । त्यो लेख २०२० सालको ‘रूपरेखा’मा प्रकाशित भएको थियो ।

भट्ट नेपालका ख्यातिप्राप्त समालोचकहरूमध्ये एक मानिन्छन् । उनले समीक्षा गरेका कृतिहरूमा नवोदित लेखकहरूलाई प्रोत्साहन दिएको पाइन्छ । साथै स्थापित लेखकहरूका रचनाका आन्द्रा, भुँडीमा जमेका लादी निचोर्दै तिनमा भएका नकारात्मक पक्षलाई उजागार गरिदिने साहसिक समालोचकीय प्रवृत्तिको नाउँ नै पनि गोविन्द भट्ट हो ।

सानैदेखि भट्टले राजनीतिमा पनि गहिरो चाख राखे । उनले सानैमा प्रगतिशील धारणाबाट आफूलाई राष्ट्रनिर्माणको महायज्ञमा जुटाएका थिए । त्यसैले उनले सन् १९६६ मा माओ त्सेतुङसँग भेटेको समय र नजिकै बसेर जवाहरलाल नेहरू तथा चाउ एनलाइका भाषणहरू सुनेको मौका अनि केटाकेटी छँदै राणा शासनको अन्त्य भएको खबर सुनेका संस्मरणहरू आफ्ना डायरीमा लेखे ।

विभिन्न सामाजिक, राजनैतिक र साहित्यिक एकाइमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न रहेका भट्टले त्रिभुवन विश्वविद्यालयको नेपाल र एसियाली अनुसन्धान केन्द्रका अधिकृत, चिनियाँ रेडियो अन्तरार्ष्ट्रिय पेइचिङमा भाषा विशेषज्ञ तथा चिनियाँ सामाजिक विज्ञान एकेडेमीको अतिथि प्राध्यापक, गोरखापत्र संस्थानको कार्यकारी अध्यक्ष, नेपाल राजकीय प्रज्ञाप्रतिष्ठानको कार्यकारी सदस्य, प्रथम अन्तरार्ष्ट्रिय नेपाली भाषासाहित्य सम्मेलनको कार्यकारी सदस्य, महाकवि देवकोटा शताव्दी बालचित्रकला महोत्सवको संयोजक  र श्रीसगरमाथाको प्रधान सम्पादकको पद निर्वाह गरेका थिए । भट्टले नेपाली समाजलाई जागृत गराउने कार्यमा बौद्धिक रूपमा अन्य थुप्रै ठाउँबाट योगदान पुर्‍याएका थिए ।

पिता पं.रुद्रनाथ उपाध्याय तथा माता शैलपुत्रीदेवीका जेठा छोरा गोविन्द भट्टले त्यसबेलाको रुढिवादी परम्परालाई आफ्नै बुताले चिर्दै आफ्नो राजनैतिक, सामाजिक र साहित्यिक व्यक्तित्वलाई क्रमशः शिखर चढाउँदै ल्याएका थिए ।

भट्ट सांसारिक जीवनमा रहँदाबस्ता एकपटक झन्डै साधु. पनि भएका थिए । त्यसैले उनले सदैव दारी पालिरहे । उनको मुहारको दारीलाई एकातिर मार्क्सको प्रेरणा मानिन्छ भने अर्कातिर ऋषिमुनिहरूको प्रभावका आधारमा उनले दारीलाई महत्त्व दिएका दिए ।

जीवनमा थुप्रै भोकतीर्खा र दुक्खसुक्ख भोगिसकेका भट्टकी गृहलक्ष्मी इन्दिरा भट्ट पनि शिक्षणपेशामा संलग्न थिइन् । सहधर्मिर्णीको सहनेतृत्वमा भट्टका दुवै छोरी लुना र शिरीष २०३८ र २०३९ सालको एसएलसी परीक्षामा बोर्डमा प्रथम र द्वितीय भएका थिए । 

भट्ट परिवारका यी चारै जना सदस्य धेरै वर्षचीनमा पनि कार्यरत, सेवारत र अध्ययनरत रहे । अहिले लुना अमेरिकाको साइराक्युस विश्वविद्यालयको अस्पतालमा मुटु विशेषज्ञ छिन् भने शिरीषले इन्जिनियर भएर पनि पुरातात्विक संरक्षणमा स्नातकोत्तर गरिन् । उनी ख्वपः इन्जिनियरिङ कलेजमा पनि कार्यरत छिन् ।

राजनैतिक हिसावमा भट्टको फिटिक्कै पनि नापोजोखा देखिएन । यति हुँदाहुँदै पनि उनलाई प्रगतिशील सिद्धान्तको नैतिक गिदीका रूपमा मानिन्थ्यो । अनि अर्को थप कुरा उनी प्रगतिशील साहित्यिक क्षेत्रका जगतगुरु नै मानिन्थे ।

राष्ट्रिय चिन्तनमा समर्पित भइरहेका बेला भट्ट अचानक काठमाडौंको गङ्गालाल मुटु अस्पतालमा भर्ना भए । अनि अर्को दिन अर्थात् २०६८ साल असोज २५ गते साँझ उनी त्यहीं स्वर्गीय भए ।

लेखक
नरेन्द्रराज प्रसाई

नेपाली साहित्यका विभूति

नइ टेलिफोन कोश


नइको चिनारी